कोप २७ सम्मेलनमा सहभागी भएका अधिकांश अभियन्ताले विश्वका शीर्ष नेताहरूलाई प्रत्यक्ष भेटेर नै जलवायु मामिलामा गम्भीर हुन दबाब दिए।
इजिप्टको शार्म–एल–शेखमा जारी जलवायु सम्मेलन 'कोप २७' मा युवा अभियन्ताले जलवायुसम्बन्धी नीति कार्यान्वयन गर्न विश्वका नेताहरूको ध्यानाकर्षण गराएका छन्। भावी पुस्ताको भविष्य सुरक्षित गर्नका लागि जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न तत्काल कदम चाल्नुपर्ने उनीहरूको जोड थियो।
कोप २७ मा बालबालिका, किशोर किशोरीसहित थुप्रै युवा अभियन्ताले अर्थपूर्ण सहभागिता जनाएका थिए। सो क्रममा उनीहरूले जलवायु परिवर्तनका असर कम गर्न विश्वव्यापी प्रयासलाई तीव्र नबनाए मानव जीवन खतरामा पर्ने भन्दै विश्वको ध्यानाकर्षण गराए। भावी सन्ततिका लागि भए पनि पृथ्वीको अस्तित्व जोगाउनुपर्नेमा उनीहरूको जोड थियो।
सम्मेलनमा उनीहरूले जलवायु परिवर्तनका असर र आफ्ना अनुभवसमेत सुनाएका थिए। अधिकांश अभियन्ताले विश्वका शीर्ष नेताहरूलाई प्रत्यक्ष भेटेर नै जलवायु मामिलामा गम्भीर हुन दबाबसमेत दिए।
यसपटकको सम्मेलनमा विश्व चर्चित स्विडेनकी जलवायु अभियन्ता ग्रेटा थर्नबर्ग भने सहभागी भइनन्। तर, अन्य युवा अभियन्ताहरूले उनको अभाव महसुस हुन दिएनन्।

संयुक्त राष्ट्रसंघकी सबैभन्दा कान्छी सल्लाहकारको रूपमा चिनिएकी २० वर्षीया सोफिया कियानीसहितका युवा अभियन्ताले धेरैको खिचेका थिए। उनी भन्छिन्, “राष्ट्रसंघीय जलवायु सम्मेलनमा युवा नै सबैभन्दा बलियो शक्ति हुन्। सम्मेलनको परिणामका लागि पनि युवाको महत्त्वपूर्ण भूमिका छ।”
जलवायु अभियन्ता ११ वर्षीया लिसिप्रया कांगुजामले बेलायतका जलवायुमन्त्री ज्याक गोल्डस्मिथसँगको भेटमा इन्धन र आणविक हतियारविरुद्धको प्रदर्शनका क्रममा पक्राउ परेका अभियन्तालाई बेलायत सरकारले कहिले रिहा गर्छ भनेर सोधेकी थिइन्।

यस्तै, इजिप्टको कायरोकी १६ वर्षीया अभियन्ता मरियमले पृथ्वीको तापक्रम वृद्धिको विषयमा चासो दिएकी थिइन्। तापक्रम वृद्धिले आफूलाई ‘दिक्क’ परेको उनले बताइन्। उनी भन्छिन्, “उच्च तापक्रमका कारण कहिलेकाहीँ त म विद्यालयका महत्त्वपूर्ण कक्षामा पनि सहभागी हुन सक्दिनँ।”
सेभ द चिल्ड्रेनका तर्फबाट सम्मेलनमा सहभागी इजिप्टका अर्का जलवायु अभियन्ता १२ वर्षीय मुस्तफा भन्छन्, “हाम्रो गाउँमा जाडो याममा पनि भीषण वर्षा हुने गरेको छ। सडक हिलाम्मे हुन्छन्। अत्यावश्यक सामग्री किन्न जान पनि सम्भव हुँदैन। हामी विश्वबाट अलग्गिएका छौँ। माटोबाट बनेका घरहरू सबै भत्किएका छन्। करेन्ट लागेर धेरै मान्छेको ज्यान गएको छ। हामीले निकै क्षति बेहोरेका छौँ। एक पटक म विद्यालय जाँदै गर्दा बिजुली थिएन सबैतिर अँध्यारो थियो। हिँड्नै कठिन भएको थियो।”
यस्तै, युगान्डाकी अभियन्ता भनेस्सा नकेट, पाकिस्तानकी २३ वर्षीया आइसा सिद्दिकी, केन्याकी २७ वर्षीया माना ओमार, बंगलादेशका इमरान हुसैनलगायत थुप्रै अभियन्ताको दरिलो उपस्थिति देखिएको थियो। कोप २७ सम्मेलन शुक्रबार समापन गरिँदै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
