Tuesday, April 22, 2025

-->

उमेर ९ दशक पार गरेकी भद्रकुमारीको लेखन आदत

सामान्यतः राति अरूको सुत्ने बेला हुँदा भद्रकुमारी घले उठ्छिन्। त्यसपछि शुरू हुन्छ लेखन यात्रा। उनको कलम रातभरि चलिरहन्छ। जब उज्यालोका किरण झर्छन् र मान्छेहरू कल्याङमल्याङ गर्छन्, उनको कलम बन्द हुन्छ।

उमेर ९ दशक पार गरेकी भद्रकुमारीको लेखन आदत

काठमाडौँ– “दिउँसो ३ बजेपछि त तपाईंहरूले मलाई देख्नै पाउनुहुन्न, सुतिसक्छु। राति ११–१२ बजे उठ्छु। कहिले त म उठ्दा अरू सुतेकै हुँदैनन्,” डिल्लीबजारस्थित निवासमा भद्रकुमारी घले आफ्नो दैनिकी सुनाउँदै थिइन्।

उनी उमेरले ९४ वर्षमा हिँड्दैछिन्। तर उनको सिर्जना शक्ति घटेको छैन। शारीरिक शक्तिले पनि साथ दिएको छ। कान प्रष्ट छन्। आँखाको तेज उस्तै छ। सम्झना ताजा छ। लेख्दा हात नकाँपी सरर जान्छ। बरु अचेल कलम चलाउँदा हात दुख्न थालेको छ।

उनी मध्यरातमा उठेर साहित्य सिर्जना गर्न थाल्छिन्। दिनहुँ एउटा भजन, दुई वटा कविता, नेपालको राजनीति र अन्तर्राष्ट्रिय विषयबस्तुमा लेख लेख्छिन्। यति लेखिसक्दा बल्ल बिहान हुन्छ र बाहिर चहलपहल शुरू हुन्छ। अनि उनको कलम रोकिन्छ।

उनले अहिलेसम्म २१३ वटा पुस्तक लेखिसकेकी छन्। उनी बस्ने कोठा वरिपरि किताबका दराज छन्। ती दराजमा उनले लेखेका किताब मात्र राखिएका छन्। त्योभन्दा माथिल्लो तलामा भने सार्वजनिक पुस्तकालय बनाएकी छन्। उक्त पुस्तकालय अझै व्यवस्थित हुँदैछ, पुस्तकहरू थपिँदैछन्।

कुराकानीको शुरूमा उनी आफ्नो विगततिर पुगिन्।

उनका मावली बाजेले पहिलो विश्व युद्ध लडेका थिए। युद्ध लड्न जाँदा अंग्रेजका छोरीहरू विद्वान भएको देखेका बाजे तिनीहरूकै तारिफ गर्दै बस्थे। भद्रकुमारीको मनमा भने अंग्रेजका छोरीहरू जस्तै कसरी विद्वान हुने भन्ने विचार आउँथ्यो।

मावलमा मामाहरू पढिराखेका हुन्थे। एक दिन बाजेले उनलाई पनि पढ्न आग्रह गरे। त्यसपछि उत्साहित भएकी उनले दुई वर्षमा दुर्गा कवज फरर बनाइन्। रामायण र महाभारतका कथा पनि हाल्न सक्ने भइन्।

उनको औपचारिक पढाइ भने २००३ सालमा काठमाडौँको कन्या पाठशालाबाट शुरू भयो। काठमाडौँ पढ्न जाने इच्छालाई उनकी आमाले पूरा गरिदिएकी थिइन्। काठमाडौँमा पढ्न थालेपछि उनले २००४ सालमा गान्धी आश्रममा पढ्न पाउने नेपाल सरकारको छात्रवृत्ति पाइन्। 

गान्धी आश्रममा ठूलो पुस्तकालय थियो। उनलाई त्यहाँका सबै पुस्तक कण्ठ गर्नुपर्ने बताइएको थियो। उनी धमाधम पढ्न थालिन्। त्यस बेलासम्म उनलाई कथा, कविता र गीतबारे थाहा थिएन। आश्रममा कविता र गीतका कार्यक्रम हुन्थे। ती कार्यक्रम त्यहाँका छात्राहरूले नै बनाउँथे। त्यहीँ उनले जीवनको पहिलो गीत रचिन्। त्यो गीत यस्तो थियो–
कान्छी नानी भन लौ मादल बज्यो काँ
कान्छा दाइ त्यै आफ्नै देशाँ

