विश्वविद्यालयहरूमा प्राध्यापकको मूल मान्यताभन्दा भिन्न प्रश्नहरू गर्न मनाही छ। बजारभन्दा पर वस्तु उत्पादन गर्ने ठाउँ अर्थात् कार्यस्थल, समाजको गरिबी, आयको असमानता आदिबारे प्रश्न गर्न पाइँदैन।
हरेक समाजमा मानिसलाई जीवनयापनका लागि आवश्यक पर्ने अनेकन् साधनको उत्पादन गर्नुपर्ने हुन्छ। त्यस्ता आवश्यकता ठाउँ र समयानुसार फरक–फरक हुने गर्छन् र निरन्तर परिवर्तन हुँदै जान्छन्। ती परिवर्तनका विविध नियमलाई व्यवस्थित र संगठित रूपमा अध्ययन गर्न विश्वविद्यालयहरू बनाइन्छ। बदलिँदो समाजका आवश्यकता राम्रोसँग बुझी सम्बन्धित विषयलाई केन्द्रमा राखेर विश्वविद्यालयमा निश्चित सिद्धान्तहरू निर्माण गरिन्छ। विश्वविद्यालय ज्ञानसँग सम्बन्धित एउटा विशिष्ट क्षेत्र हो जसले समाजमा उत्पादित ज्ञान संग्रह गर्ने, भण्डारण गर्ने, परिष्कृत गर्ने र पुनः समाजमा पठाउने कार्य गर्छ। समाजमा पठाएको ज्ञानले नयाँ अनुभवप्राप्त गर्छ र अभ्यासको क्रममा ज्ञानको थप नयाँ पक्ष पत्ता लाग्दै जान्छ।
सामाजिक अभ्यासबाट थप विकसित भई आएको ज्ञानको नयाँ पक्ष संग्रह गर्ने, भण्डारण गर्ने, त्यसमा समय सापेक्ष परिष्कृत गर्ने र फेरि समाजमा पठाउने कार्य हुन्छ। यसरी विश्वविद्यालयको माध्यमबाट ज्ञान निर्माण र परीक्षणको प्रक्रिया निरन्तर चलिरहन्छ। उक्त प्रक्रियामार्फत समाजले आफ्नो प्रगतिका लागि आवश्यक पर्ने ज्ञान संगठित र व्यवस्थित रूपमा पाइरहन्छ। यसरी समाजको विकास र प्रगतिमा विश्वविद्यालयले ज्ञान उत्पादनमार्फत विशिष्ट योगदान गर्छ। विश्वविद्यालय स्थापनाको मुख्य उद्देश्य नै यही चक्रलाई तीव्रता दिई समाजलाई विकास र प्रगति उन्मुख बनाउने हो। तर व्यवहारमा, विश्वविद्यालयहरूमा पढाइ हुने ज्ञानका कैयौँ शाखाहरू समाजमा उत्पादित ज्ञानबाट कोसौँ टाढा छन्। समाजमा उत्पादित नयाँ ज्ञानलाई संग्रह, भण्डारण र परिष्कार नगरी विश्वविद्यालयहरूले कुनै खास समयमा खास चेतनाका व्यक्तिहरूले संकलन गरेका एकै खालका 'ज्ञान'लाई थोरै शैली परिवर्तन गरी समाजमा पठाउने काम गरिराखेका छन्।
यसरी पटक–पटक समाजमा कार्यान्वयनका लागि आएका ज्ञानले बारम्बार एउटै परिणाम दिएका छन् र त्यो काम सबैभन्दा धेरै अर्थशास्त्रको क्षेत्रमा भइराखेको छ। यस आलेखमा हाम्रा विश्वविद्यालयले समाजमा निरन्तर पठाइराखेको शास्त्रीय र नवशास्त्रीय अर्थशास्त्रका केही सैद्धान्तिक पक्षमाथि टिप्पणी गर्ने कोशिश गर्नेछौँ, जसका नियमलाई समाजमा पटक–पटक लागू गर्दा पनि एउटै नतिजा आइरहेको र सामाजिक समस्यालाई हल गर्न सकिएको छैन। तर पनि विश्वविद्यालयले ती सिद्धान्त र नियमहरूलाई विशेष प्राथमिकतासाथ निरन्तर पिलाउने क्रम भने रोकिएको छैन। यो आलेखमा शास्त्रीय र नवशास्त्रीय अर्थशास्त्रको ठाउँमा ‘मुख्य धाराको अर्थशास्त्र’ र अर्थशास्त्रीहरूको ठाउँमा ‘प्राध्यापक’ शब्दको प्रयोग गर्नेछौँ।
