यो वर्ष चितवनमा गत वर्षभन्दा दोब्बर क्षेत्रफलमा फूलखेती गरिएको छ। कतिपय स्थानीय तहले सहयोगसमेत गरेपछि १२० किसानले ३४ विघामा फूल लगाए। तर उचित बजार र मूल्य भने पाउन सकेनन्।
काठमाडौँ– चितवनको माडी नगरपालिका–६ स्याउलीबासकी शिला रानाभाटले पहिलोपटक यो वर्ष फूलखेती गरेकी हुन्। तर नयाँ खेती शुरू गरेकै वर्ष उनले क्षति बेहोर्नुपर्यो।
यसपालि तिहार ढिलो हुँदा सयपत्री अगाडि नै फुल्यो। तिहार नआइ कतिपय फूल बारीमै कुहिएर गयो। यमपञ्चक शुरू भएपछि भने उनलाई फूल टिप्न भ्याइनभ्याइ छ। करिब डेढ कठ्ठा क्षेत्रफलमा उनले फूल लगाएकी छन्। फूलको विरुवा अनुदानमा दिएर फूलखेतीमा प्रोत्साहन गरेको स्थानीय तह (वडा कार्यालय)ले बजार खोज्न र मूल्य निर्धारण गर्न सहयोग नगरेकोमा भने उनको गुनासो छ।
“तीनचार जना दिदिबहिनी मिलेर फूलखेती गर्ने भनेपछि वडाले विरुवा दियो। यसपालि तिहार ढिला हुँदा तीन भागको एक भाग फूल खेर नै गयो, कुनै मूल्य निर्धारण छैन। जतिमा पनि दिएका छौँ,” उनले भनिन्, “अहिले तीन दिनदेखि भने फूलको माग राम्रो छ। होलसेल र खुद्रा दुवैमा दिएको छु।”
तिहारको बेला मात्र नभई अन्य समयमा पनि स्थानीय उत्पादनले बजार पाउन सके आफूहरूलाई प्रोत्साहन मिल्ने शिला बताउँछिन्। “हामी फूल १२ महिना नै निकाल्न सक्छौँ। जहिले फूलखेती हुँदा पनि बजार पाउनुपर्यो। शुरूमा फूल तयार हुँदा बजार भाउ नपाउँदा साह्रै नराम्रो लाग्यो। सस्तोमा विदेशी फूल भित्रिन्छ, तर हाम्रो लागत जोड्दा महँगो पर्छ। यसले समस्या भयो,” उनले भनिन्।
स्थानीय तहकै पहलमा माडीमा अन्य धेरै महिलाहरू पनि फूलखेतीतर्फ आकर्षित भएका छन्। यद्यपि, टिपेर बजार पठाउन ठिक्क पारिएको फूलमा जुनेली नामक किरा लाग्ने समस्या देखिएको शिला बताउँछिन्।
कालिका नगरपालिका–२ पदमपुरका तीन दाजुभाइसहित चार जना मिलेर करिब चार विघा क्षेत्रफलमा फूलखेती गरेका छन्। कोभिड महामारी नियन्त्रणका लागि भएको लकडाउनकका बेला तीन वर्षअघि परीक्षणको रूपमा खेती शुरू गरेका यी युवा अहिले जिल्लामै सफल पुष्प व्यवसायी मानिन्छन्।
उनीहरूमध्ये एक गोविन्द बास्तोलाका अनुसार पदमपुरस्थित फूलमाला फार्ममा तीन विघामा उनीहरूले तिहार लक्षित सयपत्री र मखमली लगाएका छन्। त्यस्तै, भरतपुरको पटिहानीमा १५ कठ्ठामा लगाइएको फूल माघमा बजार पठाउने तयारी छ।
विदेशमा रहेका नेपाली समुदायबाट सयपत्रीको माग आएपछि यो वर्ष उनीहरूले उत्पादन गरेको फूल निर्यात पनि भएको छ। व्यवसायिक रूपमै चितवनबाट पहिलोपटक हङकङ निर्यात गरेको पनि बास्तोलाले बताए। सयपत्रीका माला ८०० वटा र मखमलीका माला ५०० वटा तथा दुई क्विन्टल खुद्रा सयपत्री फूल हङकङ पुगिसकेको उनको भनाइ छ।
“चितवनबाट व्यावसायिक रूपमा फूल विदेश निर्यात भएको पहिलोपटक हो, यसपछि अन्य देशबाट पनि माग आएको छ। अहिले नभ्याए पनि आउँदो वर्ष समयमै बाहिर पठाउछौँ,” बास्तोलाले भने।
उनीहरूको फार्मले कोलकाताबाट फूलको बीउ ल्याएर बेर्ना उत्पादन गर्छ। यसरी उत्पादन गरिएको करिब आठ लाख बेर्ना विभिन्न जिल्ला पठाइएको बास्तोलाले बताए। गत वर्षको तुलनामा लक्ष्मीपूजाको दिन (आइतबार) भने कम माग आएको उनको भनाइ छ।
