‘म त्यत्तिकै लडेको होइन। मसँग पनि जिल्ला र प्रदेशका ३०-३२ जना प्रतिनिधि हुनुहुन्छ। उहाँहरू अध्यक्ष चन्दविरुद्ध रुष्ट हुनुहुन्छ। उहाँहरूले नै भनेर लडेको हुँ। म जित्छु भनेरै उठेको हुँ।’
बर्दिया जिल्ला क्रिकेट संघ अध्यक्ष विनय राजभण्डारीले नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्दविरुद्ध उठ्ने घोषणा गरेका छन्। बर्दिया जिल्ला क्रिकेट संघमा सदस्य र सचिव हुँदै दोस्रो पटक अध्यक्ष बनेका उनी लुम्बिनी प्रादेशिक क्रिकेट संघका उपाध्यक्षसमेत हुन्। जिल्ला र प्रदेशको निर्वाचन हुँदै गर्दा राजभण्डारी क्यान कोषाध्यक्ष रोशनबहादुर सिंहलाई अध्यक्षमा उठाउने अभियानमा थिए। तर चन्दसँग मिल्दै सिंहले पुनः कोषाध्यक्षमा उठ्ने आकांक्षा देखाएपछि भण्डारी चन्दविरुद्ध उठ्न लागेका हुन्। उनै भण्डारीसँग उकालोले गरेको कुराकानी।
क्यान अध्यक्षमा तपाईंको उम्मेदवारी किन?
अध्यक्ष चतुरबहादुर चन्द आफ्नो चारवर्षे कार्यकालमा पूर्ण असफल हुनुभयो। तर पनि उहाँले फेरि आफूलाई अध्यक्ष पदमा अगाडि सार्नुभयो। मैले पनि तपाईंहरूले जस्तै उहाँ तपाईंको उम्मेदवार किन भनेर प्रश्न गरेको थिएँ। तर उहाँले उत्तर दिन सक्नुभएन।
उहाँको कार्यकालमा नेपाल टी–२० लिगदेखि धेरै कुराको विवाद आए। अहिलेसम्म लिग खेलेका खेलाडीहरूले पारिश्रमिक पाउन सकेका छैनन्। त्यसबारे अध्यक्षले कुनै कदम चाल्न सक्नुभएन।
उद्घाटनसत्रमा उहाँले ठूल-ठूला भाषण गर्नुभयो। तर खै त मैदानमा काम गरेको? मैले मैदानमा यो काम गरेँ भनेर देखाउन सक्नुहुन्छ त? प्लर्ड लाइटहरूको कुरा गर्नुभयो खै त राखेको? प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले खेलाडीलाई नगद पुरस्कार दिन्छु भन्नुभयो। तर खै त त्यो पुरस्कार रकम दिलाउन उहाँले पहल गरेको? यस्ता काम गर्न नसक्ने, तर नेतृत्व मात्रै लिइराख्ने गरेर मैले उहाँविरुद्ध उम्मेदवारी दिएको हो।
भनेपछि तपाईंले चतुरबहादुर चन्दको चारवर्षे कार्यकाल असफल नै देख्नु भएको हो?
एकदमै असफल। मैले त कतैबाट सफल नै देखेको छैन। यही प्रश्न उहाँलाई नै गर्नुस् न तपाईंले आफ्नो चार वर्षे कार्यकालमा के गर्नुभयो भनेर। एक महिनामा जोड्छु भनेको फ्लड लाइट जडान गर्न सक्नुभयो? स्टेडियम बनाउन सक्नुभयो? यी प्रश्न तपाईँ नै प्रश्न गर्नुस्, उहाँले उत्तर दिन सक्नुहुन्न।
उहाँले आफ्नो कार्यकालमा नेपाली क्रिकेट स्वर्ण युगमा रहेको भनिराख्नुभएको छ। यसलाई पनि पब्लिसिटीको रूपमा लिनुभएको हो?
हो। एक कोच र खेलाडीले गरेको प्रदर्शनलाई देखाएर उहाँले यसो भन्नुभएको हो। उहाँले यसको फाइदा लिएर पुनः आफूलाई अध्यक्ष पदको दाबेदार देखाउनुभएको छ। मिहिनेत एउटाले गर्ने, त्यसको फाइदा अर्कोले लिने गर्न मिल्दैन। म अध्यक्ष हो, मैले नै सबै काम गरेँ भनेर भजाउनु हुँदैन। म यसको विरोध गरिरहेको छु। भोलिको दिनमा म नेतृत्वमा आएपछि सबैभन्दा पहिलो प्राथमिकतामा राखेर यिनै कुराहरू पूरा गर्छु भन्ने वाचासहित उम्मेदवारी दिएको हुँ।
अर्को पक्षको प्यानल बनिसक्यो भनेर दाबी गरिसक्नुभएको छ। तपाईं पनि प्यानलसहित आउनुभएको हो?
