लाक्पा लामाले कुनै बेला यू-१७ फुटबलको राष्ट्रिय प्रतियोगिता खेलेका थिए। तर उनी चर्चित क्रिकेटर बने। सन् २००२ मा नेपालले पहिलोपटक यू-१९ विश्वकप क्रिकेट खेल्दा उनी नेपाली टोलीका महत्त्वपूर्ण सदस्य थिए।
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा असोज ५ गते शुरू हुँदा पूर्वखेलाडी लाक्पा लामा हलबाट रुँदै बाहिरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। झापा क्रिकेट संघका सचिव पनि रहेका लाक्पा हलबाहिर निस्कँदै गर्दा क्यान अध्यक्ष चतुरबहादुर चन्दको विरोध गरिरहेका थिए।
झापाको प्रतिनिधि विवाद भएपछि अध्यक्ष चन्दले लाक्पालाई हलबाट निकाल्न प्रहरीलाई निर्देशन दिएका थिए। झापाको मताधिकार पनि खोसिएको थियो। त्यहाँबाट मनोज कटुवाल र लाक्पा लामा दुवै जनाले प्रतिनिधि भएको दाबी गरेपछि जिल्लाको मताधिकार नै खोसिएको हो।
लाक्पा पहिलैदेखि चन्दको विरोधी पक्षमा थिए। क्यान प्रतिबन्धपछि भएको पहिलो निर्वाचनमा चन्द र पूर्वअध्यक्ष विनयराज पाण्डे प्यानल नै बनाएर अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। त्यस बेला पनि लाक्पा पाण्डे समूहबाट सदस्यको उम्मेदवार थिए।
यसपटक साधारणसभाबाट रुँदै बाहिरिनु परे पनि उनले झापा जिल्ला क्रिकेट संघमा सचिवको उम्मेदवार बन्दा गरेको वाचा बिर्सिएका छैनन्। ग्रासरुट क्रिकेट सुधारमा काम गर्ने उनको प्रतिबद्धता थियो। एक वर्षमा एकपटक भए पनि अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आयोजना गर्ने उनको योजना छ। तर विगतदेखि नै क्रेन्दबाट आफूलाई सहयोग नमिलेको उनको गुनासो छ।
उनीसँगै ड्रेसिङ रुम सेयर गरेका पारस खड्का अहिले क्यान सचिव भएका छन्। पारसबाट भने आफूले सहयोग पाउने आशा राखेका छन्। तर अध्यक्ष चन्दले जिल्लामा विवाद झिकिदिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
लाक्पा भन्छन्, “इमरान खानको एक भनाइ छ- तपाईंले जबसम्म हार मान्नुहुन्न नि तबसम्म फाइट गरिरहनुपर्छ। म हार मान्दिनँ, ब्याक टू ब्याक फाइट गरिरहन्छु। केन्द्रसम्म आउन नसके पनि जिल्ला र प्रदेशसम्म काम गरिरहन्छु। तर मेरै जिल्लाको साथीभाइले काम गर्न दिएनन् र आवाज उठाएनन् भने म क्रिकेटबाटै पलायन हुन पनि सक्छु।”
लाक्पा लामो रेसको घोडा हुन्। उनको खेल जीवन छोटो थियो। तर उनी पहिलोपटक यू-१९ विश्वकप क्रिकेट खेल्ने नेपालको सुनौलो पुस्ताको खेलाडी हुन्। उनको खेलजीवन सरल र सिधा भने थिएन।
कहिले फुटबलतिर, कहिले क्रिकेटतिर
सन् १९९६ मा भारत, पाकिस्तान र श्रीलंकाले संयुक्तरुपमा आयोजना गरेको एक दिवसीय विश्वकप क्रिकेटमा सचिन तेन्दुकरले सर्वाधिक ५२३ रन बनाए। तर लाक्पा लामाको ध्यान दक्षिण अफ्रिकाका 'अलराउन्डर' ज्याक कालिसतिर थियो। तीव्र गतिमा बलिङ गर्ने कालिसले उक्त विश्वकपको एक वर्षअघि मात्रै सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका थिए। २० वर्षीय कालिस बललाई 'इन स्विङ' गराउन माहिर थिए।
