Thursday, May 02, 2024

-->

कर्णालीको माटोमा सीप खिपेर नयाँ पुस्तालाई समृद्धि खोज्न सिकाइरहेका नारायण सर

जिल्लाजिल्लाका सामुदायिक विद्यालयमा लोकप्रिय भइरहेको ‘पढ्दै कमाउँदै कार्यक्रम’का परिकल्पनाकार पनि उनै हुन् जसलाई व्यवस्थित कार्यविधिसहित देशभर लागू गर्न संघीय शिक्षा मन्त्रालय अघि सरेको छ।

कर्णालीको माटोमा सीप खिपेर नयाँ पुस्तालाई समृद्धि खोज्न सिकाइरहेका नारायण सर
जनज्योति मावि सुर्खेतका प्रधानाध्यापक नारायण सिग्देल।

काठमाडौँ– उनी त्यसबेला १५ वर्षका थिए। शिक्षादीक्षा प्राप्तिका प्रेरणा बनेका आफ्नै बा गुरुप्रसादको देहान्त भयो। नियतिले नारायण सिग्देलको काँधमा गह्रुँगो भारी बोकाइदियो। जिम्मेवारीले बोकाइदिएको त्यो भारी नाइँनास्ति गर्ने छुट उनलाई थिएन। आमा अम्बिकादेवीले उनीसहितका तीन भाइलाई दुःखजिलो गरेर हुर्काइरहेकी थिइन्। बाको देहान्तपछि पढाइलेखाइमा लागिरहन कठिन भए पनि काकाहरूको सहयोग पाएर उनले स्कुल छोड्नु परेन।

जन्मथलो तनहुँको भिमाद नगरपालिका– १, हुकामा अक्षर चिन्न पाए पनि कक्षा आठसम्मको अध्ययन उनले बर्दियाको गोलाबाट पूरा गरे। 

“बसाइँसराइले हरेक कुरा छुट्ट्याइदिने रहेछ। घर छुट्दो रहेछ। गाउँ छुट्दो रहेछ। साथीसंगी छुट्दा रहेछन्। यो कुरा रहर र बाध्यता दुवैसँग जोडिँदो रहेछ, कहिलेकाहीँ नियतिले पनि छुट्ट्याउने रहेछ,” कुराकानीको शुरूआतमै उनले सुनाए, “म माटोलाई माया गर्ने मान्छे तर, आफू जन्मेको माटोसँग बढी साइनो गाँसिदो रहेछ।” 

खेलेको आँगन, खेल्न सिकाएका साथीसंगी र १० वर्षसम्म लडीबुडी गरेको तनहुँ छोड्दा निको लागेको थिएन उनलाई। तर बर्दियाको गोला पुग्दा मन भुलाउने उस्तै साथीसंगी भेटिए। 

तीसको दशकतिर हो, सिग्देलको परिवार बर्दियास्थित गेरुवा गाउँपालिका–४ गोलामा बसाइँ सरेको। त्यसको पाँच वर्षपछि बस्ती डुबाउने गरेर बाढी आयो। त्यो प्राकृतिक विपद्ले उनको परिवारलाई विस्थापित गराइदियो। त्यहाँबाट उठेर मधुवन नगरपालिका–४, ढोढरी सर्न बाध्य भएपछि उनको बसाइ र पढाइ दुवै त्यहीँ हुने भयो।

त्यहाँभन्दा अलि परको बग्नाहा (त्यसबेला ढोढरी र बग्नाहा छुट्टाछुट्टै गाविस थिए, अहिले बग्नाहा ठाकुरबाबा नगरपालिकामा पर्छ) मा पर्ने चुरे माध्यमिक विद्यालयबाट २०४१ सालमा एसएलसी पास भएपछि सिग्देल जागिरको खोजीमा लागे। परिवारको आर्थिक समस्या हल गर्न जागिर नखाई नहुने उनको बाध्यता थियो। काकाहरूले बेलाबेला भन्थे, “हामी पढाउन नसक्ने भयौँ, अब जागिर खानुपर्छ।” 

उनीहरूले भनेजस्तै भयो। २०४२ बैशाख १८ गते उनले कोहलपुरको वन पैदावार विकास समितिमा जागिर पाए। मुखिया तहको जागिरबाट मासिक ४९५ रुपैयाँ तलब आउने भयो। यसले घर परिवारको समस्या र बाध्यतालाई मात्र सम्बोधन गरेन, पढ्ने खर्चसमेत जुटाइदियो। 

