Wednesday, May 01, 2024

-->

कोरिया सरकारले सम्मान गरेका त्रिलोकको कथा, ‘अब पर्यटक भएर विदेश जाने’

कुनै समय रोजगारीका लागि दक्षिण कोरिया पुगेका त्रिलोकको तलब ७० हजार रुपैयाँ थियो। १० वर्षअघि त्यहाँबाट फर्किँदा तलब २ लाख पुगिसकेको थियो। त्यसपछि, स्वदेशमै व्यवसाय थालेका उनी २५ जनालाई रोजगारी दिन्छन्।

कोरिया सरकारले सम्मान गरेका त्रिलोकको कथा ‘अब पर्यटक भएर विदेश जाने’

काठमाडौँ– पशुपति शर्माको गीत ‘मलाई अमेरिका यै, मलाई जापान पनि यै’ भनेझैँ भएको छ कैलालीका त्रिलोक पनेरूलाई। उनी कुनै समय रोजगारीका लागि कोरिया गएका थिए। अहिले उनका लागि धनगढी ‘कोरिया पनि यै’ भएको छ। त्यहाँ गार्मेन्ट उद्योग चलाएर २५ जनालाई रोजगारी दिइरहेका छन्।

नेपाल फर्किसकेका त्रिलोकलाई कोरिया सरकारले बोलाएर दुई हप्ताअघि सम्मान पनि गरेको छ। गएको नोभेम्बर २३ मा कोरियाको राजधानी सोलमा आयोजित कार्यक्रममा उनी सम्मानित भएका हुन्। त्यसपछि नेपाल फर्किएका त्रिलोक भन्छन्, “कुनै समय काम खोज्दै कोरिया गएको थिएँ, अहिले त्यही देशले बोलाएर सम्मान गर्दा गर्व महसुस गरेको छु।”

नेपाललगायत १६ देशले रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कामदार कोरिया पठाउँछन्। यस प्रणालीअन्तर्गत गएका र समयावधि सकिएपछि स्वदेश फर्किएर उद्यमी बनेका १६ देशका एक/एक जना उद्यमीलाई सम्मानका लागि छनोट गरिएको थियो। यसरी सम्मानित हुनेलाई छनोट गर्न मानव संसाधन विकास कोरियाले ती देशमा निबन्ध प्रतियोगिता गराएको थियो। ‘२०२३ रिटर्नी श्रमिक निबन्ध प्रतियोगिता’मा प्रथम हुँदै नेपालबाट त्रिलोक छानिएका थिए।

उनी कोरियाको राजधानी सोलमा नोभेम्बर २२ देखि २४ सम्म आयोजना भएको ‘२०२३ ईपीएस मिटिङ अफ ई–९ रिटर्निङ वर्कर्स’ कार्यक्रममा सहभागी भए। कोरियाका रोजगार तथा श्रममन्त्री लि जङ् सिकको हातबाट सम्मान तथा पुरस्कार ग्रहण गरे।

यसअघि, सन् २०१९ मा उनी नेपाल सरकारबाट पनि पुरस्कृत भएका थिए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर नेपालमै व्यवसाय सञ्चालन गरिरहेका युवा उद्यमीलाई राज्यको तर्फबाट प्रदान गरिने ‘राष्ट्रिय उद्यमी पुरस्कार’बाट उनी सम्मानित भएका थिए।

एमए पढ्दापढ्दै कोरियातिर
त्रिलोक पढाइमा अब्बल थिए। धनगढीमा स्नातक सकाएर २०६३ साल (सन् २००७) मा स्नातकोत्तर (एमए) पढ्न काठमाडौँ आए। यतै लोकसेवाको तयारी गरेर सरकारी जागिर खाने सोच थियो। उनको अध्ययन र तयारी राम्रै चलिरहेको थियो।

अर्थशास्त्र लिएर पढेका उनले प्रथम वर्ष राम्रै अंक ल्याएर उत्तीर्ण गरे। त्यहीबेला सरकारले युवालाई पहिलोपटक कामका लागि कोरिया पठाउने भयो। कोरिया जान ईपीएस परीक्षा दिनुपर्ने भएपछि लोकसेवाका किताब थन्क्याएर कोरियन भाषा सिक्न थाले।

