‘फेरि, क्रिकेटमा कालो बादल मडार्ने प्रयास भइरहेको छ। हामीले त्यो देखेका छौँ, तर किमार्थ हुन दिँदैनौँ। हामी मजबुत भएपछि चतुरजी क्यानको अध्यक्ष पुन: निर्वाचित हुनेमा ढुक्क भएर हिँड्नुभएको छ।’
नेपाल क्रिकेट संघ (क्यान) परिवर्तनका लागि भन्दै चार वर्षअघिको निर्वाचनमा विनयराज पाण्डे र चतुरबहादुर चन्दको समूह प्रतिस्पर्धामा थिए। क्यानको नेतृत्व सम्हालिसकेका पाण्डेलाई पराजित गर्दै चन्द अध्यक्ष निर्वाचित भए। चन्दकै समूहमा थिए, गण्डकी प्रदेशका तत्कालीन अध्यक्ष तथा केन्द्रीय सदस्य ऋषिराम गौतम। केन्द्रमा निर्वाचित भएपछि उनले दुई वर्ष चन्दलाई साथ दिए। तर क्यानमा आर्थिक अनियमितता, विकृति र एकाधिकार मौलाएको भन्दै बाँकी दुई वर्ष चन्दविरुद्ध उत्रिए। उनले अन्य केन्द्रीय समस्यहरू दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीलाई पनि साथमा लिएर निरन्तर चन्दविरुद्ध आवाज उठाइरहे। उनी पछिल्लो समय पारस खड्कालाई नेतृत्वमा पुर्याउन लागिपरेका छन्। क्यानभित्रको राजनीति र आगामी निर्वाचनबारे गौतमसँग उकालोका लागि दीप सुवेदीले गरेको कुराकानी:
पहिला तपाईं क्यान अध्यक्षको आकांक्षी हुनुहुन्थ्यो। पूर्वकप्तान पारस खड्का क्यानमा प्रवेश गरेपछि किन पछि हट्नुभयो?
मैले कसैलाई नेता मान्नुपर्ने, कसैले मलाई नेता मान्दिनुपर्ने कुरा होइन। यो आवश्यकता क्रिकेटको हो। हिजो हामीले चतुरजीलाई नेता मानौँ। मैले विद्रोह गर्दा साथीभाइले मलाई नेता मान्नुभयो। मैले पारसहरूलाई हाम्रो टिममा सँगै लिएर आउने जमर्को गरेको हुँ, त्यसमा सफल भइयो। आज हामी एकै टिममा छौँ। अहिले पारसलाई अगाडि बढाएर म पछि हटेँ भन्ने हल्ला गलत हो। हामी सँगै छौँ, कोही अघि, कोही पछि छैनौँ।
पारसजस्तो मान्छेलाई बाहिर राखेर क्यान अगाडि बढ्न सक्दैन भनेर सहकार्य गरेको हुँ। पारसलाई मेरो मात्रै होइन, हाम्रो नेता बनाउनुपर्छ। त्यसैले मेरो ठाउँ के हो भन्ने कुरालाई मैले महत्त्व दिएको छैन। साथीभाइहरूले मैले नेपाली क्रिकेटमा गरेको लगानी र त्याग हेरेर मलाई उचित ठाउँमा लानुहुन्छ भन्नेमा आशावादी छु। मलाई अध्यक्ष वा यो पद नै चाहिन्छ भन्ने छैन। म पदमा होइन भूमिका र जिम्मेवारीमा विश्वास राख्ने व्यक्ति हुँ। हिजो चतुरजीले किस्तीमा राखेर उपाध्यक्ष खानुस् भनेर तीनचार पटक भन्नुभयो। गलत गर्नुभएको कुरा सच्याउनुहुन्छ भने उपाध्यक्ष बस्छु नत्र बस्दिनँ भनेर पाएको पद लिलाम गरेको हुँ।
अहिले अशोकनाथ प्याकुरेल र राजुबाबु श्रेष्ठजस्ता योग्य मान्छे पनि संघबाहिर छन् भनेर तपाईंहरूले नै सुनाउनुहुन्थ्यो। उहाँहरूलाई बाहिरै राखेर पारस खड्कालाई नै अगाडि बढाउनुपर्ने कारण किन देख्नुभयो?
