वीरगन्जको बाँकी परिवेशबारे बिस्तारै थप बुझ्दै गइएला। तर त्यहाँको खानपिनको यात्रा मेरो लागि मस्तिष्कमा ‘डोपामिन हर्मोन’ जगाउने सम्झना बनेको छ।
“वीरगन्जको गर्मी सहन सक्दैनौ, भाग्छौ तिमी।”
“अमलेखगन्ज झरेपछि आफैँलाई थाहा हुन्छ मधेश झरेको।”
“पानी नपरेको धेरै भइसक्यो रे, गर्मीले बाहिर त पाइलै टेक्दैनौ होला।”
“मधेशमा त हावा पनि तातो चल्छ, थाहा छ कस्तो हुन्छ तातो हावा?”
साउन १९ गते वीरगन्जको यात्रा गर्ने क्रममा आफन्त, साथीसंगी र शुभचिन्तकहरूबाट मैले सुनेका वाक्य हुन् यी।
सबैको प्रश्नलाई नकार्दै म भन्दै थिएँ, “वीरगन्जको गर्मी पनि अजमाएर हेरौँ, समावेशी नेपाली हुनुपर्छ।”
मेरो मन केही आत्तिएको पनि थियो, कारण नगरकोटको फेदीमा हुर्किएको हुँदा उखरमाउलो गर्मीको महसुस सायदै गर्नुपर्यो। चैत–वैशाखको गर्मी छल्न टाढाटाढाबाट मानिसहरू नगरकोट आउँछन्। म आफैँ पनि घरबाट तीन घण्टाको उकालो चढेर नगरकोटको शीतलता समेट्न बेलाबखत पुग्ने गरेको हुन्छु।
नेपालको भूगोल हिमाल, पहाड र तराईमा विभाजित छ भनेर ५–६ कक्षादेखि पढ्दै आएको थिएँ। उकालो, ओरालो, खोलानाला, खेतीपाती र डाँडाकाडाले घेरिएका बस्तीहरू मेरा आँखाले हालसम्म ठम्याएका भौगोलिक आकार हुन्। हिमाली र पहाडी क्षेत्रको थोरबहुत भेउ पाउँदा तराई भने कस्तो होला भन्ने लाग्थ्यो। हुन त मेरो मामाघर उदयपुर हो। त्यो ठाउँ भित्री मधेशमा पर्ने कारण त्यहाँ ‘टिपिकल’ मधेशको अनुभव नहुने धेरैले बताउँदै आएका छन्।
“वीरगन्ज वास्तविक मधेश हो। तपाईं त्यो महसुस गर्न सक्नुहुन्छ,” अफिसका सहकर्मी आदित्य नेपालले भनेका थिए।
अध्ययन प्रयोजन र जुरेको ‘साइत’
एक विशेष अध्ययन प्रयोजनले मलाई पर्सास्थित पर्सागढी पुग्नुपर्ने परिस्थिति थियो। तर मिति तय भइसकेको थिएन। फेरि आफैँ एक्लै वीरगन्ज जान म केही हच्किइरहेको पनि थिएँ।
वीरगन्ज त जाने, तर त्यहाँका बारेमा कहाँ कोसँग र कसरी बुझ्ने? भाषादेखि बसाइका यावत् विषयले एक्लै यात्रा तय गर्न सक्छु या सक्दिनँ– यो शंका आफैँमाथि थियो।
समय र परिस्थिति मिल्ने संकेत तब देखियो जब अपर्झट अफिसका सहकर्मी दाइ मनिष पौडेलको पनि गृहनगर वीरगन्ज जाने काम परेको थाहा पाएँ। मलाई ढुंगा खोज्दा देउता मिलेझैँ भयो। वीरगन्जमै जन्मेहुर्केका र लामो समय काम गरेका दाइ मेरो लागि सबैभन्दा उपयुक्त ‘गाइड’ हुन सक्नुहुन्थ्यो। उहाँसँगै वीरगन्जको लागि निस्कने योजना बन्यो।
प्रस्थान गर्ने दिन एकाबिहानै आफ्नो अध्ययनका मेन्टरलाई भेटेर छलफल गरी बल्खुतर्फ लागेँ।
यात्रा अनि खाना
मध्यान्ह १२ बजे बल्खु पुग्दा दाइले टिकट र सिटको व्यवस्था मिलाइसक्नुभएको रहेछ। उत्साहको मिटर यसरी बढेको थियो कि बल्खु, फर्पिङ, फाखेल, चिसापानीगढी हुँदै हेटौँडासम्म पुग्दा समय र बाटो कटेको पत्तै भएन। यात्राको क्रममा दाइले गाइड गरिरहनुभएको थियो। त्यो देखेर गाडी चालकले भने, “वीरगन्ज पहिलोपटक जाँदै हुनुहँदो रहेछ। पहिलोपटक गएको ठाउँमा एक्साइटमेन्ट नै बढी हुन्छ। त्यसकारण गर्मी चर्को भए पनि त्यस्तो लाग्दैन।”