त्यस अघिसम्म लाक्पा क्रिकेटभन्दा बढी फुटबल खेल्थे। भारतीय सीमा नजिकै भएको कारण झापाको काँकटभिटामा क्रिकेट र फुटबल दुवैको माहोल थियो। बढी त फुटबल नै खेलिन्थ्यो।

विश्वकपपछि क्रिकेटको क्रेज ह्वात्तै बढ्यो। विद्यालयबाट फर्किँदा सातआठ जना साथी मिलेर क्रिकेट खेल्न थालिहाल्थे। दुई जना ब्याटिङ गर्ने, बाँकी फिल्डिङ। ब्याटरले आउट नभएसम्म ब्याटिङ गरिरहन पाउँथे। कोही त झमक्क साँझ परेर खेल नरोक्दासम्म ब्याटिङ गरिरहेका हुन्थे।
लाक्पा बलिङ गर्दा ज्याक कालिसको शैली पछ्याउँथे। उनी तीव्र गतिमा बलिङ गर्थे र बललाई इन स्विङ गराउँथे। उनको बलमा टिकेर खेल्न साथीहरूलाई मुस्किलै हुन्थ्यो। भुईंमा ठोकिनुअघि बल हावामै भित्र पस्दा साथीभाइ अनौठो मान्थे।
तर लाक्पा भने फुटबल खेलाडी बन्न चाहन्थे। ८/९ कक्षा पढ्दापढ्दै उनी यू–१७ फुटबल राष्ट्रिय लिग खेल्ने झापाको टोलीमा परे। लगातार दुई वर्ष लिग खेलेपछि उनी पाकिस्तान ‘टूर’का लागि राष्ट्रिय यू–१७ फुटबल टोलीमा परेको खबर आयो। उत्साहित हुँदै उनी झापाबाट काठमाडौँ पुगे।
“झापामा पनि राम्रो खेलिरहेको भएर राष्ट्रिय टोलीमा पर्छु भन्ने आशा थियो। तर, बन्द प्रशिक्षणमा के भयो के! फाइनल स्क्वाडमा पर्न सकिनँ,” उनी भन्छन्।
अनि क्रिकेटतिर स्विङ
झापा फर्किएपछि फुटबलप्रति लाक्पाको मोहभंग भयो। नौलो खेलबाट मौका पाइन्छ कि भन्ने आशामा उनले क्रिकेटमै समय दिन थाले। उनी भन्छन्, “मलाई यसमा (फुटबलमा) धेरै थोक गर्नु थियो। तर मौका नपाएपछि बाटो नै फेरेँ र क्रिकेटमा लागेँ।”
त्यो समय विद्यालयमा पनि क्रिकेटका सीमित खेलाडी थिए। तिनै खेलाडीसँग लाक्पा अन्तरविद्यालय प्रतियोगितामा भाग लिन जान्थे। त्यसको एक वर्षपछि उनी पुन: नेपालको जर्सी लगाउने सपनासहित काठमाडौँ ओर्लिए। यसपटक पनि उनी यू-१७ राष्ट्रिय टोलीबाट खेल्ने सपनासहित काठमाडौँ आएका थिए। तर फुटबल नभई क्रिकेटको सपना। उनी सन् २००० मा भएको यू–१७ एशिया कपका लागि खेलाडी छनोट गर्न भएको राष्ट्रिय प्रतियोगिता खेल्दै थिए।
त्यस बेला तत्कालीन विकासक्षेत्र स्तरीय प्रतियोगिता हुन्थ्यो। लाक्पा पूर्वाञ्चलको टिमबाट खेल्न आएका थिए। उनले पहिलोपटक कीर्तिपुरको त्रिवि क्रिकेट मैदान देखेका थिए।
पहिलो खेलमा पूर्वाञ्चलको टिम मध्यमाञ्चलसँग पराजित भयो। लाक्पाको प्रदर्शन पनि राम्रो भएन। "वीरगन्जका (मध्यमाञ्चलमा वीरगन्जका खेलाडी पनि थिए) खेलाडीको बलिङ एकदमै फास्ट थियो। यतै लाग्ने, उत्तै लाग्ने। त्यसपटक हारे पनि अब चाहिँ फेरि पनि खेल्न आउँछु, म टोलीमै पर्छु भनेर अठोटका साथ झापा फर्किएँ,” उनी भन्छन्।
