भूकम्पमा परी ज्वाइँ नवीन बुढाको घरले च्यापिएर मृत्यु भएको खबर सुनेपछि गर्भवती छोरीलाई उद्धार गर्न सानीभेरी गाउँपालिका–९ रुकुम पश्चिमबाट जमुनाकी आमा पवित्रा खड्का मगर र बुवा भागिराम जाजरकोट पुगेका थिए।
जानकी– जमुना बुढामगर भर्खर १९ वर्षकी भइन्। भूकम्पमा उनले श्रीमान् र पेटमा हुर्किँदै गरेको आठमहिने शिशुलाई गुमाएकी छन्। भूकम्पबाट घाइते उनी नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत छिन्।
जाजरकोटको नलगाढ नगरपालिका–६ भारगाउँकी जमुनाको गत शुक्रबार राति गएको भूकम्पले संसार नै अँध्यारो बनाइदिएको छ। भूकम्पपीडितको व्यथा एउटै एउटै जस्तो देखिन्छ। तर जमुनालाई भने आफ्नो व्यथा अरूको भन्दा धेरै गहिरो लागेको छ। उनले आफ्नो जीवनसाथी र गर्भमा हुर्किँदै गरेको शिशुलाई गुमाएको चार दिन बितेको छ। बितेका चार दिनमा जमुनाको होस पूर्ण रूपले फर्किएको छैन। श्रीमान् र गर्भमा रहेको शिशुलाई गुमाउँदाको पीडाले उनी अस्पतालको शय्यामा छटपटिइरहेकी छन्।
जमुना एकसुरमा कहिले राम्रैसित बोल्छिन्। कहिले बोल्दै बोल्दिनन्। कतिबेला पनि पेट मुसार्दै गर्भमा रहेको बच्चालाई सुमसुम्याउँछन्। जमुनाको यो अवस्था देखेर रेखदेख गर्न आएकी आमा पवित्रा पनि छोरीले थाहा नपाउने गरी बेलाबेलामा पछ्यौराले मुख छोपेर भक्कानिन्छिन्।
“छोरीलाई पेटको बच्चा नरहेको कुरा उ होसमा आएपछि सुनायौँ। उसलाई थाहा छ। तर पनि आमा मेरो नानीलाई त ठिकै छ नि भन्दै सोधिरहन्छे,” आमा पवित्राले भनिन्, “एक्लै–एक्लै आफैँसँग कुरा गर्छे।” भूकम्पको पीडाले बेहोस छोरीको होस फर्किए पनि सुरमा कुरा नगरेको देख्दा उहाँलाई चिन्ताले सताइरहेको छ।
भूकम्पमा परी ज्वाइँ नवीन बुढाको घरले च्यापिएर मृत्यु भएको खबर सुनेपछि गर्भवती छोरीलाई उद्धार गर्न सानीभेरी गाउँपालिका–९ रुकुम पश्चिमबाट जमुनाकी आमा पवित्रा खड्का मगर र बुवा भागिराम शुक्रबार राति नै जाजरकोट पुगेका थिए। घरमा पुग्दा जमुना बेहोस अवस्थामा रहेको बुवा भागिरामले बताए।
“हामीले त ज्वाइँसँगै छोरी पनि गुमायौँ भन्ने सोचेका थियौँ। उसको पेटको नानीलाई बचाउन नसकिए पनि छोरीलाई भने केही भएको रहेनछ,” भेरी अस्पतालमा जमुनाको हेरचाहमा खटिएका उनले भने। जमुनालाई जाजरकोटबाट नेपाली सेनाको हेलिकोप्टरबाट चौरजहारीसम्म ल्याएको र त्यहाँबाट नेपालगन्जसम्म जहाजमा ल्याएर आइतबार भेरी अस्पतालमा भर्ना गरिएको थियो। पेटभित्र मरेको शिशुलाई निकालिएको छ। शिशुको अन्तिम संस्कार नेपालगन्जस्थित मसानघाटमा नै गरिएको बुवा भागिरामको भनाइ छ।
जमुनाको उद्धार गर्न जाजरकोट पुगेका उनलाई आफ्नै घर भूकम्पले चर्किएको खबर भारगाउँ पुगेपछि मात्र थाहा भयो। अस्पतालमा छोरीलाई निको बनाएर घर लैजान आएको पवित्रा भन्छन्, “जसको भाग्यमा जे भोग्न लेखिएको हुन्छ उसले त्यही भोग्नैपर्छ। हाम्रो छोरीको भाग्यमा यस्तै दुःख भोग्न लेखिएको थियो होला,” उनले भने, “अब छोरी चाँडै निको भइदिए हुन्थ्यो।”
आमा पवित्राको भनाइअनुसार जमुनाको अरू सबै स्वास्थ्य अवस्था ठिक भए पनि कहिलेकाहीँ पेट र टाउको दुखिरहन्छ। भूकम्प जाँदा जमुनासँगै श्रीमान्, सासू, नन्द र दुई आमाजूसँगै एउटै घरमा खाना खाएर सुतेका थिए। भूकम्पले जमुनाका श्रीमान् र गर्भको शिशुलाई लगे पनि बाँकी अरू परिवारका सदस्यलाई भने सामान्य चोट लागेको छ। जमुनाका देवर र ससुरा भने मजदुरी गर्न भारत गएका छन्।
भेरी अस्पतालमा जाजरकोट भूकम्पका कारण घाइते ४४ जनाको उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए। उनका अनुसार भेरी अस्पतालमा भूकम्पमा परी घाइते भएका ४७ जनालाई ल्याइएको थियो। दुई जना निको भई घर फर्किएका छन् भने एक जनाको उपचार गर्न अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो। प्रजिअ पोखरेलले उपचाररत बिरामीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
