दुई दशकसम्मको उपाधिविहीन यात्रा तोड्ने लक्ष्यमा ब्राजिल

ब्राजिलले विगत दुई वर्षमा एउटा मात्र खेल हारेको छ। कोपा अमेरिका २०२१ को फाइनलमा अर्जेन्टिनासँग १–० ले पराजित भएयता विश्वकप छनोटका १७ खेलमा ब्राजिल अपराजित रह्यो।

काठमाडौँ– सन् २०१४ को विश्वकपमा घरेलु मैदानमा जर्मनीसँग ७–१ को अप्रत्यासित हार बेहोरेर सेमिफाइनलबाट बाहिरिएको दक्षिणी अमेरिकी फुटबल ‘पावर हाउस’ ब्राजिल यसपटक त्यो पीडा बिर्साउने लक्ष्यमा छ।

ब्राजिलले समूह ‘जी’को पहिलो खेल सर्बियासँग खेल्दै कतार विश्वकपको शुरूआत गर्ने छ। ब्राजिल र सर्बियाबाहेक यस समूहमा स्विट्जरल्यान्ड र क्यामरून पनि छन्। छनोट चरणदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको ब्राजिल कतार विश्वकप २०२२ मा अग्रपंक्तिको दाबेदारको रूपमा प्रस्तुत हुने छ। 

पछिल्लो समयको प्रदर्शनले ब्राजिललाई छैटौँपटक उपाधि उचाल्न खासै कठिन नहुने महान् फुटबलर पेलेले दाबी गरेका छन्। “म ब्राजिल छैटौँपटक विश्व च्याम्पियन भएको हेर्न चाहन्छु, यो समय अब धेरै टाढा छैन”, पेलेले स्थानीय एजेन्सीसँग भनेका छन्, “हामी दुई दशकपछि च्याम्पियन हुदैछौँ।” ब्राजिलले विगत दुई वर्षमा एउटा मात्र खेल हारेको छ।

विश्वकप छनोटभन्दा अगाडि आयोजना भएको कोपा अमेरिका २०२१ को फाइनलमा ब्राजिल अर्जेन्टिनासँग १–० ले पराजित भएको थियो। त्यसपछि दक्षिण अमेरिकी विश्वकप छनोटका १७ खेलमा ब्राजिल अपराजित रह्यो। दक्षिण अमेरिकी विश्वकप छनोटमा उसका स्टार फरवार्ड नेयमार जुनिअरले सर्वाधिक ८ गोल गरे । रिचार्लिसनले ६ गोल गरेका थिए।

ब्राजिल अन्तिम पटक रूसमा सन् २०१८ मा आयोजना भएको  विश्वकप बेल्जियमसँग २–१ ले पराजित हुँदै क्वार्टरफाइनलबाट बाहिरिएको थियो। यद्यपि, ब्राजिलले २०१९ मा आयोजना भएको कोपा अमेरिका र टोकियो ओलम्पिक स्वर्ण पदक जितेको थियो। त्यसयता उच्च लयमा रहेको ब्राजिल छैटौँपटक विश्वकप उपाधि उचाल्ने लक्ष्यमा छ।

प्लेयर टु वाच
नेयमार जुनिअर,फरवार्ड

ब्राजिलका महत्वपूर्ण खेलाडी पीएसजी स्टार नेयमार प्रायः कुनै न कुनै विवादको केन्द्रमा रहन्छन्।

३० वर्षीय फरवार्ड प्रतियोगितामा ६ गोल गर्ने लक्ष्यका साथ मैदान उत्रिने छन्। उनले थप ६ गोल गरे ब्राजिल राष्ट्रिय फुटबल टोलीको सर्वाधिक गोलकर्ता बन्ने छन्। अहिलेसम्म ब्राजिलका लागि सबैभन्दा बढी गोल गर्नेको कीर्तिमान पेलेले ओगटेका छन्। उनले राष्ट्रिय टोलीबाट ७७ गोल गरेका छन्। 

ब्राजिलका लागि पछिल्लो ९ खेलमा नेयमारले ७ गोल र ६ असिस्ट गरेका छन्। उनले यस सिजन पीएसजीका लागि दोहोरो अंकमा गोल गरिसकेका छन्। फ्रेन्च लिग वानमा उनले ११ गोल गरेका छन् भने युईफए च्याम्पियन्स लिग २ गोल गरेका छन्। 

ब्राजिलले पछिल्लो पटक सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा पहिलोपटक आयोजना गरेको विश्वकप जितेको थियो। जर्मनीविरूद्धको फाइनल खेलमा रोनाल्डोले २ गोल गर्दै ब्राजिललाई पाँचौ पटक उपाधि दिलाएका थिए। त्यसयताका दुई संस्करमा क्वार्टरफाइनलबाट अगाडि बढ्न सकेन।  

