स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारप्रति किन बढ्यो आकर्षण?

उम्मेदवारी दर्ता हुँदासम्म आफूलाई ‘थ्रेट’रहित ठानिरहेका प्रमुख पार्टी र नेता एक–डेढ महिनामै नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारसँग त्रसित बन्ने अवस्थामा पुग्नुका पछाडि एउटा होइन, धेरै कारण जोडिएका छन्।

चितवन– दीपक चापागाईं भरतपुर महानगरपालिका–१०, गौतम टोलमा बिजुलीका सामग्रीको पसल चलाउँछन्। सामाजिक सञ्जालबाट राजनीतिबारे नियमित ‘अपडेट’ भइरहने चापागाईंले संविधानसभाबाट संविधान बनेपछि देशले स्थिर सरकार पाउने आशा गरेका थिए। त्यसले विकासका गतिविधि बढ्ने, आफ्नै घरगाउँमा अवसरको ढोका पनि खुल्ने उनको आशा थियो। “भ्रष्टाचार अन्त्य होला, गलत गर्नेहरू दण्डित होलान्, सरकारी कार्यालयमा काम पनि छिटोछरितो होला भन्ने लाग्थ्यो”, चापागाईं भन्छन्, “व्यवस्था मात्र बदलिएको रहेछ, अवस्था झन् बिग्रिएर गयो। नेताहरू सत्ताका लागि मरिहत्ते मात्र गरिरहे।”

झण्डै दुईतिहाइ बहुमतप्राप्त नेकपाका नेताहरूले एकापसमा लडेर पाँच वर्षका लागि बनेको सरकार साढे तीन वर्षमै ढालेपछि उनमा पार्टीहरूप्रतिको वितृष्णा चुलिएर गयो। “आखिर जो आएपनि सत्ता नै सबथोक रहेछ। अब नयाँ रोज्नुपर्छ। पुरानालाई कति भोट दिनु?”, भरतपुरमा पसलमै भेटिएका उनले भने।  

पश्चिम नवलपरासीको बर्दघाटका नरबहादुर पुन कवाडी सामान संकलन गर्ने काम गर्छन्। उनको घरअगाडि तीन वर्षअघि भत्काइएको पूर्व–पश्चिम सडक अहिलेसम्म बनेको छैन। सडकमा उड्ने धुलोले घरमा बसिसक्नु छैन। उनको निष्कर्ष छ– एमाले–कांग्रेसले काम गरेनन्। “कति पुराना पार्टीलाई मात्र भोट दिने? यसपटक नयाँ पार्टीलाई अवसर दिने हो”, पुन भन्छन्। 

मध्य र पश्चिम तराईका जिल्लामा चुनावी गतिविधिको रिपोर्टिङका क्रममा निस्कँदा चापागाईं र पुनजस्ता धेरैजना भेटिए जसमा ‘पुरानालाई छाडेर नयाँ रोज्ने’ हुटहुटी प्रशस्त देखिन्थ्यो। 

चितवन क्षेत्र नम्बर २ मा देखिने पछिल्लो ‘माहोल’ त्यसको उदाहरण हो। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मनोनयन दर्ता हुनुअघि चितवन क्षेत्र नम्बर ३ चर्चाको केन्द्रमा थियो। कारण, त्यो नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र थियो। चर्चाको कारण त्यो मात्र थिएन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि त्यहीँबाट उम्मेदवारी दिने चर्चा थियो। चितवनबाट जित्नेमा ढुक्क हुन नसकेर दाहाल मनोनयन दर्ताको पूर्वसन्ध्यामा गोरखा–२ पुगे। त्यसपछि लामिछानेले पनि अन्तिम घडीमा चितवन–३ को सट्टा चितवन–२ मा मनोनयन दर्ता गराए। 

त्यही दिनदेखि चर्चामा आउनथालेको हो चितवन–२। निर्वाचन मिति नजिकिँदै जाँदा कांग्रेस र एमाले दुवैले आफ्नो परम्परागत ‘किल्ला’ मान्दै आएको चितवन–२ अचम्मसँग डगमगाएको छ। र, त्यसका पछाडि लामिछानेकै उम्मेदवारी जोडिएको छ।

