काठमाडौँ– “जनगणना २०७८ अनुसार नेपालमा ५१ प्रतिशत महिला र ४९ प्रतिशत पुरुष छन् भन्दैगर्दा यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यालाई हेरियो त? उहाँहरूको संख्या जिरो पोइन्ट जिरो वान नै भए पनि त्यसबारे कसले उल्लेख गर्यो?”
गत शनिबार वसन्तपुरमा भेटिएका स्वराज लामा यौनिक तथा लैंगिक अल्पसंख्यकको विषयमा असन्तुष्टि पोख्दै थिए। उनी आफू भने यो समुदायका होइनन्। यो समुदायप्रति जानकारी भए पनि ‘प्राइड मन्थ’ अर्थात् गौरवको महिनाबारे यसअघि थाहा नभएको उनले बताए।
यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजीबीटीआईक्यूए प्लस) समुदायले हरेक वर्ष इस्वी संवतको जुनमा प्राइड मन्थ मनाउँछ। “यस समुदायले निश्चित महिनालाई यसरी उत्सवले मनाउँछ भनेर अहिले मात्र थाहा भयो,” लामा भन्छन्, “यो मेरो लागि नयाँ चेतना भयो। फरक लैंगिक पहिचान भएका व्यक्तिहरू समाजमा हुनुहुन्छ र उहाँहरूको फरकपनको सम्मान हुनुपर्छ भनेर मैले बुझेको छु।”
राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्या २९ सय २८ छ। परिवार र समाजले स्वीकार गरेको सख्ंया मात्र जनगणनामा आएको नीलहिरा समाजकी अध्यक्ष पिंकी गुरूङ बताउँछिन्।
“यौनिक तथा लैगिक अल्पसंख्यकको संख्या योभन्दा बढी छ,” गुरूङ भन्छिन्, “सन् २०१८ मा काठमाडौँमा मात्र गरिएको एक सर्भेमा ३८ हजारभन्दा बढी संख्या गणना भएको थियो, जबकि उक्त तथ्यांक केवल गे र ट्रान्सजेन्डरको मात्र थियो।”
खुला अस्तित्वको लागि प्राइड मन्थ
जुन महिनामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले पहिचानसहित मनाइने उत्सवलाई ‘प्राइड मन्थ’ अथवा गौरवको महिना भनिने नीलहिरा समाजकी अध्यक्ष गुरुङ बताउँछिन्। यो महिनामा खुला रूपमा विभिन्न कार्यक्रम गरिने उनी बताउँछिन्।
सन् १९६९ जुन २८ मा न्युयोर्क म्याहटनस्थित स्टोनवाल नामक एक रेस्टुरेन्टमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि भएको दंगाको स्मरण गर्दै प्राइड मन्थ मनाउने गरिएको हो। स्टोनवालको उक्त रेस्टुरेन्ट त्यस शहरका यौनिक तथा लैंगिक अल्पसंख्यकको जमघट हुने जङ्क्सन थियो। ‘गे लिबरेसन मुभमेन्ट’ चलिरहेको समयमा त्यस दिन उक्त रेस्टुरेन्टमा छापा मारेर प्रहरीले ज्यादती गरेको थियो।
त्यही घटनाको सम्झनामा मनाइने प्राइड मन्थलाई एलजीबीटीआईक्यूए प्लस समुदायले आफूलाई उजागर गर्ने अवसरको रूपमा लिने गुरूङ बताउँछिन्। उनका अनुसार यो महिना बहस, जुलुसलगायत विभिन्न कार्यक्रम गरी आफ्नो समुदायप्रति अन्यलाई संवेदनशील बनाउने प्रयास गरिन्छ। आफ्नै समुदायलाई सशक्त बनाउने र अधिकारको प्रत्याभूत गराउने पनि गरिन्छ।
