स्थिर समयमा चुनाव प्रचार गरे कारबाही हुन्छ : निर्वाचन आयुक्त भण्डारी

निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मंसिर १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसारसम्बन्धी सम्पूर्ण कामहरू निषेध हुने बताए।

काठमाडौं– निर्वाचन आयोगले मतदान हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसारसम्बन्धी कुनै पनि गतिविधि गर्न नपाइने बताएको छ।

आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टाअघि निर्वाचन प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न नपाउने उल्लेख गरेको भन्दै आसन्न निर्वाचनका उम्मेदवार र कार्यकर्तालाई यसबारे पुनः सचेत गराएको हो।

मंगलबार निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदानअघिका ४८ घण्टामा निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि कार्यक्रम गर्न नपाउने बताए। उनले विगतमा आयोगले मौन अवधि तोक्ने गरेको तर यस वर्ष भने मौन अवधि नरहेकाले र यस समयलाई स्थिर समयको रूपमा प्रयोग गर्नुपर्ने बताए।

उनले मंसिर १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसारसम्बन्धी सम्पूर्ण कामहरू निषेध हुने बताए। उनले कुनै पनि प्रकारको निर्वाचनसम्बन्धी प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही गर्ने चेतावनी दिए।

"मंसिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसारसम्बन्धी सम्पूर्ण कामहरू निषेध हुन्छ। स्थिर समयमा कुनै दलका नेतालाई भोट देऊ, नदेऊ भन्न पाइँदैन। यदि, कसैले प्रचारप्रसार गर्‍यो भने यो निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मान्छ। कडा नै सजाय मान्छ", उनले भने।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आसन्न मंसिर ४ गते एकै चरणमा हुँदैछ। आयोगले आसन्न निर्वाचनका लागि आफ्नो तयारी अन्तिम चरणमा पुगेको समेत बताएको छ।