झुपडबस्ती फराकिलो देखिन्छ। गगनचुम्बी भवनहरू एकाध, मानौँ ठिंग उभिएर मेरो सगरमाथालाई चुनौती दिइरहेका छन्। संरचनाको यो भेदले आर्थिक विभेदको सगरमाथा पनि ठड्याएका होलान् शायद!
‘आज बान्द्रा पुगेर आउनु पर्यो,’ एकाबिहानै हरिलाई भनेँ।
‘यही नजिकै छ बान्द्रा,’ हरिको साथीको जवाफ कानमा गुञ्जदै थियो।
‘बान्द्रा रमाइलो छ नि। बान्द्रा बस स्टेसनमा गयो भने मुम्बई दर्शन गराउने बस भेटिन्छ। त्यसैमा चढेर एकदिन मुम्बर्ई घुमे हुन्छ नि,’ विष्णु दिदीको सुझाव पनि कानमा गुञ्जन्छ।
‘यताभन्दा धेरै राम्रो छ बान्द्रा,’ हरिको आफ्नै अनुभव।
यी सबै कुराहरूले बान्द्रा पुग्ने इच्छा जागेको थियो मनमा। विष्णु दिदीले भने जस्तै मुम्बई दर्शन गर्ने दिन मिल्ला नमिल्ला। तर, प्रभाती यात्राका रूपमा बान्द्रा पुग्न त सकिन्छ नि।
अनि म लागेँ विवेकानन्द लिंक रोडमा उभ्याइएको दिशानिर्देशको संकेत पछ्याउँदै बान्द्रातर्फ।
गुगल नक्साले बान्द्रा तलाब देखायो। एकछिन त्यही पोखरीले अलमल्यायो मलाई। ‘बान्द्रा बस स्टेसन चाहीँ छ कहाँ?’ म अन्योलमा थिएँ।
‘हैन सचिनले घुमाइदिन्छु भनेको छ। एक दिन उसले दुईतीन घण्टा आफ्नै गाडीमा घुमाइदिन्छ।’ हरिको जानकारी।
सचिन हरिको साथी। बर्लीमा उनको बसोबास छ।
म नियात्राकार राजेन्द्रमान डंगोललाई सम्झन्छु। ‘सुइक्क गाडीमा गयो। वरिपरि हेर्यो, अनि गाडी चढेर फर्कियो। त्यसमा के चाहीँ अनुभूति हुन्छ र नियात्रा हुन्छ?’ संवादको मेसोमा एक दिन उनले सुनाएका थिए।
पैतला खियाउनुको अनुभूति नै बेग्लै। गाडीको यात्रामा के चाहिँ आनन्द हुन्छ र? अलि धेरै ठाउँका रमिताहरू आँखाले कैद गर्लान्। तर पैदल यात्राका भावात्मक अनुभूति त्यसमा कहाँ?
गन्तव्यस्थलको अन्योलमा थिएँ म। लिंक रोड हुँदै आकासे पुलबाट अगाडि बढेँ।
‘चाइल्ड वर्न अ मदर’ पुल सकिनासाथ देखिएको सानो बगैँचामा सन्तानलाई खेलाइरहेकी आमाको सुन्दर आकृति थियो। साँच्चै सन्तानले असल आमालाई जन्म दिन्छ। कति सुन्दर कलात्मक आकृति आठ लेनको आकासे पुल तल्तिर। निर्माण कार्य हुँदै गरेको दृश्यलाई कैद गर्छु म मानसपटलमा। अर्को सानो पुल तर्नासाथ महिमको बोर्ड देखिन्छ पसलहरूमा।
बान्द्रा निस्कनु पर्ने म महिमको आँगनमा पाइला टेक्न आहपुगेँ।
अलि अगाडि आकाशे पुल देखा पर्छ पैदल यात्रीका लागि। त्यसको पारिपट्टि स्वामी विवेकानन्द पार्क। ठाउँठाउँमा थुप्रै पार्कहरू भेटिन्छन् मुम्बईका सडकहरूमा।
