त्यो बेला पैसा कति जम्मा भयो भन्दा पनि ‘चोकोफन’ खान पुग्ने पैसा भए पुग्थ्यो। हाम्रो लागि दशैँको दक्षिणा त्यति नै हुने गर्थ्यो, त्यसमै रमाइन्थ्यो।
दशैँ भन्नेबित्तिकै मेरो सम्झनाको रेलमा कुद्ने एउटा अंक हो– सात।’
मेरो हजुरबुवा जीतबहादुर सुवाल र उनका दुई भाइ।
अहिलेसम्म माइला बाजे भनेरै बोलाइयो, माइला बाजेको नाम सोधिएन, त्यही भएर थाहा पनि भएन।
कान्छा बाजेको नाम भने, रामबहादुर सुवाल।
तीन घरबाट दशैँमा टीकाको दक्षिणास्वरूप एक–दुई रुपैयाँको नोट पाइन्थ्यो। मलाई सम्झना भएसम्म बाल्यकालको शुरूआती समयमा पाएको दक्षिणा यति नै हो। हरेक वर्षको दशैँमा हामीले जम्माजम्मी सात रुपैयाँ पाउँथ्यौँ।
बाजेको हातबाट टीका लगाएको सम्झना मसँग छैन। कसको हातबाट टीका लगाइन्थ्यो पनि सायद याद छैन। बज्यैबाटै लगाइन्थ्यो होला, तर माइला बाजेकोमा एक–दुई रुपैयाँको नोट देख्न पाइन्थ्यो भने कान्छा बाजेकोमा पाँच रुपैयाँसम्म पाएको याद छ।
त्यो सात रुपैयाँमा पाँच रुपैयाँको ‘चोकोफन’ चकलेट आउँथ्यो भने बाँकी दुई रुपैयाँको दालमोठ किनेर खाँदा टीका लगाएको पैसा त्यही दिन सकिन्थ्यो। त्यो बेला पैसा कति जम्मा भयो भन्दा पनि ‘चोकोफन’ खान पुग्ने पैसा भए पुग्थ्यो। हाम्रो लागि दशैँको दक्षिणा त्यति नै हुने गर्थ्यो, त्यतिमै रमाइन्थ्यो। पैसा यति उति देलान् भन्ने पनि रहेन।
बढ्दै गएको दक्षिणाको दर
मेरो हजुरबुवाबाट जन्मेका ६ छोरा र तीन छोरी। म जन्मिँदासम्म प्रायः बुवाहरू अलग्गिएर बसिसकेका थिए। बाजेबज्यै कान्छा काकासँग बस्नुभएको थियो। घरपरिवारमा ज्येष्ठ मूलीबाट टीका लगाउने चलन अझै कायम छ। हजुरबुवासँग टीका लगाइसकेपछि हामी दुई काका हजुरबुवाकहाँ लगाउन जान्थ्यौँ। त्यसपछि ठूलोबुवा हुँदै काकाको घरसम्म पुग्थ्यौँ। बिस्तारै दक्षिणाको दर बढ्न थाल्यो। दुई र पाँचबाट १० र २० हुँदै २५ रुपैयाँसम्म पुग्यो। नौ घरबाट पाएका दक्षिणा जोड्दा ६५ रुपैयाँसम्म पुग्थ्यो।
म ६–७ कक्षामा पुग्दा बाहुन र क्षेत्री समुदायका साथीहरूसँग ‘एक्सपोजर’ बढ्यो। त्यस्तो त नेवार समुदायमा पहिले पैसा दिने चलन नै नभएको संस्कृतिविद्हरू बताउँछन्। पैसाभन्दा पनि ‘मोहनि सिन्ह’सँगै बसेर ‘समय् बजि’ खुवाउने चलन छ। सँगै बसेर समय् बजि खाने गरिन्छ। यसो हुँदा हाम्रोमा खानपिन बढी हुन्छ। समय् बजि र भोजमा धेरै ध्यान केन्द्रित हुने कारण दशैँपछि विद्यालयमा सोधिन्थ्यो। जम्मा गरेको दक्षिणा १०० रुपैयाँ कट्दा गज्जब खुशीसाथ साथीहरूलाई सुनाइथ्यो। तर मेरा अरू साथीको दक्षिणा ५०० भन्दा बढी हुन्थ्यो।