त्यसपछि उनी महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा वाणिज्यशास्त्रमा भर्ना भए। जागिर सँगसँगै उनले वाणिज्यशास्त्रमै प्रमाणपत्र तह (आईकम) को पढाइ सके। बीकमको पढाइ थालनी गर्ने बेला मुखियाबाट सहलेखापालमा बढुवा भइसकेका थिए। बढुवासँगै कोहलपुरबाट विराटनगर सरुवा भएका उनी त्यहाँ ६ महिना बिताएपछि चितवन हुँदै छोटो समयमै सर्लाही पुगे जहाँ एक वर्ष बित्दानबित्दै सरकारले वन पैदावारका अस्थायी कर्मचारीलाई हटाउने निर्णय गर्‍यो। 

विकल्प बन्यो शिक्षण
२०४७ बैशाख १ गतेबाट कर्मचारीलाई बिदा गर्ने सूचना नारायणले पाए। ६ महिनापछि हट्नुभन्दा अगाडि नै राजीनामा दिनुपर्छ भन्ने सोच बनाएर घर आएका उनी फर्किएर सर्लाही गएनन्। त्यहीबेला उनले शिक्षण पेशामा लाग्ने योजना बुने। २०४६ सालमा गाउँ नजिकैको सौभाग्यदेवी प्रावि बाँदरभरियामा सेवाभावको हिसाबले पढाउन थाले।

झन्डै चार दशकअघिको कुरा उनी सम्झिन्छन्, “त्यो स्कुलमा एक महिनापछि दरबन्दी आउँदै रहेछ जसमा मैले नियुक्ति पाउने सम्भावना थियो। किनकि म बीकम पढ्दै थिएँ। अरू साथीहरूको शैक्षिक योग्यता एसएलसी मात्र थियो। तथापि परिस्थितिले त्यहाँ जागिर गर्न दिएन। यदि त्यहाँ जागिर गरेको भए अहिलेसम्म कायम अवसर पाउँदैनथेँ होला।” 

त्यो अवसर के थियो त? २०४६ माघतिरको कुरा हो। उनी बग्नाहास्थित दिदी नाता पर्ने ठूलो बुवाकी छोरी सरिता शर्माको घरमा बसिरहेका थिए। सुर्खेत जिल्लामा प्राथमिक विनि (विद्यालय निरीक्षक) रहेका ईश्वरी सुवेदी, टुप्लुक्क आइपुगे। उनीसँग दिदीको चिनजान रहेछ। तिनै विनिले सुर्खेतमा आफूलाई टेकाएको र बाटो देखाएको नारायणले बिर्सेका छैनन्। 

भन्छन्, “दिदीको घरमा आइपुगेका विनिसँग दिदीले नै जागिरको कुरा गरिदिनुभयो। भाइलाई सुर्खेत जागिर र पढ्ने व्यवस्था दुवै मिलाइदिनुपर्‍योे भनेपछि विनिले दिदीको कुरा काट्न सक्नु भएन।” 

त्यसपछि विनिकै साथमा उनी सुर्खेत पुगे। शिक्षा क्याम्पसमा स्नातक पढ्दै जागिर गर्ने उनको लक्ष्य थियो। वन पैदावारमा जागिरदार हुँदा जोरजाम गरेको बिस्तरा बोकेर सुर्खेत पुगेका नारायणलाई त्यहाँको सदरमुकाम वीरेन्द्रनगर उपत्यकामा जागिर मिलेन।

९०० को जागिर, करोडौँको सपना
नारायणले २०४६ साल फागुनबाट सुर्खेतको पश्चिमी क्षेत्र बड्डीचौरमा रहेको जनज्योति प्राथमिक विद्यालयमा ९६० रुपैयाँ मासिक तलब पाउने गरी शिक्षकको जागिर शुरू गरे। औपचारिक रूपमा प्राथमिक विद्यालय भए पनि निमावि बन्ने तरखरमा रहेको स्कुलमा कक्षा सातसम्म पढाइ भइरहेको थियो। सबै विषय पढाउन सक्ने क्षमता भएका शिक्षक उनी मात्र थिए। जनज्योतिका पनि अरू सबै शिक्षक एसएलसी पास मात्र थिए। 

विद्यालय स्थापना भएको आठ वर्षपछि पढाउन आएका नारायणको योग्यताका कारण विद्यालयको शैक्षिकस्तर सुधारिने अपेक्षा तत्कालीन प्रधानाध्यापक चक्रबहादुर गौतमले गरेका थिए। कालोपाटीमा लेखेर पढाउने नारायणको हातमा प्रायः  ठुटो चक र डस्टर हुन्थ्यो। उनी याद गर्छन्, “त्यतिबेला चक र डस्टरकै धेरै प्रयोग हुन्थ्यो। मेरो हातमा जहिल्यै ठुटो चक हुन्थ्यो। चक पाटीमा घोट्दा टुट्थ्यो।” तर नारायण भने विद्यार्थीलाई अटुट सपना र सम्भावना सिकाउँथे, त्यो पनि आकाश देखिने खरको छानोमुनिबाट। 

