Saturday, October 05, 2024

-->

बुंगमतीमा काष्ठकलाका चौथो पुस्ता सुरेश भन्छन्– फाइन आर्ट्समा डलरभन्दा रूपैयाँ कमाउन गाह्रो

काष्ठकलाका लागि चाँपको काठ उपयुक्त हुन्छ। त्यसलाई एक वर्ष सुकाएपछि कलाकृति बनाउन थप समय लाग्छ। बुंगमतीका सुरेश लावतले वषौँ लगाएर बुद्धको जीवनी झल्काउने मूर्ति बनाए जुन १२ लाखमा बेच्ने भएका छन्।

बुंगमतीमा काष्ठकलाका चौथो पुस्ता सुरेश भन्छन्– फाइन आर्ट्समा डलरभन्दा रूपैयाँ कमाउन गाह्रो
तस्वीर: प्रबिता/उकालो

काठमाडौँ– यस वर्षको राष्ट्रिय ललितकला प्रदर्शनीमा १ लाख राशिको सर्वोत्कृष्ट पुरस्कार सुरेश लावतले जिते। उनले परम्परागत काष्ठकलाअन्तर्गत ‘मेनिफेस्टिङ ट्वान्टी वान तारा’ शीर्षकको कृतिबाट पुरस्कार जितेका हुन्। उनले राखेको शीर्षकको अर्थ हुन्छ– मनको इच्छा पूरा गर्ने तारा। 

यो मूर्ति २०७९ वैशाखमा बनाउन शुरू गरेर नौ महिनामा सकाएका थिए। तर यसले सर्वोत्कृष्ट पुरस्कार पाउला भनेर उनले आशा गरेका थिएनन्। “मेरो कला सर्वोत्कृष्ट भएको जानकारी आएपछि म त अचम्मित भएँ,” उनले भने।

बुंगमतीमा काष्ठकलाको काम गर्ने परिवारका उनी चौथो पुस्ता हुन्। उनका जिजुहजुरबा देवरत्न, हजुरबा पुण्यराज र बुबा श्याम लावत पनि काष्ठकलामा थिए। “बाजे र बुवा कार्भर (सिकर्मी) हुनुहुन्थ्यो। मैले भने फाइन आर्टिस्टको रूपमा आफूलाई अपग्रेड गरेको छु,” उनी भन्छन्, “मैले भैरव मास्कको तालिम लिएको छु। देवदेवीका आकृति बनाउन आइकोनोग्राफीका पुस्तक अध्ययन गर्छु।”

काष्ठकलामा पनि ‘नन स्किल’, ‘स्किल’, ‘ट्रेनर वर्कर’ र ‘सुपर फाइन आर्टिस्ट’ हुने सुरेश बताउँछन्। उनी काष्ठकलामा लागेको झन्डै दुई दशक भयो। २०६२ सालमा एसएलसी दिएपछि पूर्णकालीन रूपमा यो काममा छन्। २०७२ सालको भूकम्पअघि राम्रै व्यापार थियो। भूकम्पपछि पनि बुंगमतीमा काठमा कला कुँदिरहेको एकनासको आवाज सुनिन छाडेको छैन तर व्यापार पनि पहिलाजस्तो छैन।

“भूकम्पअघि जस्तोसुकै काष्ठकला पनि बेच्न मुस्किल थिएन,” सुरेश भन्छन्, “चीन, भुटान तथा युरोपियन देशमा हाम्रा सामग्री पुग्थ्यो। भूकम्प गयो, काम रोकियो। पर्यटक पनि आउन बन्द भयो।”

एक्लो प्रयास
सुरेशले बाल्यकालदेखि नै बाबु र बाजेको काम देखे। त्यही सिको गर्दै आफू पनि कलाकार बन्ने यात्रामा लागे। त्यसबाहेक उनी स्व. लक्ष्मण महर्जनलाई आफ्नो गुरु मान्छन्। महर्जनको परम्परागत मूर्तिकलाबाट आफू प्रभावित भएको उनको भनाइ छ।

काठमा कला कुँद्न पाउँदा आनन्द लाग्ने सुरेश बताउँछन्। “काम गर्दै जाँदा आनन्द लाग्छ, विपश्यना गरेजस्तै। बरु त्यतिकै खाली बसियो भने टाउको भारी हुन्छ,” उनी भन्छन्, “कामले काम सिकाउने रहेछ।”