सन् २०१४ मा सेमिफाइनल पुगेको थियो। उक्त सेमिफाइनलमा जर्मनीसँग ७–१ ले पराजित भएको ब्राजिल तेस्रो स्थानका लागि नेदरल्यान्डसँग भएको खेलमा पनि ३–० ले पराजित हुन पुग्यो। ब्राजिल यसपटक त्यस खराब इतिहासलाई सुधार गर्दै उपाधि जित्ने लक्ष्यमा छ। कतारमा जित्न सके ब्राजिलले दुई दशकदेखिको उपाधि खडेरी तोड्ने छ।

६० वर्षीय प्रशिक्षक टिटेको प्रशिक्षणमा टोलीले खेलेको ७६ मध्ये ५७ खेलमा जित निकालेको छ। यस्तै, पाँचमा हार र १४ बराबरीको नतिजा निकालेको छ। यद्यपि, टिटेले विश्वकपपछि ब्राजिलको टोली छाड्नेछन्।

“म विश्वकपसम्म नेतृत्वमा रहनेछु। तपाईंलाई ढाँट्ने मसँग कुनै कारण छैन”, टिटेले पोर्चुगाली टेलिभिजन स्पोरटिभीसँगको अन्तर्वार्तामा भने, “मैले आफ्नो करियरमा सबै कुरा जितेको छु, हारेको गत विश्वकप मात्र हो।” युवा खेलाडीको आगमनले नेयमारलाई मैदान बाहिर र भित्र सहयोग पुर्‍याउने टिटेले विश्वास व्यक्त गरेका छन्।

उनले पीएसजीमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। नेयमारसँगै युवा खेलाडीको उत्कृष्ट लयको भरमा ब्राजिल विश्वकप जित्ने कुरामा विश्वस्त देखिन्छ। नेयमार ‘सेन्ट्रल रोल’ मा बस्दा अन्य खेलाडीलाई उनी वरिपरि खेल्न सहज हुने गरेको छ। सोही कारण ट्युनिसिया र घानाविरूद्धको मैत्रीपूर्ण खेलमा प्रशिक्षक टिटेले पाँच फरवार्डलाई मैदान उतारेका थिए।

उक्त खेलमा ब्राजिलले ५–१ र ३–० को उत्कृष्ट नतिजा निकालेको थियो। विश्वकपका लागि एक टोलीमा २६ खेलाडी राख्न पाउने तथा पाँच खेलाडी परिवर्तन गर्न सकिने भएपछि ब्राजिलले नाै फरवार्डलाई समावेश गरेर अन्तिम टोली घोषणा गरिसकेको छ। ब्राजिललाई प्रिमियर लिग क्लब लिभरपुलका पहिलो रोजाइका गोलरक्षक एलिसन बेकर र म्यानचेस्टर सिटीका एडरसनले पनि बलियो बनाएका छन्।

तर, ब्राजिललाई समूह चरण छिचोल्न सहज भने हुने छैन। सन् २०२० को युरोकपमा साविक विश्वकप विजेता फ्रान्सलाई हराएको स्विट्जरल्यान्डलाई ब्राजिलले कम आँक्ने  छैन। सर्बियाको आक्रमणले ब्राजिलको रक्षककलाई पनि समस्या उत्पन्न गराउन सक्छ। यदि ब्राजिलले समूह चरण पार गरिहालेको अवस्था पनि उसका लागि राउन्ड अफ १६ त्यति सहज भने हुने छैन।

राउन्ड अफ–१६ मा ब्राजिलको भेट स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो रहेको पोर्चुगल या लुईस सुआरेज र एडिन्सन कभानी रहेको उरुग्वेसँग हुने प्रवल सम्भावना छ। यता, बेल्जियम, स्पेन वा जर्मनीजस्ता युरोपेली  ‘पावर हाउस’ ब्राजिललाई क्वार्टरफाइनलमा पर्खिरहेका हुन सक्छन्।

ब्राजिलको टोली
गोलकिपर :  एलिसन बेकर (लिभरपुल), एडरसन मोराएस (म्यानचेस्टर सिटी), वेभर्टन (फ्लामेङ्गो)

डिफेन्डर : ड्यानी आल्भेस (पुमास), थियागो सिल्भा (चेल्सी), मार्किन्होस (पीएसजी), ड्यानीलो (युभेन्टस), एलेक्स सान्ड्रो (युभेन्टस), एडर मिलिटाओ (रियल मड्रिड), एलेक्स टेलेस (सेभिया), ब्रेमर (युभेन्टस)

मिडफिल्डर : क्यासेमिरो (म्यान्चेस्टर युनाइटेड), फाबिन्हो (लिभरपुल), लुकास पाक्वेटा (वेस्ट ह्याम), फ्रेड (म्यान्चेस्टर युनाइटेड), ब्रुनो (न्युकासल युनाइटेड) र एभर्टन (फ्लामेंगो)

फरवार्ड : नेयमार (पीएसजी), रिचारलीसन (टोटेनह्याम), भिनीसियस जुनियर (रियल मड्रिड), एन्टोनी सान्तोस (म्यानचेस्टर युनाइटेड), गाब्रीएल जेसस (आर्सनल), राफिन्हा (बार्सिलोना), रोड्रीगो (रियल मड्रिड), पेड्रो (फ्लामेंगो), गाब्रीएल मार्टिनेली (आर्सनल)