‘देशलाई आत्मनिर्भर बनाउनसक्ने नेतृत्व चयन गर्न आवश्यक’

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आसन्न निर्वाचनमा देशलाई आत्मनिर्भर बनाउनसक्ने नेतृत्व चयन गर्नुपर्ने बताएका छन्।

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आसन्न निर्वाचनबाट देशलाई सबै क्षेत्रमा आत्मनिर्भर बनाउने नेतृत्वको चयन गर्नुपर्ने बताएका छन्। 

बिहीबार ललितपुरमा भएको चिनियाँ नयाँ नेतृत्वले नेपाल र विश्व सम्बन्धमा पार्ने प्रभावबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन। 

उनले भविष्यको नेतृत्व चयन गर्दा सधैँ विदेशीबाट ऋण लिएर राज्य सञ्चालन गर्ने नभई देशलाई आत्मनिर्भर बनाउँछु भन्ने नेतृत्वको चयन गर्न आवश्यक रहेको बताए। 

अध्यक्ष तिमिल्सिनाले आसन्न निर्वाचनबाट नेतृत्व चयन गर्दा अहिले भएका मध्येबाट राम्रो उम्मेदवारहरूलाई जिताउन आवश्यक रहेको बताए। उनले राजनीतिमा लागेका नयाँ युवा पुस्ताले आफ्नो हस्तक्षेपकारी भूमिका निर्वाह गर्न ठोस अजेन्डासहित आउन जरुरी रहेको समेत उल्लेख गरे। 

उनले भने, “भविष्यको लिडरसिप अब हामीले यस्तो बनाउनुपर्‍यो कि सधैँ हात थाप्ने होइन, हामी त चुनावमा जाँदा अमेरिकाले पत्याउँछ, चीनले पत्याउँछ र भोट माग्छौँ, अर्कोले पत्याइदिने ऋण दिनको लागि भोट माग्ने हो र?”

अध्यक्ष तिमिल्सिनाले विश्वले नेपालको नाम लिनसक्ने बनाउन सक्षम नेतृत्वलाई जिताउन आवश्यक भएको बताए।