मूर्तिमा नयाँ स्वरूप दिँदा धेरै सिकिने उनको भनाइ छ। यद्यपि, परम्परागत काष्ठकलाका नितिनियममा बाँधिन धैर्य र अनुशासन आवश्यक हुन्छ। आधुनिक काष्ठकला भने स्वच्छन्द हुन्छ। ‘फाइन आर्ट्स’मा अध्ययन र मिहिनेत गर्न सके कमाइ पनि राम्रो हुने उनी बताउँछन्।

सीप र कला हुँदा पनि कलाकारले शुरूमा बजारको संकट भोग्नुपर्छ। त्यही कारण आर्थिक कठिनाइ हुन्छ। “काम सिकियो, सामान बन्यो तर बेच्ने कहाँ? बजारमा कसरी सामान पठाउने भन्ने समस्या हुन्छ,” उनी भन्छन्, “त्यही भएर पनि धैर्य र लगन कलाकारिताको अभिन्न पाटो हुन्।”

आफूलाई भने पुर्ख्यौली पेसाको लाभ भएको र बजार खोज्न संघर्ष गर्नु नपरेको उनको भनाइ छ। पुस्तान्तरण हुँदा ५० प्रतिशत हाराहारीमा औजार र ग्राहक पनि सरेर आउने उनी बताउँछन्। तर पुस्तान्तरण हुने विषय परिवारको चाहनामा नभएर सम्बन्धित व्यक्तिको रुचिमा हुन्छ। “उदाहरणको लागि मेरै छोरा यसमा खासै रुचि राख्दैन। मैले उसलाई कर पनि लगाएको छैन। तर उसको उमेरमा म घाउचोट लाग्दा पनि बासँग काम सिक्न बस्थेँ,” उनी भन्छन्।

आफूले बनाएको कलाकृतिका सम्पूर्ण काम उनी आफैँ गर्छन्। काठ छान्ने र किनेर ल्याउने, मूर्तिका नमूना बनाउने, ‘फाइनल टच’ दिने सबै प्रक्रियामा दोस्रो व्यक्ति प्रयोग गर्दैनन्। “मैले गर्ने काम (परम्परागत कलाकारिता)मा एक जनाको मात्र हात हुनुपर्छ,” उनी भन्छन्, “सामग्री संकलनदेखि नै मूर्तिका काम म एक्लै गर्छु।” 

काष्ठकलाको शुरूआती चरणमा काठको छनोटमा चनाखो हुनुपर्छ। यस्ता कलाकृति प्रायः चाँपको काठबाट बनाइन्छ। किनेर ल्याएको काठ एक वर्ष यत्तिकै राख्नुपर्छ। त्यसो गर्दा काठमा रहेको पानी पूर्णरूपमा सुक्न पाउँछ। “काठमा नदेखिएको प्वाल हुनसक्छ। त्यसको भर्पाइ बिक्रेताले गर्दैन,” उनी भन्छन्, “फेरि बौद्ध धर्ममा सकेसम्म नबिग्रिएका, चिरा नपारेको काठ मात्र प्रयोग गर्नु पर्ने मान्यता छ। काठ किन्दा निकै चनाखो हुनुपर्छ।”

उनका ग्राहक विशेषतः विदेशी हुन्छन्। मूर्तिलाई देशबाहिर लैजान पहिले पुरातत्त्व विभागमा ‘उक्त कलाकृति पुरानो होइन, चोरिएको पनि होइन’ भनी क्युरियोमार्फत तोक लगाउनुपर्छ। कार्गोमा मूर्तिको आकार र वजनअनुसार शुल्क लाग्छ।

“आकार ठूलो भए वजन धेरै हुन्छ र शुल्क पनि धेरै लाग्छ। त्यसबाहेक सरकारी कर पनि लाग्छ,” उनले भने, “सरकारी निकायबाट बाहिर पठाउन पेपर वर्क केही जटिल छ। त्यसमा सहजीकरण भए धेरै सजिलो हुन्थ्यो।”

निराशाजनक दशक
सुरेशलगायत बुंगमतीका अन्य कलाकारका लागि बितेको एक दशक सुखद् भएन। २०७२ वैशाख १२ गतेको भूकम्प, नाकाबन्दी, कोरोना महामारीले कलाकृतिको खरिदबिक्रीमा कमी आएको छ।

बुंगमतीमा काष्ठकलाले व्यवसायिक फड्को मारेको पाँच दशकभन्दा धेरै भएको छैन। तर विभिन्न समयमा हुने प्राकृतिक र अन्य प्रकोप तथा राजनीतिक कारणले उनीहरूको व्यवसायमा धक्का लाग्ने गरेको छ। 