दक्षिण एशियामा नेपाललाई अन्य देशभन्दा खुला र उदार समाजका रूपमा चिनिन्छ। दुई दशकभन्दा लामो समयदेखि नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले खुलारूपमा गतिविधि गर्दै आएका छन्। सर्वोच्च अदालतले २०६४ पुस ६ गते गरेको फैसलामा पुरुष वा महिलाभन्दा फरक लिंगको पहिचानलाई स्वीकार गरेर अन्यसरह अधिकारका लागि कानून बनाउन वा संसोधन गर्न निर्देशनात्मक आदेश दिएको थियो। समलिंगी विवाहका बारेमा पनि अध्ययनका लागि समिति बनाउन र त्यसको सिफारिसका आधारमा कानूनी व्यवस्था गर्न पनि निर्देशन दिएको थियो।
नेपालको संविधान–२०७२ को धारा १२ का साथै धारा १८(३) र धारा ४२(१) मा यस समुदायसमेतका लागि सम्मानजनक नागरिकता, समानता र सामाजिक न्यायको हक सुनिश्चित गरिएको छ। धारा १२ मा लैंगिक पहिचानसहित नागरिकता पाउने व्यवस्था छ। धारा १८ समानताको हक अन्तर्गत उपधारा ३ मा लिंगलगायतका आधारमा विभेद नहुने उल्लेख छ। त्यस्तै धारा ४१(१) मा सामाजिक न्यायको हकको व्यवस्था छ।
यी उपलब्धिको प्रचार र थप अधिकार तथा पहिचानसहितको सम्मानका लागि प्राइड मन्थमा विभिन्न कार्यक्रम गरिने गुरुङ बताउँछिन्। “विश्वभर जुन महिनामा प्राइड मन्थ मनाउने चलन नेपालमा ४–५ वर्षअघि शुरू भएको हो,” उनी भन्छिन्, “पहिला हामी गाईजात्रामा उत्सव मनाउने गथ्र्यौं।”
खुल्दैछ समाज
यो समुदाय र प्राइड मन्थबारे सामाजिक सञ्जालमार्फत नै प्राइड मन्थबारे जानकारी पाएको बौद्धकी अम्बिका योञ्जन बताउँछिन्। “समाजमा महिला, पुरुष र तेस्रोलिंगी छन् भन्ने त थाहा थियो,” योञ्जन भन्छिन्, “तर, तेस्रो लिंगीबाहेक पनि अन्य फरक लैंगिकता हुन्छ भन्ने थाहा थिएन।”
महिला वा पुरुषको शारीरिक बनोटभित्र पनि भिन्नै व्यक्तित्वको अस्तित्व हुनसक्ने जानकारी इन्टरनेट तथा विभिन्न व्यक्तिसँगको कुराकानीबाट थाहा भएको उनले बताइन्। नेपालमा प्राइड मन्थ मनाउन थालेपछि यस विषयमा अझ धेरै जानकारी पाएको उनको भनाइ छ।
यद्यपि, समाजमा अझै पनि उक्त समुदायलाई हेरिने दृष्टिमा परिवर्तन आइनसकेको उनी बताउँछिन्। यसको प्रमुख कारण शिक्षा र चेतनालाई मान्छिन्। “सायद मभन्दा अघि मेरो ममी, ड्याडीको पुस्ताले यो विषयलाई त्यसरी बुझ्न अनि स्वीकार गर्न नै गाह्रो मान्नुहोला,” उनले भनिन्, “एलजीबीटीआईक्यूए समुदायलाई भगवानको श्राप भएको अन्धविश्वास मान्नेको कमी छैन।”
भारतमा अध्ययन गरिरहेका र बिदामा नेपाल आएका सुप्रित डंगोल आफूलाई प्राइड मन्थबारे सन् २०२० देखि थाहा भएको बताउँछन्। मानिसको यौनिकतालाई लिएर अबको समाज सामान्य र उदार हुनु पर्ने उनी बताउँछन्।।
“संकुचित सोच भएका धेरै जना मेरो परिवारमा पनि हुनुहन्छ,” उनले भने, “तर, हामीहरू उहाँहरूप्रति समताको भाव हुनुपर्छ। हाम्रो बोलीमा पनि ख्याल गर्नु पर्छ।”
समाज ‘लिंगभेदी’ छ
जाजरकोटका खिमबहादुर शाही समाजको दृष्टिकोण नै लिंगभेदी रहेको बताउँछन्। “हामी छोरा भनेर जति माया गछौँ, सायद छोरीलाई त्यति महत्त्व दिदैनौँ। यो लामो समयदेखि चलिआएको परम्परा हो,” उनले भने, “लैंगिक अल्पसंख्यकप्रति पनि यही दृष्णिकोणले काम गरेको छ।”
समाजमा हरेक लिंग र समुदायले आफूले चाहेको पेसा गरेर सम्मानपूर्वक बाँच्न पाउनुपर्ने उनी बताउँछन्।