यद्यपि, प्रतियोगितामा सर्वाधिक विकेट लिने लाक्पा नै थिए। तर उनी पाकिस्तानमा हुने आईसीसी यू-१७ एशिया कप खेल्न जाने टिममा परेनन्। त्यतिबेला मुनिक श्रेष्ठ, सागर पन्त, प्रेम चौधरी, मन्जित श्रेष्ठ, विनोद दास, रोहित शर्मा, दीपेश खत्री, वसन्त रेग्मीलगायत खेलाडी टोलीमा परेका थिए।
लगत्तै अर्को वर्ष बंगलादेशमा एसीसी यू–१७ एशिया कप भयो। त्यस प्रतियोगिताका लागि भने उनी राष्ट्रिय टोलीमा परे। तर त्यति बेलासम्म उनी तीव्र गतिबाट ‘स्लो लेफ्टआर्म अर्थोडक्स’ अर्थात्, स्पिनर बनिसकेका थिए। टोलीमा कनिष्क चौगाईं, यशवन्त सुवेदी, मनोज कटुवाल, शक्ति गौचन र इरफान सिद्दीकीले पनि स्थान बनाएका थिए।
नेपाल रहेको समूह ‘बी’ मा आयोजक बंगलादेशसँगै, पाकिस्तान, सिंगापुर र कुबेत थिए। बंगलादेशविरुद्धको पहिलो खेलमै डेब्यू गरेका उनको प्रदर्शन चित्तबुझ्दो रहेन। आठौँ नम्बरमा ब्याटिङमा उत्रिएका उनी ८ बल खेल्दै स्पिनर मञ्जुरल इस्लामको बलमा बोल्ड भए। २ ओभर बलिङ गरेका उनले १४ रन दिए पनि विकेट लिन सकेनन्। नेपाल पहिलो खेलमा ७ विकेटले पराजित भयो।
पाकिस्तानसँगको दोस्रो खेलमा भने लाक्पाले पहिलो अन्तर्राष्ट्रिय विकेट लिए। ३१औँ ओभरको पहिलो बलमा उनले नदिम जावेदलाई एलबीडब्ल्यू आउट गरे। नेपाल २३ रनले हारे पनि लाक्पाले ४ ओभरमा २४ रन खर्चिएर १ विकेट लिए। ब्याटिङमा १७ बल खेल्दै १ छक्कासहित अविजित ११ रन बनाए।
उक्त प्रतियोगिता नेपालले सिंगापुरलाई २२४ र कुबेतलाई ५ विकेटले जितेको थियो। तर सेमिफाइनल पुग्न सकेन।
प्रतियोगिता खेल्न नेपाली खेलाडीलाई एक जोर दौरा सुरुवाल, कोर्ट र ट्र्याकसुट मात्रै पाए। त्यतिखेर उलाई निक्कै खिन्न लाग्यो। सानैदेखि युरोपेली फुटबल पछ्याएका उनले स्तरीय खेल सामग्री पाउने आशा राखेका थिए। जबकि, अन्य देशका खेलाडीसँग बीडी महाजन एन्ड सन्स प्राइभेट लिमिटेड (बीडीएम)को ब्याट थियो। नेपाली खेलाडी गाउँघरमा खेल्ने ब्याट लिएर बंगलादेश पुगेका थिए।

पहिलो यू-१९ विश्वकप खेल्ने संयोग
बंगलादेशबाट फर्किएपछि लाक्पालाई नेपाल क्रिकेट संघ (क्यान)ले गरेको व्यवहार रत्तीभर चित्त बुझेन। उनले क्रिकेट छाडेर फुटबलमै फर्किने सोच बनाए। अनि झापाको सिनियर फुटबल टिमबाट धनकुटा गोल्डकप खेल्न गए। यता काठमाडौँमा भइरहेको यू–१९ क्रिकेट राष्ट्रिय टोली छनोट प्रतियोगिता खेल्न पनि गएनन्।
नेपालले यू-१९ विश्वकप छनोट प्रतियोगिता खेल्न टोली बनाउँदै थियो। यू-१७ मा राम्रो खेलेका लाक्पा नगएपछि क्यानका तत्कालीन महासचिव विनयराज पाण्डेले उपाध्यक्ष नरेश श्रेष्ठलाई उनको खोजी गर्न भने। नरेशले फोन गरेर लाक्पालाई भने, “तिम्रो यहाँ खोजी भइरहेको छ। तिमी खेल्न आउने कि नआउने?”