काल्पनिक संसारको सिर्जना
विश्वविद्यालयहरूमा अर्थशास्त्र पढाउने अधिकांश प्राध्यापकहरूले कक्षाको पहिलो दिनमा नै विद्यार्थीहरूलाई एउटा सुन्दर काल्पनिक संसारबारे वर्णन गर्छन् र वर्षभरि सोही काल्पनिक संसारको भ्रमणमा लैजान्छन्। प्रत्येक विद्यार्थीले त्यो संसारको यति राम्रोसँग भ्रमण गर्छन् कि पछि वास्तविक संसारमा आइसकेपछि पनि त्यो काल्पनिक संसारका प्रत्येक नियमलाई अक्षरशः पालना गर्छन्। त्यो सुन्दर, पूर्ण र व्यवस्थित काल्पनिक संसारको छाप विद्यार्थीको दिमागमा जिन्दगीभरि नमेटिने गरी बस्छ। हाम्रा प्राध्यापकहरूले भ्रमण गराउने त्यो काल्पनिक संसार धेरै नै भव्य र व्यवस्थित हुन्छ। प्राध्यापकहरूको विचारमा त्यस काल्पनिक संसारमा लागू हुने प्रत्येक नियम हाम्रो वास्तविक संसारमा पनि लागू हुनुपर्छ।
काल्पनिक संसारका बारेमा गरिने प्रत्येक मूल्यांकन, विश्लेषण र भविष्यवाणी वास्तविक संसारसँग बराबर मेल खाने कुराको विश्वास दिलाउँछन्। हामीले कक्षामा भ्रमण गर्ने काल्पनिक संसार मानव समाजकै सर्वकालिक आदर्श र उत्कृष्ट संसार हुन्छ। त्यहाँ कोही असहाय, गरिब र अन्यायमा परेको हुँदैन। त्यहाँ सबै कुरा सुन्दर, व्यवस्थित र चिटिक्क मिलेको हुन्छ। त्यस संसारमा सबै मान्छेले आफ्नो स्वतन्त्रता पूर्ण रूपमा प्रयोग गर्छन्, सबै मान्छे अत्यन्तै खुशी हुन्छन्। कसैलाई अन्याय भएको हुँदैन। सबैले न्याय र समतापूर्ण जिन्दगी बाँचिरहेका हुन्छन्। उक्त संसार, कुनै धर्ममा वर्णन गरिएको स्वर्गभन्दा कम भव्य हुँदैन।
त्यहाँ सबै कुराको सन्तुलन मिलेको हुन्छ। सकेसम्म कुनै खराबीको गुञ्जायस हुँदैन। कदाचित त्यस संसारमा केही खराबी निस्कियो भने पनि लामो समय रहिरहँदैन। किनभने त्यस संसारमा उत्पन्न खराबीलाई नास गर्ने क्षमता राख्ने सर्वशक्तिमान् ईश्वर हुन्छ। त्यस्तो ईश्वर हो– बजारको अदृश्य हात। हाम्रा प्राध्यापकहरूले वास्तविक संसारको अध्ययन पनि त्यही काल्पनिक संसारको अध्ययनको माध्यमबाट राम्रोसँग गर्न सकिने कुराको दाबी गर्छन्। त्यो सुन्दर र व्यवस्थित काल्पनिक संसार हो– खुला बजारमा आधारित पुँजीवादी अर्थव्यवस्थाको समाज। र, हामीलाई भ्रमण गराउन लैजाने हाम्रा ती प्राध्यापकहरू हुन्– मुख्य धाराका अर्थशास्त्रीहरू।
हाम्रा प्राध्यापकका लागि मुख्य धाराको अर्थशास्त्र त्यति नै सार्वभौम र सर्वकालिक हुन्छ, जति वैदिक हिन्दूका लागि वेद, इसाईका लागि बाइबल र मुसलमानका लागि कुरान।