“त्यतिबेला घरमा आर्थिक समस्या थियो, आमा बिरामी हुनुहुन्थ्यो, ऋण धेरै थियो,” उनले ती दिन सम्झिए, “पढाइलाई जारी राखेर जागिर खानसम्म कुर्दा घरमा आर्थिक समस्या झन् बढ्थ्यो। त्यसैले मैले कोरिया जाने निर्णय गरेँ।”

सरकारी जागिर खाने उनको सपना मर्दै गयो। कोरिया जाने र आर्थिक समस्या पार लगाउने सपना बुन्न थाले। उनी पहिलो प्रयासमै ईपीएस परीक्षा उत्तीर्ण भए र सन् २००८ मा कोरिया पुगे।

तस्वीर: किसन पाण्डे

नेपालमा पढेको कोरियामा काम लागेन। स्नातकोत्तरसम्मको पढाइ, त्यसमाथि कम्प्युटरको ज्ञान। कुनै कार्यालयमा भित्रै बसेर गर्ने काम पाइन्छ कि भन्ने उनको आशा थियो। तर त्यहाँ इँटा बनाउने कम्पनीमा काम गर्नु पर्‍यो। “भनेजस्तो नपाए जस्तोसुकै काम भए पनि गर्छु भन्ने मानसिकता बनाएरै गएको थिएँ, त्यसैले मलाई त्यो काम गर्न खासै खप्ठ्यारो लागेन,” उनी भन्छन्।

१५ वर्षअघि कोरिया पुगेका उनको तलब मासिक ७० हजार रुपैयाँ थियो। उनले ६ महिनासम्म इँटा बनाउने काम गरे। त्यसपछि अर्को कम्पनीतिर लागे। त्यहाँ गाडीका सिट बनाउनुपर्थ्यो। त्यो कम्पनीमा झन्डै दुई वर्ष काम गरे। त्यति बेलासम्म तलब १ लाख ५० हजार रुपैयाँ पुगिसकेको थियो।

त्रिलोक नयाँनयाँ अनुभव लिन चाहन्थे। त्यसैले अब कारको एअर ब्याग बनाउने कम्पनीमा काम थाले। उनले कामको महत्त्व कोरिया गएरै बुझेका हुन्। कुनै पनि काम सानो ठूलो हुँदैन, श्रम र मिहिनेत महत्त्वपूर्ण हो भन्ने थाहा पाए। 

बेलाबेला सुपरभाइजरले ‘पाल्ली–पाल्ली’ भन्दै थर्काउँथे। कोरियाली भाषामा ‘चाँडो गर, चाँडो’ भनेको रहेछ। बिस्तारै उनलाई त्यो शब्द पनि मन पर्न थाल्यो। “काम गर्ने समयमा आराम गरेर नहुने रहेछ। त्यसरी न आफ्नो व्यक्तिगत विकास हुन्छ, न कम्पनीको नै,” उनी भन्छन्, “कोरिया विकसित हुनुको कारण पनि त्यही रहेछ।” 

चार वर्ष १० महिना काम गरेपछि कोरियाको श्रम सम्झौता सकियो। उनी सन् २०१३ मा नेपाल फर्किए। फर्किंदा बचत गरेको केही रकम त थियो नै, त्योभन्दा महत्त्वपूर्ण उता सिकेको सीप, ज्ञान र व्यवहार थियो। मिहिनेत गर्न डराउनुहुन्न भन्ने आत्मविश्वास थियो।

देशमै केही गर्ने अठोट
त्रिलोकले चाहेको भए फेरि कोरिया जान सक्थे। फर्किने बेलासम्म महिनाको २ लाख रुपैयाँ तलब थियो। दोस्रोपटक गएको भए थप पाँच वर्ष काम गर्न सक्थे र तलब पनि बढ्दै जान्थ्यो। उनीसँगै नेपाल आएका कतिपय साथी कोरियातिरै लागे। उनी भने आफ्नो शहर धनगढीमा अडिए। “बाध्यताले एकपटक परदेशी बनाउला, तर रोजगारीकै लागि भनेर सधैँ विदेश नै ताक्नु राम्रो होइन,” उनी भन्छन्।

कोरिया नजाने निर्णयमा पुगेका उनले धनगढीमा के व्यवसाय गर्न सकिन्छ भनेर ५–६ महिना अनुसन्धानमै बिताए। विभिन्न ठाउँ पुगे। साना मझौला उद्योगहरू पुगे। बजारको माग र आपूर्ति बुझेपछि उनले गार्मेन्ट उद्योग खोल्ने सोचे।

