Thursday, May 30, 2024

-->

मीठो स्वाद र सुगन्धयुक्त फल: चिनौँ नेपालमा पाइने आँपका प्रजाति

बेमौसमी फलफूलको उत्पादनसँगै सिजन अगावै वा सिजनपछि पनि बजारमा आँप उपलब्ध हुने गरेको छ। तर नेपालको आँप उत्पादनको मूलथलो रहेको तराई-मधेशमा भने वैशाखअगाडि आँप खाइँदैन।

मीठो स्वाद र सुगन्धयुक्त फल चिनौँ नेपालमा पाइने आँपका प्रजाति

प्राय: सबैलाई मनपर्ने फल हो आँप, तर कुन प्रजातिको आँप कस्तो स्वाद र रूपरङको हुन्छ धेरैले थाहा पाउँदैनन्। गर्मी याममा पाइने आँपका कति प्रजाति नेपाली बगान र बजारमा पाइन्छन् भन्ने जानकारी कुनै सरकारी वा प्राज्ञिक अभिलेखमा भेटिन्न। नेपालीहरू आँप अति नै मन पराउँछन्, यसमा भने कुनै शंका छैन।

नेपाली बजारमा पाइने आँपहरूमध्ये धेरै मन पराइएको माल्दा (माल्देव वा मालदह) को सिजन सकिनै लाग्दा अरू जातका आँप आइपुग्छन्। "स्वाद र सुगन्धमा विविधता भएको यो फलको आनन्द लिने हो भने किन्ने बेलामा नै चिन्न जान्नु पर्छ,” काठमाडौँका पत्रकार राजेश अधिकारीले भने, “तराईमा हुर्केको भएकाले मलाई चाहिँ आँपका केही प्रजातिको रूपरङ, आकार र स्वाद थाहा छ। आँपले बालकाल्यको स्मृतिमा पुर्‍याउँछ।” 

नेपाल सरकारको राष्ट्रिय फलफूल विकास केन्द्रको ‘फलफूल सम्बन्धी राष्ट्रिय तथ्यांक’मा ‘फलफूलको राजा मानिने आँप’ भन्दै यसको तथ्यांकीय विवरण राखिएको छ। आँपसँग जोडिएको लोकमान्यताले यसरी सरकारी दस्ताबेजमा पनि ठाउँ बनाएको छ। 

नेपालको सातैवटा प्रदेशमा आँप फल्ने सरकारी तथ्यांक छ। मधेश प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा अनि कोशी प्रदेशको मोरङ र सुनसरी आँप धेरै फल्ने ठाउँ हुन्।

बेमौसमी फलफूलको उत्पादनसँगै सिजन अगावै वा सिजनपछि पनि बजारमा आँप उपलब्ध हुने गरेको छ। तर नेपालको आँप उत्पादनको मूलथलो रहेको तराई-मधेशमा भने वैशाखअगाडि आँप खाइँदैन। वैशाख १ गतेपछि काँचो आँप र त्यसको चटनी, अँचार, खट्ठीमिठीलगायत परिकार खान शुरू हुन्छ। जेठदेखि गृष्म ऋतु शुरू हुन्छ, यता आँप पनि छिपिइसकेको हुन्छ।

आँप टिपेर सामान्य वातावरणको भन्दा केही बढी तापक्रममा दुईचार दिन राखेपछि पाक्न थाल्छ। यहाँदेखि पाक्षिक (शुक्ल पक्ष र कृष्णपक्ष)को हिसाबले करिब दुई सप्ताहान्तरमा अनेकौँ थरीका पाकेका आँप बजारमा देखिन थाल्छन्। अचार बनाउने प्रयोजनले अलिअलि काँचो आँपको पनि व्यापार हुनेगर्छ।

हामीकहाँ प्रचलित र बजारमा समेत सजिलै पाइने आँपहरू औँलामा गन्न सकिने छन्। सबुजा, जर्दा, माल्दह, बम्बई, चउसा आम्रपाली, गुलाबखास र दशहरी आँप अन्यभन्दा बढी स्वादिलो हुने सुनसरीको तरहरास्थित कृषि अनुसन्धान निर्देशनालयका बागवानी वैज्ञानिक मनिस त्रिपाठी बताउँछन्। उनका अनुसार सबै थरी आँपका आफ्ना विशिष्ठ सुगन्ध र गुलियोपनाको मात्रा हुन्छ। यिनै दुई कुराले आँपलाई अरू फलभन्दा भिन्न बनाउँछ। गुलियोपना र हल्का अमिलोपनाको समायोजनसँगै नरम गुदीका कारण पनि फलहरूमध्ये आँपले विशेष स्थान लिन सफल छ। अब केही प्रचलित आँपबारे चर्चा गरौँ: 

सबुजा
बंगाली भाषामा ‘हरियो’ रङलाई सुबुज भनिन्छ। हामीकहाँ सबभन्दा शुरूमा पाइनेमध्ये अधिक रुचाइने र धेरै पाइने आँप हो सबुजा। मध्यम आकारको गाढा हरियो रङको यो आँप काँचो नै खादासमेत अमिलो हुँदैन। पाकेपछि असाध्यै गुलियो हुने यो आँपमा विशिष्ठ सुगन्ध हुन्छ। 