बिस्तारै त्यही कुराले प्रभावित पार्न थाल्यो। दशैँको वर्ष फेरिँदै जाँदा मेरो दक्षिणाको रकम बढेर २५० सम्म पुग्न थाल्यो। साथीहरूको ५०० देखि एक हजारसम्मको अंक सुन्दा यति धेरै रकम पाइने रहेछजस्तो पनि लाग्यो। टीका र आशीर्वादभन्दा पनि पैसाको हिसाब हेर्न थालियो भनौं न। अलिकति बढी पैसा दिए हुन्थ्यो भन्ने भावना उब्जन थाल्यो। साथीभाइको दशैँको दक्षिणा चर्चा सुन्दा भने हामीलाई खिन्न लाग्थ्यो। हाम्रोमा भने किन त्यति धेरै पैसा नदिने होला भन्ने प्रश्न मनमा खेलिरहन्थ्यो। सायद त्यो बेला विद्यालयले दक्षिणासँगै आशीर्वाद र पारिवारिक जमघटको महत्त्व अझै दर्साउनु पर्ने थियो।
मेरो ममामाघर टाढा भएको कारण हामी सितिमिति जान पाएनौँ। यद्यपि भक्तपुरमा रहेको काका हजुरबाकोमा भने जान्थ्यौँ।
माध्यमिक तहमा पुग्दा घरको ज्येष्ठ हजुरआमा बित्नुभयो। हजुरआमापछि काका हजुरबुवाको घरबाट टीका लगाउन शुरू भयो। यद्यपि केही समयपछि परिवारको टः बा (सबैभन्दा ज्येष्ठ सदस्य) बाट लगाउन थालियो। अनि त सुवाल परिवारका छोरीहरूले २५ रुपैयाँसम्म पाउन थाल्यौँ। हामीलाई त्यही ठूलो भयो। छोरा र छोरी बीचमा छोरीलाई बढी दक्षिणा दिने चलन पहिलेदेखि नै थियो। हामीले १० रुपैयाँ पाउँदा छोराहरूले पाँच रुपैयाँ पाउँथे। यो भिन्नता ५० रुपैयाँसम्म पुग्दा पनि आधाले नै फरक थियो।
दाजुभाइ प्रश्न गर्थे, “केटीहरूलाई त्यति धेरै दिँदा हामीलाई चाहिँ किन पाँच रुपैयाँ मात्र?” आमाहरूको भने एकै स्वर हुन्थ्यो, “धेरै होइन, उनीहरू पराइ घर जाने, माया गर्नुपर्छ भनेर हो।” अहिले पनि हामीले धेरै पाएको १०० रुपैयाँ मात्रै होला। दाजुभाइले अझ पनि २०–२५ रुपैयाँ मात्र पाउने हुन्।
मेरा साथीभाइ, सहकर्मीहरूको दक्षिणा गिन्ती सुन्दा यो रकम पनि जमानाअनुसार उचित नै लाग्छ। दशैँमा खासगरी नयाँ छोरीज्वाइँलाई कुस्त दक्षिणा दिनुपर्ने अभ्यास कतिपय परिवार र समुदायमा छ भन्ने सुनिन्छ। दक्षिणा अत्यन्त निजी कुरा भएकाले त्यसबारे धेरै सोधीखोजी गर्न पनि अप्ठ्यारो नै पर्ने भयो। यो विकृति हो वा संस्कृति भनेर ठहर गर्न पनि ममा उतिधेरै सांस्कृतिक अनुसन्धान छैन।