गान्धी आश्रममा उनको पढाइले गति लिएकै थियो। त्यहाँको पढाइ सकाइन्। भारतमै उनले जनरल नर्सिङ र कम्पाउन्डिङसम्मको तालिम गरिन्। त्यसपछि जनकपुर आएर ३ वर्ष नर्स भइन्। अनि शास्त्री पढ्न बनारस गइन्। २०१७ सालमा शास्त्री पास गरिन्।

त्यसपछि सिन्धुलीस्थित घर आउँदा जनकपुरमा नयाँ अञ्चलाधीश आएका रहेछन्। आमाले ‘तँ त पढेलेखेकी छस्, यसो चिनजान गरा न त’ भनेपछि आमालाई लिएर अञ्चलाधीश दिलबहादुर श्रेष्ठलाई भेट्न जनकपुर पुगिन्। शास्त्री पढ्दै गर्दा उनको चर्चा जनकपुरमा भइसकेको रहेछ, अञ्चलाधीशले चिनिहाले। उनले महिला संगठनको अञ्चल सभापति बनाएर अबिर लगाइदिइहाले। त्यसपछि भद्रकुमारी घलेको राजनीतिक जीवन शुरू भयो।

उनी चार पटक महिला संगठनको अध्यक्ष भइन्। चार पटक नै वर्गीय संगठनबाट राष्ट्रिय पञ्चायत सदस्य भइन्। २०३६ सालपछि जनमत संग्रह भयो, त्यसमा उनी पञ्चायतको प्रचारका लागि लमजुङ, कास्की, गोरखा र पोखरा पुगिन्। त्यति मात्र नभई उनी तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको मन्त्रीमण्डलमा श्रम तथा समाज कल्याण राज्यमन्त्री पनि भइन्।

यसअघि उनको समाजसेवा भने २०२२ सालबाट शुरू भएको थियो। राजा महेन्द्रले नै उनलाई समाजसेवाका लागि उक्साएका थिए। ‘बेकारमा किन अल्झिरहनू! महिलाहरूले पनि समाजसेवा गर्नुपर्छ’ भनेर महेन्द्रले भनेपछि २०२२ सालमा ‘भद्र घले सदन’ स्थापना गरिन्। देशभरिबाट २५ परिवारका छोराछोरी ल्याएर पढाउन थालिन्। मेट्रिक पास गरिसकेपछि निःशुल्क कलेज पनि पढाइदिन्थिन्। उनीहरूलाई पढाउन पाँच हजार कुखुरा, पाँच हजार माछा, पाँच हजार बंगुर पाल्न शुरू गरिन्। चामल आफैँ आपूर्ति गर्थिन्। त्यो चामल सदनका छात्रछात्राले खाएर बेच्न पनि पुग्थ्यो।

२०४६ सालमा प्रजातन्त्र आयो। उनले राजनीतिलाई फरक ढंगले अघि बढाउने सोच राखिन्। २०४७ सालमा जनजाति पार्टी खोल्ने समूहमा उनी पनि थिइन्। उक्त पार्टीको अध्यक्ष खगेन्द्र जंग, काजिमान कन्दङ्वा महासचिव र भद्रकुमारी घले कोषाध्यक्ष थिए। तर नेपाली कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारले उनीहरूको पार्टी दर्ता नै गरिदिएन। अनि उनले राजनीतिबाट समाजसेवातर्फ नै फर्किएर निरन्तर यात्रा गरिन्।

उनको समाजसेवाको यात्रा अहिले पनि जारी छ। लेखन यात्रा पनि अझै जारी छ। उनी भजन र कविताका किताब प्रकाशनको योजनामा छिन्। समसामयिक लेखहरूका संगालो पनि तयार गर्दैछिन्।

भद्रकुमारी घले निरन्तर लेखनमा छिन्।


सम्बन्धित सामग्री