टोरन्टो प्रस्तुतिसँगै क्यानडाको श्रृंखलाबद्ध यात्रा टुंग्याएर १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापनको टोली अक्टोबर १२ का दिन स्वदेश फर्कँदै छ।
काठमाडौँ– ऐतिहासिक स्मारकका रूपमा श्रद्धा गरिने सभागृह ‘मेस्सी हल’को प्रस्तुतिपछि नेपथ्यले क्यानडाको श्रृंखलाबद्ध यात्रा टुंगिएको छ।पहिलोपटक क्यानडामा उपस्थित भएको ब्यान्डले क्यालगरी, भ्यानकुभर हुँदै टोरन्टोमा प्रस्तुति दिँदै नेपाली समुदायलाई नचाएको थियो।
टोरन्टोमा स्थानीय समयअनुसार बेलुकीको सात बजे पहिलो प्रस्तुतिका रूपमा ‘सा कर्णाली’ म्युजिक भिडियो बज्नासाथ तीनतल्ले हलमा टनाटन दर्शकमा उत्साहको आवाज गुन्जाएका थिए। त्यसपछि कन्सर्ट अवधिभर त्यो न्यानोपना जारी रह्यो।
मञ्चमा ब्यान्डको उपस्थितिपछि भने ‘कोशीको पानी यो जिन्दगानी’बाट साँझको शुरूआत गरिएको थियो। त्यसपछि लगातार नयाँ र पुराना गीतहरू एकपछि अर्को प्रस्तुत हुँदै गए।
प्रस्तुतिका क्रममा नेपथ्य र ब्यान्डका मुख्य गायक अमृत गुरुङले विदेशमा बसेका बेला नेपालीहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए। यतिबेला मुलुकभित्र विभाजन ल्याउन खोज्नेविरुद्ध अमृतले खबरदारी गरे।

“हामीबीच जात, धर्म र वर्गजस्ता कुराहरू अघि सारेर जो जसले विभाजन ल्याउन खोजे पनि त्यसको जवाफ हामीले एकजुट भएर दिनुपर्छ,” उनले थपे, “त्यस्ता विभाजनकारीलाई हामीले उल्टो मानवता र भाइचाराको प्रवर्द्धन गरेर देखाइदिऊँ।”
कन्सर्टमा ‘यो जिन्दगानी’ गीत प्रस्तुत गरिरहँदा गायक अमृतले पछिल्लो समय नेपथ्य ब्यान्ड मानव सेवा आश्रमसँग मिलेर मानवताको सेवामा समर्पित भइरहेको जानकारी गराएका थिए। सामाजिक दायित्वलाई सन्देशका रूपमा सुनाउँदासुनाउँदै पनि दर्शकबीच सर्वकालिक हिट गीतहरू ब्यान्डले प्रस्तुत गरेको थियो।
ब्यान्डको प्रस्तुतिले सम्पूर्ण दर्शकलाई उफ्रिएर नाच्न बाध्य बनाइदिएको जर्जब्राउन कलेजमा अध्ययनरत एन्नी सिंहले अनुभव सुनाइन्। टोरन्टोमा नेपथ्यको कन्सर्ट हेर्नका लागि छिमेकी मुलुक अमेरिकाबाट पनि उल्लेख्य संख्यामा दर्शक जम्मा भएका थिए।

नेपथ्यले ‘रातो र चन्द्रसूर्जे’ गीतबाट आफ्नो प्रस्तुति अन्त्य गरेको थियो। कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
“नेपथ्य अनुभव गर्न चाहने क्यानडाका नेपालीको ओजपूर्ण उपस्थिति देख्न पाइयो,” आयोजक टिमका दीपेन्द्रजंग केसीले समापनपछि भने, “यो कन्सर्टबाट क्यानडामा नेपाली संगीतको एउटा इतिहास रचिएको महसुस हुँदै छ।”
टोरन्टो प्रस्तुतिसँगै क्यानडाको श्रृंखलाबद्ध यात्रा टुंग्याएर १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापनको टोली अक्टोबर १२ का दिन स्वदेश फर्कँदै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