२०४६ सालको जनआन्दोलनअघि पनि बुंगमतीमा नौला अनुहारका मानिस खासै पुग्दैन थिए। काठमाडौँमा यो अलग्गै क्षेत्रजस्तो थियो। “काठमाडौँ घुम्न आउने विदेशीहरूलाई उपत्यका घुमाउने रुटमा बुंगमती पनि राखिएको थियो,” उनी भन्छन्, “बुंगद्य (रातो मत्स्येन्द्रनाथ)का लागि आउने पर्यटक बुंगमतीका काष्ठकलामा मोहित भए। त्यो बेला स–साना मूर्तिहरू, झ्यालहरू दैनिक रूपमा बिक्री हुन्थ्यो।”

पयर्टक भित्रिन थालेपछि उनको बुबाको पुस्ताबाट काष्ठकलाले व्यवसायिक गति लिन थालेको हो। त्यसअघि उनको हजुरबुबा मूर्तिकलाको काम गरे पनि जीविकोपार्जनका लागि पाटन औधोगिक क्षेत्रमा काम गर्थे। तर व्यवसायिक रूपमा गति लिएकै बेला भूकम्प गयो। नाकाबन्दी भयो। महामारी आयो।

भूकम्पपछि ५–७ महिना बसोबास मिलाउनमा नै बित्यो। “निजी घर तथा सम्पदा क्षेत्रको पुनर्निर्माणले गति लिन थाले पनि बिस्तारै त्यतिबेला मन्दिर तथा घरका लागि चाहिने ढोका, टुँडाल, झ्याललगायत कामले गति लियो। हाम्रोजस्तो मूर्ति बनाउने कामले भने पिक अप लिन सकेको छैन।”

यसको प्रमुख कारण, मुख्य खरिदकर्ता देश चीन, भुटानलगायतले नेपाली सामान लिन छाड्नु नै भएको सुरेश बताउँछन्। “सामान पठाए पनि चीन सरकारले बन्देज लगाएको छ, किन हो थाहा भएन,” उनी भन्छन्, “पहिले यो सामाना देख्ने बित्तिकै पयर्टक एड्भान्स दिन्थे। अहिले त्यो अवस्था छैन।”

यसबीच उनीजस्ता कतिपय कलाकार पेसाबाटै पलायन भए। “कोही जग्गा दलालीमा लागे, कोही विदेश गए। कोही ढोका, चौकोसको काममा झरे। जसरी पनि कमाइ गर्नु थियो,” उनी भन्छन्, “तर यो काममा पैसा मात्र होइन, कलाकार हो भनेर पहिचान हुन्छ।”

उनले वषौँ लगाएर बुद्धको जीवनी झल्काउने मूर्ति बनाएका छन्। उक्त मूर्ति १२ लाखमा बेच्ने भएका छन्। मिहिनेतको फल पाउन पर्खिनुपर्ने उनको भनाइ छ। “चीन, जर्मनीलगायत मुलुकका मेरा क्लाइन्टहरू भएकाले कलाकृति किनबेचमा मलाई हालसम्म खासै समस्या परेको छैन तर सबै कलाकारको स्थिति एकै हुँदैन,” उनी भन्छन्, “कहिलेकाही साथीभाइको लागि पनि मिलाइदिने गर्छु।”

कलाकृति बेचेर युआन (चिनियाँ मुद्रा) र डलर कमाउन सजिलो भए पनि नेपाली रुपैयाँ कमाउन गाह्रो भएको उनको अनुभव छ। “नेपालमा यस्ता कलाकृति किन्ने सीमित संख्या छ। एउटा किनेपछि अर्को किन्न गाह्रो हुन्छ। त्यही भएर यहाँ बजार क्र्याक गर्न सहज र सुरक्षित छैन,” उनी भन्छन्।

यसपटक राष्ट्रिय ललितकला प्रदर्शनीमा राखेको र पुरस्कृत भएको मूर्तिको मूल्य उनले ९ लाख रुपैयाँ राखेका थिए। तर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)बाट प्रदर्शनीमा राख्न महँगो भएको भन्दै निकै कम मूल्यांकन भएपछि उनले बिक्रीका लागि राखेनन्। किनभने कलाकृतिको अवमूल्यन उनी मन पराउँदैनन्।


सम्बन्धित सामग्री