त्रिलोकले सन् २०१४ (२०७१ साल) मा धनगढीमा आलोक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याए। उक्त उद्योगले ट्राउजर, हाइनेक, टिसर्ट, कुर्ती, जर्सीलगायत उत्पादन गर्छ। उत्पादित कपडा सुदूरपश्चिमका नौ वटै जिल्ला पुग्छ।

उनले ८ लाख रुपैयाँको लगानीमा पाँच वटा मेसिन र पाँच जना कामदार राखेर उद्योग शुरू गरेका थिए। अहिले २५ जना कामदार कार्यरत छन्। उनका अनुसार उद्योगले वार्षिक २ करोड रुपैयाँको कारोबार गर्छ।

स्वदेशमै उद्यम गर्दा परिवारको साथ पाएको र आफ्नै देशमा थोरै भए पनि रोजगारी सिर्जना गर्न सकेको त्रिलोक बताउँछन्। यो व्यवसायलाई अझै विस्तार गर्ने उनको योजना छ। तर उद्यमीहरूका लागि सरकार लचिलो नभएको गुनासो गर्छन्। सरकार उद्यमीमैत्री मात्रै भइदिए र पूर्वाधार निर्माणमा सहयोग गरिदिए व्यवसाय गर्न सजिलो हुने उनको भनाइ छ।

“कोरियामा नयाँ व्यवसाय गर्नेलाई त्यहाँको सरकारले बिनाब्याज ऋण दिन्छ। हामीले बिनाब्याज त परै जाओस्, रोइकराइ गर्दा पनि सहुलियत ब्याजमै ऋण पाउन गाह्रो छ,” उनी भन्छन्, “अझै पनि यहाँका उद्योगले बिजुली, पानीको अभाव भोगिरहेका छन्। व्यावसायिक जोखिमलाई सरकारले हेरेको छैन, यस्ता समस्याका कारण युवाहरू विदेशमा कमाएको पैसा यहाँ लगानी गर्न डराउँछन्।”

‘अबको पुस्ता परदेसिनु नपरोस्’
पछिल्लो समय सम्मान थाप्न कोरिया पुग्दा त्रिलोकले त्यहाँका कम्पनी भ्रमण गरे। रेस्टुरेन्टमा रोबोटले नै खाना पकाइरहेको देखे। भौतिक पूर्वाधारदेखि कृषि र उत्पादन क्षेत्रमा कोरियाले ल्याएको क्रान्तिलाई फेरि एकपटक अवलोकन गरे। त्यतिबेला काठमाडौँमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहको प्रदर्शन चलिरहेको थियो।

उनले अनलाइन पोर्टल स्क्रोल गरे। सामाजिक सञ्जाल चहारे। अनि, दिक्क लागेर फेसबुकमा स्टेटस लेखे, “दुनियाँ कहाँदेखि कहाँ पुगिसक्यो, हामी अझै ढुंगामुढा र जुलुसमै छौँ।”

कोरियाले विकासमा फड्को मारिरहँदा नेपाल रेमिट्यान्सकै भरमा धानिएको छ। आफ्ना कलिला सपना निमोठेर दैनिक दुई हजारभन्दा बढी युवा कामका लागि विदेसिन्छन्। शरीरमा तागत भएसम्म परदेशमा पसिना बगाउने र अवकाश जीवन बिताउन नेपाल फर्किने चलनै भएको उनी बताउँछन्।

वैदेशिक रोजगारीमा गएकाहरूलाई समयावधि सकिएपछि स्वदेश फर्केर सानो भए पनि आफ्नै व्यवसाय गर्न आग्रह गर्छन्। त्यसले रोजगारी सिर्जना गर्ने र देशको समृद्धिमा इँटा थपिने उनको विश्वास छ।

“शरीरमा ताकत रहेसम्म वैदेशिक रोजगारीकै भर पर्ने हो भने त देशमा बुढापाका मात्र बाँकी रहन्छन्,” त्रिलोक भन्छन्, “अबको पुस्ता सामान्य कामदारका रूपमा होइन, पर्यटकका रूपमा विदेश जाने अवस्था आओस्।”


सम्बन्धित सामग्री