जब सम्बन्धित अल्पसंख्यक समुदायमाथि अन्याय भयो, शाहरुखको अस्तित्वमाथि निशाना साँधियो। त्योबेला उनले उदेकलाग्दो मौनधारण गरे। पहिले सरकारी अत्याचारविरुद्ध बोलेका उनी हालका ज्यादतीबारे मौन नै छन्।
‘आई एम द लास्ट अफ द स्टार्स।’
सन् २०१४ मा प्रसारित एक टेलिभिजन अन्तर्वार्तामा भारतीय अभिनेता शाहरुख खानले बोलेको वाक्य हो यो। बलिउडका बादशाह, किङ खान, रोमान्सका राजा जस्ता उपनाम दिइने खानको उदय सन् १९९२ मा प्रदर्शित 'दिवाना'बाट भएको थियो। उनको सिनेमा र सिनेमाका लागि भूमिकाको चयन तथा पात्रलाई पर्दामा उतार्ने अनौठो तर लुकेको खुबीले भारतीय उपमहाद्वीपका हिन्दी–उर्दु बुझ्ने दर्शकका लागि प्रेम, रोमान्स र पुरुषत्वको परिभाषा नै फेरिदियो। उदार अर्थतन्त्रतर्फ बढ्दै गरेको देशका लागि यी आधारभूत सामाजिक अवयवहरू थिए।
यी विषय प्रष्ट पार्न थोरै भूमिका आवश्यक हुन्छ।
सन् १९९१ मा भारत र नेपालले उदार अर्थतन्त्रको यात्रा तय गरेका थिए, जसको अर्थ यी देशका अर्थतन्त्र र समाज विश्वकै अर्थतन्त्र र समाजसँग एकीकृत भइरहेका थिए। यो नयाँ व्यवस्थाले भारतीय शहरहरूमा कामको अवसर सिर्जना गरिरहेको थियो र ग्रामीण भारतका बासिन्दा झैँ नेपालीहरू पनि ठूलो संख्यामा ती शहर पुगेका थिए।
त्यस बेलाको भारतीय सरकारले विश्वका अरू देशसँगको सहकार्यमा शिक्षामा पहुँच बढाउँदै लगेको थियो। अर्कोतर्फ, धनाढ्य परिवारका महिलाको पहुँचमा सीमित सौन्दर्य प्रसाधन 'सामान्य' महिलाले पनि उपभोग गर्न थाले। गाईवस्तुले बाली खाइदिन्छन् भनेर बाटो छेउको जग्गा किन्न हिचकिचाउने किसानलाई पछि त्यही जग्गा चिठ्ठाजस्तै बन्यो। त्यस्ता जग्गा भएका मानिस नवधनाढ्य बने। यी नव–कुलीनहरूले गाउँमा भएका राजनीतिक दलका 'क्लाइन्ट'लाई प्रतिस्थापन गरे। यही समयमा उदारवादतर्फ लम्किरहेका भारत र नेपालमा अनगिन्ती परिवर्तन भए।
भारतको सन्दर्भमा सर्वसाधारणले यी परिवर्तनहरू झट्टै नदेखे/नबुझे पनि यहीबीच एउटा अनुहार पोस्टरहरूमा, टीभीतिर, होर्डिङ बोर्डमाथि, पत्रपत्रिकाका पानामा सर्वत्र देख्न थालेका थिए– त्यो अनुहार थियो शाहरुख खानको।
श्रयाना भट्टाचार्यले 'डेस्परेट्ली सिकिङ शाहरुख' नामक किताबमा उनी भारतको पहिलो उत्तर–उदारवाद सुपरस्टार भएको दाबी नै गरेकी छन्। यहाँसम्म कि, उनले आफ्नो किताबमा कुल गार्हस्थ उत्पादनबारे ज्ञान नभएका भारतीयमाझ पनि खान 'उदारवाद'को पर्याय भएको आभास रहेको बताएकी छन्।
उनका प्रशंसकले शाहरुख खानको बिम्बलाई फरक रूपमा ग्रहण गरेका हुन्छन्। व्यक्तिगत रूपमा 'किङ खान'को बिम्बलाई मैले तीन फराकिला विधामा अर्थ्याएको छु– पहिलो, उनले बलिउडमा पुरुषत्वको विद्यमान चित्रणको प्रस्थानविन्दु तय गरे। दोस्रो, रहिआएका सामाजिक मान्यताहरू कायम राख्दै आशावादी भविष्यतर्फ डोहोर्याउने प्रयास गरे। र यी दुईको समिश्रणका माध्यमबाट सफल परियोजनाहरूमा आफूलाई संलग्न गराए।
पुरुषत्वका विद्यमान मापदण्डको प्रस्थानविन्दु