तर मेरो ‘एक्साइटमेन्ट’को मिटर वीरगन्जको गर्मीभन्दा पनि त्यहाँका खानाबारे पहिले सुनेका कुराकानीले बढाइरहेको थियो। आफूलाई ‘फुडी’ भनिहाल्ने ल्याकत नराख्ने भए पनि मलाई खानेकुराका नयाँ परिकारले ऊर्जा दिन्छ। खानेकुरा चाख्न मन लाग्छ, बुझ्न मन लाग्छ। त्यसैले ट्विटरमा नेपालका स्थानीय स्वादका पारखी केदार शर्माले ‘शेयर’ गर्ने लोकपरिकारको संग्रह नियालिरहेको हुन्छु।
वीरगन्जमा त्यहाँको टिपिकल, मौलिक खाना ठ्याक्कै यही हो भनेर किटान गरेर पछ्याउन सक्ने जानकारी मसँग छैन। पहिलो यात्रामा त्यहाँ स्थानीय रूपमा पाइने परिकार ‘एक्सप्लोर’ गर्नेवाला थिएँ।
मनीष दाइ र मेरो चियागफमा प्रायः खानाकै बारेमा कुराकानी हुने गर्छ। वीरगन्जको चिया यस्तो, वीरगन्जमा पाइने परौठा, रोटी यस्तो, नेवारी खानाका परिकार यस्तो हुन्छ आदि आदि। सोही कारण पनि होला, वीरगन्ज पुग्ने बेला मेरो उत्साहको मिटर त्यहाँको खानासँग भिन्नै तवरले जोडिनेवाला थियो।

वीरगन्ज पुग्दा साँझको करिब ७ बजेको थियो। हामीले प्रतिमा चोकबाट ईरिक्सा लियौँ। वीरगन्जको शहर घुमाउने भनेर दाइले रिक्सा लिनुभएको थियो, तर अँध्यारोभित्र लुकेको वीरगन्जमा मैले बत्तीको उज्यालोले चम्काएको घण्टाघरलाई मात्र चिनेँ।
मेरो बसाइ होटल मकालुमा हुने भयो। यात्राको थकानलाई मेटाउन केही क्षणमै ‘फ्रेस’ भएँ। त्यसपछि वीरगन्ज पुग्नुको मुख्य प्रयोजन रहेको ‘पर्सागढी अध्ययन’ को लागि निर्धारित व्यक्तिहरूसँग भेटघाटको लागि निस्किएँ।
वीरगन्जका स्थानीय प्रकाश थारूले मलाई काठमाडौँदेखि नै सहयोग गरिरहनुभएको थियो। पर्सागढी उहाँकै सहयोगमा पुग्नुपर्ने थियो। उहाँलाई भेट्न आर्दशनगरमा रहेको एक डिपार्टमेन्टल स्टोरतर्फ लाग्यौँ। वीरगन्जको आदर्शनगरमा शंकर दाइको चाट स्टलमा रोकिँदा त्यहाँ आलुचाट खायौँ। मैले सुनिरहेको नाम तर स्वाद नलिएको परिकार।
आलुचाट तयार हुन्जेल मेरो प्लेटमा लालमोहन आयो। लालमोहन र बेसनको लड्डु मेरो प्रिय मिठाइका आइटम हुन्। प्लेट रित्तिनासाथ आुलचाट आइपुग्यो। केराउ र प्याजसँगै आलुको डल्लो (टिकिया)मा मरमसला मिसाइने रहेछ। आलुचाट मीठा (गुलियो) वा ‘तिखा (पिरो)’ कस्तो खाने भनेर साहुजीले सोधे। मैले तिखा नै रुचाएँ। आलुचाटमा भएका प्याज, मसला, दही, केराउ लगायतका खानपिन तिखा स्वाद हुन्जेलसम्म त खाएँ, तर आलुको भाग आएपछि भने खान गाह्रो लाग्न थाल्यो।
मलाई सानैदेखि मन नपर्ने तरकारीमा पर्छ आलु। सानो छँदा आलुको स्वाद जिब्रोमा पर्दा ह्वाँह्वाँ रुन थाल्थेँ म। ममीलाई सायद दिक्क लाग्थ्यो होला, अनि पिटिदिनु हुन्थ्यो। आलुसँगको वैरभाव किन छ त्यो मलाई अझै थाहा छैन।
