क्यानविरुद्ध ज्ञानेन्द्रको त्यो विद्रोह, जसले रोहितलाई कप्तान हुने बाटो खोल्यो

करिब ११ महिनाअघि क्यानले गरेको केन्द्रीय सम्झौतामा रोहित नपरेपछि उनको पक्षमा विद्रोह गरेका तत्कालीन कप्तान ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्रले पद गुमाए, त्यहीँबाट रोहितका लागि ‘नयाँ ढोका’ खुल्यो।

काठमाडौँ– राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ले २०७८ पुसमा नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध ‘विद्रोह’ गरेका थिए। त्यही कारण ज्ञानेन्द्रले कप्तान पद गुमाए।

त्यसबखत क्यानको खेलाडी वर्गीकरणमा समेत नपरेका रोहितकुमार पौडेल त्यही विद्रोहका कारण १० महिनापछि नेपाली क्रिकेट टोलीको कप्तान हुन पुगे। ज्ञानेन्द्रको विद्रोह वर्गीकरणमा नपरेका पौडेललगायतकै लागि थियो। तर, त्यसले नेपाली क्रिकेट टोलीको संरचना नै बदलियो।

क्यान रोहितलगायतलाई वर्गीकरणमा राख्न र सोमपाल कामको वर्गीकरण बढुवा गर्न तयार भयो। तर, ज्ञानेन्द्रले कप्तान पद गुमाए। आफ्नो पद नै ‘दाउ’मा राखेर वर्गीकरणमा पारेका ज्ञानेन्द्रकै बाटो पछ्याएर रोहित कप्तान भएका छन्। शुक्रबार राति बसेको क्यानको बोर्ड बैठकले उनलाई बढुवा गर्ने निर्णय गरेको हो।

नाबालिगमाथि बलात्कार गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतको आदेशमा निवर्तमान कप्तान सन्दीप लामिछाने पुर्पक्षका लागि जेल चलान भएका छन्। न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले गएको कात्तिक १८ गते ‘प्रतिवादी निर्दोष रहेको मान्न नमिल्ने’ ठहर गर्दै सन्दीपलाई थुनामा पठाउने आदेश दिएको थियो।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न सन्दीप जमैका पुगेका बेला उनीविरुद्ध नाबालिगमाथि बलात्कार आरोपमा उजुरी परेको थियो। पक्राउ पुर्जी नै जारी भएपछि क्यानले उनलाई राष्ट्रिय टोलीबाट भदौ २३ मा निलम्बन गरेको थियो। योसँगै आठ महिना लामो सन्दीपको कप्तानी यात्रा समाप्त भएको थियो।

कात्तिक २८ देखि नेपालले युएईविरुद्ध कीर्तिपुरमै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) श्रृंखला खेल्ने भएपछि क्यानले उपकप्तानसमेत रहेका रोहितलाई कप्तानमा बढुवा गरेको हो। क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले आफूलाई कप्तान नियुक्त गरिएको जानकारी दिँदा एकछिन बोल्नै नसकेको रोहितले उकालोलाई बताए। “सिनियर दाइहरू हुँदासम्म कप्तान बन्छु भन्ने लागेको थिएन”, उनले उकालोसँग भने, “दाइहरू हुँदासम्म केही सोच्नै पर्दैन्थ्यो।”

२० वर्षकै उमेरमा राष्ट्रिय क्रिकेट टोलीको कप्तानी भूमिका निर्वाह गर्ने विषय सायदै कुनै खेलाडीले कल्पना नै गर्छन्। रोहित कप्तान नियुक्त हुँदा उनको उमेर २० वर्ष ७१ दिन थियो। यसअघि उनकै उमेरमा सन् २००९ मा युएईमा आयोजना भएको एलिट कपमा पारस खड्काले नेपाली टोलीको कप्तानी गरेका थिए। सन्दीपले पनि २१ वर्षको उमेर राष्ट्रिय टोलीको कप्तानी सम्हाल्ने जिम्मेवारी पाएका थिए।

कप्तान र उपकप्तान नै विद्रोहमा
नेपाली यु–१९ टोलीको कप्तानी सम्हालिसकेका रोहित नेपाली क्रिकेटका लागि नौलो नाम होइन। सन् २०१८ मा डिभिजन २ मा नामिबियासँग ‘डेब्यू’ गरेयता लगातार उच्च प्रदर्शन गर्दै आएका रोहितले क्यानले गरेको विभेदपूर्ण व्यवहारका कारण कुनै बेला क्रिकेटलाई नै छाड्ने मनस्थिति निर्माण गरिसकेका थिए। 

