गाँजा, अल्लोजस्ता रेसादार वनस्पतिबाट उत्पादित झोला, जुत्ता, कोटजस्ता सामग्री विदेशीले मात्र किन्थे। तर नेपालीले पनि प्रयोग गर्न थालेपछि दौरासुरुवाल, टिसर्ट, ट्राउजरलगायत सामग्री पनि उत्पादन हुन्छन्।
काठमाडौँ— सोनम लामा किनमेलका लागि ठमेल नजिक क्षेत्रपाटीको ‘ए एन्ड बी सप’मा पुगेकी थिइन्। उनी खानेपानीको बोतल राख्नका लागि हातले बुनेको हेम्प (गाँजा, अल्लोजस्ता रेसादार वनस्पतिबाट बनेको)को झोला किन्न मोलमोलाइ गर्दै थिइन्। उनले ५०० रुपैयाँमा आफूले रोजेको झोला किनिन्।
झोलामा प्रयोग भएको कपडा अर्गानिक हेम्पको थियो। उक्त हातेझोलामा एउटा खानेपानीको बोतल मात्र अट्थ्यो। अन्य कपडाबाट बनेको उही आकारको झोला १०० देखि २०० रुपैयाँसम्म पर्छ। अर्गानिक हेम्पबाट नेपालमै बनेकाले केही महँगो हुने बिक्रेताहरू बताउँछन्।
सोनमलाई हेम्पका सामग्री प्रयोग गर्ने सोख छ। उनी हेम्पबाट नेपालमै बनेका सामग्री प्रयोग गर्छिन्। प्रयोग गर्न सजिलो र युनिक देखिने हुनाले आकर्षित भएको उनी बताउँछिन्। झोला, कुर्ता, ट्राउजरलगायत सामग्री हेम्पकै प्रयोग गरिरहेकी छन्।
केही वर्ष अघिसम्म उनलाई हेम्पका सामग्रीबारे थाहा थिएन। “साथीहरूले प्रयोग गरेको देखिरहेको हुन्थेँ, कस्तो युनिक लाग्थ्यो। पछि थाहा भयो अर्गानिक हेम्पबाट नेपालमै बन्दो रहेछ। नेपालमै बन्ने भनेपछि आफ्नोपन महसुस भयो,” उनी भन्छिन्, “यस्तो कपडा लाउँदा आफूलाई युनिक अनुभव गर्छु।”

ए एन्ड बी सपका सञ्चालक क्षितिज शाहीका अनुसार पाँच वर्ष अघिसम्म यस्ता सामग्री बेच्न मुस्किल पर्थ्यो। बाह्य पर्यटकले मात्र किन्थे। नेपालीहरू ‘बोराको कपडा’ भनेर छाड्थे। तर पछिल्लो समय स्वदेशी उत्पादनबारे नेपालीहरू सकारात्मक रहेको शाही बताउँछन्।
उनका अनुसार नेपालीहरूले यस्ता सामग्री धेरै खरिद नगरे पनि चासो दिने गरेका छन्। खरिद गर्ने कतिपयले ‘न्यानो हुने’ भन्दै लाने गरेको छन्, कतिले स्वास्थ्यलाई राम्रो हुने बताउँछन्। “अर्गानिक सामग्री अरूभन्दा महँगो पर्छ। त्यसैले धेरैले किन्न नसक्नु छुट्टै कुरा हो। आजभोलि स्वदेशी उत्पादन र सामग्री धेरैले चाहेका छन्,” उनी भन्छन्।
मखन गल्लीको रमा कलेक्सनका सञ्चालक अभिषेक बुढा आजभोलि हेम्पका सामग्री खोज्न नेपालीहरू आउने गरेको बताउँछन्। यस्ता कपडा टिकाउ हुने भन्दै विदेशमा रहेका आफन्त वा साथीभाइलाई उपहार दिन विशेषगरी झोलाहरू लाने गरेका छन्। “दैनिक पाँच वटासम्म हेम्पका सामग्री बिक्री हुन्छ। मेरो पसलमा ९५ प्रतिशत ग्राहक नेपाली नै छन्,” उनी भन्छन्, “नेपाली उत्पादन हो, राम्रो हुन्छ भन्दै उपहार दिनलाई लानेहरू धेरै छन्।”
वसन्तपुरमा कुसुम सिलवालले सञ्चालन गरेको पसलमा हेम्पका सामग्री किन्ने अधिकांश ग्राहक नेपाली नै छन्। उनका अनुसार कतिपयले ‘ट्रेन्ड’ पछ्याउन पनि यी सामग्री किन्ने गरेका छन्।

बाजुराका खडकबहादुर बोगटीले काठमाडौँको बूढानीलकण्ठमा कारखाना खोलेर हेम्पबाट झोला, जुत्ता र कपडाहरू बनाउँछन्। उनको कारखानामा मोजा, दौरासुरुवाल, कोटपाइन्टलगायत कपडासहित २०० थरी सामग्री उत्पादन हुन्छ। बूढानीलकण्ठस्थित जमुनधारामा २०६६ सालमा स्थापना गरिएको त्यस कारखानाले शुरूका केही वर्ष व्यापार राम्रो नगरको उनी बताउँछन्।
एक दशक अघिसम्म उत्पादित सामग्री उनी विदेश पठाउँथे। नेपालमा भने पर्यटकीय क्षेत्रमा मात्रै यी सामग्री बिक्थे। नेपालीहरू हेम्पका लुगा प्रयोग गर्दैनथे। महँगो पर्ने हुँदा पनि हेम्पका लुगाप्रति नेपालीले रुचि हुँदैन थियो।