दाइले खाएर पनि पैसा तिरिसक्नुभएको थियो। खाना छोड्न पनि गाह्रो थियो। त्यसमा पनि तरकारी थप्न दाइले भन्दै हुनुहुन्थ्यो। मलाई भने त्यही आलु सक्न गाह्रो भएको थियो। जसोतसो तरकारी सकियो। आलुचाटको ‘तिखा’ पाटो मन परे पनि आलु निल्न भने गाह्रै पर्यो। तापनि मैले फालिनँ। पेट टम्मै भइसकेको थियो।
त्यसपछि प्रकाश थारू सरसँग भेटेर भोलिपल्ट पर्सागढी पुग्ने समय र भेट्ने व्यक्तिबारे निधो गरेँ। बिहान ७ बजे वीरगन्जबाट पर्सागढी निस्कने समय तोकियो। कुराकानीको क्रममा मलाई बिस्तारै गर्मीको महसुस भयो। निधारबाट पसिना बग्न थाल्यो। टिसर्टले अनुहार पुछेँ। ‘रात परेपछि पनि यस्तो गर्मी’, म गम्न थालेँ।
त्यसपछि नजिकैको लाइभ म्युजिक शो हेर्यौँ। एउटा पान पसल खुलै रहेछ। पहिले त पान कसरी खाने नै थाहा भएन। पान जिब्रोमा पर्दा गुलियो स्वाद जिब्रो हुँदै दाँतसम्म फैलियो। दाँत सिरिंग भयो। मीठापानको स्वाद पहिलो पटक लिँदा म अकमक्क भएँ। पान निल्नु न ओकल्नु भइरहेको थियो।
भोलिको लागि आवश्यक पर्ने सवारी साधन, ट्राइपड, माइक लिन दाइका साथीहरूकहाँ पुग्यौँ। यताउति गर्दा रातको ११ बजिसकेछ। वीरगन्जको घण्टाघर पुग्दा सुनसान भइसकेको थियो। भोलिपल्ट बिहानै पर्सागढी जाने हुटहुटीसहित होटल पुगेर सुतिहालेँ। पहिलो दिन आलुचाट र मीठापानको स्वादमा कट्यो जुन मलाई ठीकठाक मात्र लाग्यो।
महावीर मन्दिर परिसरको जिलेबी, पुरी अनि थारू खाना
बिहान ६ बजे उठेर म तयार हुन थालेँ। सात बजे पर्सागढीको लागि निस्कनु थियो। करिब ७ बजे दाइ आइपुग्नुभयो र नास्ताको लागि महावीर मन्दिर परिसरमा लैजानुभयो। त्यहाँ पुरी र जेरी खाइयो। एकाबिहानै नास्ता खानेहरूको खचाखच भीड देखेर एकछिन म अकमकिएँ। कोही ग्राहक पुरी–जेरी प्याकिङको अर्डर गर्दै थिए, कोही बसेरै खाने मन गरिरहेका थिए।
नेवार समुदायको खानपिनमा जेरी एउटा अभिन्न परिकार हो। भक्तपुरको सुकुलढोका र पाटनको सुन्धारा मैले जेरी खाने विशेष स्थान हुन्। सुकुलढोकामा तात्तातो जेरीको स्वाद लिँदै न्यातपोल मन्दिर घुम्नुको मज्जा बेग्लै छ। मेरो दिदी (प्रभा)ले मलाई त्यहाँको जेरीसँग जोडेकी थिइन्। पाटनको सुन्धारामा पाइने चिया र जेरी भने रिर्पोटिङको क्रममा आफैँले पहिचान गरेको थिएँ।

वीरगन्जमा जेरीलाई ‘जिलेबी’ भनिँदोरहेछ। पहिले–पहिले खाइरहेकै कारण बिनाखुल्दुली खाएँ, तर मेरो सोचाइले फेल खायो। त्यो जिलेबी त मैले पाटन, भक्तपुरमा खाएभन्दा मीठो र गज्जब स्वादका थियो। सुकुलढोकाको जेरीको बाहिरी भाग नरम हुन्थ्यो भने भित्र तरल नभई जमेको रस हुने गथ्र्यो, त्यहाँ ठ्याक्कै भिन्न।
वीरगन्जको जिलेबीको बाहिरी भाग क्रन्ची र भित्री भागमा रसिलो, गुलियो तरल थियो। त्यो रसिलो जिलेबी मेरो ओठबाहिर निस्कियो। त्यसलाई पनि जिब्रोले समेटेर ल्याएँ। जिलेबी र पुरीसँग लौकाको तरकारी थियो। सबै सिनित्तै पारेँ। दाइलाई जेरी मन पर्यो भनेँ। यसै त वीरगन्जको खानाबारे बखान गर्ने मान्छे, तारिफ गरिदिएपछि झन् के चाहियो र!
