भूकम्पबाट आवासविहीन भएकाहरूलाई केही संघसंस्थाहरूको सहयोगमा आइतबार राहत बाँडिएको भए पनि सबैलाई पर्याप्त हुन सकेको छैन। विस्थापितहरू चिसो भुइँमा पराल ओछ्याएर पुरानो पालमुनि सुत्न बाध्य छन्।
रावतगाउँ (जाजरकोट)– भेरी नगरपालिका–१ रावतगाउँकी पबी विकले रातदिन खुला आकाशमुनि चिसो भुइँमा कटाएको दुई दिन भइसकेको छ। आइतबार साँझ पर्नै लाग्दा उनले भनिन्, “भुइँचालोले बास बाहिर बनाइदियो, खानेकुरा सबै पुरिदियो, लुगाटालो क्यै नाइँ।”
यस गाउँका उनी मात्र नभई १०० भन्दा बढी परिवारको हालत उस्तै छ। अस्थायी प्रहरी पोस्ट रावत गाउँ, हुलुखोलाका अनुसार भेरी नगरपालिका–१ मा मात्र भूकम्पका बेला भत्किएका घरले च्यापेर ३२ जनाको मृत्यु भएको छ।
शुक्रबार मध्यरातमा मस्त निदाइरहेका बेला भग्नावशेषमा परिणत भएका आ–आफ्नै घरले ज्यान लिएका वडावासीमध्ये १५ बालबालिका र नौ जना महिला थिए। यस वडामा रिङनाका ७८, रावतगाउँका २१, चौरका १९, घोयलनेटाका १६, कोलचउर र कुन्किका सात/सात र औलमा तीन घर पूर्ण रूपले क्षतिग्रस्त भएका छन्।
रावतगाउँका स्थानीय लक्ष्मण परियार भन्छन्, “हाम्रो अवस्था जटिल छ। रिङना, घोयलनेटा र कोलचौरमा अझ बढी समस्या छ। ओत लाग्ने त्रिपाल पुगेको छैन। खुला आकाशमुनि सुत्न बाध्य छौँ।”
यहाँ एकै घरका ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उदय विककी ३० वर्षीया श्रीमती जानुका, उनका १३, ९ र सात वर्षका छोरीहरू शर्मिला, अञ्जली र गृष्मा तथा चार वर्षका छोरा उज्ज्वल विक रहेका छन्। उदयका भाइ मोहनकी ११ वर्षकी छोरी निरुताको पनि सँगै मृत्यु भएको थियो।
श्रीमतीले आफूलाई पाँच वर्षअघि छाडेर दोस्रो बिहे गरेपछि दुई छोरीको पालनपोषण गर्दै बसेको मोहनले बताए। भूकम्पमा परी ज्यान गुमाएकी छोरी निरुता स्थानीय ट्यालेन्टेड जेनेरेसन बोर्डिङ स्कुलमा दुई कक्षामा पढ्थिन्। उनी छोरीलाई भविष्यमा नर्स बनाउन चाहन्थे। अब उनीसँग कान्छी छोरी रविना मात्र छिन्।
मोहनका दाइ उदय भने एक वर्षअघि मात्र रोजगारीका लागि मलेसिया गएका थिए। श्रीमती जानुकासहित तीन छोरी र एक छोरा बितेको खबर पाएपछि उनी फर्केर काठमाडौँ आइपुगेका छन्। उनकी ५७ वर्षीया आमा हस्तकुमारी बुहारी र नातिनातिना गरी ६ जना गुमाएको शोकले विक्षिप्त बनेर छोराको बाटो हेरिरहेकी छन्।
घाइते अवस्थामा रहेकी हस्तकुमारीले भूकम्प गएको क्षणबारे भनिन्, “निदाएको थिएँ, कतिबेला भुइँचालो आएर घरले च्यापेछ पत्तै भएन। एकैचोटि अस्पताल पुगेपछि थाहा पाएँ। मेरो फर्केर बस्ने ठाउँ छैन। हिउँदको चिसोमा केही बाँकी रहेन। चार छेउको एक छेउ मात्र भए पनि सरकारले हेरिदिनु पर्यो।”
विक परिवारमा ज्यान गुमाएका सबैको शव जिल्ला अस्पताल जाजरकोटमा राखिएको छ। छोरा मोहन आइपुगेपछि उनीहरूको एकैसाथ दाहसंस्कार गर्ने हस्तकुमारीले बताइन्।
रावत गाउँ भेरी नगरपालिकामा सबैभन्दा बढी ज्यान गएको ठाउँ हो। भूकम्पबाट आवासविहीन भएकाहरूलाई केही संघसंस्थाहरूको सहयोगमा आइतबार राहत बाँडिएको भए पनि सबैलाई पर्याप्त हुन सकेको छैन। बिस्थापितहरू चिसो भुइँमा पराल ओछ्याएर पुरानो पालमुनि सुत्न बाध्य छन्।
आइतबार दलछिन ग्रुप नेपालगन्ज, भेरीगंगा नगरपालिका सुर्खेत, वनगा कुपिन्डे नगरपालिका सल्यान र लायन्स क्लब सुर्खेतले चाउचाउ, चिउरा, चामल र केही थान पाल वितरण गरेका थिए। सीमित संख्यामा पुगेको पालले सबैलाई नपुग्दा कैयौँ पीडितहरूले ओत पनि पाउन सकेका छैनन्। पानीको मुहान भत्किँदा पिउने पानीको पनि अभाव छ।

यहाँका बासिन्दा, प्रहरी र रेडक्रसको समन्वयमा स्थानीय जयबहादुर बस्नेतको नेतृत्वमा वडास्तरीय राहत वितरण समिति बनाइएको छ। क्षतिको विवरण संकलन पनि यही समितिले गरिरहेको छ। मृत्यु भएकामध्ये २५ जनाको अन्त्येष्टि भइसकेको प्रहरीले जनाएको छ।
गाउँका अधिकांश मानिसहरू रोजगारीका लागि कालापहाड (भारत) जान्थे। तीमध्ये दशैँ मान्न आएका कतिपयले भूकम्पमा परी ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