उदारवादले हरेक समूहका सर्वसाधारणमाझ एउटा आकांक्षा साझा गरेको थियो– वरपरको संसारबाट धेरैभन्दा धेरै फाइदा लिने। समाजका उच्च वर्गले विकासको बढी फाइदा पाइरहे तापनि महिला र अन्य कमजोर वर्गहरू बल्ल परिवर्तनबाट लाभान्वित हुँदैथिए। दाजुभाइहरू सँगसँगै दिदीबहिनीहरू विद्यालय पुग्दै थिए, आफ्नो खुट्टामा उभिएर जीवनयापन गर्ने इच्छाको खाका कोर्दै थिए। हुनेखानेले हुर्केका छोराछोरीहरूलाई उच्च शिक्षाको लागि पश्चिमी देशहरूमा पठाउँदै थिए।
स्वास्थ्य र विकास सम्बन्धित अर्थशास्त्रीहरूले बच्चाको हुर्काइ र परिवारको समग्र हितका लागि आयभन्दा आधारभूत शिक्षा बढी सहयोगी हुने मन्त्र सुझाइरहेका थिए। घरका महिलाहरू गृहस्थीमा मात्रै सीमित हुने परिवेशमा हुर्किएका र अब पश्चिमा राष्ट्रतिर उच्च शिक्षाका लागि गएकाहरू बिस्तारै महिलाको अस्तित्व, सम्मान, पहिचान र स्व:निर्णयको अवधारणासँग परिचित हुँदै गए। व्यक्तिगत स्वतन्त्रता र आधारभूत सम्मानका आधारमा जीवन जिउने सामाजिक व्यवस्थाको नयाँ अनुभूती लिँदै थिए। उनीहरूका परिवारले 'पश्चिमी शिक्षा' हासिल गरेका आफ्न छोराछोरीबाट आफ्नो परिवारको सम्मान र हैसियतमा बढोत्तरी भएको महसुस गर्दै थिए।
यो सम्मान र हैसियतलाई थप फराकिलो पार्न यी परिवारले आफ्ना छोराछोरीको सहमतिलाई बेवास्ता गर्दै मागी विवाह गर्न दबाब बढाए। यसकारण पश्चिमी विश्वविद्यालयहरूबाट फर्केका, त्यसमध्ये पनि महिलाहरूले परिवारको अपेक्षाहरू पालना गर्दै परिवारको धन र अन्य अधिकारहरूको लाभार्थी बन्ने वा यो सबै त्यागेर आधुनिक संसारमा रमाउने अनौठो र केही हिसाबमा क्रुर दुविधामा परे। यसले गर्दा तराजुका दुवै तुलामा उभिएका सबै महिलाहरू वञ्चितीकरणको नयाँ आयामसित परिचित भए, जुन आंशिक रूपमा उदारीकरणको 'परियोजना'ले ल्याएको समृद्धिको कारण थियो।
यही बेला पुरुष, महिला र उनीहरूको समाजसँगको सम्बन्धबारे रहिआएको बुझाइलाई चुनौती दिँदै 'प्रकट' भए– शाहरुख खान। महिलासँग सम्बन्ध विस्तार गर्दा वा गर्ने क्रममा पुरुष नाजुक, असुरक्षित र भावनात्मक पनि हुनसक्छ भन्ने भाव आफ्ना सिनेमाको माध्यमबाट खानले पर्दामा उतारे। शहरी भारतीय, हिन्दी–उर्दु भाषी दक्षिण एशियाली उदारीकरणको सिँढीमा चढ्दै गर्दा शाहरुख लाम्बोर्गिनी चढेर हिँड्ने लन्डनका युवकको भूमिकामा देखिए– यस्ता युवक जो आफ्नो प्रेमिकाको परिवारको मन जित्न उनीहरूको पछिपछि भारतको एउटा गाउँसम्म पुग्छ।
उक्त फिल्मलाई समयसँग फरक ढंगले समीक्षा गर्न सकिन्छ, तर त्यो बेला उक्त फिल्मले प्रेम, रोमान्स र पुरुषत्वलाई नयाँ अर्थ दिएको थियो। त्यहाँ एउटा सम्पन्न युवक आफ्नो प्रेमको सम्मानका लागि लडिरहेको थियो। यो सिनेमा भारतमा त रुचाइयो नै, यसको प्रभाव देश बाहिर हुर्किरहेका युवामा पनि उत्तिकै पर्यो।
मलाई याद छ, सन् २०१५ ताका काठमाडौँमा पढ्दै गर्दा मेरो कक्षाकी एक विद्यार्थीले आफूलाई सिमरन भनेर चिनाएकी थिइन्। कुरा गर्दै जाँदा उनले आफ्नो आमाबुवा 'दिलवाले दुलहनिया ले जाऐंगे'बाट प्रभावित भएर उनको नाम सिमरन राखेको बताइन्।