दाइले आफ्नो ‘फर्माइस’मा अझ ठूला दुई वटा जिलेबी मगाउनुभयो। म अघाइसकेकाले थोरै चाखेँ। स्वाद उस्तै भए पनि अलिक बढी खारिएको थियो।
नास्ता खाँदा मेरो सामु एक महिला हुनुहुन्थ्यो। उहाँको नाम सलिना श्रेष्ठ रहेछ। वीरगन्जमा श्रेष्ठ भेट्दा अचम्म र खुशी एकसाथ लाग्यो। उहाँले हामीलाई नियाल्दै दाइबहिनीको गफ सुनिरहनुभएको रहेछ।
“तपाईं कहाँबाट आउनुभएको?” उहाँले सोध्नुभयो।
“काठमाडौँबाट,” मैले भनेँ।
“यहाँ यत्तिकै भीड हुन्छ?” मैले सोधिहालेँ।
“यहाँ यस्तै हो, मान्छेको आउजाउ धेरै हुन्छ। आज शनिबार भएर पनि होला। मन्दिर दर्शन गरेर आएका हुन्छन्। मलाई पनि यहाँको पुरी, जिलेबी, तरकारी मनपर्छ,” उनले भनिन्।
त्यति कुराकानी हुँदासम्ममा दाइ पैसा तिरेर पनि निस्किसक्नुभएको थियो। म हात पुछ्न ‘टिस्यु पेपर’ खोज्दै थिएँ। त्यहाँको चलन अलग रहेछ। दाइले धारा देखाउनुभयो। त्यहाँ हात धोएर हामी गन्तव्यतर्फ लाग्यौँ।
निर्धारित समयभन्दा एक घण्टा ढिला गरी प्रकाश थारू सरसँग पावरहाउस चोकमा रहेको केडिया पेट्रोलपम्पमा भेट भयो। उहाँसँगै मेरो खोजका प्रमुख व्यक्ति बृजमोहन चौधरी बासँग पनि भेट भयो। वीरगन्जबाट २३ किलोमिटर पश्चिमतर्फ पर्ने पर्सागढीको यात्रा शुरू भयो। सर्लक्क समथर भूभाग देखेपछि बल्ल मधेश पुगेको भान भयो। त्यसअघि वीरगन्जको भौगोलिक परिवेशलाई स्पष्ट नियाल्नै पाएको थिइनँ।
बाटोमा पर्ने गन्डक नहर दाइले चिनाउनुभयो। नहर देखेर म एकछिन काठमाडौँको राजकुलो सोच्न बाध्य भएँ। राजकुलोभन्दा दुई–तीन गुणा ठूलो थियो नहर। सिर्सिया नदीको बारेमा अफिसका अर्का सहकर्मी रितेश त्रिपाठीले समाचार बनाउनुभएको थियो। प्रदूषित नदी समाचारको प्रभावपछि सफा गरिएको समाचार पनि पढेको थिएँ। साँच्चै नदी धेरै हदसम्म सफा देखिएको थियो।
पर्सागढीमा दुई घण्टा बित्यो। त्यहाँ १८७१ सालको पुस १७ गते स्थानीयको सहयोग लिएर नेपाली फौजले अंग्रेजहरूलाई हराएको ऐतिहासिक कथन रहेछ। त्यसैको खोजमा म वीरगन्ज पुगेको थिएँ। ऐतिहासिक घटनाक्रमको विषय एक घण्टामा कहाँ सकिन्थ्यो र? त्यसपछि उनै बृजमोहन चौधरीको गाउँ पुग्नुपर्ने भयो। पर्सागढीको गाउँसम्म बृजमोहनका भतिजाले हामीलाई डोर्याए। त्यहाँ बृजमोहनकै वंशावलीभित्रका बृजबिहारी चौधरीको घरमा पुग्यौँ। पुग्नुअघि नै हाम्रो लागि खाना तयार भइसकेको रहेछ। पहिले त्यो स्वादिलो आतिथ्य स्वीकार गर्यौँ।

दिनभर ग्रामिण भेगमा हिड्नुपर्ने कारण दाइले बिहानै नास्ता दह्रोसँग गराउनुभएको थियो। तैपनि टिपिकल थारू घरमा खाना खान पाउनु मेरो लागि सौभाग्य बन्यो। आमनेपाली परिवारमा गरिने न्यानो आतिथ्य त्यहाँ झल्किरहेको थियो।
खपटाले छाएको छानो र माटाले लिपेका भुइँ तथा भित्ताहरूभित्र शीतल लाग्ने घर, ओछ्याउने चकटी र अगाडिपट्टिको सानो पिर्कामाथि खानाको थाली। बृजबिहारी दाइकी श्रीमती लक्ष्मी चौधरी दिदीले दाल, भात, तरकारी, लसुन–अदुवाको अचार, साग, नुनमा डुबुल्की लगाएको खुर्सानी र पापड मिहिनेतसाथ बनाएर पस्किएकी थिइन्। ती सबैका स्वाद मौलिक थिए। साग अझै भिन्न लाग्यो। वास्तवमा त्यो मैले पहिलो पटक खाएको रहेछु।
