काठमाडौँ– २०६० साल चैत अन्तिमतिरको एक बिहान। वसन्त ऋतुको पारिलो घाम भर्खरै उदाएको थियो। सोलुखुम्बु, सोताङका ङावाङ छिरी शेर्पा बस्तुभाउ लिएर भाइबहिनीसँग जंगल गएका थिए। त्यही बिहान उनको जीवनले नसोचेको पल्टा खायो।
पशु चौपायालाई खुवाउने घाँस झार्न रूखमा चढेका उनी २५–३० मिटरको उचाइबाट भुइँमा बेसरी बजारिए। उनको हातखुट्टा र ढाड मात्रै भाँचिएन, होससमेत गुम्यो। सँगै रहेका भाइबहिनी अत्तालिँदै ‘दाइ दाइ’ भनेर चिच्याउँदै उठाउन खोज्दा पनि उनी उठेनन्, बेहोस अवस्थामा पुगिसकेका थिए। चोटबाट रगत बगिरहेको थियो।
बुवाआमा तीर्थयात्रामा निस्किएका थिए, भाइबहिनीले दौडँदै गाउँका मान्छे बोलाएर ङावाङलाई घर लगे। उनको अवस्था नाजुक थियो। चौबीस घण्टा बित्दा पनि होस नआएपछि काठमाडौँ ल्याउने तयारी गरियो। बाँसको ‘स्ट्रेचर’ बनाएर लैजानुपर्ने भएपछि आफन्तहरू बाँस काट्नतिर लागे।
आफ्नो वरपर बसेका आफन्त र छिमेकीहरूको गुनगुन र बाँस काट्दा निस्केको ‘ट्वाङ, ट्वाङ’ आवाजले ङावाङको होस खुल्दै गयो। नजिकै बसेका साथी आङवाङलाई अंगालो हालेर बेस्सरी रोइरहेको देखे। घाउको दुखाइले होला, उनको शरीर स्थिर थियो। चल्न चट्पटाउन सकेनन्। उनलाई आफू सपनामा छु कि जस्तो लागिरहेको थियो।
७–८ जना गाउँका ‘दाजुभाइ’ ले बाँसको स्ट्रेचरमा उनलाई भुरिडाँडा, सल्लेरी हुँदै चार दिन बोकेर सोलुखुम्बुको फाप्लु विमानस्थल पुर्याए। उनको अवस्था जटिल बन्दै गइरहेको थियो। तत्काल विमानमा चढाएर उनलाई काठमाडौँ पुर्याइयो।
बौद्ध तीर्थयात्रामा गएका ङावाङका बुवाआमा भारतको बोधगया, सारनाथ, कुशीनगर र नेपालको लुम्बिनी हुँदै काठमाडौँ फर्किसकेका थिए। ङावाङको खबर सुन्नेबित्तिक्कै उनीहरू अत्तालिँदै विमानस्थल पुगेका थिए।
उनलाई हतार–हतार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज पुर्याइयो। ङावाङले बताएअनुसार उनलाई अस्पतालले आकस्मिक वार्डमा भर्ना गर्न नमान्दा झन्डै ६ घण्टासम्म स्ट्रेचरमै पर्खिनुपरेको थियो। उनी भन्छन्, “मेरो अवस्था एकदमै नाजुक देखेर हो वा अस्पतालमा बेड नभएर हो, शुरूमा अस्पतालले सजिलै भर्ना गर्न मानेन।”
आफ्नो वरिपरि झुरुप्प जम्मा भएका आफन्तले ‘रूखबाट लडेर यस्तो भएको हो’ भन्दै गरेको सुनेपछि मात्र उनलाई घाँस काट्न रूखमा चढ्दा लडेको याद आयो। “आफ्नो जिम्मेवारी वहन गर्न खोज्दा लडेको थिएँ। त्यसकारण रूखमा चढेर गल्ती गरेछु भन्ने चाहिँ लागेन,” उनी भन्छन्, “आमा पहिलो पटक अस्पतालमा भेट्न आउँदा मेरो छेवैमा बसेर धर्धरी रुनुभयो। त्यसपछि अस्पतालको बाँकी बसाइमा बुवा मात्रै मसँग हुनुभयो। आमालाई बुवाले आउन दिनुभएन।”