विद्थार्थीहरूसँग प्रधानाध्यापक सिग्देल।

विद्यालयको भौतिक अवस्था जीर्ण थियो। विद्यार्थीहरू भूईंमै खर ओछ्याएर बस्थे। पाँचकोठे विद्यालयको छानो खरले नै छाएको थियो। घामको किरण र वर्षाको झरी नछेक्ने छानो देख्दा उनी बेलाबेला घोत्लिन्थे, तर एउटा अस्थायी शिक्षकले विद्यालय सुधारका लागि चाहेर पनि केही गर्न सक्ने जिम्मेवारी थिएन। थियो त केबल परिवर्तन गर्ने हुटहुटी र सपना।

त्यही सपना बुन्दै दुई वर्ष बिताएपछि नारायणलाई विद्यालयको नेतृत्व गर्ने अवसर मिल्यो। “त्यसपछि सानै कामबाट विद्यालयको स्वरूप बदल्ने यात्रा शुरू गरेँ,” उनी भन्छन्। 

अनि बदलियो विद्यालय 
२०४८ सालमा उनी जनज्योति प्रस्तावित निमाविको प्रधानाध्यापक नियुक्त भए। नियुक्ति पाएसँगै उनी विद्यार्थीले कक्षाकोठामा ओछ्याउने खरको विस्थापनतिर लागे। गाउँलेसँग हारगुहार गरेर विद्यार्थीका लागि केही बेन्चको बन्दोबस्त गर्न सफल पनि भए। 

उनी नियुक्त हुँदाको वार्षिक लेखा परीक्षण प्रतिवेदनअनुसार त्यसबेला विद्यालय आठ हजार घाटामा थियो। त्यही समय अभिभावकलाई जम्मा पारेर उनले भने, “तपाईंहरू मलाई साथ दिनुहोस्। विद्यालयमा आठ कक्षा सञ्चालन गर्ने जिम्मा म लिन्छु।”

प्रत्येक अभिभावकले २५ रुपैयाँ चन्दा दान गरेर उनको आँटको कदर गरे। 

चन्दाबाट उठेको रकमले एउटा शिक्षक ल्याएर आठ कक्षा सञ्चालन गर्ने र कक्षा कोठाको व्यवस्थापन पनि गर्ने जिम्मा उनले लिए। एक वर्षपछि त्यो लक्ष्य पूरा भयो। बड्डीचौरमै कक्षा आठसम्म पढाइ हुन थालेपछि बिस्तारै विद्याथी संख्या बढ्दै गयो। स्थानीय अभिभावक र विद्यार्थीमा खुशी छायो। उनी प्रधानाध्यापक भएकै वर्ष विद्यालयले जिल्ला स्तरीय परिक्षामा राम्रो नतिजा ल्याएर अर्को सफलता पायोे। 

अभिभावकको त्यो साथ
अभिभावकमा दिन प्रतिदिन विद्यालयप्रतिको आकर्षण र शिक्षकप्रतिको विश्वास बढ्दै जाँदा विद्यार्थीहरू थपिने सिलसिला जारी थियो। तर एक वर्ष बिताएलगत्तै २०४९ सालमा विद्यालयका अभिभावकहरूसँग उनले राजीनामा दिने कुरा दर्शाए। त्यतिबेलासम्म विद्यालयको सुधार आंशिक रूपमा भए पनि पूरा हुन बाँकी थियो। एक्कासि ‘हेडसर’ले छाड्ने कुरा गरेकोमा अभिभावकले असहमति जनाए। विद्यालय छोड्न मिल्दैन भन्दै उनीहरूले एकमत भएर निर्णय बदल्न आग्रह गरे।

विद्यालयमा अध्ययन-भ्रमणमा आएका जर्मन नागरिकसँग प्रधानाध्यापक सिग्देल (सबैभन्दा दायाँ)।

