दूधदहीसमेत नखाने शाकाहारीले कसरी मनाउँछन् दशैँ?

माछामासु नखानेले समेत आफ्ना मांसाहारी आफन्त र परिवारसँग बसेरै चाडको मजा लिएका छन्। मासु खान पशुवध गर्नैपर्ने तथ्यलाई ख्याल गर्दै 'सरल भोजन'मा आफ्नो खुशी र आदर्श भेट्टाउने प्रयास गर्नेहरू प्रशस्त छन्।

माछामासु नखानेलाई समाजले शाकाहारी भनेर बुझेको छ। तर माछामासुमात्रै होइन, पशुपक्षीबाट प्राप्त कुनै पनि चीज नखाने र प्रयोग नगर्नेहरू पनि हुन्छन्, पछिल्लो समय तिनको संख्या खासगरी युरोप-अमेरिकालगायत विकसित देशमा उल्लेख्य संख्यामा बढ्दो छ भने नेपाल र भारतमा पनि तिनको संख्या बढ्दैछ। मध्यपूर्व, अफ्रिका, चीन, रसिया र मंगोलियाजस्ता देशमा समेत त्यस्तो जीवनशैली अपनाउनेहरू छन्। कतिसम्म भने साउदी अरेबियाका अर्बपति राजकुमार स्वयं भिगन छन्। खलिद बिन अल्वालिद अल साउद विश्वको बढ्दो प्रदूषण नियन्त्रण र पशुकल्याणका लागि भिगन हुनुपर्छ भन्छन्।  

उनको जस्तो जीवन पद्धति अपनाउनेलाई 'विशुद्ध शाकाहारी' भन्दा हुन्छ, यद्यपि दक्षिण एशियामा शुद्धताका अनेक परिभाषा भएकाले अंग्रेजी शब्द 'भिगन'ले नै हामीलाई बढी न्याय गर्ला। 

चार वर्षयता मैले भिगन जीवनशैली अँगालेको छु। माछामासु त परै जाओस्, दहीदूध, घिउ, मही, महसमेत खान्न। छालाबाट बनेका कुनै पनि सामान लगाउँदिनँ। सोही कारण, दशैँ आउनेबित्तिकै साथी तथा आफन्तजनहरू मेरो खानाबारे चिन्ता गर्नुहुन्छ। मेरो दशैँ खल्लो हुनेभयो या 'दशैँमा यसले के खाली?' भन्ने सवालहरू उठाउनुहुन्छ। 

त्यसो हुनु स्वाभाविक हो, किनभने मिठोमसिनो खाने चाडपर्व हो दशैँ। उसो त दशैँको मूल टिका-जमरा, आफन्त र इष्टमित्रमा आफूभन्दा पाका सदस्यहरूको आशीर्वाद हो। मेलमिलाप र भेटघाटको साँच्चै विराट पर्व हो यो। त्यसो हुँदाहुँदै पनि दशैँका अनेकन् बिम्बहरू बनेका छन्, जसमा मांसभोजन गर्ने कतिपयका लागि मासु दशैँको प्रतीक हो। उसो त अन्य कतिपय धर्म सम्प्रदायका चाडबाडमा समेत मासु जोडिन्छ, क्रिश्चियनहरूका लागि थ्यांक्स गिभिङमा टर्की, मुसलनमानको बकर इदमा बाख्रा। 

युगौँदेखि माछामासु नखानेहरूले समेत आफ्ना मांसाहारी आफन्त र परिवारसँग बसेरै पनि चाडको मजा लिएका छन्। 'उत्पातै मिठो मासु'को विकल्प खोजेका छन्। मासु खान पशुवध गर्नैपर्ने तथ्यलाई ख्याल गर्दै स्वाद गौण ठान्दै 'सरल भोजन'मा आफ्नो खुसी र आदर्श भेट्टाउने प्रयास गर्नेहरू प्रशस्त छन्। हामीचाहिँ मासुमात्र होइन, अन्य पशुजन्य भोजनमा पनि पशुकष्ट र पशुहिंसा देखेर दहीदुधसमेत नखाने 'अल्टर भिगन!' त्यही भएर कतिपय साथीभाइ हामीलाई सोध्छन् र सुझाव दिन्छन्, 'माछामासु नखानु त राम्रै हो, तर दहीदूध नै छाडेर के खान्छौ? अनि चाडबाडमा के खाने?' 