बास्तोला अध्यापनमा पनि संलग्न छन्। अध्यापनबाट सीमित व्यक्तिले मात्र चिने पनि कृषिबाट अझै बढी नेटवर्क बनेको भन्दै उनले खुशी व्यक्त गरे। “पढाउँदा कलेजका साथीभाइले चिन्नुहुन्छ, यो क्षेत्रमा छुट्टै देशव्यापी नेटवर्क बनिसकेको छ,” उनले भने।
उनीहरूको फूलमाला फार्म तिहारमा मात्र नभइ वर्षभरि नै फूलले ढकमक्क हुन्छ। तिहारको बेला चोकचोकमा बजार हुने हुँदा आफूहरूले भने तिहारपछि पोखरा, नारायणगढ, काठमाडौँलगायत ठाउँमा पठाइने बास्तोलाले बताए। काठमाडौँको पशुपति क्षेत्रका व्यापारीका लागि नियमित रूपमा फूल पठाउने उनको भनाइ छ।
फूलमाला फार्मले गाउँकै ५० जना महिलालाई रोजगारी पनि दिएको छ। अन्य परम्परागत खेतीको तुलनामा फूलमा निकै सम्भावना र नाफा भएको बास्तोला बताउँछन्। यद्यपि, बजार व्यवस्थापन चुनौतिपूर्ण रहेको उनको भनाइ छ।
“अन्य कृषि पेसामा उत्पादनभन्दा लागत बढी छ। तर फूलले बजार पाएमा राम्रो छ। ५० प्रतिशत लगानी हुँदा ५० प्रतिशत नाफा छ,” उनले भने, “पुष्प व्यवसायमा स्थानीय तहले प्रोत्साहन र सहयोग गर्नुपर्छ।”
कालिका नगरपालिकाकाले गत वर्षदेखि किसानको प्रोत्साहनका लागि फूलका बिरुवामा अनुदान पनि दिने गरेको छ। यस वर्ष सात बिघा क्षेत्रफलको बिरुवामा ५० प्रतिशत अनुदान दिएको नगरप्रमुख विनोद रेग्मीले बताए। कालिका नगरपालिकामा नौ बिघामा फूलखेती गरिएको छ।
“एउटा बिरुवा उत्पादन गर्न साढे २ रुपैयाँ लाग्दोरहेछ। नगरपालिकाले ५० प्रतिशत अनुदान दिएको छ। आगामी वर्षदेखि अन्य बालीलाई जस्तै पुष्प खेतीलाई अझै प्रोत्साहन गर्छौ” नगरप्रमुख रेग्मीले भने।
यस्तै, भरतपुर महानगरपालिका–२३ जगतपुरमा १५ जना महिलाहरू मिलेर पाँच वर्षदेखि व्यवसायिक फूलखेती गर्दै आएका छन्। जिल्लामै गत वर्षभन्दा बढी फूलखेती भएको, तर माग कम आएको मनकामना सयपत्री समूहकी अध्यक्ष रेनुका पौडेलले बताइन्। “चितवनमा धेरै फूलखेती गरिएको छ। २३ नम्बर वडामा मात्रै ८/१० विघामा खेती छ। त्यही भएर शनिबारसम्म पाहोरको भन्दा कम माग आएको छ,” पौडेलले भनिन्।
उक्त समुहले १० वर्षको लागि जग्गा भाडामा लिएर १० कठ्ठामा तिहारलक्षित सयपत्री फूल लगाएको छ। अन्य मौसममा भने सिजनल खेती गरिने समूहकी अध्यक्ष पौडेलले बताइन्।
यो वर्ष जिल्लामा गत वर्षभन्दा दोब्बर क्षेत्रफलमा व्यवसायिक फूलखेती गरिएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ। केन्द्रका अनुसार जिल्लामा १२० किसान फूलखेतीमा आवद्ध छन्।
बागबानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार गत वर्ष १७ विघामा फूलखेती गरिएको थियो। यो वर्ष ३४ विघा क्षेत्रफलमा खेती गरिएको छ। “पोहोर तिहारअगाडि हुँदा फूल फुलिसकेको थिएन। अहिले सबैको फूल फूलेको छ। अगाडि फूलेकाहरूले पनि स्टोरेज गर्नुभएको छ,” चौहानले भनिन्, “काठमाडौँ र पोखराको बजारमा बढी माग आएको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