'सबै कुरा बजारले निर्धारण गर्छ'
हाम्रा प्राध्यापकहरूको प्रवचनको केन्द्रबिन्दु जहिल्यै बजार हुन्छ। उनीहरूको प्रवचनको सबैभन्दा महत्त्वपूर्ण विषय नै बजार हो। उनीहरू जेबीसेको 'पूर्तिले मागको सिर्जना आफैँ गर्छ' भन्ने भनाइलाई बारम्बार भट्याइरहन्छन्। वस्तु बजारको हकमा मात्रै नभई श्रम बजारको हकमा समेत त्यही भनाइलाई सबैभन्दा ठूलो आदर्श बनाउँछन्। प्राध्यापकहरूको व्याख्यानमा बजारमा आउने (वस्तुको क्रेता र बिक्रेताहरू, जहाँ मान्छेको श्रम पनि एउटा वस्तुसरह हुन्छ) सबै मान्छेहरू बराबर हुन्छन्। बजारमा प्रत्येक मान्छेले आफ्नो स्वतन्त्रता र स्वविवेक प्रयोग गरेर आर्थिक विकल्पको छनोट गर्छन्।
प्राय: उनीहरूको व्याख्यानमा सबैभन्दा प्राथमिकता र महत्त्व श्रम बजारको नै हुन्छ। कामको किनबेच हुने बजार नै श्रम बजार हो, जहाँ काम किन्ने कारखानाका मालिक र काम बेच्ने कामदारहरूको उपस्थिति हुन्छ। उनीहरूको विश्लेषणमा श्रम बजारमा कामदार र मालिकको हैसियत बराबर हुन्छ। मालिक र कामदार दुवैले समान रूपले निर्णय लिन्छन् र आफ्नो आर्थिक क्रियाकलाप छनोट गर्छन्। पुँजीवादी अर्थव्यवस्थामा मजदुरको श्रमलाई पनि वस्तु मानिन्छ र त्यसलाई किनबेच गरिन्छ।
मुख्य धाराका अर्थशास्त्रीहरू यो कुरालाई स्वाभाविक मान्छन् र त्यहीअनुसारको तर्क दिन्छन्। उनीहरूको विचारमा मानव समाजमा यो प्रक्रिया सधैँभरि थियो। उनीहरू यस्तो बजारको निर्माण कसरी भयो भनेर खोज्ने कष्ट गर्दैनन्। उनीहरूले सो कुरा खोज्न थाले भने बजारमा कामदार र मालिकको हैसियत बराबरी हुँदैन भन्ने तथ्य थाहा पाउँछन्। त्यही निष्कर्ष आउने डरले उनीहरू त्यस प्रश्नको उत्तर खोज्ने काममा कहिल्यै लाग्दैनन्। प्राध्यापकहरू वस्तु तथा सेवा उत्पादन गर्ने ठाउँ अर्थात् कामदारहरूले काम गर्ने ठाउँ (कारखाना)को अवस्थाबारे कहिल्यै कुरा गर्दैनन्। विद्यार्थीहरूलाई आजको संसारको सारा खराबीको उद्गमस्थल कारखानामा कहिल्यै लिएर जाँदैनन्। उनीहरू केवल खराबीको नतिजा देखिने ठाउँ (बजार)को बारेमा मात्रै छलफल गराउने र पढाउने कोशिश गर्छन्।
'मान्छे एक स्वार्थी प्राणी'
विश्वविद्यालयमा प्राध्यापकहरूले २५० वर्षअघि आदम स्मिथले दिएको एउटा उद्धरण बारबार दोहोर्याउँछन्– हरेक मान्छेलाई उनीहरूको स्वार्थलाई सबै भन्दामाथि राखी आर्थिक विकल्प छनोट गर्ने अधिकार दिनुपर्छ। यदि त्यो अधिकार दिइयो भने मात्रै सबैको स्वार्थ पूर्ति हुन्छ र अन्ततः सबैको स्वार्थको योगफलस्वरूप समाजको सर्वोत्तम स्वार्थ पूरा हुन्छ।