त्यसपछि लाक्पा प्रतियोगिता खेल्न तयार भए। उनी पूर्वाञ्चलको टिमबाट राष्ट्रिय प्रतियोगिता खेल्न मनोज कटुवाल, महेन्द्र श्रेष्ठ, ज्ञान सिंह, सुनिल अधिकारीलगायत साथीहरूसँगै काठमाडौँ आए।
सन् २००२ को यू–१९ विश्वकपको छनोट खेल नेपालमै हुने पक्का भयो। छनोटमा यूएई, कुवेत, माल्दिभ्स, मलेसियालगायत टोली थिए। यूएई र मलेसिया बलियो थिए। नेपाल यू-१९ विश्वकपमा छनोट भयो।
विश्वकप खेल्ने टिम बनाउन बन्द प्रशिक्षणमा ४५ खेलाडी बोलाइएको थियो। त्यतिबेला विश्वकपमा टिम बनाउन पुलचोक इन्जिनियरिङ क्याम्पस र त्रिवि क्रिकेट मैदानमा छनोट खेल खेलाइएको थियो। छनोटको एकै खेलमा उनले ७ विकेट लिएका थिए। “रोय लुक डायस आएपछि मेरो लक भयो। उहाँले सिनियर जुनियर होइन, खेल हेर्नुभयो,” उनी भन्छन्, “उहाँ आएको बेला पनि ४ विकेट लिएँ। गेम सकिने दिनमा पनि ४ विकेट लिएँ।”
छनोट प्रतियोगिताका पाँच खेलमा लाक्पाले १५ विकेट लिए। डायसले विश्वकप खेल्न जाने टोलीमा अफस्पिनर सञ्जम र लाक्पालाई टोलीमा राखे। यसरी लाक्पा यू-१९ विश्वकप खेल्न न्यूजिल्यान्ड जान पाए।
न्यूजिल्यान्ड जान करिब १६ घण्टाको यात्रा गर्नुपर्थ्यो। यसपटक पनि यात्रामा क्यानले उचित व्यवस्थापन गर्न सकेन। “यत्रो लामो यात्रा गर्दा खेलाडीले के खाने, के खुवाउने भन्ने म्यानेजमेन्टले हेर्न सकेन। शक्ति त भोकले झन्डै ढलेको थियो। इन्डियन टोलीले छोला भटुरे ल्याएको रहेछ, हामीले त्यही खायौँ। उनीहरूले हामीलाई अझ चाहिन्छ भने बनाइदिन्छु पनि भनेका थिए,” उनी भन्छन्।
न्यूजिल्यान्डको मौसम छिनछिनमै परिवर्तन हुन्थ्यो। फ्रेबुअरीको महिनामा पनि पानी परेर चिसो हावा चल्थ्यो। नेपाली खेलाडीलाई भने एउटा 'वाइन्ड चिटर' मात्र दिइएको थियो।
यसपटक क्रिकेट किट्सको ठूलो ब्याग दिइएपछि भने उनी दंग परे। “बच्चा बेलामा देखेको सपना अब पूरा हुन्छजस्तो लाग्यो। म ब्याग देखेपछि उत्साहित भएँ। तर खेलेर हेर्दा त किट्स छैन पो। झोला मात्रै रहेछ, त्यहाँ पनि मेरो सपना पूरा भएन,” उनी सुनाउँछन्।
उनको घर भारतसँगको सीमावर्ती शहरमा घर भएका कारण भारतीय बजार सिलगुडीबाट राम्रै ब्याट किनेका थिए, एसएसको क्यामलिङ ब्याट। त्यतिखेर एउटै ब्याटको मूल्य ५ हजार भारु थियो। उनी त्यही ब्याट बोकेर न्यूजिल्यान्ड पुगेका थिए।
अभ्यास खेलमा नामिबियासँग नेपाल नराम्ररी पराजित भयो। प्रतियोगिताको आधिकारिक पहिलो खेलमा पनि इंग्ल्यान्डसँग ३७ रनले पराजित भयो। तर दोस्रो खेलमा नेपालले सलमान बटको कप्तानीमा रहेको पाकिस्तानलाई ३० रनले पराजित गर्यो। त्यसपछि न्यूजिल्यान्डका स्थानीय पत्रिकामा नेपालको खेलको समाचार आयो।
