क्यान्टिन बन्द गराउने विषयलाई लिएर उत्पन्न विवादले नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रको केन्द्रीय कार्यालयमा तालाबन्दी र झडपको स्थिति सिर्जना भएको छ।
काठमाडौँ– नारायणटारस्थित नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्न खोजिएपछि झडप भएको छ। सोमबार दिउँसो अपांगतासम्बन्धी सरोकारवाला र केन्द्र सञ्चालक पक्षबीच झडप भएको हो।
सरोकारवालाले उषा ओली कार्कीले केन्द्रको कार्यालय परिसरमा सञ्चालन गरिरहेको क्यान्टिनमा पनि ताला लगाएका छन्।सरोकारवालाले विगत केही समयदेखि कार्कीले चलाएको क्यान्टिन बन्द गर्नुपर्ने माग राख्दै आएका थिए। सोही विषयलाई लिएर केन्द्रमा विवाद उत्पन्न हुँदा झडपको स्थिति सिर्जना भएको सरोकारवाला पक्षको भनाइ छ।
ओलीले सञ्चालन गरेको क्यान्टिन आवश्यक नभएको र व्यावसायिक प्रयोजनका लागि मात्र रहेको सरोकारवाला पक्षकी गायत्री दाहालले बताइन्। केन्द्रमा अपांगता भएका व्यक्तिका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, नेपाल सरकार र केन्द्रको सहकार्यमा छुट्टै मेस सञ्चालित छ। मेस चार जना स्थायी र ८४ जना आवासीय विद्यार्थीका लागि सञ्चालित छ।
ओलीले पनि ०६५ सालदेखि छुट्टै क्यान्टिन सञ्चालन गर्दै आएकी छन्। उनको क्यान्टिन सेवामुखीभन्दा पनि व्यावसायिक रहेको सरोकारवालाको आरोप छ। दुई वर्षका लागि भनी सञ्चालन गरिएको मेस विगत १५ वर्षदेखि निरन्तर एउटै व्यक्तिले बिनाटेन्डर सञ्चालन गर्दा मिलेमतोको शङ्का उब्जिएको उनीहरूको भनाइ छ।
सरोकारवाला पक्षकी गायत्रीका अनुसार गत कात्तिक १४ गते पनि ओलीको क्यान्टिनमा तालाबन्दी भएको थियो। बारम्बार तालाबन्दी गर्ने र खोल्ने क्रम चलिनै रहेको थियो। तेस्रो पटक तालाबन्दी तोड्ने क्रममा सोमबार केही समय झडप भएको हो। यद्यपि मेसमा पुनः तालाबन्दी गरिएको छ।
“यो समस्याभित्रै मिलाउन सकिन्छ कि भन्ने लागेको थियो। दुई महिनासम्म आन्तरिक छलफल हुँदाहुँदै कुरा बिग्रने क्रममा आज हातापाइ नै भयो,” गायत्रीले भनिन्, “अध्यक्षबाट साथ पाउनेभन्दा उल्टो हाम्रो अपांगतामाथि गिज्याउने तथा अपांगता भएकै अन्य व्यक्ति ल्याएर ममाथि कुटपिट भयो।”
केन्द्रका आवासीय विद्यार्थी पुष्पराज भट्ट सम्झौताअनुसारको दरभाउमा क्यान्टिन सञ्चालन नभएको बताउँछन्। क्यान्टिन सञ्चालकबाट सम्झौतामा तोकिएको मूल्यभन्दा बढी मूल्यको बिल पेस गर्ने गरिएको उनको भनाइ छ।
त्यस्तै, केन्द्रका अध्यक्ष सामदेन लामाले आफूखुशी क्यान्टिन सञ्चालक ओलीलाई वरिष्ठ सल्लाहकारमा नियुक्त गरेको सरोकारवालाको आरोप छ। कसरी र विधानको कुन व्यवस्थाअनुसार क्यान्टिन सञ्चालक ओलीलाई केन्द्रको सल्लाहकार बनाइयो भन्ने उत्तर नपाइएको उनले बताइन्। सल्लाहकार बनेसँगै ओलीले केन्द्रमा मनोमानी चलाएको उनको आरोप छ।
के भन्छन् अध्यक्ष सामदेन लामा?
केन्द्रमा कुनै पनि प्रकारको विवाद नरहेको दाबी गरेका केन्द्रका अध्यक्ष सामदेन लामा हाल भइरहेको विरोध अजेन्डाबिना उब्जिएको बताउँछन्। ओलीको क्यान्टिन सञ्चालनको विषयलाई लिएर अनावश्यक रूपमा केही व्यक्तिले विरोध गरिरहेको उनको भनाइ छ।
“जहाँसम्म उषा ओलीको मेस सञ्चालन मभन्दा दुई कार्यकाल अघिका अध्यक्षले पाँचवर्षे कार्यकाल भनेर दिएका थिए। यसो हुँदा उहाँको कार्याकाल आगामी असार मसान्तसम्म छ,” अध्यक्ष लामा भन्छन्, “सरोकारवालाले मेस बन्द गर भन्छन् भने सर्वोच्चको अन्तरिम आदेशअनुसार असार मसान्तपछि छाड्छु भन्नु भएको छ, यसमा मैले के भन्ने र गर्ने? कुरै नबुझी केन्द्रका भाइबहिनी उग्र भइरहनु भएको छ।”
लामाको भनाइअनुसार चुनावको समयमा गरेको सहयोगको कदर गर्दै केन्द्रीय समितिबाटै कार्कीलाई सल्लाहकारमा नियुक्त गरिएको थियो। त्यसपछि केही व्यक्तिले क्यान्टिन चलाउने मान्छे कि त क्यान्टिन चलाउनुपर्यो कि त सल्लाहकार मात्र रहनुपर्यो भन्ने माग उठाएका थिए। त्यसपछि उनले सल्लाकारको पदबाट राजीनामा दिएकी थिइन्। सरोकारवालाले उनको राजीनामा अविश्वास जनाउँदै विरोध जनाइरहेको उनको भनाइ छ।
“चुनावमा गरेको सहयोगलाई कदर गर्दै उषाजीलाई सल्लाहकार नियुक्त गरिएको थियो। चुनाव हारेकाहरूले यसको रिस गर्दै क्यान्टिन चलाउने मान्छेले कि त क्यान्टिन चलाउनुपर्यो कि त सल्लाहकार मात्र रहनुपर्यो भन्ने माग गरेका थिए,” उनले भने, “तीन महिनाअघि नै व्यवसायी नै चलाएर बस्ने भन्दै उषाले सल्लाहकारको पदबाट राजीनामा दिएको जानकारी गाउँदा सरोकारवालाले पत्याउँदैनन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