बृजबिहारी दाइका अनुसार त्यो सागलाई ‘जिब्रेसाग’ भनिँदो रहेछ जुन जंगलमा पाइने रहेछ। सागको स्वाद ‘अग्र्यानिक’ र शब्दातित थियो। मलाई साग मन परे पनि दोहोर्याएर माग्न भने सकिनँ। दाइलाई पनि साग साह्रै मन परेको रहेछ। त्यो खानाले मलाई घरको खानाको याद दिलायो, तर मलाई त्यहाँ भावुक हुने समय थिएन। क्षणिक रूपमा पैदा भएको भावनालाई शान्तसँग बिसाएँ।
खानपिनपछि फेरि पर्सागढीको विषयमै वृहत् कुराकानी र सोधखोज भयो। दिउँसो २ बजेतिर हामी त्यहाँबाट विदा भएर पर्सागढीका बारेमा थप जानकारी लिन पर्सागढी नगरपालिका पुग्यौँ। नगरप्रमुख गोकर्ण पाठक बजेटको विषयमा छलफल गर्ने तयारीमा हुनुहुँदो रहेछ। उहाँसँगको भलाकुसारीमा चिया आइपुग्यो। अफिसमा चिया खाने बानीले होला, नाइँ भन्न सकिएन। चिया मसलेदार र चटपटे स्वादको थियो। कपमा लेखिएको थियो– ‘नाइस ट्राई’। साँच्चै मेरो लागि राम्रै ‘ट्राई’ भयो।
नगरपालिकाबाट निस्कँदा चार बजिसकेको थियो। त्योसँगै मेरो अध्ययनयात्रा पनि टुंगियो। त्यहाँबाट हामी वीरगन्जतर्फ फर्कियौँ। गर्मी त्यति नभए पनि गुम्म परेको दिन, आद्र्रताबिनाको मनतातो हावा बेलाबेला बहिरहेको थियो।
वीरगन्ज फर्केर त्रिमूर्तिचोक पुग्दा बिर्खे दाइको तास पसल दाहिनेमा थियो। त्यसमा पहिले चिउरा र मसलाको ग्रेबी परिकार आइपुग्यो। त्यसपछि तास खायौँ। मैले चिसो स्प्राइट पनि मगाएँ। तासको स्वाद त्यसअघि पाएको थिइनँ। खास रुचि पनि लाग्दैनथ्यो। नेवार समुदायमा बफका परिकार बेसी हुने हुँदा बफ खाना नै मेरो रोजाइमा पर्थे। ताससँगै सेकुवा पनि खाइयो। मासुको परिकार करिब उस्तै लाग्यो। चिउरा, ग्रेबी मसला, तास, सेकुवासँग दिउँसोभरको कामको समीक्षा गर्दै खानपिन गर्यौँ। बिर्खे दाइको तासपसलमा पनि खाने मानिसको चाप महावीर मन्दिर परिसरमाजस्तै थियो।

खाजा खानेक्रममा ठूलै पानी पर्न थाल्यो। ठाउँ छाडेर बाहिर निस्किहाल्ने अवस्था भएन। त्यही कारण तास र सेकुवा थपेर बसाइ तन्कायौँ। खाँदाखाँदै थाकेका दाँत र गिजा बिस्तारै दुख्न थाले। एकघण्टा परेको पानीपछि निस्कियौँ। त्यसबेला साँझको ६ बजिसकेको थियो।
दिउँसो रिसर्चको क्रममा पर्सागढीमा भेटिएका नीलगाई, सारस र गरुडका फोटाहरू दाइले देखाउनुभयो। भिडियो पनि राम्रो भएको रहेछ।
प्राथमिक चरणको मेरो काम एक दिनमा सकियो। पर्सागढीसम्म पुग्नको लागि प्राविधिकदेखि यातायातका साधानको व्यवस्था सबै दाइले मिलाउनुभएको थियो। सायद म एक्लै वीरगन्ज गएको भए यति कामको लागि दुईदेखि तीन दिनसम्म लाग्ने थियो। दाइ हुनुभएकै कारण मैले भाषाको समस्या पनि भोग्नुपरेन। काम राम्रोसँग फत्ते भएको कारण म खुशी थिएँ।
साँझ परेपछि गहवामाई मन्दिरपछाडि रहेको पराठा हाउसमा परौठा खान गयौँ। चियागफसँगै परौठाको कुरा पनि हुने नै भयो। वीरगन्जमा मानिसहरूमा एक औँलाले परौठा निमोठेर तरकारीमा डुबुल्का लगाई खाने चलन रहेछ। मैले पनि सिको गर्न खोजेँ, तर जानिनँ। आलुको परिकार खासै नरुच्ने हुँदा ठीकै लाग्यो। बरु एक्कासि दही खान मन लाग्यो। दही मगाएँ, तर खासै मन परेन। त्यतिबेला भने घरको दहीको खुब याद आयो। भक्तपुरको जुजु धौ कसलाई मन नपर्ला र?
