मतदान केन्द्रमा तीन घेरामा सुरक्षा व्यवस्था

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्नेलगायतका गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीति अपनाइएको बताएका छन्।

काठमाडौं– निर्वाचन आयोगले निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा तीन घेरामा सुरक्षा व्यवस्था मिलाएको बताएको छ। निर्वाचन आयोगले बिहीबार पत्रकार सम्मेलन गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित, पारदर्शी र विश्वसनीय बनाउन आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाएको बताएको हो।

निर्वाचनको सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। उनले ३० मिनेटभित्र मतदान केन्द्रमा पुग्न सक्ने गरी सुरक्षाकर्मीको 'रिजर्भ फोर्स'को व्यवस्था गरिएको बताए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्नेलगायतका गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीति अपनाइएको उल्लेख गरे। "निर्वाचन सुरक्षा जोखिमका आधारमा आवश्यकताअनुसार सुरक्षा गस्ती परिचालन तथा क्षेत्रगत संवेदनशीलतालाई मध्यनजर गरी पर्याप्त मात्रामा अधिकार सम्पन्न घुम्ती टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ", उनले भने।

उनले मतदान केन्द्रमा असर पुर्‍याउने खालका गतिविधि भएमा निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षकलगायत जसले पनि सूचना दिन र अनुचित क्रियाकलाप रोकी कानुनी कारबाही गर्न निर्देशन दिएको बताए।

आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेको जनाएको छ। १० हजार ८९२ मतदान स्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ। १४१ अस्थायी मतदान केन्द्र रहेको छन्। ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने छन्।

प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ हजार ४१२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमा २ हजार १९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ।

त्यस्तै, प्रदेशसभाको प्रत्यक्षतर्फ ३ हजार २२४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीमा ३ हजार ७०८ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचनका लागि ४ करोड ६ लाख ५ हजार मतपत्र छपाइ गरी ढुवानी गरिएको बताए। समानुपातिक निर्वाचन प्रणालीका लागि ३ करोड ९८ लाख १६ हजार ५०० मतपत्र छपाइ गरी ढुवानी गरिएको उनको भनाइ छ।

उनले निर्वाचन पर्यवेक्षणका लागि ४४ वटा राष्ट्रिय संस्था र २ वटा अन्तर्राष्ट्रिय संस्थाले आयोगबाट अनुमति पाएको र पर्यवेक्षकले प्रतिनिधिसभा र प्रदेशसभाका सबै निर्वाचन क्षेत्रमा पर्यवेक्षण गर्ने बताए। आयोगले करिब ७ हजार ५०० जनालाई पर्यवेक्षण परिचयपत्र उपलब्ध गराएको जानकारी दिए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब २ लाख ४६ हजार ९६० कर्मचारी तथा सुरक्षाकर्मी मतदान स्थल पुगिसकेका बताए। मतदान शुरू हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण निषेध गर्ने व्यवस्था मिलाउन जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय प्रशासनलाई सक्रिय बनाइएको उनले बताए।