ङावाङका अनुसार ६ घण्टापछि उनलाई अस्पतालको आकस्मिक कक्षामा भर्ना गरियो र त्यसदिन परीक्षण र सामान्य उपचारमै बित्यो। भाँचिएका हातखुट्टाको प्लास्टर र अन्य उपचारमा त्यसपछिका १८ दिन लाग्यो। तर मेरुदण्डमा लागेको चोटको उपचार सम्भव भएन।
हलचल गर्न नमिल्ने अवस्थाको ढाडलाई केही समयसम्म त्यत्तिकै आरामसँग राखेमा बिस्तारै सञ्चो हुने विश्वास डाक्टरले उनलाई दिलाएका थिए। ‘स्पाइनल इन्जुरी’ अर्थात् मेरुदण्डको चोटले गर्दा बेडमै १८ दिन पल्टिरहँदा पिसाबको इन्फेक्सन भएको ङावाङले पछि मात्र थाहा पाए।
त्यसपछि उनलाई स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र, जोरपाटी लगियो। त्यहाँ बसेको ५–६ महिनामा घाउ पाकेर बल्झिन थालेपछि उनी फेरि अस्पताल चहार्न थाले। छातीको इन्फेक्सनले एक दिन साँझ सास फेर्न एकदमै गाह्रो महसुस भयो।
ङावाङलाई उनका बुवाले नेपाल मेडिकल कलेज, जोरपाटी लगे। इन्फेक्सनको औषधि र अक्सिजन लगाएर १० दिन त्यहीँ राखियो। घाउ बल्झिएका कारण सामान्य उपचारले नपुग्दा उनलाई साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा राखेर उपचार थालियो जहाँ उनले एक वर्ष बिताउनुपर्यो।
त्यहाँबाट निस्किएपछि २०६२ सालको अन्तिमतिर उनी स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमै फर्किए। त्यसबेला घाउ सञ्चो भए पनि खुट्टा चल्दैनथे। यद्यपि लामो समय ह्विलचेयरमा नबस्न डाक्टरले सल्लाह दिएका थिए। साबिककै दिनचर्या शुरू भएपछि उनी खाना खाने, दिसापिसाब गर्ने लगायतका कामको तौरतरिका सिक्न थाले।
उनलाई पत्तै नदिई बिस्तारै जीवनले नयाँ मोड लियो। बेडमा सुत्नेदेखि खाने बस्नेसम्मका काममा उनी साथीहरूको सहयोग लिन्थे। उनलाई ढाडस दिने उनीजस्तै ह्विलचेयर प्रयोगकर्ता साथीहरू थिए। त्यो परिस्थितिलाई स्विकार्दै ङावाङले आफूलाई कहिल्यै कमजोर बनाएनन्।
धेरैजसो समय ह्विलचेयरमा बस्नुपर्दा आफू बाल्यकालीन अवस्थामा फर्केझैँ लागेको र उमेर मात्रै बढेको महसुस गरेको बताउँछन् उनी। “आफूलाई पुनः शून्यबाट जीवन शुरू भएको महसुस हुँदै थियो,” उनी भन्छन्।
दुःखमा अंकुराएको प्रेम
पहिलो पटकको उपचार गरेर सुष्मा कोइराला मेमोरियल अस्पतालबाट फर्केको चार महिनापछि २०६५ सालमा प्लास्टिक सर्जरी गर्न भनी ङावाङ र उनका बुवा पुनः सोही अस्पतालमा पुगे।