तर मलाई यति भने थाहा छ-दक्षिणाको ठूलो 'मार्जिन'ले व्यक्तिको दैनिकीमा भने पक्कै गम्भीर प्रभाव पार्न सक्छ। दाइजो र दहेजको प्रकोपलेझैँ समाजलाई समस्यामा लैजान सक्छ।
नेवार समुदायमा घरको मूली नै हर्ताकर्ता हुने र उनैले पारिवारिक दायित्वदेखि खेतीपातीका कामसम्मका सबै जिम्मेवारी उठाउनु पर्ने कारण पनि दक्षिणा दिने चलन खासै नभएको हुनुपर्छ। नेवार परिवारमा समय् बजि खाने, पिउने र रमाइलोसँग बिताउने चलन भएको संस्कृतिविद् ओम धौभडेल बताउँछन्। ज्येष्ठ व्यक्तिले परिवार र समाज सम्हालेको कारण दक्षिणाको रूपमा प्रसाद दिने चलन रहेको उनी ठान्छन्। सोही कारण नेवार समुदायमा पुरुष घरमूलीले टीका लगाइदिएपछि अन्यले फेरि लगाइदिनु पर्दैन।
मेरा खसआर्य साथीका परिवारमा ज्येष्ठताका आधारमा सबैले आफूभन्दा सानालाई टीका लगाउने चलन रहेकोसमेत थाहा पाएँ। यसो हुँदा सबैभन्दा सानोको सबैभन्दा धेरै रकम हुने रहेछ। हाम्रोमा भने टीका लगाइदिने भनेकै घरमूली एक जनाले हो। त्यसकारण सबैको दक्षिणा बराबर।
फेरिएको शैली
अहिले आएर सम्झिँदा लाग्छ, त्यो सात रुपैयाँ पाएको समय फरक थियो। केवल थोरै क्षणको रमाइलो थियो। दाजुभाइ र अभिभावकसँग बसेर खाइने भोजले दक्षिणाको लोभ बिर्साउँथ्यो। दक्षिणा २५ र ५० हुँदै १०० रुपैयाँसम्म पुग्दा पनि बाल्यकालको त्यो हर्ष र उत्साह भेट्टाउन कठिन छ।
बढ्दो उमेर र 'व्यावहारिकता'सँगै बाल्यकालकोझैँ उत्साह र रौनक हराउने रहेछ। दशैँमा दक्षिणा पाइन्छ भन्ने आशा केही हदसम्म रहे पनि दक्षिणाकै लागि टीका लगाउने उद्देश्य अब छैन। यो त मेरो कुरो भयो। कसैलाई दक्षिणाकै रकमको पनि अर्थ होला, त्यो अलग होला। तर आफ्ना मान्यजनबाट पाइने आशीर्वादले नै दंगदास भइन्छ– ‘धेरै पढेस्, राम्रो मान्छे भएस्’ इत्यादि।
आजकल 'समाजले निर्धारण गरेको एउटा उमेर' पुगेका कारण होला, दक्षिणासँगै आशीर्वादमा पनि 'दबाब' महसुस हुनथालेको छ। छोराछोरीलाई आशीर्वाद दिँदा ‘यो वर्ष एक जना छ, अर्को वर्ष ज्वाइँ/बुहारीलाई पनि टीका लगाउन पाइयोस्, ज्वाइँ/बुहारी नल्याई भोज खान बोलाइँदैन है’ भन्ने कुराले समाजको मनोविज्ञान प्रकट हुन्छ।
विवाहपछि फेरि आशीर्वादको लर्को लाग्छ– ‘यसपालि दुई जना छौ, अर्को वर्ष तीन जना हुनुपर्यो।’ मसँगैका धेरैजसो साथीहरूको विवाह भइसकेका कारण, यसपालि मैले पाउने दक्षिणामात्र नभई आशीर्वाद पनि कस्ता हुन्छन् भन्ने अनुमान लगाएको छु।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
