मंसिर ४ मा हुने निर्वाचनमा मतदान गर्न भारतबाट स्वदेश फर्किएहरूले गाउँ ठाउँमै रोजगारी सिर्जना गर्न सक्ने उम्मेदवारलाई मतदान गर्ने धारणा व्यक्त गरेका छन्।
महेन्द्रनगर– कैलालीको लम्कीका ७० वर्षीय गगन सिंह बिहीबार बिहान कञ्चनपुरको गड्डाचौकीबाट स्वदेश फर्किँदै गर्दा नाकामा भेटिए। दुई महिनाअघि मात्रै मजदुरीका लागि भारतको सिमला पुगेका सिंहले परिवारका सदस्यसहित यही मंसिर ४ गतेको निर्वाचनमा मतदान गर्न आएको बताए।
“गाउँघरबाट भोट हाल्न सबले आउनुपर्छ भनेपछि काम छाडेर मतदान गर्न आएको हुँ”, वृद्ध सिंहले भने, “जीवनभर मतदान गरे पनि घरको खर्च चलाउन जहिल्यै भारतमा मजदुरी गर्नुको विकल्प भएन।” उनले स्वदेशमै रोजगारी सिर्जना गर्ने दल र तिनका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिए।
“चुनावमा आयो फेरि भोट हालेर भारत जानुपर्ने हाम्रो नियति छ”, उनले भने, “देशको व्यवस्था फेरिए पनि मजदुरी गर्नेको अवस्थामा कुनै खालको सुधार आएन।” उनले आफू लामो समयदेखि भारतमा मजदुरी गरेर जीविका चलाउँदै आएको बताए।
त्यसै गरी भारत देहरादुनबाट घर फर्किन लागेका कोहलपुर सम्झना चोकका पानसरी रानाले आफू ३० वर्षदेखि भारतमा काम गरिरहेको सुनाइन्। “यहाँकाले केही गर्दैनन्, भोट हालेर फेरि जाने त हो नि”, उनले भनिन्, “हामी त समय मिलाएर जहिल्यै पनि मतदान गर्न आएका हुन्छौँ।”
उनले निर्वाचनका बेला मात्रै पार्टी र उम्मेदवारले जनताको घरदैलोमा पुगेर आश्वासन बाँडेअनुसारको काम नभएको बताइन्। “हामी महिला मान्छे देहरादुनमा काम गरेर बच्चा पढाइरहेका छौँ”, उनले भने, “यो हाम्रो रहर नभई बाध्यता हो।”
उनीसँगै देहरादुनबाटै मतदान गर्न १६ दिनको बिदामा आएका कोहलपुरका गगन रानाले जनप्रतिनिधिले जन भावनाअनुसार काम गर्न सुझाव दिए। “चुनाव जित्ने अनि लाभका पदका लागि आफन्त र नजिकालाई मात्रै हेर्नाले देशको विकास भएन”, उनले भने, “प्रजातन्त्रदेखि गणतन्त्र आई सक्दासम्म मुलुकभित्र रोजगारीका सम्भावना खोजी नहुन दुखद विषय हो।”
उनले निर्वाचनको मुखमा पनि युवा भारतलगायत तेस्रो मुलुक गइरहेको समाचार सुन्दा मन खिन्न हुने गरेको बताए। “ठूलो श्रम गर्ने जनशक्ति विदेशमा पसिना बगाइरहेको छ”, उनले भने, “यहाँ नेताहरूले काम कम गफ बढी दिएर मात्रै बसेको देखियो।”
सडक पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा क्रमिक रूपमा विकास हुँदै गए पनि युवा स्वरोजगार एवं मुलुकभित्रै आयआर्जन गर्ने योजना ल्याउन आवश्यक रहेको उनले बताए। “चुनावका बेला भोट माग्ने त्यसपछि जनताको पिर मर्का नबुझ्नेलाई यस पटक प्रतिनिधि चुन्दैनौँ”, रानाले भने, “गरिब र विपन्न समुदायको स्तर माथि ल्याउने खालका योजना र विचार भएका नेतालाई मत दिन्छौँ।”
त्यसै गरी भारतको नयाँ दिल्लीबाट स्वदेश फर्किएका मदनराज पन्तले पनि नेताप्रति आक्रोश व्यक्त गरे। “जुनसुकै नेताले जिते पनि हामीले भारतमा कामका लागि निर्भर रहनुपर्ने बाध्यता छ”, उनले भने, “भारतमा मजदुरी गरेर घर खर्चका लागि मजदुरीदेखि बिरामी हुँदा उपचार गर्नसमेत भारत जानुपर्ने स्थिति छ।”
त्यस्तै, नारायणगढको देवघाटका मनिराम भुजेलले गाउँ बस्तीमै रोजगारी दिनेलाई मतदान गर्ने योजना सुनाए। सात महिनामा सिमलाबाट फर्किरहेका भुजेलले निर्वाचनपछि पुनः मजदुरीका लागि भारत फर्किने बताए। इलाका प्रहरी कार्यालय गड्डाचौकीले निर्वाचनका लागि मतदान गर्न तीन दिनयता स्वदेश फर्किनेको चाप बढेको जनाएको छ।
इप्रका गड्डाचौकीका प्रहरी नायव निरीक्षक बहादुरसिंह धामीले आज बिहानसम्म दैनिक अढाईदेखि तीन सयसम्म नेपाली घर फर्किरहेको बताए। उनले निर्वाचन सुरक्षाका लागि सीमा नाकामा कडाइ गर्नुका साथै प्रशासनले जारी गरेको नाका बन्दको काम पनि कार्यान्वयन प्रहरी प्रशासनबाट भइरहेको बताए।
जिल्ला प्रशासन कार्यालयले बिहीबार राति १२ बजेदेखि पश्चिमी सीमा नाका गड्डाचौकीबाट आवागमन रोक लगाउने निर्णय गरिसकेको छ। प्रशासनले सूचना जारी गर्दै निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सीमा नाका बन्द गरेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