श्रयाना भट्टाचार्यको 'डेस्परेटली सिकिङ शाहरुख'ले मलाई ती अभिनेतालाई उदारवादी नजरबाट हेर्न प्रेरित गरेको थियो। भट्टाचार्यले आफ्नो लेखनका माध्यमबाट कसरी उदार भारतका महिलाले शाहरुखको व्यक्तित्वमा 'भगवान'को छवि देखे भनेर निकै सुन्दरतापूर्वक बखान गरेकी छन्। शाहरुख पत्रकारहरूसँग कुरा गर्दै भान्छामा काम गर्दै गरेको अवतारमा टीभी, पत्रिकामा देखिए। आफ्नो प्रेम विफल हुँदा पर्दामा रोइरहेको देखिए। हिन्दी फिल्मका 'हिरो'को यो छवि देखिरहँदा महिलाहरू आफ्नो जीवनमा यस्तै पुरुषको चाहना गरिरहेका थिए, जसले उनीहरूलाई घरको काममा सघाओस्। उनिहरूको 'डेडलाइन' पनि उत्तिकै महत्वपूर्ण छ भनेर बुझोस्। र उनीहरूलाई सम्मान गरोस्।
समृद्धि र विशेषाधिकार उपभोग गरिरहेका महिलाले पनि आफ्नो जीवनसाथीले दिने माया र सम्मानले जीवन अझै अर्थपूर्ण हुने महसुस गरे। उक्त किताबमा उनले व्यावसायिक रूपमा सफल दिल्लीकी एक महिलाको कथा समावेश गरेकी छ्न्, जसको प्रेमी वर्षौंदेखि न्युयोर्कमा छन्। तर ती प्रेमीलाई भेट्न न्युयोर्क जाने विमान चढ्नुभन्दा ६ घण्टाअगाडि सम्बन्ध अन्त्य गरिदिन्छिन् र सिधै लन्डन पुग्छिन्। होटेल गएर नुहाउँछिन्। 'मायाको परिभाषा बदलेर आफ्नो संसार यस्तो विरक्तलाग्दो किन बनाइदिएको' भनी गुनासो गर्न मन्दिरतिर लाग्छिन्। मन्दिर– अर्थात् म्याडम टुसाड वाक्स म्युजियम र भगवान शाहरुख खानको मैनको मूर्ती!
भट्टाचार्यले उनमा 'नयाँ युगको भक्त' देख्छिन्, आफ्नो प्रेमको असफलताबाट मुक्तिका लागि प्रार्थना गर्छिन्– कसैको बन्धनबिना स्वछन्द भएको प्रेमिल कल्पना!
उदार समाज र कमजोर समुदायहरू
यी परिवर्तन र परिवर्तनका अनुसरण समाजका कमजोर वर्गका लागि सुखद भने थिएनन्। विचारधाराका हिसाबले उदारवाद विविधताको सम्मान गर्ने, आधारभूत मानवीय गरिमा र स्वतन्त्रताको सुरक्षाका माध्यमबाट आर्थिक विकास गर्दै समृद्धि ल्याउने प्रणाली हो। उदारवादको 'परियोजना' लागू गर्दा ठूला–ठूला वाचा गरिएका थिए र मानिसका आकांक्षा बढिरहेका थिए। यद्यपि, त्यस 'नयाँ युग'को तीन दशकपछि धेरै मानवीय दु:खका विषय अतितका कुरा भए भने, आशा निराशामा बदलिए।
'इतिहासको अन्त्य'को भविष्यवाणी गर्ने भविष्यवेत्ताका अनुसार समुदायको बुझाइमा ह्रास, धार्मिक समाजहरूमा मूल्य–मान्यता र परमम्पराको सम्मानमा कमी र बढ्दो असमानता उदारवादको अनुसरणले निम्त्याएका केही प्रमुख असहमतिका विषय थिए। उदारवादी संसारको जटिलताहरू क्रोधको विभिन्न रूपका माध्यमबाट प्रकट भइरहेका थिए।
त्यही बेला शाहरुख यी जटिलता पन्छ्याउन परम्परागत मूल्य–मान्यताहरूलाई कायम राख्दै प्रगतिको बाटोमा अगाडि बढ्ने 'अवतार'का रूपमा उदाएका थिए।
