शिवशिखर र तुलसी सहकारी समस्याग्रस्त घोषित

सर्वसाधरणको अर्बौँ रकम हिनामिना गरेका यी सहकारीविरुद्ध बचतकर्ताको उजुरीपछि सहकारी विभागको सिफारिमा समस्याग्रस्त घोषणा गरीएको भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयलले जनाएको छ। 

अहिले थुनामा रहेका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा।

काठमाडौँ– सरकारले भक्तपुरको शिवशिखर बहुउद्देश्यीय  सहकारी संस्था र माेरङको तुलसी बहुमुखी सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ। सर्वसाधरणको अर्बौँ रकम हिनामिना गरेका यी सहकारीविरुद्ध बचतकर्ताको उजुरीपछि सहकारी विभागको सिफारिमा समस्याग्रस्त घोषणा गरीएको भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयलले जनाएको छ। 

“सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने यी दुई सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, मान्यता विपरीतको कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन २०७४ को दफा १०४ को उपदफा (१) को व्यवस्थाअनुसार सहकारी विभागका रजिस्ट्रारको सिफारिसमा उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ”, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। समस्याग्रस्त घोषणा भएका यी सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी अब समस्याग्रस्त सहरकारी व्यवस्थापन समितिले गर्नेछ।

याे पनि : बचतकर्तालाई रुवाएर अर्बौंको ‘व्यापारिक साम्राज्य’ खडा गरेका सहकारी सञ्चालक

यी सहकारी संस्थाका सञ्चालकले बचतकर्ताको बचत रकम हिनामिना गरेको भन्दै विभागमा उजुरी परेको थियो । त्यस्ता उजुरीमाथि विभागले छानबिन गरेपछि समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो । सहकारी विभागको सिफारिसका आधारमा मन्त्रालयले सोमबार यस्तो निर्णय गरेको हो।

यीसँगै समस्याग्रस्त घोषणा भएका सहकारीको सङ्ख्या १५ वटा पुगेको छ। यसअघि मन्त्रालयले विभिन्न मितिमा १३ वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिसकेको छ। स्टान्डर्ड सेभिङ् एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ् एन्ड इन्भेष्टमेण्ट को–अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कोहिनुर हिल सेभिङ् एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, कन्जुमर बचत तथा ऋण सरकारी संस्था लिमिटेड र कुवेर बचत तथा ऋण सरकारी संस्था लिमिटेड समस्याग्रस्त सहकारीका रूपमा रहेका छन्। 

त्यस्तै, चार्टर्ड सेभिङ् एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, भेगास बचत तथा ऋण सरकारी संस्था लिमिटेड, स्टान्डर्ड मल्टिपर्पोज को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लुःनिभा बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, ओरेण्टल को-अपरेटिभ लिमिटेड र पशुपति सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेड समस्याग्रस्त सहकारीका रूपमा घोषित भइसकेका छन्।