केही घण्टाअघि मात्र खाएको तास र सेकुवाको कारण होला, भोक पनि खास थिएन। परौठासँग पुनः मटन आउँदा सकीनसकी खाइयो। परौठासँग जिलेबी र बृज चौधरी दाइका घरको खानासँगजस्तो लगाव बसेन।
पहिलो दिन खासै स्वाद नपाएको मीठापानले अब भने तान्न थालेछ। खानापछि मीठापान खाने बानी नै भएछ। नजिकै पान पसलमा मीठापान खाइयो। पहिलो दिन पान खाँदा केहीबेर चपाएर फालिदिएको थिएँ। दोस्रो दिनदेखि पानको स्वाद लिएर खान पनि सिकेँ।
काठमाडौँ रहँदा ‘मधेश र ताडी’ चियागफमा नछुटेको अर्को विषय थियो। वीरगन्ज पुगेको तेस्रो दिन बिहान ताडी खान जाने योजना बन्यो। अलौमा ताडी खान जाने निधो भयो।
ताडी र म
बिहान करिब ८ बजे दाइसँग भेट भयो। ताडी पिउन अलौ जाने अघिल्लो दिनको सल्लाह भए पनि अन्ततः बाराको फेटा गाउँपालिका पुग्ने भइयो। स्कुटरमा वीरगन्ज हुँदै बारा पुगियो। समथर भूभाग आँखामा नअटाउने गरी फैलिएको थियो। चरक्क घाम चर्कन थाल्यो। गाउँभित्र निकै परसम्म पुग्दा पनि ताडीको बोट देखिएन।

मलाई ताडीको स्वाद नपाइने हो कि भन्ने शंकाले मन धुकचुक भइरहेको थियो। तर वीरगन्जमा भेटिएका अर्का स्थानीय सफल खतिवडा दाइले आश्वस्त तुल्याउनुभयो। हामी उहाँको पछि लाग्यौँ। फेटाको ग्रामिण बस्तीमा पुग्दा शहर र ग्रामिण जनजीवनको मिश्रित परिवेश देखा पर्यो। त्यहाँ धेरैजसो माटोका र फाट्टफुट्ट ढलान गरिएका घरहरू थिए।
फेटाको बरौनिया टोलमा पर्ने एउटा घरमा ताडी भेटियो। प्रतिबोतल ६० रुपैयाँ पर्ने रहेछ। तीन जनाले तीन–तीन गिलास ताडी खायौँ। ताडीको स्वाद घरमा बनाउने निगारसरह लाग्यो। नरिवलको गट्टाभित्रको रसलाई ताडी भनिएको होला भन्ने मेरो बुझाइ गलत रहेछ। ताडको रुखको काण्डमा काटेर निकाल्ने रस पो रहेछ। यसलाई मैले एउटा प्राकृतिक पेयपदार्थका रूपमा पाएँ।
ताडीका लागि मानिसहरूले फोन गरेर पहिलेदेखि नै ‘अर्डर’ गर्ने रहेछन्। यो विशेषतः वैशाख–जेठमा अझ बढी रुचाइने परिकार रहेछ। बिहान खाली पेटमा खाएमा पेट सफा गर्ने स्थानीय बताउँदै थिए। म पनि खाली पेट नै गएको थिएँ। तीन गिलास ताडीले केहीबेर झुम्म पार्यो। रमाइलो भान भयो।
अर्को कुरा, मधेशमा महिलाले ताडी पिउनुलाई अस्वाभाविक मान्ने सामाजिक परम्परा रहेछ। त्यही भएर पनि होला, ताडी पिइरहँदा त्यहाँका स्थानीयले मलाई अचम्म मानेर हेरेका थिए। नेवार समुदायमा खानपिनमा छोरीछोराबीच कुनै वर्जना र बञ्चना छैन। सामाजिकीकरणमा पनि पेयपदार्थ खुला छ। सोही कारण पनि मलाई ताडी पिउँदा कुनै संकोच महसुस भएन।

त्यहाँबाट गढीमाई नजिकै छ भन्ने थाहा पाएपछि म र दाइ त्यसतर्फ लाग्यौँ। बीचमा नास्ताको लागि रोकिँदा उही रैथाने परिकार फेला पर्यो– रसिलो जेरी, पुरी र तरकारी। मतवाली परिवारको भएकाले खासै असर नपारे पनि मलाई ताडीको तोडले छाडिसकेको चाहिँ थिएन। दाइले बेसनको लड्डु मगाउनुभयो। नास्ता सकेर गढीमाई पुग्यौँ। मन्दिर दर्शन गर्दा त्यहाँको पाँचवर्षे मेलामा असंख्य पशुको बलि दिइने ठाउँ पनि देखियो। गढीमाईको प्रमुख पुजारी थारू नै हुने रहेछन्।