त्यही बेला बुटवलकी तारा थापा आफ्नो भाइलाई लिएर उपचार गर्न आएकी रहिछन्। तातो दूधले हात पोलिएपछि भाइको उपचार र रेखदेखका लागि त्यहाँ आएकी उनी करिब एक महिना अस्पताल बसिन्। त्यसै अवधिमा तारा ङावाङसँग नजिकिन पुगिन् जो निकै दयालु र सहयोगी स्वभावकी थिइन्।
ङावाङलाई पनि ताराको बोली–व्यवहार सबै मन परेको थियो। तर मनको कुरा उनलाई भन्न सकिरहेका थिएनन्। उनी मुस्कुराउँदै भन्छन्, “मलाई पनि तारा साह्रै मन परेको थियो। तर आफ्नो शारीरिक अवस्था त्यस्तो भएकाले केही भन्न सकेको थिइनँ। तर उनले मेरो मनोभावना बुझिन्, त्यसमा साह्रै खुशी छु।”
करिब एक महिनाको अस्पताल बसाइँपछि ङावाङ डिस्चार्ज भए। तर तारा भने ङावाङसँगको अर्को भेटका लागि आतुर थिइन्। केही समयपछि भाइको डिस्चार्ज हुनेबितिक्कै उनी ङावाङलाई भेटन् स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र पुगिन् र उनलाई प्रेम प्रस्ताव राखिन्।
ङावाङ भन्छन्, “तपाईंजस्तो मान्छेलाई जिन्दगीभर सेवा गर्न पाउनु नै मेरो ठूलो भाग्य हो भनेर उनीले भन्दा एकछिनसम्म भावविभोर भएको थिए। मेरा लागि जीवनको सुन्दर नयाँ अध्याय शुरू भएको महसुस हुँदै थियो।”
ङावाङले उनलाई केही महिनाको अन्तरालमा हुलाकमार्फत चिठीसमेत पठाएका थिए। त्यो चिठी पाउनासाथ ताराले नजिकैको सीडीएमए फोनबाट ङावाङलाई कल गरेकी थिइन्। उनीहरूबीच कुराकानी भइरहन्थ्यो। ताराको कक्षा १२ को पढाइ सकिइसकेको थियो। उनी कम्प्युटर पढ्न र उच्च शिक्षाका लागि घरमा सल्लाह गरेर काठमाडौँ आइन्।
उनी त्यसबेला काठमाडौँको नारायणस्थानमा डेरा लिएर साथीसँग बसिन्। कम्युटर सिक्दै गरेकी उनी कहिलेकाहीँ ङावाङलाई भेट्न पुग्थिन्। एक वर्षपछि, २०६६ सालमा उनीहरूले एकअर्काका परिवारलाई मनाएर शेर्पा समुदायको रीतिअनुसार विवाह गरेर सहयात्रा शुरू गरे जसले जीवनको मार्गलाई झन् बढी संघर्षशील बनायो।
ङावाङ र तारा दम्पती बसेको कोठा सानो थियो। माथिल्तिरबाट ढलको पानी चुहिन्थ्यो जसलाई भाँडामा जम्मा पारेर फाल्नुपर्थ्यो। त्यसबेलाको अभाव सम्झँदै ङावाङ भन्छन्, “घरबेटीसँग २० रुपैयाँ सापटी मागेर साग किनेर पनि गुजारा गरियो।”
बिहे गरेको चार वर्षपछि २०७० सालमा उनीहरूको छोरा जन्मिए जो अहिले ११ वर्षका छन्।
सम्झनामा सीमित ट्रेकिङ गाइडको यात्रा
४२ वर्षअघि सोलुखुम्बुको सोताङ–४ मा जन्मेका ङावाङ हिमालको काखमा हुर्किए। गाउँकै दीपज्योति प्राविबाट प्राथमिक शिक्षा लिएपछि माध्यमिक तहको पढाइ लोखिम गाउँपालिकाको जनकल्याण माविबाट पूरा गरेर २०५६ सालमा एसएलसी दिए। पढ्दै काम गरेर आर्थिक चुनौती सामना गर्ने योजनासाथ उनी २०५७ सालमा काठमाडौँ आएका थिए।