कस्तो मनोविज्ञान  
टेलिभिजन कार्यक्रमका चर्चित प्रस्तोता लामिछाने राजनीतिमा पुरै नयाँ नाम थियो। राजनीति उनको नितान्त नयाँ बाटो थियो। टेलिभिजनको पर्दामा सामाजिक मुद्दा उठाउनेबाहेक समाजसँग सिधा जोडिने अरू गतिविधिमा पनि उनी कतै संलग्न थिएनन्।  तर, छोटो समयमै उनले यस्तो ‘माहोल’ बनाए कि आफू प्रत्याशी रहेको चितवन–२ मा एमाले र कांग्रेसका ‘हेभीवेट’ उम्मेदवारलाई आच्छुआच्छु पारे, पारिरहेकाका छन्। 

उनको पार्टी र चुनाव चिन्ह चितवनभन्दा बाहिरका धेरै ठाउँमा चर्चाको केन्द्रमा देखिन्छ। यस्तो किन त? “एमाले र कांग्रेसले अहिले नयाँ अनुहार दिन सकेनन्, हिजो जित्नेहरूले पनि जनताको घरदैलोमा फर्केर टेकेनन्”, भरतपुर महानगरपालिका–७ की रितादेवी शर्मा भन्छिन्।  

देशको राजनीति लामो समय एमाले र कांग्रेसकै वरिपरि घुम्यो, घुमिरहेको छ। सबै जिल्ला, सबै टोलसम्म फैलिएका संगठन संरचना, समाजका हरेक तह, तप्का र संस्थामा कुनै न कुनै रूपमा एमाले–कांग्रेसले नै प्रतिनिधित्व गर्छन्। यस्तो राजनीतिक सञ्जाल भएका प्रमुख पार्टीका उम्मेदवारलाई हायलकायल पार्ने अवस्थामा भर्खर पार्टी खोलेर राजनीतिमा लागेका लामिछाने कसरी पुगे? 

खैरहनी, चितवनका कृष्णप्रसाद अर्यालको बुझाइमा पुराना पार्टीहरूकै कारण मतदाताको मनोविज्ञान फेरिएको हो। र, त्यसले लामिछाने, उनले नेतृत्व गरेको पार्टी र स्वतन्त्र उम्मेदवारमा आकर्षण बढाएको हो। “यो देश चलाउने पार्टीले हो, पार्टीको विकल्प छैन। तर, यिनीहरूले परिवर्तित समाज, जनताको आकांक्षा र देशको आवश्यकता अनुसार काम गर्न सकेनन्”, अर्याल भन्छन्, “पुराना पार्टीहरूमा सुधार गराउन पनि पार्टीहरूकै कार्यकर्ता यसपटक नयाँलाई भोट दिनुपर्दछ भन्ने मनोविज्ञानमा देखापरेका छन्। हामीले बुझ्दै आएको राजनीतिमा केही नयाँ भइरहेको छ।”

२०७२ सालमा संविधान जारी भएपछिको पहिलो निर्वाचनमा एमाले र माओवादीले स्थिर सरकारको नारा दिएर मत मागेका थिए। पटक–पटक भइरहने सरकार परिवर्तन, कुनै पनि सरकारले पाँच वर्ष टिकेर काम गर्न नसकिरहेको अवस्थाले नागरिकमा बढेको असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयास पनि थियो त्यो। 

एमाले–माओवादीको यस्तो नाराले मतदातालाई आकर्षित गर्‍यो। दुई पार्टीको चुनावी गठबन्धनले झण्डै दुईतिहाई बहुमत ल्यायो। त्यसपछि दुई पार्टीबीच एकीकरण भएर नेकपा गठन भयो।