अशोकनाथ दाइजस्तो मान्छेको अभाव क्रिकेट संघमा सधैँ खट्किरहेको छ। उहाँहरू हामी सँगसँगै भइदिएको भए सुनमा सुगन्ध हुन्थ्यो। हामीले प्रयत्न गरेका हौँ, धेरैपटक अनुरोध गर्यौँ। तर 'हिजोको कमीकमजोरीले मैले पाठ सिकिसकेँ, नेपाली क्रिकेटमा लामो समय दिइसकेँ, अब भाइहरूले नेतृत्व गर्नु' भन्नुभयो। पारसलाई लगेर उहाँसँग वार्ता पनि गरेका हौँ। तर आउन मान्नुभएन। उहाँ हामीसँगै हुनुहुन्छ। हामीलाई उहाँको साथ, सहयोग र सुझावहरूको अभाव खट्किरहेको छ। उहाँले नेपाली क्रिकेटलाई यहाँसम्म ल्याइपुर्याउन गर्नुभएको योगदानको कदर गर्छौं। भोलिका दिनमा पनि अशोक दाइ र राजुबाबुले हामीलाई सहयोग गर्नुहुन्छ।

पछिल्लो समय अध्यक्ष चन्दसँग तपाईंको सम्बन्ध राम्रो थिएन। अध्यक्ष त तपाईंलाई क्यानबाट निलम्बन नै गर्न लाग्नुभएको थियो। कप्तानको रूपमा पारस र चन्दको सम्बन्ध पनि राम्रो नभएको सुनिन्थ्यो। अहिले तपाईंहरू उहाँसँगै मिलेर जाने परिस्थिति कसरी बन्यो?
नेतृत्वमा जाने मान्छेले विगतका धेरै कुरा बिर्सिनुपर्छ, विष पनि पिउन सक्नुपर्छ। हिजो के कस्तो भयो भन्ने कुरा आएन। चतुरजीले आफूले गलत गरेँ भनेर स्वीकार गरिसक्नुभएको छ। आफूले जसलाई साथ लिएर हिँडेको हो, उहाँहरूले काँधमा बन्दुक राखेर पड्काए भन्नुभएको छ। अब मबाट त्यो गल्ती हुँदैन भनेर सार्वजनिक रूपमा भनिराख्नुभएको छ। हामी उहाँले क्रिकेटमा दिएको योगदानलाई अवमूल्यन गर्न खोजिरहेका छैनौँ। उहाँ पनि २०/२२ वर्ष दिएर सदस्यबाट अध्यक्षसम्म आइपुग्नु भएको व्यक्ति हो। उहाँका सल्लाहकार र सहयोगीहरू जो छन्, प्रस्ट चिनिसक्नुभएको छ। अब पनि तिनै व्यक्तिसँग सहकार्य गरेर अगाडि बढ्नुहुन्छ भने हामीलाई भन्नु केही छैन, सिर्फ रामराम मात्रै हो। उहाँको राजनीति पनि जोगियोस्, नेपाली क्रिकेटले पनि फड्को मारोस् भन्ने चाहन्छौँ। त्यसको लागि पारसलगायतका पाँच जना केन्द्रीय सदस्य र दुई जना राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य तथा नेपथ्यपछिका साथीहरू मिलेर अगाडि बढिरहेका छौँ।
सकेसम्म खराब व्यक्ति, विचार र संगतलाई संघबाट बाहिर राखेर आमूल परिवर्तन र व्यवस्थापनको लागि हामी लडेका छौँ, लाग्छ हामी सफल हुन्छौँ। सगरमाथा चढ्ने हो भने पहिलो पाइला घरबाटै चाल्नुपर्छ। जसले हिजो हामीमाथि प्रहार गरे, निलम्बन गर्नुपर्छ भनेर हिम्मत गरे, उनीहरूसँग जोहोरी खेल्न खोजेका छैनौँ। साथीहरू सच्चिएर आउनुहुन्छ भने आउनुस् भनेका छौँ। अहिले चतुरजीमा दम्भ पनि देखेका छैनौँ। उहाँले म बिउँझिए भन्नुभएको छ। उहाँबाट यही नै अपेक्षा गर्छौं।
कोषाध्यक्ष रोशनबहादुर सिंह पनि अध्यक्षको दाबेदार हुनुहुन्थ्यो। उहाँलाई मधेश र लुम्बिनी प्रदेशको साथ थियो। तर कोशीको नतिजा आएपछि पछि हट्नुभयो। अहिले उहाँ र चन्द समूह मिल्ने तयारी पनि छ। यसले त चुनावको दिनसम्म बेग्लै गठबन्धन होलाजस्तो छ नि?
