सामाजिक सेवाबाटै रूपान्तरण सम्भव छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सेवा नै रूपान्तरणकाे आधार भएकाे बताएका छन्। आर्थिक सशक्तीकरणमा महत्त्वपूर्ण योगदान गर्न सामाजिक सेवा आवश्यक रहेको समेत उल्लेख गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा। तस्वीरः रासस

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रूपान्तरण ल्याउन सकिने बताएका छन्।



बिहीवार काठमाडौँ समाज कल्याण परिषद्ले ४३ औँ सामाजिक सेवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री देउवाले नेपाल जस्तो विकासोन्मुख मुलुकमा सामाजिक सेवाको माध्यमबाट नै ठूलो रूपान्तरण ल्याउन सकिने बताए।



उनले सामाजिक सेवाको माध्यमबाट समाजमा पछि परेका समुदायलाई विकासमा मूल प्रवाहीकरण गर्नुका साथै उनीहरूको सामाजिक, आर्थिक सशक्तीकरणमा महत्त्वपूर्ण योगदान गर्न सामाजिक सेवा आवश्यक रहेको बताए। उनले यस्ता समाज सेवामुखी कार्यक्रमले नयाँ पुस्तालाई समाजसेवामा आकर्षित गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।



यस्तै, प्रधानमन्त्री देउवाले सबैले आफ्नो निजी स्वार्थभन्दा माथि उठेर समाजको बृहत्तर हित, कल्याण एवं उत्थानका लागि निःस्वार्थ भावले समर्पित हुन आवश्यक रहेको बताए। उनले गैर सरकारी संघसंस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउँदै राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा संलग्न गराउने गरी देशको नीति तथा कार्यक्रमहरू तर्जुमा गर्न आवश्यक रहेको बताए। उनले १५ औँ योजनामा उल्लेखित सामाजिक विकास सम्बन्धी उद्देश्य र दिगो विकास सम्बन्धी लक्ष्यहरू हासिल गर्नका लागि सरकार र गैर सरकारी क्षेत्रले एक आपसमा समन्वय सुरु गरी काम गर्न आवश्यक रहेको पनि उल्लेख गरे।



उनले भने, ‘नेपाल जस्तो विकासोन्मुख मुलुकमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रूपान्तरण ल्याउन सकिन्छ। सामाजिक सेवाको माध्यमबाट समाजमा पछि परेका समुदायलाई विकासमा मूल प्रवाहीकरण गर्नुका साथै उनीहरूको सामाजिक, आर्थिक सशक्तीकरणमा महत्त्वपूर्ण योगदान गर्न सकिनेछ।'



प्रधानमन्त्री देउवाले गैर सरकारी संस्थाहरूले आफ्ना क्रियाकलाप सञ्चालन गर्दा जनसहभागिता, दिगोपना, मितव्ययिता, स्थानीय आधारमुखी श्रमसिप र प्रविधिको अत्यधिक उपयोगलाई प्रोत्साहन गर्न सके गैरसरकारी संस्थाको आवश्यकता र अपरिहार्यता बढ्ने बताए।