उक्त समुदायप्रति गरिने व्यवहार र आरोपले हाम्रै समाजको चरित्रलाई देखाउने सुजी केसी बताउँछिन्। “अहिले जनावरको अधिकारको विषय पनि उठ्न थालेको छ। तर, मानिसकै अधिकारका विषयमा सचेत नभएको अवस्था छ। अब यो विषय व्यापक हुनुपर्छ,” उनी भन्छिन्।
यद्यपि, नेपाली समाज पहिलेभन्दा सचेत भएको उनी बताउँछिन्। “टिकटकमै पनि प्रतिभा रानीको भिडियो छ। उहाँहरू खुलारूपमा आउनु भएको छ,” केसी भन्छिन्, “समाजले के भन्ला भन्ने डर होला, कतिलाई परिवारको इज्जतको डर चिन्ता पनि होला, उहाँहरूलाई हामीले खुला रूपमा आउन सहयोग गर्नुपर्छ।”
“अरूले जस्तै मीठो सास फेर्न पाइयोस्”
गत शनिबार दरबारमार्गमा ‘ड्रयाग शो’ भएको थियो। उक्त शोमा यौनिक तथा लैगिक अल्पसख्ंयकहरूले विभिन्न पोशाकमा आफूलाई प्रस्तुत गरेका थिए। “आफ्नो यौनिकतालाई उहाँहरूले समाजको एउटा भागको रूपमा देखाउनु भएको थियो,” शोमा सहभागी एक जनाले भनिन्, “उहाँहरूलाई कम्पिलिमेन्ट दिँदा अझ कति धेरै खुशी देखिनु भएको थियो।”
पहिलेको तुलनामा समाज केही खुला भए पनि अझै सहज वातावरण नभएको नीलहिरा समाजकी अध्यक्ष पिंकी गुरूङ बताउँछिन्। उनी भन्छिन्, “हामीले समुदायमा काम गर्दा कहीँ एकदमै राम्रो मान्नुहुन्छ, कतिपय स्थानमा नराम्रो व्यवहार हुन्छ। हृदय र भावनाले ओतप्रोत भएर गरिने समर्थन र रमाइलोका लागि मात्र गरिने समर्थनमा फरक पर्ने रहेछ।”
समाज उदार हुँदै गए पनि आफ्नो समुदायमाथि हिंसा पनि बढ्दै गएको उनी बताउँछिन्। “धेरै एक्सपोज हुँदा त्यतिकै धेरै हिंसा पनि बढेका छन्,” उनले भनिन्, “यसले के जनाउँछ भने, सामाजिक रूपमा हुने विभेदको अन्त्य अझै पनि भइसकेको छैन। हाम्रो समुदाय अझै पनि सशक्त हुन पर्नेछ।”
युएन वुमन, नीलहिरा समाजलगायत संस्थाले जुन १५ मा एउटा अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो। ‘इभिडेन्स टु एक्सनः एड्रेसिङ भाअलेन्स अगेन्स्ट एलजीबीटीआईक्यूए प्लस पिपल इन नेपाल’ शीर्षकको उक्त प्रतिवेदनअनुसार यौनिक तथा लैंगिक अल्पसंख्यकहरूमध्ये ८१ प्रतिशतले शारीरिक, आर्थिक, भाषिक तथा भावनात्मक हिंसा सहँदै आएका छन्। यद्यपि, दुई दशकयता नेपालमा एलजीबीटीआईक्यूए प्लसको अधिकारमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको पनि प्रतिवेदनमा उल्लेख छ।
एलजीबीटीआईक्यूए प्लस समुदायप्रतिको बुझाइ अझै पनि सतही भएको गुरूङ बताउँछिन्। अझै पनि समाजले यौनिक तथा लैगिक अल्पसंख्यकलाई ‘तेस्रो लिंगी’ शब्दमै सीमित गरेको उनी बताउँछिन्। यसमा शिक्षित मानिने सामाजिक अभियन्ता, अधिवक्ता, शिक्षक, साहित्यदेखि सरकारी कर्मचारीमा चेतना नभएको उनको गुनासो छ।
अध्यक्ष गुरूङ भन्छिन्, “समाजमा जसरी अरू मीठो, सजिलोसँग सास फेरिरहनु भएको छ, त्यो हावा एलजीबीटीआईक्यूए समुदायको लागि छैन। हाम्रो समुदायको लागि रोगजारमैत्री वातावरण छैन, आत्मसम्मान छैन, कानून छैन, कसैलाई केही भयो भने हाम्रो संरक्षणमा बोल्ने निकाय नै छैन।”