बिरामी बोक्ने बहानामा चुनाव प्रचार गर्न हेलिकप्टर प्रयोग गरियो : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त थपलियाले भौतिक उपस्थितिमा हुने आचारसंहिता उल्लंघन कम रहेको तर सामाजिक सञ्जालमा बढी भएको उनले बताए।

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकप्टरको प्रयोगको विषयलाई लिएर गृह मन्त्रालयलाई संवेदनशील बन्न निर्देशन दिएका छन्।

आइतबार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहिता कार्यान्वयनसम्बन्धी एकीकृत कार्य योजना, २०७९ माथि छलफल गर्दै उनले हेलिकप्टरको प्रयोगको विषयमा गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताएका हुन्। उनले बिरामी भएको नाटक गरेर चुनाव प्रचारमा हेलिकप्टर प्रयोग गरेको उजुरी आएका उल्लेख गर्दै त्यसतर्फ संवेदनशील बनेर काम गर्न गृह मन्त्रालयलाई निर्देशन दिए। उनले आयोग उजुरीमाथि कारबाहीका लागि अग्रसर रहेको बताए।

"गृह हेलिकप्टरको प्रयोगको विषयमा अलि कति संवेदनशील हुनुपर्ने देखियो", उनले भने, "नभएको बिरामी लिएर उडेको भन्ने दुई वटा 'इस्यु' आए। हिजो आयो, सङ्खुवासभा र मनाङको केस। यो गम्भीर हो।" उनले निर्वाचन आचारसंहितामा ७२ घण्टा हेलिकप्टर उडाउन पाउने उल्लेख रहेको बताए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आसन्न निर्वाचनमा हालसम्म भौतिक उपस्थितिसहितको आचारसंहिता उल्लङ्घन कम रहेको बताए। यद्यपि, सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता उल्लङ्घन बढेको उनको भनाइ छ। उनले सामाजिक सञ्जालको प्रयोग गर्दा संवेदनशील बन्न ध्यानाकर्षण गराए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मिथ्या सूचनाबाट निर्वाचनलाई फरक ढंगले प्रभावित हुने स्थिति देखिएको भन्दै आचारसंहिताका सन्दर्भमा अरूलाई लक्षित गरेर कुरा गर्न, चरित्र हत्या गर्ने, अपमान गर्ने, घृणा फैलाउने गतिविधि नगर्न सचेत गराए। उनले यस पटकको निर्वाचनमा धेरैजसो आचारसंहिता उल्लङ्घनका घटना टिकटकबाट भइरहेको पनि बताए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले यस पटकको निर्वाचनमा मौन अवधि नरहेकाले निर्वाचनअघिको ४८ घण्टाको समयलाई कसरी व्यवस्थित बनाउने भन्नेमा आवश्यक तयारी गरिरहेको बताए। उनले नेपालमा प्रचारप्रसारमा गर्न नपाउने अवधिमा मित्र राष्ट्रका सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्ने गरेको पाइएको भन्दै त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने चुनौती आयोगलाई रहेको बताए।