दिनोज पेसामा यति इमानदार छन् कि नियमित आउने ग्रहकको लागि कागजको चंगा स्टकमा राखेर भए पनि खाली हात पठाउँदैनन्। दशैँतिहारमा मात्र नभई बाह्रै महिना चंगा बेच्नेमा पर्छन् उनी।
काठमाडौँ– असन बजारको छेउमै छ, भुतदाइको भुतिमाला पसल। 'भुतदाइको भुतिमाला पसल' भन्दा तपाईंलाई अचम्म लाग्यो होला। तर यसमा अनौठो मान्नु पर्ने केही छैन किनभने नेवारी भाषामा 'भुतिमाला' भनेको चंगा हो। भुतदाइको वास्तविक नाम दिनोज चित्रकार हो, तर सबैले उनको नाम नै 'भुतदाइ' राखिदिएका छन्। यतिले मात्रै किन पूरा हुन्थ्यो र उनलाई सम्बोधन गर्ने शब्द! चंगा चेट हुने हुँदा 'चेटदाइ' र 'वफाचा' समेत उनको परिचय बनेको छ।
भुतदाइका जति पनि नयाँ नाम छन् ती सबै चंगा व्यापारसँगै जोडिएका छन्। बाजे बराजुदेखि चल्दै आएको उनको पसलले सिंगो एक शताब्दी बिताइसक्यो। यही ठाउँमा बसेर उही पसल चलाउने उनी चौथौ पुस्तामा पर्छन्।

भुतदाइका हजुरबुवा उनी सानै छँदा बिते। बुवालाई पनि बाल्यकालमै गुमाउनुपर्यो। पितृवियोग सहनुपर्दा उनी केवल सात वर्षका थिए। हजुरबुवा र बुवाको निधनपछि उनकी हजुरआमा अष्टमाया चित्रकारले व्यापार सम्हालिन्। अष्टमायाको पनि ८८ वर्षको उमेरमा निधन भयो। दिनोजले विगत सम्झँदै भने, "हजुरआमाको निधन भएको अहिले पाँच वर्ष भयो।"
उनलाई धमिलो सम्झना अझै छ, २०६५ सालमा उनकी हजुरआमाले पत्रकारलाई अन्तर्वार्ता दिएकी थिइन्। 'इसीएस नेपाल' भन्ने पत्रिकामा उनकी हजुरआमाको अन्तर्वार्ता छापिएको थियो। त्यसको १५ वर्षपछि म पनि अन्तर्वार्ता दिँदै छु, उनले सुनाए। हजुरआमाले भनेका कुरा आफ्ना मुखबाट सुनाउन पाउँदा कम्ती खुशी देखिएनन् उनी।

पुराना दिन खोतल्दै दिनोजले भने, "त्यो समयमा नेपालमा खासै चंगा बन्दैनथे। हामी नै असनको पहिलो व्यापारी हौँ जसले भारतबाट चंगा ल्याएर बेच्यौँ।" उनका अनुसार असन आएर एकमुष्ट जाने चंगा नै काठमाडौँदेखि ललितपुर र भक्तपुरका गल्लीहरूसम्म साइकलबाट पुग्थे र घरघरका छतबाट तिनले आकाश सजाउँथे।
अलि पछि भने नेपालमा पनि नेपाली कागज (लोक्ता) बाट चंगा बन्न थाल्यो। तर नेपाली कागजबाट बन्नेका चंगा अरू चंगाभन्दा अलि महँगो पर्थ्यो। उनले भने, "काठमाडौँ, भक्तपुर र कीर्तिपुरमा नेपाली कागजबाट चंगा बनाउने चलन थियो। तर अहिले खासै नेपाली कागजको चंगा बनाइँदैन, अहिले त प्लास्टिकको चंगा धेरै बिक्री हुन्छ।