यस वाक्यको दार्शनिक आधार मान्छे जन्मजातै स्वार्थी प्राणी हो। त्यस कारण मान्छेले आफ्नो स्वार्थ मात्रै देख्छ र आफ्नो स्वार्थ पूरा गर्न जेसुकै काम गर्न पनि पछि पर्दैन। हरेक मान्छेले आ–आफ्नो स्वार्थ पूरा गर्न कुनै कसर बाँकी छोड्दैनन्। परिणामस्वरूप सबै मान्छेहरू खुशी र सुखी हुन्छन्। अन्ततः समाजका सबै मान्छे खुशी र सुखी भए भने सम्पूर्ण समाज नै खुशी र सुखी हुन्छ भन्ने निष्कर्ष निस्कन्छ। र, हाम्रा प्राध्यापकहरूका लागि स्मिथको उक्त वाक्य 'प्राणवायु'को रूपमा रहेको छ।
यही कुरालाई थप पुस्ट्याइँ गर्न अंग्रेज अर्थशास्त्री जेरमी बेन्थमको उपयोगितावादसम्बन्धी उद्धरण पनि प्राध्यापकहरू बारबार दोहोर्याइरहन्छन्। 'हरेक मान्छेले धेरैभन्दा धेरै सुख पाउन निरन्तर प्रयास गरिराखेको हुन्छ। धेरै मान्छेहरूको अधिकतम सुखको योगफल नै सम्पूर्ण समाजको सुखको रूपमा अगाडि आउँछ।'
प्राध्यापकहरू सो दार्शनिक मान्यतालाई अकाट्य र शाश्वत मान्छन्। उनीहरू आफैँ मानवीय स्वभावलाई समाजको खास चरणसँग दाँजेर हेर्ने र निष्कर्ष निकाल्ने कोशिश त के, त्यस्तो अनुसन्धानको कल्पनासम्म गर्दैनन्। हरेक दार्शनिक र सैद्धान्तिक मान्यताहरू परीक्षण र व्यवहारको कसीमार्फत निष्कर्षमा पुग्नुपर्छ भन्ने कुरालाई समयको बरबादी र मूर्खतापूर्ण मान्छन्। उनीहरू बजारले सम्पूर्ण सामाजिक हित ल्याउँछ र सारा मानवीय खराबीलाई पनि नियन्त्रण गर्छ भन्ने कुरामा पूर्ण विश्वास गर्छन्। त्यही निष्कर्ष कक्षामा निरन्तर सुगा रटाई लगाइरहन्छन्।
व्यक्तिवादी सोचको निर्माण
प्राध्यापकहरूले मान्छेलाई एउटा स्वार्थी प्राणीका रूपमा विश्लेषण गरेर घोर व्यक्तिवादी सोचाइको निर्माण गरिराखेका छन्। मान्छेले हरेक काम आफ्नो स्वार्थलाई केन्द्रमा राखेर मात्रै गर्छ भन्ने कुरा शाश्वत सत्यको रूपमा स्थापित गराउन खोज्छन्। उनीहरूले मान्छेको सामूहिक प्रयास र संघर्षको कथालाई आफ्नो व्याख्यानमा कहीँ पनि ठाउँ दिँदैनन्। मान्छे र समाजको सफलता र असफलतालाई व्यक्तिको सौर्य, साहस र दुर्बलताका आधारमा विश्लेषण गर्छन्। यसरी सामाजिक विकासका चरणहरूलाई व्यक्तिको उन्नति र अवनतिको कथाका रूपमा व्याख्या गर्छन्। समाजको आर्थिक क्रियाकलापको गतिशीलताको कारक कुनै अमुक पात्रको क्षमता र दक्षता भएको विश्लेषण गर्छन्।
उनीहरू कहिल्यै पनि आर्थिक इतिहासलाई समाजका अन्य पक्षसँग जोडेर निष्कर्ष निकाल्दैनन्। आर्थिक विश्लेषण गर्ने कुरालाई समाजको उत्पादन पद्धतिसँग जोड्नेभन्दा पनि व्यक्तिको सौर्यसँग जोड्ने वैचारिकीको निर्माणमा ठूलो भूमिका खेल्छन्। यसको सोझो फाइदा कारखानाका मालिकहरूलाई आफ्नो वस्तु बेच्नका लागि आवश्यक नीतिहरू राज्यले बनाउँदा हुन्छ।