अर्को पक्षको पनि मौखिक रूपमा प्यानल बनेको हो, कतै घोषणा भएको छैन। उहाँहरू आफैँ अन्यौलमा हुनुहुन्छ। त्यहाँ केन्द्रीय सदस्यका लागि मारामार गरिराख्नुभएको छ। तर सबै प्यानल बनिसक्यो भनेर भ्रममा हुनुहुन्छ। मैले पनि अध्यक्षमा उम्मेदवारी दिएको छु। त्यसैले आज बेलुका या भोलि बिहान फस्ट आवरसम्म प्यानल बनाएर उत्रिने तयारीमा छु।
उम्मेदवारी त दिनुभयो। तर अन्यत्यमा आएर ब्याक जाने प्रचलन छ। तपाईं पनि ब्याक त हुनुहुन्न नि?
म ब्याक जाँदिनँ, लड्छु। म त्यत्तिकै लडेको होइन। मसँग पनि जिल्ला र प्रदेशका ३०–३२ जना प्रतिनिधि हुनुहुन्छ। उहाँहरू अध्यक्ष चन्दविरुद्ध रुष्ट हुनुहुन्छ। म आफूखशी लडेको होइन, उहाँहरूले नै भनेर लडेको हुँ। म जित्छु भनेरै उठेको हुँ। मलाई गाह्रो होला, तर चन्दज्यूलाई पनि सहज भने हुने छैन।
हिजो तपाईं कोषाध्यक्ष रोशनबहादुर सिंहसँगै हुनुहुन्थ्यो। तर उहाँ चन्दसँग मिलेर जान लाग्नुभएको छ। यो चन्दसँग भन्दा पनि सिंहसँगको विद्रोह त होइन?
उहाँसँग मैले विद्रोह गरेको होइन। हिजो नेपाल टी-२० लिगमा विवादपछि उहाँ अध्यक्ष उठ्छु भनेर हिँड्नुभयो। हामीले पनि नेतृत्व एकपछि अर्को गरेर विवादमा फस्दै गएपछि लौन त नयाँलाई साथ दिऔँ भनेर उहाँसँग सहकार्य गरेर अगाडि बढ्यौँ। तर उहाँ पुनः त्यही असफल नेतृत्वमा सहमति गरेर अगाडि बढ्नुभयो। यसमा मलाई केही भन्नु छैन। तर मैले त्यो असफल नेतृत्वविरुद्ध विद्रोह गरेको हो।
निर्वाचनमा उठ्न अजेन्डा चाहिन्छ। तपाईंको अजेन्डा चाहिँ के के हो?
खेलाडी रहन्छन् भने क्यान रहने हो। क्यानले अहिले खेलाडी उत्पादन गर्नै सकेको छैन। अहिले नेपाली टोलीमा बेन्चमा खेलाडी नै छैनन्। म जिल्ला र प्रदेशको सदस्य/अध्यक्ष जे भए पनि मैले बारम्बार यो कुरा साधारणसभामा उठाएको छु। नेपालको ‘ए’ टिम बनाउने कुरामा जोड दिएको छु। तर अध्यक्ष चन्दले आफ्नो कार्यकालमा त्यो कुरा सुन्नु नै भएन। उहाँले ‘ए’ टिम नै बनाउन सक्नुभएन।
म अध्यक्षमा आएपछि मेरो पहिलो प्राथमिकता नै नेपालको ‘ए’ टिम बनाउनु हुने छ। ‘ए’ टिम बन्यो भने भोलिको दिनमा अन्तर्राष्ट्रिय स्तरमा नेपाली टोलीले योभन्दा उत्कृष्ट प्रदर्शन गर्छ भन्ने आशा राखेको छु।
मेरो अर्को अजेन्डा भनेको रंगशालाको हुन्छ, खेलकुद मैदानको हुन्छ। हामी पोखरा या भैरहवामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने कुरा गर्छौं तर, भर्खरै ओडीआई मान्यता पाएको मूलपानीमा रंगशालाको स्तरउन्नति गर्ने कुरा गर्दैनौँ। भोलि खेल हेर्न जाँदा दर्शक कहाँ बस्ने त? यिनै अजेन्डाहरू मैले अघि सारेको छु।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