त्यसबेला स्थायी नियुक्तिका लागि शिक्षक सेवा आयोगले लिएको परीक्षामा नाम ननिस्किएपछि प्रधानाध्यापक नारायणले विद्यालय छोड्ने निर्णय लिएका थिए। तर अभिभावकले स्वीकृति  नदिएपछि विद्यालयको सुधारमा निरन्तर लाग्ने जिम्मेवारी बोधका साथ राजीनामाको निर्णयबाट उनी पछि हटे। अभिभावकको पूर्ण साथ पाएपछि आफ्नो परिकल्पनामा अगाडि बढ्ने अठोट लिएर त्यसपछि निरन्तर विद्यालय सुधारको अभियानमा अघि बढे। नारायणकै मिहिनेतले २०५१ सालदेखि विद्यालयमा कक्षा १० सञ्चालनमा आयो। 

विद्रोहीबाट भवन, राज्यबाट छानो
२०५२ सालमा तत्कालीन विद्रोही नेकपा (माओवादी) ले शुरू गरेको सशस्त्र द्वन्द्वबाट देशभरको शिक्षा क्षेत्र प्रभावित भएको थियो। त्यसमाथि कर्णाली क्षेत्रमा हिंसाको असर झनै बढी परेको थियो। द्वन्द्व उत्कर्षमा रहेका बेला रुकुम, रोल्पा, जाजरकोट, सुर्खेत र कालिकोट जिल्ला माओवादीको ‘आधार इलाका’मा गनिन्थे। 

त्यसबेला ‘सामन्तवादको बुर्जुवा शिक्षा’ भन्दै माओवादीले ठाउँ–ठाउँमा स्कुल बन्द गर्ने अभियान नै चलाएको थियो। तथापि एक दशक लामो सशस्त्र द्वन्द्वले सुर्खेतको जनज्योति स्कुललाई असर पुर्‍याएन। माओवादीका किल्ला मानिने ठाउँहरूमा धमाधम सरकारी स्कुल बन्द भइरहेका थिए। कैयौँ शिक्षकहरूको हत्यासमेत भएको थियो। तर आन्तरिक युद्धका त्यस्ता बाछिटाबाट जोगाएर रोचक तरिकाले जनज्योति स्कुल सञ्चालन गरिरहेका थिए, नारायण सर। 

त्यस्तो रक्तपातकालीन समयमा पनि राज्य र विद्रोही दुवै पक्षको सहयोगमा विद्यालयको भवन निर्माण गर्नसमेत उनी सफल भए। २०५८ सालको अन्त्यतिर विद्रोही माओवादीले उपलब्ध गराएको छड र सिमेन्टबाट विद्यालयको पाँचकोठे भवन बनाए। त्यसको छानो तत्कालीन क्षेत्रीय प्रशासन कार्यालयको सहयोगमा हालेर विद्यार्थीलाई त्यहाँ सारेको अनुभवले उनलाई अझै पनि प्रफुल्ल बनाउँछ। जनज्योति मावि हिंसाबाट कहिल्यै प्रभावित भएन जसको श्रेय उनै हेडसरलाई जान्छ। 

लामो संघर्ष गरेर आफ्नो विद्यालयमा २०६८ सालदेखि १८ महिने र २०७१ सालदेखि तीनवर्षे बालीविज्ञान तथा पशुविज्ञान जस्ता प्राविधिक कार्यक्रमहरू सञ्चालन गर्न उनी सफल भए। जनज्योति माविमा पढ्न विद्यार्थीले इच्छाशक्ति मात्र लगानी गरे पुग्ने नारायण बताउँछन्। अहिलेको मूल्यअनुसार यो विद्यालयको ६ करोडभन्दा बढी सम्पत्ति छ।

खाडी जाने होइन, गरिखाने शिक्षा
नारायण सरले जनज्योतिको शिर उच्च बनाउन अनेक प्रयास गरिरहेका छन्। शिक्षालाई उत्पादनसँग जोड्न नयाँ–नयाँ कुराको परिकल्पना गरिरहने उनले पछिल्लो समय ‘सर्च, रिसर्च र खर्च’ भन्ने नारालाई जनज्योतिमा चरितार्थ गरिरहेका छन्। यसले विद्यार्थीलाई के गर्ने हो त्यसको योजना बनाउन र लागत खर्च निकाल्न सिकाउँछ। विद्यार्थीले अध्ययनबाट निकालेको लागत खर्च स्कुलले नै व्यवस्थापन गरिदिन यस्तो अभ्यास गरेको उनले बताए। 

विद्यालयको पोखरीमा पालिएका माछालाई दाना राख्दै नारायण सर।

उत्पादन र जीवन निर्वाहमुखी शिक्षा नीतिको परिकल्पना गर्ने नारायण सरले शिक्षासम्बन्धी थुप्रै योजना र नीतिको परिकल्पना गरेका छन्। जिल्ला-जिल्लाका सामुदायिक विद्यालयमा लोकप्रिय भइरहेको ‘पढ्दै कमाउँदै कार्यक्रम’का परिकल्पनाकार समेत उनै हुन् जसलाई व्यवस्थित कार्यविधिसहित देशभरका सामुदायिक विद्यालयमा लागू गर्न शिक्षा मन्त्रालय अघि सरेको छ।