दिनोजको अनुभवमा कागजको चंगा एकदम टिकाउ हुन्छ तर बच्चाहरूले प्लास्टिकको चंगा नै धेरै मन पराउने गर्छन्। अचेल त उडाउन मात्र हैन, धेरैले सजाउनका लागि पनि चंगा किन्छन्। अहिले धेरैजसो ग्रहक सजावटकै लागि चंगा लिन आउने गरेको उनले पाएका छन्।
चंगा मात्र होइन, धागो पनि भारतबाट नै ल्याउने गरिन्छ। यसको कारण प्रस्ट्याउँदै दिनोज भन्छन्, "चंगा उडाउने तरिका नेपालमा र अरू देशमा फरक छ। नेपालीलाई चंगा उडाउन लटाई नै चाहिन्छ भने अरू देशमा धागो हातैले समातेर चंगा उडाइन्छ। भारतबाट ल्याइएको धागोको लटाई भने काठमाडौँ र ललितपुरमा धेरै बनेका हुन्छन्।"

पुराना दिन सम्झँदै उनले भने, "पहिला चंगा उडाउने एउटा समूह नै हुन्थ्यो। यो एउटा प्यासन हो। तर अहिले त २५ वर्षदेखि ३५ वर्ष उमेरको मान्छे नेपालमै छैनन्। त्यसकारण पहिलेको जस्तो चंगा अहिले उडाउँदैनन्। सबैजसोले हातमा मोबाइल, ल्यापटप बोकेर बस्छन्।" त्यही भएर पनि अहिले चंगाको व्यापार खासै राम्रो नभएको हो कि जस्तो लाग्छ उनलाई। पहिलाको भन्दा अहिले व्यापार खासै राम्रो छैन।
"हाम्रा पालामा पो खेल्ने कुराहरू धेरै हुँदैनथे। बाहिर गएर गुच्चा खेल्थ्यौँ, साइकलको काम नलाग्ने पांग्रा गुडाउँथ्यौँ, लुकामारी खेल्थ्यौँ। दशैँमा त म आफैँ पनि चंगा उडाउन मन पराउने मान्छे, पसलबाट चंगा चोरी चोरी छतमा गएर उडाउँथेँ। कुनै समयमा पसलमा बस्नुपर्दा हजुरआमालाई झुक्याएर चंगा चोरेर उडाउन जान्थेँ," पुराना दिनको रोमाञ्चकता सम्झँदै उनी मुस्कुराए।

चंगाको समग्र व्यापार घटेको भए पनि दिनोजकहाँ आउने पुराना ग्राहकमा भने कमी आएको छैन। तिनका माग पूरा गर्न गाह्रो नमानी लागिरहेका हुन्छन् उनी। पुरानो ग्राहकमा कागजकै चंगाको रुचि बढी छ। अनि धागो पनि उनीहरू पहिलेको जस्तै बलियो र राम्रो खोज्छन्। दिनोज पेसामा यति इमानदार छन् कि नियमित आउने ग्रहकको लागि कागजको चंगा स्टकमा राखेर भए पनि खाली हात पठाउँदैनन्। दशैँतिहारमा मात्र नभई बाह्रै महिना चंगा बेच्नेमा पर्छन् उनी।
दिनोजले सम्झिएअनुसार पुराना कागजका चंगामा पुच्छर हुँदैनथे। आफ्नै कापीको पुच्छर बनाएर उडाउनुपर्थ्यो। अहिले त पुच्छर भएको चंगा अनि चंगाको डिजाइन पनि आफूले चाहेजस्तै पाइने भइसक्यो।

पहिले र अहिलेमा आएको परिवर्तनबारे उनी भन्छन्, "अहिले काम गर्ने तरिकामा धेरै भिन्नता आएको छ। पहिला घर सानो भएकाले समानहरू राख्न गाह्रो हुन्थ्यो। अहिले समानलाई राम्ररी मिलाएर राख्न सकेका छौँ। पहिला धागो आफ्नै हातले लटाईमा बेरेर पठाउनु पर्थ्यो भने अहिले धागो बेर्नको लागि मेशिन हालेका छौँ।"
आकाशमा देखिने चंगाको संख्या घटेकोमा भने दिनोजलाई नमज्जा लागिरहन्छ। भन्छन्, "पहिला आकाशमा उडेका अधिकांश चंगा आफ्नै पसलका हुन्थे। घरमाथि गएर हेर्दा एकदम रमाइलो लाग्थ्यो। हाम्रो पसलका चंगा उड्दैछन् जस्तो लाग्थ्यो। अहिले चंगा पसल धेरै भए, तर पहिलेको जस्तो चंगा उडेको देख्न पाइँदैन। यसमा चाहिँ नरमाइलो लाग्छ।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