पार्क कटेपछि देखिन्छ ‘महिम बस स्थानक।’ अलि परै छ महिम रेल स्टेशन। यही रहेको छ भारतको सबैभन्दा पुरानो सेन्ट मिचेल चर्च।
महिमको समुद्री किनार, मेरो अबको गन्तव्य।

समुद्री किनारको प्रवेश मार्गमा देखिन्छन् काठमा बुट्टा भर्न व्यस्त थुप्रै सिकर्मीहरू। थुप्रै स–साना पसलहरू छन्। सबै पसलमा बुट्टेदार फोटो फ्रेम र बुट्टा भरिएको आकर्षक सामानहरू। स–साना पसलमाथि ठुलो बोर्ड लगाइएको देखिन्छ ‘हाजी दाऊद हाजी अब्दुल्लाह एण्ड सन्स (काठ, प्लाइउड र बाँस व्यापार।)
महिम बिच अर्थात्, महिम सामुद्रिक किनार पुग्नुअघिको खुला मैदानमा बच्चाहरू क्रिकेट खेलिरहेका छन्। किनार नजिकै छ महिम पुलिस थाना।
'एसआर फर्निसिङ एण्ड टेलटिङ वर्क’को बोर्डसँगै काठका थुप्रै गोदामहरू छन्। सामान ढुवानीका गाडीहरू उभ्याइएको छ नजिकै।
म पुलिस थाना हुँदै निस्कन्छु महिम बिच र खडा हुन्छु समुद्रको किनारमा।
छालको एक लहर हावाको झोक्कासँगै परबाट उठेर आउँछ र मेरो खुट्टालाई छोएर फर्कन्छ। मानौँ भनेको होस्, ‘तिम्रो सगरमाथाले दिएको पानीले म तृप्त बनेको छु। मैले पठाएको जलवाष्पले तिम्रा हिमालहरूले पूर्णता पाएका छन्।’
‘यति फोहर छैनन् मेरा हिमालका जलधाराहरू। अमृतजल लिएर तिमीले धुमिल बनायौ सागर,’ मनमनै भन्छु। मलाई छुन आइपुगेको छाल धमिलो थियो। खुट्टाभरि बालुवा भरिदिएर फर्कियो ऊ। मानौँ सगरमाथाको देशबाट सागर आइपुगेको पाहुनालाई ऊ स्वागत गर्दै छ।
मलाई थाहा छ मेरो देशको अमृत जलधारा यहाँसम्म आइपुग्दैन। बंगालको खाडीमा पुगेर समाधि लिन्छ उसले। न त यो अरबीयन सागरको जलवाष्प मेरो पहाडसम्म नै पुग्न सक्छ। तैपनि पानीको घुलनशीलता, कतै न कतै त हुँदो हो नि एक अर्कासँग सम्बन्धित।
म केहीबेर ओहोरदोहोर गर्छु किनारमा। छालहरू आउने जाने गरिरहन्छन्।
किनार नियाल्छु म। सामुद्री जीवावशेषहरू यत्रतत्र देखिन्छन्। म उठाएर हेर्छु। शंख जस्ता, शंखेकिरा जस्ता।
निकै पर दक्षिण पश्चिमतिर वार्ली छेउमा साना झुपडीको बाक्लो बस्ती देखिन्छ। म सम्झन्छु विकास स्वरूपको कथा तथा डोन्नी बोयली निर्देशित ल्फिम स्लमडग मिलिअनरी। सन् २००८ मा ओस्कर अवार्डमा नाम दर्ता भएको यो चलचित्र बहुप्रशंसित थियो। यद्यपि, त्यसको कथा बिज वर्लीको नभएर जुहुको थियो।
त्यस बस्तीको अलिपर गगनचुम्बी भवनहरू छन्। झुपडबस्ती फराकिलो देखिन्छ। गगनचुम्बी भवनहरू एकाध, मानौँ ठिंग उभिएर मेरो सगरमाथालाई चुनौती दिइरहेका छन्। संरचनाको यो भेदले आर्थिक विभेदको सगरमाथा पनि ठड्याएका होलान् शायद!