क्यानले उनलाई  केन्द्रीय सम्झौताबाट हटाएपछि निराश बनेका थिए। तर, क्षमतावान् खेलाडीलाई वर्गीकरणमै नपारेको र सोमपाल कामीलगायतको वर्गीकरण नमिलेको भन्दै तत्कालीन कप्तान ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्रसिंह ऐरीले क्यानलाई आग्रह गरे। २०७८ असोज तेस्रो साता बसेको क्यान बोर्ड बैठकले खेलाडीको नयाँ वर्गीकरण पारित गरेको थियो।

उक्त वर्गीकरणमा रोहितसहित तीव्र गतिका बलर गुलशान झा र दायाँहाते मध्यम गतिका बलर विक्रम सोबलाई समेटिएको थिएन। सोमपाल समूह ‘ख’मा थिए। वर्गीकरणप्रति कप्तान र उपकप्तान असन्तुष्ट मात्र भएनन्, सार्वजनिक अभिव्यक्ति नै दिए। क्यानविरुद्ध आन्दोलन गरे।

माघमा ओमानमा भएको टी–२० विश्वकप छनोट र फागुनमा यूएईमा भएको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट प्रतियोगिताको मुखैमा विवाद भएको थियो। क्यानले बोलाएको बन्द प्रशिक्षणमा कतिपय खेलाडी सहभागी नै भएनन्। खेलाडीको विद्रोहपछि क्यानले ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट बर्खास्त गर्‍यो।

तर, कतिपय खेलाडी ज्ञानेन्द्र र दीपेन्द्रलाई साथ दिँदै प्रशिक्षणमा सहभागी नहुने भएपछि क्यानले बाध्य भएर निर्णय सच्यायो। रोहित, गुलशन र विक्रमलाई जनही एक लाख प्रोत्साहन भत्ता दिने निर्णय भयो। ज्ञानेन्द्र र दीपेन्द्रलाई पनि जिम्मेवारीमा फिर्ता गरिएन। टोलीमा चरम गुटबन्दी गरेको, खेलाडीलाई भाँडेको र अनुशासन उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका ज्ञानेन्द्रलाई विभिन्न बहाना देखाउँदै क्यानले पहिलोपटक करिब पाँच महिना राष्ट्रिय टोलिबाट बाहिर राखेको थियो।

त्यसयता, सन्दीप कप्तान भए पनि उपकप्तान नियुक्त गरिएन। सन्दीप केन्या भ्रमणकै बीचमा तीन टी२० खेल खेलेपछि सीपीएल खेल्न जानुपर्ने भएपछि क्यानले बाध्य भएर रोहितलाई गएको साउनमा उपकप्तानको जिम्मेवारी दियो। रोहितले पनि मैदानमा दमदार प्रदर्शन गरे।

केन्याविरुद्धको पाँच टी२० आई र तीन ५० ओभरको सिरिजमा ९९.६४ को स्ट्राइक रेटमा २८३ रन बनाएर प्रतियोगिताकै उच्च रनकर्ता भए। त्यति मात्रै होइन, सन्दीपको अनुपस्थितिमा रोहित कप्तान बनेको केन्याविरुद्ध तीन खेलको ५० ओभरको सिरिज नेपालले ‘क्लिन स्वीप’ नै गरेको थियो।

क्यानको निर्विकल्प रोहित!
सन्दीप निलम्बनमा परेपछि र तत्काल टोलीमा फर्कने अवस्था नदेखिएपछि नेपाली टोलीको नयाँ कप्तान को बन्ला भन्नेमा बहस शुरू भएको थियो। युवा खेलाडीहरूको बर्चस्व रहेको टोलीमा क्यानसँग कप्तानको विकल्प अत्यन्त सीमित थिए।

त्यसैले पनि पूर्वकप्तान ज्ञानेन्द्र, रोहित, सोमपाल कामी, करण केसी र आरिफ शेखलाई नै सम्भावित कप्तानको रूपमा हेरिएको थियो। क्यान कार्यसमितिमा रहेका छुम्बी लामासहित केहीले भने ज्ञानेन्द्रलाई नै कप्तानी जिम्मेवारीमा फर्काउनुपर्ने या दीपेन्द्रलाई नियुक्त गर्नुपर्ने माग अगाडि सारेका थिए।