भिगनले दशैँलगायत अन्य पर्व कसरी मनाउँछन् भनेर बुझ्नअघि किन कोही भिगन हुन्छ भन्नेबारे बुझ्नु जरुरी छ। कोही वातावरणका लागि, कोही स्वास्थ्यहितका लागि त कोही पशुहत्या र पशु शोषणको विषयलाई लिएर भिगन हुने गर्छन्। मेरै कुरा गर्दा पशुहरूप्रति हामी मानव समुदायले गर्ने गरेको दुर्व्यवहार अनुचित लागेर यस्तो जीवनशैली अपनाएको हुँ। गान्धीले ‘इस्सेन्स अफ हिन्दूजम्’ नामक पुस्तकमा जीवहिंसालाई हिंसाकै रूपमा लिँदै हिन्दु धर्मको ठूलो देनका रूपमा शाकाहारवादको व्याख्या गरे। यद्यपि, गान्धी दहीदूधजन्य शाकाहारी (ल्याक्टो भेजिटेरियन) थिए। उनको समयमा पशुअधिकार, पृथ्वीको वातावरणका मुद्दा आजजस्तो पेचिलो बनेको थिएन। 

यस धर्तीका कुनै पनि पशु मानिसका निम्ति पृथ्वीमा आएका वा देवताले मानिसका लागि बनाएका हुन् भन्ने कुरामा म विश्वास गर्दिनँ, यद्यपि, उद्विकासका क्रममा मान्छेले पशुहरूको प्रशस्त उपयोग गरेको छ, जसलाई आजको दृष्टिमा हामी शोषण भन्छौँ। उसो त मानिस आफैँ पनि पशुको एक प्रकार हो। हामी उन्नत पशु हौँ। पशुहरूमा पनि हामीजस्तै पिडा महसुस गर्ने क्षमता रहेको सत्यलाई आत्मसाथ गर्दै सम्भव भएसम्म तिनको शोषण नगरीकन जीवन बाँच्छु भनेर मैले लिएको व्रतको नाम हो भिगन जीवनशैली। सम्भव भएसम्म सबै प्राणीप्रति करुणा राख्ने अभ्यास हो यस्तो अभ्यास। 

मेरा हकमा दशैँ असत्यविरुद्ध सत्यको विजयको प्रतीक हो। बाल्यकालदेखि हामीले दशै मनाइनुको कारणमा यस्तै कथा र कथन सुन्यौँ। उसो त सत्य र असत्यको परिभाषा शासन र शक्तिले निर्धारण गर्छ। सबै समाजका आफ्ना सत्य र असत्य हुनेगर्छन्। मैले अपनाएको जीवनले सत्य र अहिंसाको पक्ष लिन्छ भन्ने मेरो ठहर छ। मलाई आफूभन्दा कमजोर र बोल्न नसक्नेलाई कष्ट नदिई बाँच्ने प्रयास गर्नु सत्यकर र श्रेयकर लाग्छ। 

सोही मर्मलाई आत्मसात् गरेर दशैँ मनाउन सक्नु मेरा लागि सन्तृष्टिको विषय भएको छ। तर यसो भन्दैमा मैले स्वादविहीन दशैँ मनाउँछु भन्ने चाहिँ पक्कै होइन नि! उसो त स्वाद आफैँमा मनोविज्ञानसँग समेत जोडिएको विषय हो। पशुपक्षीको वधबिनै जीवन जिउनुको स्वाद मलाई गर्बिलो लाग्छ। जिभ्रोकै स्वादको कुरा गर्ने हो भने पशुपक्षीको मासु र दहीदूधबाहेक वनस्पति, गेडागुडी, साग, फलफूल र अन्नबाट यति धेरै परिकार बन्छन्। वनस्पतिको विविधताका अघि पशुजन्य भोजन सीमित छन्। आफ्नो खानामा थोरै मात्र रूपान्तरण गर्न हामी तम्सने हो भने वनस्पतिजन्य भोजन इन्द्रेणीजस्तै छ। अहिले त 'भिगन रेसिपी'हरू युट्युबमा प्रशस्त पाइन्छ। तोफु चिल्लिदेखि सोया मिल्कका हजारौँ पकवान बनाउने तरिका भेटिन्छन्। त्यहीँबाट पनि हामी वनस्पतिजन्य भोजनको मजा लिनसक्छौ। घरमै हामी धेरै प्रकारका स्वाद तयार गर्न सक्छौँ। 

