Saturday, October 05, 2024

-->

नागांचामा भेटिनेछन् टेड रिकार्डी

अमेरिकी प्राध्यापक थियोडोर टेड रिकार्डीले संकलन गरेका नेपाल सरोकारका पाँच हजारभन्दा बढी पुस्तक भक्तपुर आइपुगेका छन्, अब बन्दैछ ‘टेड रिकार्डी’ कक्ष।

नागांचामा भेटिनेछन् टेड रिकार्डी 

काठमाडौँ– अमेरिकी प्राध्यापक थियोडोर टेड रिकार्डी ८३ बर्षको उमेरसम्म बाँचे। जसको एक बारको जुनीमा ५० वर्षभन्दा लामो हिस्सा नेपाल र नेपाली चिनाउँदैमा बित्यो। 

सन् १९६८ मा पहिलो पटक फुलब्राइट कमिसनको आवासीय प्रमुख भएर काठमाडौँ उत्रिएका टेडले जीवनका पछिल्ला वर्षमा गरेको नेपाली सोध–अनुसन्धान तथा एशियाली सन्दर्भ र साहित्यिक–प्राज्ञिक कृतिको संकलन अहिले फेरि उनको योगदानको अर्को सिँढी बनेर चिनिने क्रममा छ। कोलम्बिया युनिभर्सिटीको दक्षिण एशिया अध्ययन विभाग प्रमुख छँदैदेखि टेडले संग्रहमा राखेका पाँच हजारभन्दा बढी पुस्तक र सोध सामग्रीको भण्डार अहिले नेपाल आइपुगेको छ, उनै टेडकी श्रीमती एलेन कुनको सदासयतामा। टेडसँग पछिल्ला वर्षमा निकै निकटस्थ रहेका सम्पदाविद् रवीन्द्र पुरीको समन्वय र संयोजनमा यी पुस्तक टेड रिकार्डी संग्रहमा रहने गरी भक्तपुरको नेपाल भोकेसनल एकेडेमी (एनभीए) आइपुगेका छन्, जहाँ टेडकै नाममा पुस्तकालय कक्ष खुल्दै छ। पुस्तकालय कक्षको नाम ‘प्रोफेसर टेड रिकार्डी मेमोरियल रुम’ रहनेछ। 

चार बर्षअघि कोरोना महामारीका माझ अमेरिकामा बितेका टेडलाई सम्झनासाथ समाजशाश्त्री डोरबहादुर विष्ट, संस्कृतज्ञाता जयराज आचार्य, अन्वेषक मोहन खनाल, प्राध्यापक प्रयागराज शर्मा, रमेश ढुंगेल, निर्मलराज तुलाधर, चैतन्य सुब्बा, बिदुर डंगोल, कनक दीक्षितसहितका बिज्ञ–मित्रजनको नाम जोडिएर आउँछ नै। टेडले लेखेको जासुसी पात्र सर्लक होम्सको पछिल्लो संस्करणमा होम्स काठमाडौँको असनसम्म आएको अलौकिक बृतान्त सँगै टेडले संकलन–सम्पादन गरेको नेवारी–इटालियन शब्द कोषको प्राज्ञिक बहस अझै हुने गरेको छ। 

आफ्नो जीवनका पछिल्ला वर्षमा र लेखनको उत्तरार्धमा टेड रिकार्डीको चिनारी अर्कै बनेको थियो, एउटा जासुसी पात्रको जन्मदाताका रूपमा। अंग्रेजी लेखक सर अर्थर कोनन डोयलको जासुसी पात्र सर्लक होम्सको नयाँ जन्मदाताका रूपमा रिकार्डी चिनिएका थिए। डोयलले सन् १९७८ देखि ८१ सम्म आफ्नो पात्र सर्लक होम्सलाई निरन्तर जासुसी कथानकमा उभ्याएका थिए। त्यसपछिका तीन वर्ष कहीँकतै नदेखिएको यो पात्र पाठकको चर्को आग्रहमा सन् १९८४ पछि फेरि जन्मिएको थियो। हो, त्यही पात्र हराएको तीन वर्षलाई टेड रिकार्डीले अर्कै रूपमा सिर्जनशीलता देखाएका थिए– सर्लक होम्सलाई नेपाल ल्याएर। ‘द ओरिएन्टल बुक्स अफ सर्लक होम्स’ नाममा न्युयोर्कको र्‍यान्डम हाउसबाट प्रकाशित यो कृतिमा सर्लक होम्स ल्हासादेखि कोदारी राजमार्ग हुँदै काठमाडौँको असन र मधेशको जनकपुर हुँदै भारतीय शहरमा पुगेको वृत्तान्त छ। 

सन् ८० को दशकमा लिच्छवीकालीन सभ्यता अन्वेषण गर्ने क्रममा अन्वेषक मोहनप्रसाद खनालसँग मिलेर मनोहरा नदी किनारा दुमाखाल, चाँगुनारायणमा समेत रिकार्डी–खनालले केही समय बिताएका थिए। लिच्छवीकालीन दरबार भद्राधिवासको अवस्थिति पहिल्याउने क्रममा पुरातत्त्व विभागको कार्यादेश लिएर उनी त्यहाँ गएका थिए। तर, स्थानीय विवादका माझ त्यो काम अधुरै छाडेर रिकार्डी घर फर्किएका थिए। उक्त उत्खननको प्रक्रिया र चरणबारे ‘आर्कियोलोजिकल एक्साभेसन इन द काठमाडौँ भ्याली’ जर्नलमा टेडले लामो सोध लेखेका छन्। त्यसबेला उत्खनन गरिएका मूर्ति, मुद्रा आदि पुरातत्त्व विभागमा अझै सुरक्षित छ। त्यही बेला भेटिएको मानदेव अभिलेख (सम्वत् ५२५) लाई टेडले अंग्रेजी अनुवाद गरेका छन् जुन अमेरिकी ओरिएन्टल सोसाइटी जर्नलमा प्रकाशित छ।