वार्ली र बान्द्रा बिचको सागरी भागमाथि लमतन्न परेर सुतेको छ राजीव गन्धी सागरी सेतु। सेतुको छातीमाथि कुदिरहेका छन् गाडीहरू एकनासले। तर निकै मसिना देखिन्छन्।
५.६ किलोमिटर लामो सागरी सेतु यहाँको महत्त्वपूर्ण पर्यटन क्षेत्र हो। निर्माण योजनादेखि सन् २०१० मा सम्पन्न हुँदासम्मका थुप्रै रोचक कथाहरू छन् यो पुलसँग जोडिएका।
‘सामुद्री हावाको गतिमा सवारी हाँक्नुको बेग्लै मजा हुन्छ त्यहाँ,’ सवारी साधनका पारखीहरू भन्छन्। भारतको चौँथो लामो आठ लेन रहेको यो पुल यहाँको अनौठो निर्माण संरचना हो। बान्द्रा छेउबाट शुरू भएर वर्लीमा विश्राम लिने यो पुल खुर्पे चन्द्राकारमा रहेको छ। पुलको मध्यभागमा केवलहरूको ६०० मिटर अग्लोे सुन्दर टावर ठड्याइएको छ। दुईतिर २५० मिटरका होचा केवल टावरहरू। महिम किनारबाट ती सुन्दर सेता टावरहरू साना देखिन्छन्।
‘बाइकामा यात्रा गर्यो भने पुलको हावाले उठाउँछ होला,’ म हरिको कुरा सम्झन्छु।
त्यसो त त्यस सामुद्री सेतुको यात्रामा दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ। सवारी साधनको गति र सामुद्री हावाको चापको कारण त्यो नियम बनाइएको होला। आफ्नै बाइकमा वार्ली पुग्न चाहनेले अर्कै बाटो तय गर्नुपर्छ।
सामुद्री सेतुमा चल्ने हावाको बहाव यहाँसम्म निरन्तर आइरहेको छ। ३४ डिग्री सेन्टिग्रेड मध्यान्हको घाममा पनि गर्मीको महसुस छैन यहाँ।
‘यहाँको हावा खानुको बेग्लै आनन्द,’ नजिकै बसेको दिन्सुकको अनुभूति। म एकछिन किनारमा टहलिएपछि मत्स्य सहकारी भवनको अगाडिको पर्खालमा बस्न पुगेको छु। त्यही छन् एक स्थानीय। कुराकानी शुरू गर्छु।
नाम दिन्सुक। उनी हरेक दिन हावा खान यहाँ आउँदा रहेछन्।
‘कितना ठण्डा है, देखो। पूरा दिन ऐसा हि चलता रहता है। दिन भर बैठो, फिर भि मन नहीं भरता।’

म पानीको सतहबारे जिज्ञासा राख्छु। वर्षाको समयमा पानी माथिसम्म आउने रहेछ।
‘खुट्टा झारेर पर्खालमा यसरी बस्दा छालले हामीलाई छोएर भित्रसम्म पुग्छ। आहा!’ अल्लादित हुँदै भन्छन् उनी।
म पर्खालभित्रको खाली ठाउँलाई हेर्छु अनि सागरी सतहलाई। पानी चार मिटरभन्दा पनि तल होला अहिले।
‘यति माथि आइपुग्दो रहेछ!’ मलाई अनौठो लाग्छ। काटर रोडको जस्तो फोहोर छैन यहाँको किनार। मृदु स्पर्श गरेर फर्कने सागरी छालको परिकल्पना गर्छु र एकछिन आनन्दको अनुभूति गर्छु।
परिकल्पना मात्र त छ मसँग। त्यो छालको स्पर्शमा रमाउन, म रहने छैन यहाँ।
प्रहरी कार्यालयको पछाडि अग्लो फलामे मचान देखिन्छ। प्रवेश मार्ग बन्द गरेर राखिएकोले दृश्यावलोकनको लागि बनाइएको टावर त होइन होला त्यो।
संवादका लागि दिन्सुक साथमा रहेकाले सजिलो छ मलाई।
‘हेर्ने ठाउँ नै हो। मेलाको समयमा त्यहाँ बसेर मान्छेहरूले यहाँको दृश्य अवलोकन गर्छन्,’ दिन्सुक यहाँको स्थानीय पर्वको रहस्य खोल्छन्।
नजिकै रहेको सागरपुत्र रहिबासी सहकारी आवास क्षेत्रमा रहेको छ गणपति मन्दिर। गणेश चौथीका दिन ठूलो मेला लाग्दो रहेछ यहाँ। मान्छेले भरिभराउ यो मैदानको रमिता हेर्न मान्छे टावरमा चढ्दा रहेछन्। त्यसो त दादर नजिकै सिद्धिविनायकको ठुलै मन्दिर छ अति पर। गणेश चौथी मुम्बईको ठुलै पर्व मानिन्छ।
