मौन अवधिअगावै सामाजिक सञ्जालका प्रचार सामग्री हटाउन निर्वाचन आयोगको निर्देशन

सहप्रवक्ता भट्टराईले स्थिर समय शुरू हुनुपूर्व पोस्ट गरिएका निर्वाचन प्रचार सामग्री सम्बन्धित सामाजिक सञ्जाल तथा अनलाइनबाट हटाउनुपर्ने बताए।

काठमाडौं– निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्री बिहीबार राति १२ बजेसम्म हटाउन निर्देशन दिएको छ। आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई सामाजिक सञ्जालमा पोस्ट भएका निर्वाचन प्रचारप्रसारसम्बन्धी सामग्री मंसिर १ गते राति १२ बजेसम्ममा हटाइसक्न निर्देशन दिएको हो। 

बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै आयोगका सहप्रवक्ता कमल भट्टराईले मतदान शुरू हुनुभन्दा ४८ घण्टाअघिबाट राजनीतिक दल र उम्मेदवारले कुनै पनि तरिकाबाट निर्वाचन प्रचारप्रसार गर्न नपाउने बताए। उनले यो अवधिमा राजनीतिक दल तथा उम्मेदवारले सामाजिक सञ्जाल तथा अनलाइनको प्रयोग गरेर उम्मेदवारको पक्ष/विपक्षमा मत माग्न नपाउने पनि बताए। 

सहप्रवक्ता भट्टराईले स्थिर समय शुरू हुनुपूर्व पोस्ट गरिएका निर्वाचन प्रचारप्रसारका सामग्री सम्बन्धित सामाजिक सञ्जाल तथा अनलाइनबाट हटाउनुपर्ने बताए। उनले उम्मेदवार तथा राजनीतिक दलले आयोगको निर्देशन अटेर गरी सामाजिक सञ्जालबाट प्रचारप्रसार गरे वा प्रचारप्रसार सामग्री नहटाए कानुनबमोजिम कारबाही हुने पनि बताए। 

"अटेर गरी विज्ञापन नहटाउने उम्मेदवार र राजनीतिक दललाई निर्वाचन आचारसंहिता २०७९ को उल्लंघन भएको ठहर गरी आयोगले निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन आचारसंहिता २०७९ एवं निर्वाचन कसुर तथा सजाय ऐन बमोजिम आवश्यक कारबाही गर्ने छ," उनले भने।

आयोगले राजनीतिक दल तथा उम्मेदवारले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचनसम्बन्धी प्रचारप्रसारका सामग्री हटाए/नहटाएको अनुगमन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने बताएको छ।