तर, आफैँले कारबाही गरेर हटाएका खेलाडीलाई फेरि कप्तानी जिम्मेवारीमा फर्काउन क्यान अध्यक्ष चतुरबहादुर चन्द र कार्यवाहक सचिव मल्ल इच्छुक भएनन्। “उहाँ (छुम्बी लामा) दुई खेलाडी (ज्ञानेन्द्र र दीपेन्द्र) निकट हुनुभएर पनि होला उहाँले क्यानको गलत कदमलाई सच्याउँदै जिम्मेवारी दिनुपर्छ भनेर प्रस्ताव ल्याउनु भएको थियो। तर, अध्यक्ष र कार्यवाहक सचिवज्यूले मान्नुभएन,” क्यानका एक केन्द्रीय सदस्यले उकालोसँग भने।

ज्ञानेन्द्र कारबाहीमा पर्दै लामो समय मैदानबाहिर रहे पनि दीपेन्द्रले राष्ट्रिय टोलीबाट आफ्नो स्थान गुमाएका थिएनन्। ब्याटिङ र बलिङ दुबैबाट खेल जिताउन सक्ने खुबी भएका दीपेन्द्र अहिले नेपाली टोलीका सबैभन्दा महत्त्वपूर्ण खेलाडी मानिन्छन्। यू—१९ टोलीको कप्तानीसम्म गरिसकेका उनी राष्ट्रिय टोलीका सिनियर खेलाडी हुन्। तर, कप्तानी दिने सवालमा उनीप्रति पनि क्यान पूर्वाग्रही नै देखिएको ती सदस्यले बताए।

यीबाहेक टोलीमा सोमपाल, करण र आरिफ सिनियर खेलाडी छन्। तर, रोहितले नै टोलीको उपकप्तानी सम्हालिरहेको भएर अन्य विकल्प नहेरिएको कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बताए। “राजाको देहावसानपछि उसको सम्पूर्ण अधिकार युवराजले नै सम्हाल्ने होइन र? त्यसैमा टेकेर हामीले उपकप्तानलाई नै कप्तानको जिम्मेवारी दिएको हो”, उनले भने, “एक टोलीमा ५० जना सिनियर खेलाडी हुन्छन्। सबैलाई कप्तानी जिम्मेवारी दिँदै हिँड्न त भएन नि!”

उनले भनेजस्तै रोहित कप्तानी जिम्मेवारी सम्हाल्नलायक खेलाडी हुन्। उनलाई हाल नेपाली टोलीमा भएका क्रिकेटरमध्येका प्रतिभाशाली खेलाडी पनि मानिन्छ। छोटो र लामो दुवै फम्र्याटको खेल खेल्नसक्ने क्षमता राख्ने उनी एक तर्फबाट टोलीको इनिङ्स नै ‘बिल्डअप’ गर्न सक्छन्। क्रिजमा हुँदा अन्य खेलाडीका लागि भरोसाको केन्द्रसमेत बनिदिन्छन्। 

यद्यपि, साढे ३ वर्षसम्म निलम्बनमा परेर बामे सर्दै गरेको नेपाली क्रिकेटले आफ्नो लय अहिलेसम्म भेटाउन सकेको छैन। चार वर्षका लागि पाएको ओडीआई मान्यता पनि फुत्किने अवस्थामा छ। यस्तोमा नेपाली क्रिकेटको स्वर्ण युगलाई प्रतिनिधित्व गर्ने कप्तान पारस र ज्ञानेन्द्रको उपलब्धिलाई निरन्तरता दिन तम्सिनु चानचुने कुरा होइन।

यद्यपि, रोहितमाथि भरोसा गर्ने ठाउँ रहेको पूर्वकप्तान ज्ञानेन्द्र बताउँछन्। “मलाईं एक खेलाडी र लिडरको रूपमा तपाईंको क्षमतामा सधैँ दृढ विश्वास छ। मैदान र बाहिर हाम्रो टोलीको सफल नेतृत्व गर्नुहुनेछ भन्दै सफल कार्यकालको शुभकामना दिन चाहन्छु” ज्ञानेन्द्र मल्लले सामाजिक सञ्जालमा लेखेका छन्।