जिल्ला संघहरूको निर्वाचनबाटै हामी चतुरजीसँग छौँ। हामी सल्लाह र योजनासाथ अगाडि बढिरहेका छौँ। यहाँ हामी जित्यौँ, चतुरजी हार्नुभयो भन्ने कुरा गलत प्रचार हो। चतुरजीकै मान्छेले चतुरजीलाई गाली गरेर उम्मेदवारी दिएका थिए। अहिले चतुरजी र हाम्रो प्यानलमा कसरी फुट गराउने भनेर लागेका छन्। फेरि, नेपालको क्रिकेटमा कालो बादल मडार्ने प्रयास भइरहेका छन्। हामीले त्यो देखेका छौँ, तर किमार्थ हुन दिँदैनौँ। हामी र चतुरजी सजग हुनुपर्छ। हामी मजबुत भएपछि चतुरजी क्यानको अध्यक्ष पुन: निर्वाचित हुनेमा ढुक्क भएर हिँड्नुभएको छ। उहाँलाई उहाँकै प्रदेशमा केन्द्रित हुनु, अरू ठाउँमा हामी केन्द्रित हुन्छौँ भनेका थियौँ। लामो समय उतै प्रदेशमा गएर बस्नुभएको थियो। अहिलेसम्मको नतिजाले हामी अगाडि छौँ।
सरसर्ती हेर्दा कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेश अहिले हाम्रो पक्षमा एक ढिक्का भएर उभिएको छ। हामी यसलाई जोगाउन सक्छौँ कि सक्दैनौँ भन्ने कुरा हो। निर्वाचन हो, धेरै कुराको प्रलोभन र आश्वासन आउँछन्। अदृश्य शक्तिले प्रहार गर्छन्।
हिजो अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सचिव लड्छु भन्ने मान्छेहरू अहिले फेरि 'हामीलाई राख्दिनुस्' भनेर चतुरजीलाई फकाउन गइरहेका छन्। यो साँच्चिकै क्रिकेटको लागि हो कि, आफ्नो अस्तित्व र अनुहार बचाउन हो भन्ने कुरा चतुरजीले चिन्नुहुन्छ। हिजो हामीलाई देखेर नाक खुम्चाउने, मुख बिगार्ने र गालीका गुच्छाहरू बर्साद् गर्ने मान्छेहरू हामीसँग नतमस्तक भएका छन्। यो हाम्रो जित होइन, यो नेपाली क्रिकेटलाई माया गर्नेको जित हो। हामी कसैलाई गाली गर्दैनौँ, कसैको अस्तित्वलाई अस्वीकार गर्दैनौँ। तर दम्भ र पदको लागि बार्गेनिङ नगरिदिनुहुन अनुरोध गर्दछु।

क्यानमा आर्थिक पारदर्शिता भएन, नेपाल टी २० लिगमा अनियमितता भयो भनेर हिजो तपाईं नै अध्यक्षविरुद्ध लाग्नुभएको थियो। तपाईंले क्यान बैठक र लिगसमेत बहिस्कार गर्नुभयो। अब सुनपानी छर्केर अध्यक्षको ती सबै कदम सही हो भनेर आफू सच्चिनुभएको हो?
त्यस्तो कुरा छँदैछैन। हिजो हामीले उठाएका कुरा, आन्दोलन गरेका र प्रतिकार गरेका कुराहरू चलचित्र हेरेको जस्तै छर्लंग छन्। ती कुरालाई हामीले मार्गदर्शक सिद्धान्त बनाएका छौँ। अबको दिनमा संघलाई डुबाउने, हकहितभन्दा बाहिर जाने, आर्थिक पारदर्शिता नहुने र एकलौटी निर्णयको भरमा संघ चलाउने कसैलाई पनि अधिकार छैन। यस्तो कार्य फेरि दोहोरिए हिजोभन्दा अझै सशक्त तरिकाले विरोध गर्छौं, प्रतिकार गर्छौं।
नेपाल टी २० को विषयमा हामीले आवाज उठाएपछि संघले सम्झौता खारेज गरिसकेको छ। आर्थिक पाटोमा संघले लिनुपर्ने पैसा लिन सकेको छैन। त्यसैले मुद्दामा जाने प्रक्रियामा छौँ भनेर चतुरजीले भन्नुभएको छ। यसको जिम्मेवारी उहाँले लिनुपर्छ, जवाफ उहाँले दिनुपर्छ। हामी भोलिको दिनमा निर्वाचित भयौँ भने यसरी गोप्यरूपमा सम्झौता हुन दिँदैनौँ।
तपाईंहरूसँग 'पब्लिग फिगर' बनाएका पारस खड्का छन्। त्यही फिगरको भरमा विगतको कमजोरी लुकाउन र पद जोगाउन फेरि अध्यक्ष चन्दले साथ खोज्न लाग्नुभएको र पदमा पुगेपछि तपाईंलाई पनि छाड्नुहुन्छ भन्ने लाग्दैन?