बुवा र काकाहरू ट्रेकिङ गाइड थिए। उनलाई पनि त्यही पेसाले तान्यो। तालिम लिएर ट्रेकिङ गाइडको लाइसेन्स लिएपछि विदेशी पर्यटक लिएर नेपालका विभिन्न ठाउँ पुगे। सुन्दर प्रकृति देखाउँदै रमाएका ङावाङ कहिले हिमालतिर पर्यटक डुलाउँदै हिँड्थे त कहिले तराईका फाँटतिर।
ताप्लेजुङ, इलाम, संखुवासभा, धरान, पोखरा, मनाङ, मुस्ताङ, जोमसोम, विराटनगर, लमजुङ, लुम्बिनी, चितवन लगायतका ठाँउ उनी ट्रेकिङ गाइडको रूपमा पुगेका छन्। करिब दुई वर्षको त्यो यात्रापछि उनले इको हिमाल नामको संस्थाले दिने कम्युनिटी हेल्थ वर्कसप तालिम खुलेको थाहा पाए।
चिनेकै काकाले तालिमबारे भनेपछि उनलाई प्राथमिक उपचार सीप सिकेर गाउँको सेवा गर्दै गाउँमै बस्ने इच्छा जाग्यो। उनी काठमाडौँ बसेर एक वर्षको तालिम लिई गाउँ फर्केका थिए। त्यसलगत्तै घाँसपात र गाईबस्तु गोठालो जाँदा रूखबाट लडेपछि नै उनका पुराना सपना सबै बिथोलिए। “गाउँमा आमालाई खेतीपातीमा पनि सहयोग हुन्छ। गाउँमै गएर सेवा गर्छु भनेर गएको थिएँ, तर सोचेजस्तो नहुँदो रहेछ,” उनी भन्छन्।
ह्विलचेयरले डोर्याएको मार्ग
ङावाङ स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रबाट निस्केपछि काठमाडौँमा बसोबासका लागि डेरा खोज्न बुवासँगै धेरै भौँतारिए। तर उनलाई भित्रबाहिर गर्ने ह्विलचेयरमैत्री कोठा खोज्न निकै कठिन भयो। लामो प्रयत्नपछि केन्द्रनजिकै सानो कोठा पाइयो। उनी त्यही कोठामा बसे। एक्लै बस्दा पट्यार लागेको बेला फेरि केन्द्रमै फर्केर साथीभाइसँग रमाउँथे।
त्यही सिलसिला चलिरहँदा उनका काकाहरूले पुर्ख्यौली पेसाको रूपमा गाउँमै थांका पेन्टिङ गर्ने गरेको याद आयो। पुनर्स्थापना केन्द्रमा ब्याग बुन्ने र मैनबत्ती बनाउने तालिमसहितको रोजगारी उपलब्ध थियो। तर त्यता नलागेका उनलाई आफ्ना पुर्खाकै पाइला पछ्याउन मन लाग्यो। त्यो थाहा पाएपछि ङावाङलाई उनका बुवाले थांका प्रशिक्षक खोजेर डेरामै सिक्ने व्यवस्था मिलाइदिए ।
२०६४ माघदेखि उनी मासिक ६ हजार रुपैयाँ शुल्क तिरेर कोचा लामा नामका प्रशिक्षकबाट थांका पेन्टिङ सिक्न थाले। लामा हप्ताको दुई दिन उनको डेरामा आउँथे। त्यतिबेला काठमाडौँको बौद्धमा थांका प्रशिक्षण स्कुल थियो जहाँ ६ वर्षको तालिम हुन्थ्यो। त्यो विकल्प आफ्नो लागि सहज नदेखेपछि उनले अलग विकल्प अपनाए।
चार वर्षसम्म उनले लगातार थांका सिक्नमा मिहिनेत लगाए। उनको थांकासँगको लगाव यतिसम्म थियो कि ह्विलचेयरमा धेरै बस्दा घाउ हुने भएपछि बेडमा घोप्टो परेर थांका पेन्टिङ गर्थे।