तर पछिल्लो समय अवस्था फेरिएको छ। यस्ता सामग्री प्रयोग गर्ने नेपाली बढिरहेको बोगटी बताउँछन्। कोभिड महामारी अघिसम्म उनको कारखानाबाट उत्पादन भएकामध्ये ६० प्रतिशत सामग्री विदेश र ४० प्रतिशत नेपाली बजारमा जान्थे। तर अहिले ६० प्रतिशत सामग्री नेपाली बजारमा जाने गरेको छ।
विभिन्न संघसंस्था र विद्यालयले ठूलो संख्यामा हेम्पका झोलाको माग गर्छन्। हेम्पका कपडा प्रयोग गर्नेहरूमा शिक्षित वर्ग पनि धेरै छन्। ट्रेन्ड पछ्याउने युवापुस्ताबाट पनि धेरै माग आउँछ। “पछिल्लो समय नेपाली उत्पादनलाई माया र प्रयोग गर्ने बढेका छन्,” उनी भन्छन्, “नेपालका पर्यटकीय क्षेत्रमा माग हुन्थ्यो, अहिले कारखानामा आएर अर्डर दिने र छानीछानी लाने गरेका छन्।”
कपडा उत्पादनका लागि चाहिने गाँजा, अल्लो र केतुकेजस्ता कच्चा पदार्थ रुकुम, अछाम, रोल्पालगायत जिल्लाबाट ल्याउने गरिन्छ। यी वनस्पतिबाट रेसा निकालेर त्यसबाट कपडा बनाइन्छ। हेम्पका झोला ३५० देखि २५ सय रुपैयाँसम्म पर्छन्। हेम्पबाट बनेका जुत्ता ५०० देखि ३ हजार रुपैयाँसम्म पर्छ। यस्तै, कोटको मूल्य ३ हजारदेखि ५ हजार रुपैयाँसम्म पर्छ। टिसर्ट र ट्राउजर १ हजारदेखि २ हजार रुपैँयासम्म पर्छ।
सनसाइन हेम्प प्रोडक्टका सञ्चालक नरेन्द्र बोहोराका पछिल्लो तीन वर्षदेखि हेम्पका सामग्रीको माग बढ्न थालेको हो। कोभिडअघि वर्षमा ५० देखि ७० हजार पिस उत्पादन गर्ने उनको कारखानाले अहिले एक लाखभन्दा धेरै संख्यामा सामग्री बनाउँछ। धेरै सामग्री विदेश गए पनि नेपालमा प्रयोग गर्नेको संख्यासमेत बढ्दैछ।

आफ्नो कारखानाबाट विभिन्न प्रकारका झोला, टोपी, जुत्तालगायत सामग्री उत्पादन गरिरहेको बोहोरा बताउँछन्। जसमध्ये सबैभन्दा धेरै विद्यार्थीका झोला, साइड ब्याग र ब्यागप्याक बिक्री हुन्छ। “नेपालमा विद्यालय, संघसंस्था र व्यक्तिमार्फत माग आउँछ। यसमध्ये व्यक्तिगत माग धेरै छ, ५० प्रतिशत माग व्यक्तिगत रूपमा आउँछ,” उनी भन्छन्।
उनी अमेरिका, बेलायत, जापान, भारत, चीनलगायत २५ मुलुकमा हेम्पका सामग्री पठाउँछन्। नेपालमा भने पोखरा, चितवन, ठमेलजस्ता पर्यटकीय स्थानका व्यपारीबाट माग आउँछ। उनका अनुसार काठमाडौँ उपत्यकाभित्र यस्ता सामग्री उत्पादन गर्ने कारखाना १० देखि १२ वटा छन्।

नेपालमा परम्परागत रूपमा घरमै हेम्पका कपडा बनाइन्थ्यो। खासगरी, हेम्पबाट राडीपाखीजस्ता सामग्री बन्थे। करिब ३० वर्षअघि एक अमेरिकीले नेपालका पहाडमा यी सामग्री देखेर अमेरिकामा ‘हिमालयन् ह्यान्डी क्राफ्ट’ नामको कम्पनी खोलेको आफूले थाहा पाएको बोहोरा बताउँछन्। त्यही समयदेखि नेपालमा पनि हेम्पबाट सामग्री उत्पादन गर्ने आधुनिक कारखाना खुलेको आफूले चाल पाएको उनको भनाइ छ।
अहिले बजारमा पाइने कतिपय सामग्री शुद्ध हेम्पबाट नभई मिसावट गरेर बनाइने गरेको हिमालयन् हेम्पका प्रबन्ध निर्देशक अक्कल बोहोरा बताउँछन्। उनका अनुसार बजारमा पाइने ब्यागप्याक, साइड ब्याग र मनी ब्यागहरू हेम्पकोे मिश्रणबाट बन्ने गरेका छन्।
शुद्ध हेम्पबाट मात्र बनेका सामग्री धेरै महँगो पर्ने उनी बताउँछन्। “हेम्पबाट मात्र बन्ने हो भने स्वास्थ्यका हिसाबले राम्रो र अझ टिकाउ हुन्छ। तर महँगो पर्ने भएकाले धेरैले किन्न सक्दैनन् र आकर्षक पनि हुँदैन,” बोहोरा भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