दासहरूको उत्पादन
विश्वविद्यालयहरूमा प्राध्यापकको मूल मान्यताभन्दा भिन्न प्रश्नहरू गर्न मनाही छ। बजारभन्दा पर वस्तु उत्पादन गर्ने ठाउँ अर्थात् कार्यस्थल, समाजको गरिबी, आयको असमानता आदिबारे प्रश्न गर्न पाइँदैन। कसैले आयको असमानताबारे प्रश्न गरिहाल्यो भने आयको असमानताको एउटा मात्रै कारण व्यक्तिको उत्पादन गर्न सक्ने क्षमता अर्थात् उत्पादकत्वलाई बताइन्छ।
मुख्य धाराको अर्थशास्त्रले 'बजार सन्तुलनको स्थितिमा कामदारले पाउने ज्याला उसले वस्तु बनाउने बेला लगाएको श्रमबराबर हो। अर्थात् कामदारले कारखानामा जति कमाउँछ, त्यति नै उसले ज्यालाको माध्यबाट पाइहाल्छ। त्यस कारण यदि कामदारले धेरै ज्याला माग्ने हो भने उसले कारखानाका लागि धेरै कमाइदिनुपर्छ। धेरै नकमाई केवल ज्याला बढाउने हो भने मालिकलाई घाटा हुन्छ। फलस्वरूप, कामदारलाई कामबाट निकाल्नुपर्छ, जसले झन् उत्पादन कम हुन्छ र अन्ततः समाजलाई हानि हुन्छ' भन्छ।
यसरी कामदारले धेरै ज्याला माग्नु हुन्न, मजदुर संगठन खोल्नुहुन्न र सरकारले न्यूनतम ज्याला तोक्नुहुन्न भनेर निरन्तर रट्टा मार्न लगाइन्छ। तर हाम्रा कक्षामा कहिले पनि उत्पादकत्वलाई मापन के कुराले गरिन्छ भनेर छलफल गरिँदैन। यदि छलफल गरिएछ भने पनि अक्सर गोलमटोल उत्तर दिएर प्रश्नलाई ठेगान लगाइन्छ। यदि कसैले उत्पादकत्वसँग विज्ञान र प्रविधिको विकासको अवस्था, उत्पादनको सामाजिक संगठन र उत्पादनका साधनको उपलब्धतालाई जोडेर हाम्रो समाजमा लामो समयदेखि उत्पादकत्व बढेको बढ्यै छ, तर मजदुरको ज्याला सोहीअनुसार त बढेको छैन नि त भनेर सोध्यो भने त्यहाँ एक छिन सन्नाटा छाउँछ। त्यस कुरालाई समाजमा भएको आयको असमानतासँग जोडेर कहिल्यै हेरिँदैन। यदि कोही प्राध्यापकले उत्पादकत्वलाई मापन गर्ने कुराको उत्तर दिए भने तिनको उत्तर हुन्छ– शिक्षा।
कुनै स्पष्ट आधार नहुँदा नहुँदै पनि विश्वविद्यालय शिक्षामा उत्कृष्ट अंक ल्याउनेहरूलाई बजारमा सबैभन्दा धेरै उत्पादकत्व भएको मानिन्छ र उनीहरूलाई नै सबैभन्दा धेरै ज्याला दिइन्छ। विश्वविद्यालय शिक्षामा उत्कृष्ट अंक ल्याउने व्यक्तिहरू रचनात्मक र आलोचनात्मकभन्दा पनि पाठ्यक्रमको हुबहु उत्तर सार्ने कुरा कसैबाट छुटेको छैन। यदाकदा शिक्षकहरूसँगको घनिष्ठ सम्बन्धले पनि त्यसमा योगदान गरेकै छ। मुख्य धाराको अर्थशास्त्र र प्राध्यापकहरूले आलोचनात्मक विद्यार्थी होइन कि आफ्नो सुन्दर कल्पनाको संसारका लागि फिट हुने 'अनुचर'हरूको उत्पादन गर्छन्।
धर्मको रूपमा अर्थशास्त्र