त्यसपछि हामी वीरगन्ज फर्कियौँ। ताडीको ह्याङओभर बिस्तारै उत्रँदै थियो। बाटोमा एक ठाउँमा चिया खायौँ। चिया औसत नै थियो। मलाई भने बब्लु टी स्टलको चिया खान मन थियो। एक बजेतिर दाइ आफ्नो कामको लागि जानुभयो। मेरो काम सकिए पनि उहाँको काम भने पूरै बाँकी थियो।
दुई दिनयता खानपिनको लागि पुगेका गल्ली–चोक आफैँ घुम्न थालेँ। करिब एक घण्टाको घुमफिरमा जिउबाट पसिना निस्कियो। गर्मी महसुस हुन थाल्यो। गहवामाई मन्दिर हुँदै आदर्शनगर फुटबल मैदानसम्मको यात्रा तय गरेँ। बीचमा पानीपुरी पनि खाएँ। त्यहाँ भने पानीपुरीलाई ‘पुच्का’ भनिँदो रहेछ। स्वाद खास फरक लागेन।
गर्मी र हिँडाइले होला, मेरो खुट्टा दुख्न थाल्यो। फर्किएर होटल मकालुको सामुन्ने रहेको चिया पसलमा फेरि चिया मगाएँ। वीरगन्ज यस्तो ठाउँ रह्यो जहाँ गर्मी छ, र पनि मानिसहरू आइक्रिम, चिसोको सट्टा चिया नै पिउन रुचाउँछन्।
गुम्म परेको दिन। मनतातो हावा। लाग्थ्यो हावामा आद्र्रता छैन। बस्दाबस्दै शरीरमा हल्काहल्का निस्कने पसिना पुछ्दै म चिया पिइरहेको थिएँ। वीरगन्ज बसाइको एउटा सजीव अनुभव थियो मेरा लागि। सानो कागजको गिलासमा चियाको स्वाद गज्जब थियो। चिया पसलवाला बुवासँग कुराकानीको प्रयास गरेँ, तर भाषाको पर्खालले संवाद जोडिन पाएन।
ओहो, वीरगन्जमा पो छु!
साँझपख ५ बजेतिर दाइको काम सकियो। हामी त्यसदिन काठमाडौँ फर्किनुपर्ने थियो। म होटलबाट ३ बजे ‘चेकआउट’ गरेर तयार भइसकेको थिएँ। तर, हाम्रो लिस्टमा रहेको बब्लु स्टलको चिया, पाउभाजी र दम बिर्यानी अझै खान बाँकी थियो। चेकआउट गरेर होटलको लबीमा ब्याग राखी हामी पाउभाजी र बब्लु टी स्टलका लागि आर्दशनगरतर्फ निस्कियौँ।
त्यहाँको सडकछेउमा पाउभाजी मगाएर खान थाल्यौँ। त्यसको स्वाद भने खास लाग्न सकेन। मैले ‘मीठो लागेन’ भनेर आधाआधी जति त्यसै छाडिदिएँ। त्यतिबेला पाउभाजी बेच्ने दाइले पुलुक्क हेर्नुभएको थियो। प्याच्च निस्किएको बोलीप्रति आफैँलाई ग्लानी भयो। पाउभाजीको स्वादभन्दा पनि त्यो क्षणको नमीठोपन त्यसपछि पनि बारम्बार सम्झिरहेको छु।
बल्लबल्ल पालो आयो बब्लु चियाको। वीरगन्ज पुग्नुअघि एक्साइटेड हुनुको एउटा मुख्य कारण नै त्यही चिया थियो।

त्यसअघि हरेक पटक चियाँ खाँदा दाइले त्यहाँको चियाको बयान गर्नुभएको थियो। नभन्दै चिया मीठो लाग्दालाग्दै सकिने रहेछ। साँच्चै अब्बल थियो बब्लु चिया। सानो मट्काको चिया मुखमा केही क्षण राख्दा त्यसमा मिश्रित मसलाको मीठो स्वाद पूरै फैलने रहेछ। थपौँ कि जस्तो पनि लागेको थियो, तर वीरगन्जको त्यो गर्मीमा तेस्रो लट पुगिसकेकाले आँट आएन।