धेरैले दशै भनेकै मासु ठान्नेलाई इंगित गर्दै परम्परागत र धार्मिक शाकाहारीले यदाकदा भन्ने गरेको सुनेको छु, 'मासु मिठो मसलाले हुने हो, आलु नै तारे पनि उत्तिकै मिठो हुन्छ।' त्यसमाथि मासु पकाउँदाकै लगावका साथ तयार पार्ने हो भने भटमासको मस्यौरा, तोफु र च्याउ त्यसको गजबको बिकल्प बन्नसक्छ। अचेल काठमाडौँ र पोखरालगायतका शहरका केही भिगन रेस्टुरेन्टमा झन्डै मासुकै स्वाद र 'टेक्स्चर'मा सेइटान पाइन्छ। सेइटान गहुँको पिठोमा रहेको प्रोटिन (ग्लुटेन) बाट बनाइन्छ। यसलाई घरमा समेत बनाउन सकिन्छ। धेरैजसो भिगनलाई मासुको स्वादको खासै चिन्ता हुँदैन, तर हुनेलाई माथिको विकल्पले सजिलो पार्न सक्छ। 

यदि दहीदूधको स्वाद खोज्ने हो भने वनस्पतिजन्य दहीदूधको बजार विश्वभर बढ्दो छ। भटमास, काजु, बदाम आदिबाट दूध सजिलै बनाउन सकिन्छ। अचेल ठूला स्टोर/मार्टहरूमा समेत वनस्पतिजन्य दूधहरू किन्न पाइन्छ। अर्को कुरा, पशुजन्य दूधका कारण झन्डै विश्वका ७० प्रतिशत मान्छेमा ल्याक्टो इन्टलरेन्स (दूधजन्य अपच)को समस्या छन्। वनस्पति जन्यमा त्यो समस्या रहँदैन।  

दशैँमा म सेइटान, मस्यौरा र गेडागुडीका फरक परिकार तयार गर्छु। पहिले मेरो परिवारमा म मात्र भिगन भएका कारण मेरा लागि छुट्टै र परिवारका लागि अलग खाना बन्थ्यो। अहिले हाम्रो परिवारमा सबैका लागि भिगन खाना बन्छ र त्यसपछी अन्य पकवान बन्छ। मलाई भटमासबाट बनेको दही धेरै मनपर्छ। त्यस दहीसँग चिउरा र केरा मिसाएर खान बडो मजा आउँछ। सेईटान साँध्दा धेरै मिठो हुने भएकाले म परिवारका सदस्यलाई सो पनि खुवाउँछु। मेरो घरमा आउने पाहुनालाई पनि सोही परिकार खुवाउँछु।  

चाडबाडमा आफन्तकहाँ जाँदा भने उहाँहरूकोमा पाकेको जुनसुकै भिगन खाना (घिउ बिनाको दाल, भात, अचार, रोटी, साँधेको आलु आदि) खान्छु। यदि यी परिकार नहुँदा फलफूल त खाइहालिन्छ।  

म आफैँलाई सोध्छु, आहारकै कारणले मेरो दशैँ कम रमाइलो भएको छ त?  अरूलाई त्यस्तो लाग्न सक्छ, तर आफूलाई भने भिगन भएर चाडपर्वहरू मान्दा मानसिक स्फूर्ति मिलेको आभास हुन्छ। दशैँमा पशुहरूलाई घिच्याएर कतै लगिरहेको, कतै मार हानेपछि खुट्टा तन्काइरहेका पशुपक्षी देख्दा अथवा कति किलोको खसी ढाल्ने भन्ने प्रतिस्पर्धामा धनी-गरिबहरू सबै रुमल्लिरहेको देख्दा मैलेजस्तो धेरैले गरिदिए संसार झनै सुन्दर बन्थ्यो कि भन्नेठान्छु। बोल्न र प्रतिकार गर्न नसक्ने भएकै कारण हामी मानव जातिले पशुलाई मारेका हौँ भन्ठान्छु।  

चार वर्षयताका मेरा दशैँ विशेष भएका छन्। तपाईँ पनि भिगन शैलीमा जीवन र चाडपर्व मान्ने सोच बनाउँदै हुनुहुन्छ भने युट्युबमा 'ह्वाट द हेल्थ', 'द गेम्स चेन्जर'लगायतका भिडियोहरू हेरेर आफ्नो धारणा बनाउन सक्नुहुन्छ। उसो त यस्तो जीवनशैलीबारे हजारौँ र लाखौँ सामग्री इन्टरनेटमा छन्। ह्यप्पि दशै। 


अधिवक्ता भुजेल पशुअधिकारकर्मीसमेत हुन्।