महानवमीमा मात्र खुल्ने तलेजु मन्दिरमा दर्शनार्थीको घुइँचो

हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि वर्षमा एकपटक अर्थात् महानवमीका दिन मात्र खुला गर्ने चलन छ। मन्दिरमा दर्शन तथा पूजाका लागि भक्तजन बिहानैदेखि लामबद्ध छन्।

काठमाडौँ– वर्षको एक दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिरमा सोमबार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।

हनुमानढोका दरबार क्षेत्रमा रहेको मन्दिर सर्वसाधारणका लागि वर्षमा एकपटक अर्थात् महानवमीका दिन मात्र खुला गर्ने चलन छ। त्यसैले, दर्शन तथा पूजाअर्चनाका लागि भक्तजन बिहानैदेखि लामबद्ध छन्।

तलेजु भवानीलाई नेवार समुदायले इष्ट देवताका रूपमा पुज्ने गर्छन्। दैवीशक्ति वा मातृशक्तिका रूपमा पनि पुजिने तलेजुलाई ‘तुलजा’ पनि भन्ने गरिन्छ। तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ। विजयादशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ।

मूलचोकमा महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ। राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने संकल्पसाथ तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको जनाइएको छ। 

तलेजु भवानीको मन्दिर २०७७ सालमा भने कोरोना महामारीका कारण खुला गरिएको थिएन।