समयक्रममा यस्ता परिस्थितिहरू आए, जब खान सम्बन्धित अल्पसंख्यक समुदायमाथि अन्याय भए, उनको अस्तित्वमाथि निशाना साँधियो। तर उनले त्योबेला उदेकलाग्दो मौन धारण गरे। पहिले सरकारी अत्याचारविरुद्ध बोलेका उनी हालका ज्यादतीबारे मौन रहँदा प्रश्नहरू स्वाभविक रूपमै उठे। उनले यसो गर्नुमा उदारवादी संसारले बेलाबेला न्याय र मानव अधिकारको मुद्दामा सम्झौता हुँदा आँखा चिम्लिएका उदाहरणहरूको झल्को आउँछ।
तर उनको रणनीतिक मौनता र चयनात्मक बोलीले धेरैको आशा जीवितै राखिरहेको छ।
शाहरुखले सार्वजनिक रूपमा बोल्दा भन्ने 'इन्साअल्लाह', 'मासाअल्लाह' जस्ता शब्दले 'मुसल्मानियत'को भाव जीवन्त राखिरहेको छ। उनको दर्शनात्मक प्रार्थनाको प्रभावबारे मेरो नमाजी साथी पनि सहमत छ। खानको ग्लोबल–स्टारको छविलाई बाराक ओबामा, नादिया मुराद, मलाला युसुफ्जाईलगायतका व्यक्तित्वले बेलाबखत थप बल दिएका छन्। देशबाहिरका उनको प्रशंसक, उनलाई चिन्नेहरूका बीच एउटा कुरा समान छ– उनीहरू पूर्व र विशेषगरी भारत शाहरुखको छविमा देख्छन्। सन् २०१५मा बाराक ओबामा भारत भ्रमणमा आउँदा एक सार्वजनिक कार्यक्रमको शुरुआत शाहरुखकै फिल्मको संवाद 'सेनोरिटा, बडी बडी देशों में.. ' बाट गरेका थिए।
प्रवासी भारतीयले प्रकट गर्ने अर्को कुरा अपनत्व र समुदायको साझा भाव हो– चाहे त्यो उदारवादको लाभार्थीका रूपमा होस्, वा उदारवादका नीति र परम्पराको द्वन्द्वले बनाएको पीडितका रूपमा। शाहरुखले भूमिकामा उतार्ने पात्रमा उदार विश्वका उनीहरूले सहारा पाइरहेका थिए, कुनै किसिमको सम्बन्ध महसुस गरिरहेका थिए।
उदारवादको चर्को प्रहारप्रति शाहरुखको 'रेजिलियन्स'
प्रसिद्ध अर्थशास्त्री जोसेफ स्टिग्लिट्ज गरिब देशलाई थप पीडित गर्ने कारक उदारीकरणको नियमलाई मान्छन्। उनका अनुसार धनी र गरिब अर्थव्यवस्थाका बीच देखिएको भारी अन्तरकै कारण विपन्न देश उन्नत औद्योगिक अर्थव्यवस्थासँग प्रतिस्पर्धा गर्न संघर्षरत छन्।
भारतीय बजारमा प्रवेश गर्न हलिउडलाई संसारका अरू स्वतन्त्र अर्थव्यवस्थामा प्रवेश गर्न भन्दा गाह्रो भयो। केही विश्लेषक यहाँसम्म भन्छन् कि हलिवूडले भारतीय बजारमा अपेक्षाकृत बजार नपाउनुको एक मुख्य कारण शाहरुख खानको रणनीतिक हिसाबले निर्मित 'इमेज' र त्यसलाई विश्वासिलो रूपले आफ्ना दर्शकमाझ प्रस्तुत गर्ने उनको क्षमता हो। शाहरुखले कहिले हात फैलाएर गीत गाउँदै, कहिले मुसुक्क मुस्काउँदै त कहिले बन्दुक चलाउँदै आर्जन गरेको स्टारडमले भारतलाई दुनियाँको एक मात्र त्यस्तो स्वतन्त्र बजार बनायो, जहाँ हलिउडका सिनेमा प्रतिस्पर्धा गर्न संघर्षरत छन्।
मलाई कहिलेकाहीँ लाग्छ, लोकप्रियतावाद र पहिचानको राजनितीले दिशाहीन र त्रस्त बनेको उदारवाद कहिलेकाहीँ संसारलाई हेर्दै असरारुल हक मजाजको काफिया 'बहुत मुश्किल है दुनिया का सम्वरना, तेरी जुल्फों का पेच–ओ–खम नहीं है' (दुनियाँलाई सजाउन धेरै गाह्रो छ, तिम्रो अल्झिएको कपाल कहाँ हो र) गुनगुनाउँछ होला। त्यही बेला शाहरुख झुल्किन्छन्, अल्झिएको कपालको प्रश्न छलेर वातावरण मुग्ध पार्दै ...
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
