प्रभावमा नपरी निर्वाचनमा खटिन कर्मचारीलाई आयोगको निर्देशन

राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिको स्वार्थ वा प्रभावमा परेर कुनै कार्य नगर्न निर्वाचनमा खटिने कर्मचारीलाई आयोगले निर्देशन दिएको छ।

काठमाडौं– निर्वाचन आयोगले कुनै राजनीतिक दल वा उम्मेदवारप्रति झुकाव नराखी निर्वाचन प्रक्रियामा सहभागी हुन कर्मचारीलाई निर्देशन दिएको छ। 

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले व्यक्तिगत, संस्थागत एवं पदीय रूपमा स्वतन्त्र र निष्पक्ष रही कुनै राजनीतिक दल वा उम्मेदवारप्रति झुकाव नराखी मतदान र मतगणना कार्यमा सहभागी हुन आग्रह गरेका हुन्। 

“निर्वाचनको कार्य सम्पादन गर्ने सिलसिलामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव, दबाब, भनसुन, धम्की, आदि आउन सक्छन्, तर कुनै आग्रह, पूर्वाग्रहबाट प्रेरित वा प्रभावित नभई निष्ठापूर्वक निर्वाचन सम्पन्न गर्न र गराउन प्रतिबद्ध भएर लाग्नुहोस्”, थपलियाले भने। 

राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिको स्वार्थ वा प्रभावमा परेर कुनै कार्य नगर्न निर्वाचनमा खटिने कर्मचारीलाई आयोगको निर्देशन छ।

निर्वाचनमा प्रयोग गरिएका मतपत्र, मतपेटिका वा अन्य निर्वाचन सामग्रीको दुरुपयोग गर्न नदिन आग्रह गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले कसैले अवाञ्छित कार्य गर्न खोजे कानुनबमोजिम प्रतिकार गर्न पनि निर्देशन दिएका छन्।

मतदान तथा मतगणनासम्बन्धी विवाद निरूपण गर्दा पक्षहरूबाट पर्न सक्ने प्रभावबाट स्वतन्त्र रही समाधान गर्न पनि आयोगको आग्रह छ।