सरकार बनेपछिका शुरूआती दुई वर्ष ठिकठाक रहेपनि त्यसपछि नेकपामा यस्तो कचिंगल बढ्यो, पार्टी नै दुई चिरा भएर साबिकका एमाले र माओवादी ब्युँतिए। आफ्नै कारण सरकार ढल्यो। त्यतिले नभएर एमाले नै विभाजित भयो। र, कांग्रेस नेतृत्वमा गठबन्धन सरकार बन्यो। तत्कालीन नेकपा, एमाले हुँदै कांग्रेस नेतृत्वमा बनेको सरकारले नागरिकका सवाललाई बेवास्ता गरेर जेजस्ता गतिविधिमा आफूलाई केन्द्रित गरे, त्यसले नागरिकमा भने वितृष्णा चुलिँदै गयो। रवि लामिछाने नेतृत्वको पार्टीले ल्याइरहेको तरंगलाई धेरैले त्यही असन्तुष्टिसँग जोडेर हेरेका छन्। 

उनीहरूका भनाइमा प्रविधिमा भएको परिवर्तनले यी सबै कुरा जोकोहीले पनि हेर्न, जान्न, बुझ्न सक्ने भएका छन्। त्यसले नै पार्टीहरूप्रति असन्तुष्टि बढ्दै गएको खैरहनी, चितवनका टिकादत्त इटनी बताउँछन्। 

पछिल्लो समय संघीय सरकारदेखि प्रदेश सरकार र स्थानीय सरकारहरूमा समेत बढेको आर्थिक अराजकता, विकास आयोजना र बजेट विनियोजनमा आफ्नै आसेपासे पोस्ने अभ्यास र त्यसले बढाएको भ्रष्टाचार र बेथितिले असन्तुष्टि थप चुलिएको अर्याल बताउँछन्।  “यो भ्रष्टाचार, सेवा प्रवाहको बेथिति र काम गराइमा परम्परागत ढर्राप्रतिको असन्तुष्टि पनि हो” उनी भन्छन्। 

निर्वाचनको माहोलमा पार्टीहरूप्रति थप असन्तुष्टि बढ्नुको कारण चाहिँ उनीहरूले अघि सारेका उम्मेदवार पनि हुन्। ठूला पार्टीहरूले धेरैजसो पुरानै अनुहारलाई अगाडि सारेका छन् जसमा ठेकेदार, व्यापारीदेखि विभिन्न ‘काण्ड’मा मुछिएका आपराधिक पृष्ठभूमिका व्यक्तिहरूसमेत छन्। उनीहरूसँग प्रतिस्पर्धा गर्ने नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारका रूपमा नयाँ पुस्ता अगाडि आउँदा आकर्षण पनि त्यतै ढल्किएको देखिन्छ। 

मानवशास्त्री सुरेश ढकाल भने नेपालीहरू प्रतिक्रियात्मक भएपनि मनोविज्ञान छिटोछिटो परिवर्तन नहुने बताउँछन्। “नेपालीको मनोविज्ञान छिटोछिटो परिवर्तन हुन्थ्यो भने २०४६ सालका नेता अहिले पनि नेता भइराख्दैनथे। अहिले मनोविज्ञान छिटोछिटो परिवर्तन भएको जस्तो मात्र लागेको हो”, उनी भन्छन्, “नेपालीहरू प्रतिक्रियात्मक छन्। तर, मनोविज्ञान नै परिवर्तन गरेर अर्कोको खोजी गरिहाल्ने खालको अवस्थाचाहिँ देखिन्न।” 

अहिले नयाँ पार्टी र स्वतन्त्र स्वतन्त्र उम्मेदवारको उभार आउन खोजेको देखिनुमा विगतमा विकल्प नदेखिनु पनि एउटा कारण रहेको उनको विश्लेषण छ। “विगतमा विकल्प थिएन। अहिले विकल्प देखिएको भएर, अलिकति दृश्यमा आएर त्यस्तो महशुस भएको हो। राजनीतिमा नेपाली मनोविज्ञान बुझ्न अर्को पाँच वर्ष पर्खनुपर्छ”, ढकाल भन्छन्।