अनुभवजन्य समाज विज्ञानका रूपमा प्राध्यापकहरूले अर्थशास्त्रको परिचय गराउँछन्। तर, कक्षामा अर्थशास्त्रलाई कहिल्यै पनि अनुभवजन्य समाज विज्ञानको रूपमा पढाइँदैन। प्रत्येक विषयको निष्कर्षमा पुग्ने विधि धार्मिक विधिजस्तै हुन्छ। अर्थात् कक्षामा सोधिने प्रत्येक प्रश्नको उत्तरमा पूर्वानुमानमा आधारित भएर निष्कर्षमा पुग्ने गरिन्छ। ती निष्कर्षलाई धर्मकै स्तरमा अपरिवर्तनीय, अपरीक्षणीय र सार्वभौम सत्यको रूपमा स्वीकार गरिन्छ।
उनीहरूले कुनै पनि किसिमको परीक्षणको उदाहरण दिँदैनन्। केवल सैद्धान्तिक रूपमा हुने चमत्कारिक परिणामहरूलाई मात्रै हाम्रा अगाडि प्रस्तुत गर्छन्। हाम्रा प्राध्यापकहरूको सुन्दर र व्यवस्थित काल्पनिक संसारमा चमत्कारिक सिद्धान्तअनुसार नै हरेक मान्छेले काम गर्छन्। जसले गर्दा जहिल्यै राम्रो नतिजा निस्कने कुरा मात्रै गर्छन्। उनीहरूको दृष्टिकोणमा सबै मान्छेले सिद्धान्तअनुसार काम गरे भने समाज सुव्यवस्थित र उत्कृष्ट हुन्छ।
'राज्यले न्यूनतम ज्याला तोक्नुहुन्न'
अक्सर हाम्रो कक्षामा उत्पादन र मजदुरको ज्यालासम्बन्धी कुरा नै हुँदैन। यदि मजदुरको ज्यालाको विषयमा कुरा भयो भने सरकारले न्यूनतम ज्याला तोक्नुहुन्न र मजदुरहरूले संगठन खोल्नुहुन्न भन्छन्। प्राध्यापकहरूले मजदुरहरूको न्यूनतम ज्यालामा वृद्धि भयो भने बेरोजगारी बढ्ने र रोजगारी घट्ने कुरा गर्छन्। यसरी उनीहरूले मजदुरको ज्यालामा वृद्धि गर्नुहुन्न भन्ने धारणाको विकास गराउँछन्।
अधिकांश अर्थशास्त्रका प्राध्यापकहरू बेरोजगारी बढ्नुको मुख्य कारण सरकारले न्यूनतम ज्याला तोक्नु र ज्याला बढोत्तरीको लागि मजदुर युनियनहरू गर्ने आन्दोलनलाई मान्छन्। त्यसैले उनीहरू बारबार आर्थिक क्रियाकलापमा सरकारले हस्तक्षेप गर्नुहुन्न र मजदुर युनियन बन्द गर्नुपर्छ भन्छन्।
समाजमा असमानता किन छ? कुनै कारखानाबाट उत्पादित वस्तुहरू कसैले किन्न सक्ने र कसैले किन्न किन सक्दैनन्? ज्यालाको निर्धारण वास्तविक रूपमा नै कसले गर्छ? ज्यालाको थपघटले कामदारको जीवनमा के असर पर्छ? यस्ता व्यावहारिक र अनुभवजन्य विषयलाई प्राध्यापक र पाठ्यक्रमले स्थान दिएका छैनन्। जबसम्म वस्तु उत्पादन हुने कारखानाबारे, कामदारहरूको जीवनस्थितबारे, ज्यालाको थपघटले कामदारहरूको जीवनमा पार्ने असरबारे र समग्र उत्पादन प्रक्रियाबारे कक्षामा कुरा हुँदैन, तबसम्म हाम्रो अर्थशास्त्रले समाजमा भएका खराबीहरूलाई उन्मुलन गर्न सक्दैन। केवल बजारका बारेमा मात्रै कुरा हुने अर्थशास्त्रका कक्षामा केबल जागिर खाने अर्थशास्त्री-पण्डितहरूको उत्पादन भइरहेछ।
देवकोटा अर्थशास्त्र विषय लिएर बीए चौथो वर्षमा अध्ययनरत छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