आफूले बनाएको ग्रिन ताराको पहिलो थांका ६ हजारमा बेचेको उनी सम्झन्छन्। “आफन्तहरू टुरिस्ट गाइड भएका कारण विदेशीले पेन्टिङ मन पराएर किनिदिनुहुन्थ्यो। त्यसले मलाई पेन्टिङमा अझै प्रेरित गर्यो,” उनी भन्छन्।
स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा ह्विलचेयर प्रयोगकर्ताहरू त्यत्तिकै दिन कटाउँदै बसेका थिए। त्यो देख्दा उनलाई लाथ्यो, मैले जस्तै अन्य साथीहरूले पनि सिके भने आफ्नो गुजारा त गर्न सक्छन्। त्यसपछि उनले अपांग संघसँग कुरा गरेर एउटा हलकोठा लिए र थांका सिकाउन शुरू गरे। पहिलो पटक ६ जना साथी भेला पारेर सिकाउन थाले।
सन् २०१२ तिरको समय थियो। साथीहरूको समूहलाई करिब एक वर्ष सिकाएपछि स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र जोरपाटीबाट काभ्रेको साँगामा सर्यो। केन्द्रको भित्तामा उनले ड्रागनको सुन्दर पेन्टिङ बनाएका थिए। काम विशेषले त्यहाँ पुगेका बौद्ध गुरु एवं परोपकारमूलक गैरसरकारी संस्था बोधिसत्वज इन एक्सन (बीआईए) का संस्थापक छोग्याल रिन्पोछेले त्यो पेन्टिङ राम्रो लागेर ङावाङलाई सम्पर्क गरे।
त्यसपछि रिन्पोछेकै पहलमा चावहिलको मेडिकेयर अस्पतालअगाडि कोठा लिएर ङावाङले तीन वर्ष थांका पेन्टिङ सिकाए। २०७२ सालको भूकम्पपछि प्रशिक्षण केन्द्र जोरपाटी अपांग अस्पतालनजिकै साबिकको स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र भएकै ठाउँमा सर्यो। परिवारमा मात्रै आश्रित भएर हुँदैन, आत्मनिर्भर हुनुपर्छ भनेर उनीजस्तै अपांगता भएका १३० जना ङावाङसँग त्यहीँ सिकेर स्वरोजगार बनेका छन्। तीमध्येका ३७ जना स्पाइनल इन्जुरी भएका विद्यार्थी छन्।
अपांगताको क्षेत्रमा अझै केही गर्नुपर्छ भन्ने भावनाले ङावाङका साथीहरू मिलेर सन् २००९ मा ‘स्पाइनल कर्ड इन्जुरी स्पोर्ट्स् एसोसिएसन’ दर्ता गरे जसको सचिव पदमा ङावाङले तीन कार्यकाल पूरा गरे।
ह्विलचेयरमा बस्नथालेको २० वर्षको अवधिमा ङावाङलगायतले देशभर स्पाइनल इन्जुरी भएर बसेका अन्य ३०० जनालाई एसोसिएसनमा समेटेका छन्। “देशभरका अपांगता भएका साथीहरूसँग जोडिन पाउँदा खुशी छु,” उनी भन्छन्।
त्यसरी आवद्ध भएकाहरू ४० वर्षमुनिका खेलाडी हुन्। उनीहरूले संस्था दर्ता गराएर बास्केटबल खेल्न शुरू गरेका थिए। तर समूहको इच्छा बढ्दै गएपछि त्यसमा मात्र सीमित नभई स्विमिङ र क्रिकेटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरू खेल्न थालेका छन्। ङावाङ भन्छन्, “अपांगताको क्षेत्रमा अझै धेरै काम गरेर योगदान पुर्याउन चाहन्छु।”