पश्चिम बंगाल र हालको बंगलादेश क्षेत्रलाई यसको प्रारम्भ क्षेत्र मानिन्छ। यसको नाम बंगाली भाषाबाट प्रादुर्भाव भए पनि रूचाइने क्षेत्र व्यापक छ। फलफूलविज्ञ त्रिपाठीका अनुसार सबुजा ‘अर्लि सिजन’ आँप हो। यो आँप एक किलोग्राममा चार पाँच वटा अटाउँछ।

बम्बई
सबुजा पाइने समयमै झण्डै त्यस्तै आकारको र स्वाद पनि लगभग मिल्दोजुल्दो हुने आँप बजारमा आइपुग्छ। त्यो हो बम्बई। सबुजा आँप पाक्दासमेत हरियो नै रहन्छ, तर बम्बई वा बम्बईया पाकेपछि चाहिँ पहेँलो हुन्छ। 

कतिपयले बम्बईलाई पहेँलो सबुजा र सबुजालाई हरियो बम्बईया पनि भन्ने गर्छन्। 

जर्दा
सुबजा सकिनै लाग्दा सानो र गोलो आकारको निकै गुलियो आँप बजारमा आइपुग्छ। आफ्नो तिख्खर सुगन्धका लागि चिनिन्छ जर्दा आँप। 

हलुका सुनौलो रङ यसमा चढिसकेपछि आँप हेर्दामात्रै पनि आकर्षक लाग्छ। आकार सानो भएका कारण एक किलोग्राममा यो आँप १० वटासम्म अटाउँछ। 

गुलियो, रसिलो स्वाद हुने यो आँप छिटै पाक्छ र छिटै सकिन्छ। जसका कारण यसको बजार मूल्य पनि एकदमै महँगो हुनेगर्छ। तुलनात्मक रूपमा यो महँगो आँप हो। उसै पनि जर्दा आँप खानु, खुवाउनु र कोशेली दिनु खासगरी मधेशमा सानको विषय ('स्टेटस सिम्बोल') बन्न गएको छ।

माल्दा
जर्दा नसकिँदै आइपुग्छ, सर्वाधिक लोकप्रिय माल्दा आँप। भनाइ नै छ, ‘फलको राजा आँप र आँपको राजा माल्दा।’

सबुजाभन्दा आकारमा करिब डेढ गुणा र जर्दाभन्दा कम्तिमा दोब्बर ठूलो हुने माल्दा थोरै लाम्चो र पुष्ट आकारको हुन्छ। सबुजाभन्दा कम गाढा रङको माल्दा पाक्दा पनि धेरै पहेँलो हुँदैन। थोरै रङ फेरेर हरियोमा पहेलोपना ग्रहण गर्छ। पाकेपछि आसपास सुगन्ध फैलाउने माल्दाको पातलो बोक्रा र सानो कोया हुन्छ। यस आँपमा कम रेसा हुने भएकाले यसको गुदी नरम हुन्छ। 

अरू आँपभन्दा माल्दाको चर्चा धेरै हुन्छ। धेरैजसो मान्छे माल्दा आँप चिन्छन् पनि। कुनै कम लोकप्रिय आँपलाई समेत बिक्रेताहरूले माल्दा भनेर बेच्न खोज्नुले यसको लोकप्रियता बुझ्न सकिन्छ। जस्तै: माल्दालगत्तै आउने दाल्मालाई बिक्रेताहरूले ‘कलकतिया माल्दा’ भनिदिन्छन्। यसलाई मधेशतिर डांकाका नामले पनि चिनिन्छ।  

गुलाबखास
माल्दालगत्तै बजारमा आउने गुलाबखास स्वादमा त्यसभन्दा फरक हुन्छ। तर गुलोयोपन भने माल्दामा जस्तै हुन्छ। माल्दाभन्दा थोरै लाम्चो आकारको यो आँप पाकेपछि गाढा गुलाफी रङको हुन्छ। 

यसको नाम पनि रङले गर्दा नै गुलाबखास रहन गएको मानिन्छ। माल्दाभन्दा यो थोरै ठूलो आकारको हुन्छ। औसत रूपमा एक किलोग्राममा तीनवटा अटाउँछ। व्यवसायीहरूले यसलाई पनि ‘माल्दा’सँग जोड्दै गुलाबखास माल्दासमेत भन्ने गरेका छन्। 

चउसा
चउसा आँप पनि माल्दह र गुलाबखासजस्तै मध्य समयमा आउने आँप हो। रेसा र रस अलि बढी हुने चउसा धेरै गुलियो हुन्छ। पुछारतिर पेट निस्केजस्तो र टुप्पोतिर चुच्चे आकार हुने यो आँप गुलियो प्रजातिको भएकै कारण यसलाई रुचाइएको हो। मध्यकालीन समयमा राम्रो आँपको खोजी हुँदा आँप उपभोक्ताको रोजाइमा चउसा नै आइपुग्छ। 