‘दिनभर बसेर पनि मन भरिदैन यहाँ,’ दिन्सुकले अघि नै भनेका थिए। एक क्लिक सेल्फी फोटो खिचेर बिदा भएँ म नवपरिचित मित्र दिन्सुकसँग।
आएको बाटो किन दोहोर्याउने? यही सोचेर सडकमा निस्कनुको सट्टा किनारै किनार बस्तीतिर छिर्छु।
आउँदै गर्दा बाटामै देखिएको हो डुंगाका विभिन्न स्वरुपहरू। केही पुराना र केही नयाँ। केही डुंगाहरूमा पाल टाँगेर भित्र सामानहरू राखिएको पनि देखिएकैै हो। महिम बस स्टेशन नपुग्दैको चोकमा लगाइएको छ बोर्ड ‘महिम मच्छिमार नगर।’ बोर्डसँगै उभिएको छ एक मानव आकृति काँधमा बहना बोकेर डुंगाको नजिकै।
यही आकृतिले पनि यहाँको जीवन शैली र पेशाको बारेमा धेरै जानकारी दिन्छ। भित्री बस्तीमा पहिलोपटक पसेको थिएँ म।

साना घरहरू। दोहोरो हिँड्न पनि कठिन होला जस्तो साँघुरो बाटो। भुलभुलैया जस्तो। बाहिर निस्कने बाटो हो कि घर भित्र जाने? नवयात्रुलाई सजिलो रहेनछ सही बाटो पहिल्याउन पनि। फोहोर यत्रतत्र देखिन्छ। तास खेलमा व्यस्त छन् केही समूह। अलमलमा परेको म सडकमा निस्कने बाटो सोध्छु।
‘सिधा आगे चलो।’
अगाडि बढेपछि मनमनमा हाँसो पनि उठ्छ। सिधा बाटो छ चाहिँ कहाँ?
साँघुरो गल्लीमा केही मिटरको दूरीमा घरको प्रवेशमार्गमा ठोकिन पुग्छु म। अनि फेरि मोडिनुपर्छ अर्को गल्लीमा। ‘नागबेली गल्ली नै सिधा मार्ग हो?’ आफैँलाई साध्छु।
‘कतै हराइने, लुटिने पो हो कि?’ चस्स मनमा बिज्छ पनि।
झण्डै पन्ध्र मिनेट हिँडेपछि बल्ल निस्कन्छु मूल प्रवेश मार्गमा। म साई सेवा मित्र मण्डलको सभाकक्षको खुल्ला हलबाहिर एकछिन सुस्ताउँछु। नजिकै देखिन्छ यस बस्तीका सार्वजनिक शौचालय।
केही बालकहरू भित्र क्रिकेट खेलिरहेका छन्। केही क्यारमबोर्ड। चटपटेवालाको सानो दोकान नजिकै देखिन्छ। म सभाकक्षको पर्खालमा थुचुक्क बस्छु र खोल्छु गुगल नक्सा।
त्यति साँघुरो क्षेत्रभित्र सयभन्दा धेरै घरहरू देखाउँछ गुगलले। यति धेरै घरमा कति परिवार बस्दा हुन्? चार जना एक परिवार मान्ने हो भने पनि ४०० भन्दा धेरै मान्छे त यहीँ बस्दा रहेछन्।
यो रहिबासी समुदायको आवास क्षेत्र। अलिपर कोली समुदायको आवास छ। यी आदिवासीको मुख्य पेसा माछा मार्नु। डुंगाहरू सागरमा तैरिरहेको मात्र होइन, खाली ठाउँमा खोप्टिएको अवस्थामा पनि देखिन्छ। केही ठूला डुंगाहरूलाई पालले ढाकेर आवासको स्वरूप बनाइएको देखिन्छ। यत्रतत्र भेटिन्छ जाल बुन्दै गरेका दृश्यहरू।
मुम्बई, धनाढ्यहरूको छनोटमा परेको शहर। अधिकांश भारतीय धनाढ्यहरूको आवास क्षेत्र। सुरक्षित लगानीको महत्त्वपूर्ण क्षेत्र हो मुम्बई। यिनै धनाढ्यहरूको शहरभित्र रहेको छ मछिमार नगर। मछिमार नगरका मछिमारहरूको जीवनशैली कस्तो होला? दैनिकी कसरी चलिरहेको होला? स्थानीय सरकारले कसरी व्यावस्थापन गरिरहेको होला? यिनै अनुत्तरित प्रश्न मनमा बोकेर फर्कन्छु म खारतर्फ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