नेपालले पपुवा न्यू गिनीविरुद्ध ६५ रनको सानदार जित हासिल गर्यो। लाक्पाले १० ओभर बलिङ गर्दै ३ मेडनसहित १४ रन खर्चिएर ४ विकेट लिए। उक्त खेलमा लाक्पा करिअरमै पहिलोपटक ‘प्लेअर अफ दी म्याच’ घोषित भए।
त्यसपछि नेपालले क्यानाडालाई ९ विकेटले पराजित गर्यो भने नामिबिया, स्कट्ल्यान्ड, बंगलादेश र जिम्बावेलाई क्रमश: १०, ४८, २३ र १३७ रनले पराजित गर्यो। नेपाल ‘प्लेट च्याम्पियन’ भएर फर्कियो। उक्त प्रतियोगितामा सञ्जमले १२, विनोद दासले ११, शक्ति गौचनले १० विकेट लिँदा लाक्पाले ९ विकेट लिएका थिए।
राष्ट्रिय टोली छाडेर दुबईतिर
विश्वकप खेलेर फर्किएपछि झापामा लाक्पा लामा र मनोज कटुवालको भव्य सम्मान भयो। विभिन्न संघसंस्थाहरूले सम्मान गर्दा १ लाख रुपैयाँजस्तो जम्मा भएको उनी बताउँछन्। उनले उक्त पैसाले चाइनिज बाइक किनेका थिए। तर क्रिकेट खेलेर पेट पाल्न सक्ने अवस्था निर्माण भने भएको थिएन। त्यतिखेर उनलाई एक खेलको भत्ता २५ रुपैयाँ दिइन्थ्यो।
“बाइक भनेपछि यस्तो रहर लाग्थ्यो कि के भन्नु! पाएको पुरस्कारले बाइक त किनियो, तर पाल्न सक्छु कि सक्दिन भन्ने खुब चिन्ता लाग्थ्यो। १ हजार रुपैयाँको तेल खान्थ्यो। त्यही बाइक लिएर म काठमाडौँमा क्रिकेट खेल्न आउँथे,” उनी भन्छन्।
नेपाल त्यसपछि यू-१९ विश्वकपमा लगातार छनोट हुन थाल्यो। सन् २००४ मा बंगलादेशमा भएको आईसीसी यू–१९ विश्वकपमा पनि लाक्पाले टोलीमा स्थान बनाए। उक्त प्रतियोगिता मञ्जित श्रेष्ठले सर्वाधिक १४ विकेट लिँदा उनले ११ विकेट लिए। नेपालले समूह चरणमा दक्षिण अफ्रिका, युगान्डा र पपुवा न्यू गिनीलाई क्रमश: १, ५ र ७ विकेटले पराजित गरेको थियो। तर इंग्ल्यान्डसँग ८ विकेटको फराकिलो हार बेहोर्यो। त्यो हारको सिलसिला प्लेट ग्रुपमा समेत जारी रह्यो। नेपाल स्कटल्यान्ड र अस्ट्रेलियासँग ३ र ६ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।

“हामीले राम्रो जग हालिसकेको थियौँ। राम्रो अभ्यास हुन्थ्यो। हामीपछिको टोलीले पनि त्यही पदचाप पछ्याउँदै ब्याक टू ब्याक जित निकाल्न थाल्यो र विश्वकप खेल्यो। तर बीचमा राजनीति घुस्यो र छनोट हुन सकेन। त्यतिखेर नराम्रो फिल हुन्थ्यो,” उनी भन्छन्।
त्यसबेला नेपालको सिनियर टोलीले समेत राम्रो प्रदर्शन गर्दै आएको थियो। सन् २००२ मा एशिया कपमा स्थान बनाएको थियो। तर भारत र पाकिस्तानविरुद्धको कार्गिल युद्धका कारण एशिया कप नै भएन। उनी त्यसमा खिन्न मान्छन्। त्यसपछि एशिया कप खेल्न नेपालले दुई दशक नै कुर्नुपर्यो।
तर लाक्पाले डिभिजन फाइभ खेल्ने टोलीमा स्थान बनाए। उनले मलेसिया गएर प्रतियोगिता पनि खेले। तर त्यसपछि भने उनी क्रिकेटबाट टाढा भए। २४ वर्षकै उमेरमा उनले क्रिकेट खेल्न छाडेका थिए।
“बिहे भइसकेको थियो। नानी पनि भइसकेपछि परिवारको जिम्मेवारी बढ्न थाल्यो। क्रिकेट नै भनेर लाग्न नसक्ने अवस्था सिर्जना भएपछि एक वर्षको काखे छोरी छाडेर दुबई हानिएँ। अझै खेल्न त मन थियो नि,” उनी भन्छन्।