दशहरी
सानो र लाम्चो आकारको दशहरी पातलो बोक्रा भएको गुलियो प्रजातिको आँप हो। आँपको स्वादमा उपलब्ध धेरैजसो तयारी बजारिया जुस ('फ्रुटी' र 'रियल'लगायत) हरूको सुगन्ध दशहरीसँग मेल खान्छ। 

रङ हल्का पहेँलो हुन्छ यसको। 'आँप याम'को मध्यकालमा दशहरी बजारमा आउन शुरू हुन्छ र ढिलो आउने जातका आँपसँगै बजारमा टिकेर बस्छ। अरू आँप नचिन्नेले समेत आकार, रङ र सुगन्धका कारण एकपटक चिनेपछि अर्कोपटक सजिलै चिन्न सक्छन्। 

कलकतीया
मध्यकालीन समयमा आउने आँपहरू सकिनै लाग्दा आउने आँप दाल्मालाई व्यवसायीहरूले ‘कलकतिया माल्दा’ भन्ने गरेका कारण चलनचल्तीमा यसको नामै ‘कलकतिया’ हुन गएको छ। 

यो आँपको उत्पादन दर अरू आँपको तुलनामा अलि बढी हुन्छ। धेरै गुलियो नभएको कारण चिनी र दुध हालेर अमरस (मिल्क सेक) बनाउन भने यो राम्रै हुन्छ। त्यति धेरै रोजाइमा नपर्ने यो आँप प्रत्येक वर्ष फल्छ, जबकि यसबाहेकका आँप वर्ष बिराएर फल्छन्। यो धेरै परिमाणमा फल्छ र सस्तोसमेत पर्नजान्छ। काँचो हुँदा यसलाई अचार बनाउन बढी प्रयोगमा ल्याइन्छ। 

आम्रपाली
झण्डै दशहरीजस्तै आकारको तर थोरै लामो अनि मोटो आम्रपाली आँप पछिल्लो समयमा नेपालमा धेरै रुचाइएको छ। नेपाली जिब्रोले चिनेको आँपको स्वादमा यो पनि थपिएको छ। गुलियोपन राम्रै र स्वादमा नयाँपन यसको विषेशता हो। यो आँप बजारमा ढिलो आउँछ र अलि लामो समयसम्म उपलब्ध भइरहन्छ। 

नेपालमा बढ्दो आँप
नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कीर्तिपुरस्थित राष्ट्रिय फलफूल विकास केन्द्रको अध्ययनमा ‘फलफूलसम्बन्धी राष्ट्रिय तथ्यांक’मा २०७७ सम्मको अभिलेख अनुसार वार्षिक रूपमा नेपालमा चार लाख ५३ हजार ४१६ मेट्रिक टन आँप नेपालमा उत्पादन भएको देखिन्छ। 

सरकारी तथ्यांकअनुसार सबैभन्दा बढी सप्तरी र सिराहामा आँप उत्पादन हुन्छ। सप्तरीमा पाँच हजार हेक्टरबाट ३५ हजार मेट्रिक टन र त्यसपछि सिराहामा पाँच हजार हेक्टरबाट २० हजार मेट्रिक टन उत्पादन हुने गरेको सरकारी तथ्यांकले देखाउँछ। 

नेपालमा आँप उत्पादनको क्षेत्र, उत्पादकत्व र उत्पादन वृद्धि भइरहेको छ। “गाउँघरमा कृषि श्रमिकको अभाव हुन थाल्यो, युवाहरू वैदेशिक रोजगारीमा गएपछि परम्परागत कृषीमा पनि त्यसको असर स्वभाविक रुपमा देखिएको छ, मानिसहरूले त्यस कारण विकल्प खोज्दै जग्गामा आँपका रुखहरू लगाई दिन थालेका छन्,” वागवानीविज्ञ त्रिपाठीले भन्छन्, “आम्दानी पनि मनग्य हुन थालेपछि कृषकको आकर्षण आँपको बागवानी तिर बढेको छ।” 

सप्तरी र सिरहामा तीन वर्षसम्म गरिएको अध्ययनमा किसानले एक सिजनमा आँपबाट कट्ठामा साढे ३ लाख रुपैयाँसम्म आम्दानी गरेको भेटिएको उनले जानकारी दिए। 

हावापानीको दृष्टिकोणले तराईदेखि मध्यपहाडको बेसीसम्म खेती गर्न सकिने आँप धेरैजसो वर्ष बिराएर फल्ने प्रवृत्ति भएको भन्दै तथ्यांकमा उल्लेख गरिएको छ, “आँप उत्पादन हुने प्रमुख जिल्लामा झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, महोत्तरी, सर्लाही, धनुषा, बारा, पर्सा, रौतहट, धाडिङ, नवलपरासी, कपिलवस्तु, रूपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुर पर्छन्।” 

नेपालका ७० वटा जिल्लामा आँप उत्पादन हुने गरेको पाइन्छ। कृषिमा तपाईंलाई चाख छ र स्रोत साधन पनि छ भने, यति सुगन्ध र मिठासयुक्त फल खेतीमा लागेर दाम र स्वाद दुवै प्राप्त गर्नेतर्फ लाग्ने कि? 


सम्बन्धित सामग्री