विश्वासकै भरमा संसार चलेको हुन्छ। एकपटक गलत गरेको मान्छेले सधैँ गलत गर्छ भन्ने छैन। हिजो हामीलाई आईसीसीबाट प्रतिबन्ध लगाउन भूमिका खेलेको र राखेपबाट संघ खारेज गर्न लाग्यो भनेर उहाँले आरोप लगाउनुभएको हो। त्यो भन्दैमा उहाँसँग सँगै नबस्ने, सहकार्य गर्नै नहुने भन्ने होइन। दुईतीन महिनाको बसाइको क्रममा सबैले धेरै कुराको झलक पाइसकेका छन्। त्यतिखेर संघ चलाउँदाको अनुहार र अहिले हामीले साथ लिएर हिँड्दाको अनुहारमा चेन्ज आएको छ।
खेलाडीले टी२० लिग खेलेको पारिश्रमिक पाएका छैनन्। 'म्याच फिक्सिङ'को कुरा सेलाएको छैन। विदेशी खेलाडी अब नेपाल खेल्न नआउने भनेर खुलमखुला भनिरहेका छन्। यसले त अन्तर्राष्ट्रिय स्तरमा छवि धुमिल त बनाएको छ नि? तपाईंहरूले चाहिँ जिम्मेवारी लिनुपर्दैन?
बच्चा जन्मिएपछि हिँड्ने बेलामा धेरैपटक लड्छ, धेरैपटक चोट लाग्छ। हिँड्न सिक्दा चोट लागेको बच्चा पछि बलियो भएर हिँड्छ। हिजो कमीकमजोरी भएकाले हामीले आवाज उठायौँ, त्यो आवाज सानो भयो। नेपाल टी २० लिग आयोजना गर्दा नेपालका अन्य घरेलु फ्रेन्चाइजी लिग रोक्ने सम्झौता थिएन। हामीले गलत कार्य रोक्न शुरूआतदेखि नै 'नोट अफ डिसेन्ट' लेखेका थियौँ। तर पार लाग्न सकेन। हो अहिले अन्तर्राष्ट्रिय मञ्चमा संघले गरेको कामले दाग लागेको छ। कमिटीमा भएको कारण केही अंश जिम्मेवारी लिन म तयार छु। तर हामीलाई त्यसमा समावेश गरिएको छैन, मनपरी तरिकाले संघ चलाउनु भएको छ। त्यसैले उहाँहरू कठघरामा उभिनुपर्छ। सेभेन थ्री स्पोर्ट्स भागेपछि प्रतियोगिता बढाउन कसले अधिकार दियो? खेलाडीलाई पारिश्रमिक दिन्छु भनेर कसले कागज गर्यो? तत्कालीन जीएम वृतान्त खनाल, कार्यवाहक सचिव तथा नेपाल टी २० लिग गभर्निङ काउन्सिलका अध्यक्ष प्रशान्तविक्रम मल्लले व्यक्तिगत रूपमा निर्णय गराउनु भएको हो, बोर्ड बैठकबाट गराउनु भएको होइन। राम्रो भए हामीले गरेको भन्ने, नराम्रो भएपछि हामीले नगरेको भनेर उन्मुक्ति पाउनुहुन्न। त्यतिखेरका जीएम र गभर्निङ काउन्सिलका अध्यक्षले आफ्नो ठाउँबाट त्यो पेमेन्ट गरेर बिग्रिएको छवि सुधार गर्नुपर्छ।
धेरै खेलाडीहरूले पारिश्रमिक पाएनन्, खेलाडीहरूले श्रम स्वीकृति लिन सकेनन्। अझ खेलाडीलाई श्रम स्वीकृति दिलाउन पैसा लिएको, तर दिन नसकेको भन्ने सुनिरहेको छौँ। त्यो पैसा उहाँहरूले फिर्ता दिनुपर्छ। अब तिनै मान्छेहरू संघको नेतृत्वमा आए भने क्रिकेट रहँदैन। त्यस्ता व्यक्तिहरूलाई संघमा ढोका बन्द गर्नुपर्छ। जुन गुमेको इज्जत छ, त्यसको लागि हामी माफी माग्छौँ। अब यस्तो हुँदैन भनेर आउने नेतृत्वले सार्वजनिक रूपमा प्रतिबद्धता गर्छौं।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