क्रिकेट छाडे पनि उनी दर्शकको रुपमा नेपाली टोलीको खेल हेर्न भने पुगिरहेका हुन्थे। त्योबेला उनलाई निक्कै नरमाइलो लाग्थ्यो। उनले दुबईमा नेपाली टोलीको दुई वटा खेल हेरेका थिए।
दुबईबाट तीन वर्षपछि नेपाल फर्किए। तर उनलाई खेल्न मन लागेन। दुई वर्ष घरेलु प्रतियोगिता खेले। “एकपटक हाइप पाएपछि पलायन भइसकेको थिएँ। त्यसपछि पनि टोलीमा परेको भए मैले एक उदाउँदो खेलाडीको करिअर खाइदिन्थे। त्यसैले मलाई अरूको लागि बाटो छाडिदिनुपर्छ भन्ने लाग्यो," लाक्पा भन्छन्, "तर अनुभव सेअर गर्न म डोमेस्टिक क्रिकेट खेल्थेँ। बलियो टोलीविरुद्ध बलिङ म आफैँ गर्थें। अलिक कमजोरमा म जुनिअरलाई बलिङ गर्न दिन्थेँ।”
प्रशिक्षणतिर पाइला
सन् २०११ सम्म पनि नेपालमा क्रिकेटको 'क्लब कल्चर' थिएन। काठमाडौँमा इन्टर कलेज प्रतियोगिता भइरहेका हुन्थे। शरद भेषवाकरले लाक्पालाई ह्वाइट हाउसमा दुई वर्षको लागि प्रशिक्षक हुने चाँजो मिलाइदिए। उनी महिनाको ८ हजार तलबमा नियुक्त भए।
लाक्पाबाटै क्रिकेट सिकेका सुवास खकुरेल राष्ट्रिय टोलीसम्म पुगे। तर पारिवारिक समस्याको कारण प्रशिक्षणलाई निरन्तरता दिन सकेनन्। उनी लेभल टू गरेका प्रशिक्षक हुन्। अहिले कोशी प्रदेशमै प्रशिक्षण गराउँदै आएका छन्।
“टंक आङ्बुहाङ सर हुँदा राजकुमार प्रधान दाइसँगै लेभल वान गरेको थिएँ। त्यसपछि दीपेन्द्र चौधरी, कलाम अली, प्रकाश शर्मालगायतले लेभल टू पनि गर्यौँ। त्यसपछि एसीसीले लेभल टू गरेपछि सर्टिफिकेट घरमा राख्ने होइन, आफ्नो क्षेत्रमा गएर प्रशिक्षण गराउने भन्थे। तर राजनीति धेरै हुन थालेपछि काम गर्न सकिएन,” उनी भन्छन्।
सन् २०१५ मा क्यान आईसीसीबाट निलम्बित भयो। त्यसपछि उनले प्रशिक्षणको मौका पाए। कहिले राजकुमार त कहिले उनी पूर्वअञ्चलको जुनिअर टोलीको प्रशिक्षक भए। पछिल्लो समयका चर्चित क्रिकेटर दीपेश कँडेल, ललितनारायण राजवंशीजस्ता खेलाडी यही क्षेत्रबाट उमेर समूह र सिनियर टोलीमा पुगेका छन्।
लाक्पासँग प्रशिक्षण लिएका अमित दाहाल र सुनिल बिष्ट यू–१७ टोलीमा परेका थिए। तर उनीहरूपछि कोशी प्रदेशबाट कोही राष्ट्रिय टोलीमा आएका छैनन्। अमित र सुनिल यू–१७ टोलीबाट अगाडि बढ्न नसकेपछि पलायन भइसकेका छन्।
हुन त लाक्पालाई खेलाडी जन्माउने कोशी प्रदेश नै कमजोर भएको लाग्छ। उनी भन्छन्, “काठमाडौँमा भन्दा पनि क्लब लेभल जिल्लामै हुनुपर्ने रहेछ। फुटबलमाजस्तो काठमाडौँ बेस क्लब भयो भने कहिल्यै विकास हुँदैन। जिल्लामै एउटा टी२० प्रतियोगिता क्लब लेभलमा हुनुपर्छ। त्यो भयो भने स्पोन्सरसिप आउँछ, खेलाडीले पेट पाल्न सक्छन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