जनज्योति मावि सुर्खेत यतिबेला स्वदेशका मात्र नभई अन्य देश–देशावरबाट आएका विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षाप्रेमी तथा जिज्ञासु समुदायको अध्ययन भ्रमणस्थल भएको छ। जर्मनीको विद्यालयसँग विद्यार्थी आदानप्रदान गरी त्यहाँका १० जना विद्यार्थी जनज्योतिमा आएर पढ्ने र जनज्योतिका १० जना पढ्न उता जाने व्यवस्था मिलाउन प्रयास गरिरहेको नारायण सरले बताए। 

स्कुलको विगततिर फर्कंदा पछुताउनु नपर्ने गरी वर्तमान अवस्थाले सन्तुष्टि दिएको महसुस गर्ने उनी भन्छन्, “हिजो १५ महिनासम्म तलब खुवाउन नसक्ने स्कुलमा आज देश–विदेशका मान्छेहरू आएर अध्ययन–भ्रमण गर्छन्। मलाई यसमा गर्व लाग्छ।” 

विदेशी नागरिक आएर जनज्योति स्कुलको भ्रमणसँगै प्रशिक्षित पनि हुन्छन्। फिनल्याण्ड र यूएईका राजदूतलगायत विश्व बैंकका प्रमुखसमेत जनज्योतिमा पुगेका छन्। उनीहरूले नारायण सरसँग भनेका छन्, “पढ्दै कमाउँदै कार्यक्रम हामी आफ्नो देशमा पनि लागू गर्छौं।”

नेपालको शिक्षा प्रणाली ‘खाडी जाने भन्दा गरिखाने’ बनाउनु पर्नेमा उनको जोड छ। “हाम्रो शिक्षाले ज्ञानी मात्र होइन, गरेर खाने पनि बनाउनुपर्छ। हामीले उत्पादन गरेका वस्तु बजारमा बिक्री नहुँदा पनि उत्पादन गरेको गर्‍यै गरेपछि हामी मूर्ख हौँ भन्ने कुरा थाहा पाउनुपर्‍यो,” उनले भने।

स्कुलदेखि घरसम्म सहायता
जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरू जीवन निर्वाहको सीप सिक्ने शिक्षाबाट प्रेरित छन्। ४० भन्दा धेरै संघसंस्थाहरू जनज्योतिसँग जोडिएर विद्यालयलाई सहायता गरिरहेका छन्। शिक्षाले मान्छेलाई श्रम बजारमा स्वागत गर्नुपर्ने यसका परिकल्पनाकार नारायण सरको बुझाइ छ। 

विद्यालयमा उत्पादित जनज्योति मह।

जेठा छोरालाई पनि आफ्नै स्कुलमा हुर्काएर भेटेरिनरीको डाक्टर बनाएका नारायण सरको एउटै सदीक्षा छ, “पैसा नभएर कसैको पढाइमा बिराम नलागोस्।” उनका कान्छा छोराले एमबीबीएससम्मको पढाइ सकेका छन्। 

अहिले जनज्योति स्कुलकै नामबाट बजारमा घरेलु मौरीको मह समेत आइरहेको छ। विद्यालयमा ७० भन्दा बढी मौरीको घारबाट ७०० किलो मह उत्पादन गरेर बजारमा ल्याएको उनले बताए।

अहिले जनज्योतिमा १२ सयभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन्। जनज्योति स्कुलका विद्यार्थीले उत्पादन गरेका कृषिजन्यदेखि अन्य वस्तुलाई बजारमा ल्याउन कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका ठूला होटल तथा किराना व्यवसायीसँग छलफल भइरहेको नारायण सरले जानकारी दिए।

जनज्योति स्कुलले विकास र विस्तार गरिरहेको सीप र उत्पादनले स्थानीय अभिभावकलाई समेत जोडेकोे छ। समुदायसम्म पुग्ने काममा विद्यालयलाई विभिन्न संघसंस्थाले साथ दिइरहेका छन्। तीमध्ये जर्मन सरकारको आर्थिक सहयोगमा सञ्चालित ‘स्किल अफ’ परियोजना तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्भेटास र नेपालकै प्रख्यात गैरसरकारी संस्था लिबर्डले स्कुलसँग सहकार्य गरिरहेका छन्।


सम्बन्धित सामग्री