गौतमबुद्धबाट अन्तर्राष्ट्रिय उडान गर्ने निगमको तयारी

नेपाल एयरलाइन्सले भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।

काठमाडौं– नेपाल एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ ।

डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । निगमका वाणिज्य निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा गठित समितिले उडान सञ्चालनबारे अध्ययन गरिरहेको छ ।

अध्ययन प्रतिवेदन बुझाएपछि निगमको बोर्ड बैठकबाट निर्णय गरी डिसेम्बरभित्रै व्यावसायिक उडान सञ्चालनको गर्नेगरी सरोकारवालासँग परामर्श भइरहेको उनल बताइन्। हाल गौतमबुद्ध विमानस्थलबाट जजिरा एयरलाइन्सले सातामा तीनवटा उडान गरिरहेको छ ।

कात्तिक १७ देखि हिमालय एयरलाइन्सले मलेसियाको क्वालालम्पुरका लागि नियमित चार्टर्ड उडान सञ्चालन गर्दै आएको छ । नेपाल एयरलाइन्सले दैनिक एक चार्टर्ड उडान गरिरहेको छ ।

नेपाल एयरलाइन्सले भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । एयरलाइन्ससँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० जहाज छन् ।