चियाको पैसा तिर्दा स्टलका साहुजीले २० रुपैयाँको भारतीय नोट फिर्ता दिए। मलाई अनौठो लाग्यो। खरिदबिक्रीमा यसरी भारतीय नोट देखेको पहिलो अनुभव थियो। वीरगन्जको चिनो भनेर त्यो २० रुपैयाँ पर्समा राखेँ।
गर्मीले बाफिएको वीरगन्जको सडकछेउमा दिउँसो पनि व्यस्त चिया पसलको संख्या देख्दा म दंग थिएँ। तर तीन दिनको बसाइमा मैले पनि चिया नै बढी रुचाएछु।
थरीथरी परिकारका स्वाद लिने योजनाअनुसार अझै वीरगन्जको दम बिर्यानी चाख्न बाँकी नै थियो। आठ बजेको नाइटबस चढ्नुअघि खानाको त्यो अन्तिम आइटम खोज्दै हामी छपकैयामा रोकियौँ।
आदर्शनगरको पाउभाजी र बब्लु टी स्टलको चियाले पनि होला, मेरो पेट र मनको भोक धेरै हदसम्म शान्त भइसकेको थियो। त्यसैले छपकैयामा दम बिर्यानी एक क्वार्टरमात्र मगाएँ। काठमाडौँमा अनेकौँ शृंगार गरिएको बिर्यानीको सट्टा त्यहाँ स्टिलको प्लेटमा र्यापिङ पेपरमाथि राखेर दिइएको थियो। हेर्दै के मीठो होला र जस्तो लागेको थियो। तर पाउभाजी छाडेजस्तो बिर्यानी छाड्न मन लागेन। त्यसको ‘माइल्ड’ स्वादले दबेको भोकलाई जगाइदियो। बिस्तारै स्वाद लिईलिई सबै सिध्याएँ।

खाना खाएर काठमाडौँतर्फको यात्रा शुरू हुँदै थियो। नाइटबसको यात्रामा तीन दिनअघि हस्याङफस्याङ गर्दै वीरगन्ज पुगेको सम्झनाले अन्तिम समयमा थोरै भावुक बनायो। घरको न्यास्रो नलागेको होइन, तर वीरगन्जलाई यति चाँडै छोड्न मन थिएन।
अब अध्ययन अनुसन्धानकै लागि वीरगन्ज पटकपटक पुग्नु छ। सुसंयोग नै भनौँ, पहिलो पटकको यात्रामा वर्षाको कारण वीरगन्जको प्रचण्ड गर्मी मैले सहनु परेन। त्यसमाथि मेरो सानिध्य त्यहाँको खानासँग जोडियो। यद्यपि यी सबै खाना मैले काठमाडौँमा नदेखेको चाहिँ होइन। तर कहिल्यै पनि तरकारी जोडिएका परिकारमा मेरो ध्यान, मन र स्वाद बसेको थिएन जसलाई वीरगन्जेली मिठासले भत्काइदियो।
जुन समुदायमा म हुर्किएँ त्यहाँ मासु र त्यसमा पनि विशेषगरी बफको अनेक थरीका परिकार बन्छन्। सोही कारण पनि हुनसक्छ, मेरो लागि खाजा वा खानाका परिकार जे सोचे पनि बफमा गएर ठोकिन्थ्यो। वीरगन्ज पुगेर म बफका परिकारबाट टाढा भएको थिएँ। तर तरकारीसँग नजिकिएँ।
वीरगन्जको बाँकी परिवेशबारे बिस्तारै थप बुझ्दै गइएला। तर त्यहाँको खानपिनको यात्रा मेरो लागि मस्तिष्कमा ‘डोपामिन हर्मोन’ जगाउने सम्झना बनेको छ।
वीरगन्ज बसपार्कबाट काठमाडौँको लागि बसले टर्न लिँदा फेरि एक पटक ‘मीठा पान’ खान मन थियो, थिएन त केवल समय। बस गुड्न थालिसकेपछि मेरो मुखबाट निस्कियो, “सतुवा त चाख्नै बिर्सेछ।”
यो वाणीसँगै मैले सतुवाको स्वादसँग साक्षात्कार गर्ने रहरलाई पनि वीरगन्जमै बिसाएर आएको छु। सोच्दैछु, अर्को पटकको वीरगन्ज सयर सुतवाबाटै शुरू हुने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