“हाम्रो लिच्छवीकालीन इतिहास र सभ्यताबारे टेड रिकार्डीजत्तिको विदेशी विज्ञ तथा स्रोत–व्यक्ति शायदै अर्को थिए होलान्,” टेड छँदाका निकटस्थ मित्र पुरीले उकालोसँग भने, “त्यही आफ्नो अध्ययन विषय र अरू आफूलाई जँचेका नेपाली कृति/सामग्री (नेपाली वा अंग्रेजीमा लेखिएका) टेडले न्यु–मेक्सिको र न्युयोर्कमा राखेका रहेछन्। शायद टेडकै जीवनको अन्तिम इच्छामा हुनुपर्छ, त्यो संकलन बाकसबन्द रूपमा भक्तपुर आइपुगेका छन्।” पुरीका अनुसार, कमलबिनायक (नागांचा)मा रहेको नेपाल भोकेसनल एकेडेमीको एउटा कक्षमा टेड रिकार्डीका दुई कक्ष तयार भएको छ। जहाँ आवश्यक प्रबन्ध र दर्ता प्रक्रियापछि अब टेडको संग्रह पुस्तक राख्न थालिनेछ। टेडकै सम्मानमा उनको अर्धकदको सालिक पनि यही कक्षमा रहने भएको छ, जुन सालिक स्वयं एनभीएका प्रशिक्षक तरुन तथा प्रशिक्षार्थीले निर्माण गरेका हुन्।

पुरीका अनुसार, काठमाडौँस्थित अमेरिकी दूतावासको सहयोग तथा टेड श्रीमती एलेन कुनको तत्परतामा उनको नाममा अध्ययन कक्ष खुल्न लागेको हो। “नेपाल बारेको सोध–अध्ययन गर्ने क्रममा टेडले लिच्छवीकालीन सभ्यताको अन्वेषण गर्न मानगृह, कैलाशकुट र भद्राधिवास दरबारको उत्खनन जरुरी रहेको भन्दै आएका थिए। शायद टेड संग्रह पुस्तकको प्रचार तथा अध्ययन–अध्यापनपछि टेडको अधुरो सपनामा कहीँकतैबाट फेरि काम थालिन सक्छ कि भन्ने लागेको छ,”पुरीले भने।

टेडले नेपाल–नेपालीका चिनारीमा आउन सक्ने विषय वा सरोकारमा आफूले सकेको साथ–सहयोग दिने गरेका थिए। यसको एउटा उदाहरण हो– बीपी कोइरालाको सालिक। सन् १९९० मा न्युयोर्कको वर्ल्ड कलेज अफ लङ आइल्यान्डमा नेता बीपी कोइरालाको अर्धकदको शालिक बनाइएको थियो, त्यो पनि बुल्गेरियन कलाकार मिहैलको कलाकौशलबाट। तर, वल्र्ड कलेजको आफ्नै आर्थिक र व्यवस्थापकीय कठीनाइका कारण उक्त सालिक हटाउनुपर्ने भयो कलेज परिसरबाट। लगत्तै जब यो कुरा रिकार्डीले थाहा पाए, उनले बीपीको त्यो सालिक कोलम्बिया युनिभर्सिटीस्थित आफ्नै कार्यालय परिसर (केन्ट हल)मा लगेर प्रतिस्थापन गरे। जहाँ गएर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि फुलगुच्छा अर्पण गरेका थिए। यो सन् १९९३ को कुरा थियो। तर, रिकार्डी स्वयं युनिभर्सिटीबाट अवकाश हुने भएपछि बीपी प्रतिमा के गर्ने? अन्योल थियो।

टेड रिकार्डीले कोलम्बिया विश्वविद्यालयमा राखेको बीपीको सालिक।

“त्यसपछि मैँले उक्त प्रतिमालाई जतनसाथ प्याक गरेर भर्जिनियाभित्रको एउटा घरबगैँचामा  लगेर राखेको थिएँ”, रिकार्डी स्वयंले ‘फर्गेटिङ टु रिमेम्बर बीपी’ शीर्षकमा नेपाली टाइम्स पत्रिकामा लेखेको आलेखमा भनेका थिए। बीपीको उक्त सालिकलाई नेपाल फर्काउने वा स्थानीय तहमा कुनै संग्रहालय वा सुरक्षित सार्वजनिक स्थलमा प्रदर्शनीमा राख्नेबारे विवाद चलिरहेकै बेला यो सालिक अहिले कहाँ, कुन अवस्थामा छ– भन्नै नसकिने भएको छ। भर्जिनियास्थित पत्रकार लेखनाथ भण्डारीका अनुसार जनसम्पर्क समितिका कुनै सदस्यले बीपीको ऐतिहासिक महत्वको उक्त सालिक आफ्नै घरमा वा कहीँकतै राखेका हुन सक्छन्, तर ठोकुवामा भन्न केही मुस्किल छ।

यसरी नेपाल र नेपालीको पहिचानमा बरु कुनै पराई अध्येता थियोडोर टेड रिकार्डीले प्रेम र सम्मान देखाए तर, आफ्नै नेपाली समुदाय र जातजाति भने कहाँ छ कहाँ ? धन्य हो, हामीले अमेरिकी अध्येता रिकार्डीलाई नागांचामा प्रेमपूर्वक सम्झेका छौँ तर, उनै रिकार्डीले सहृदय सम्झेका बीपी भने पुरै लापत्ता छन्, बेखबर!


सम्बन्धित सामग्री