Friday, May 03, 2024

-->

को हुन् सामाजिक सञ्जालका ‘इन्फ्ल्युएन्सर’, कसरी पार्दैछन् निर्वाचनमा प्रभाव?

गएको स्थानीय निर्वाचनमा काठमाडौँ महानगर प्रमुखमा बालेन शाहलाई विजयी बनाउन सामाजिक सञ्जालमा सक्रिय 'इन्फ्ल्युएन्सर' यसपटक पनि केही उम्मेदवारको पक्षमा खुलेका छन्।

को हुन् सामाजिक सञ्जालका ‘इन्फ्ल्युएन्सर’ कसरी पार्दैछन् निर्वाचनमा प्रभाव

काठमाडौँ- सन् २००८ मा भएको अमेरिकाको राष्ट्रपति निर्वाचनमा  बाराक ओबामा डेमोक्रेटिक उम्मेदवार थिए। त्यस चुनावमा उनले प्रचारप्रसारका लागि सामाजिक सञ्जालको प्रयोग गरेका थिए। युवा जमातलाई प्रभावित गर्न उनले युट्युब र फेसबुकमा भिडियो हाल्थे। त्यतिबेला 'द गार्डियन'ले 'अबको निर्वाचन सामाजिक सञ्जालमार्फत लडिने' टिप्पणी गरेको थियो।

सन् २०१७ को राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले पनि प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग गरेका थिए। उनले सामाजिक सञ्जालमार्फत 'नश्लभेदी मतदाता'लाई आफ्नो पक्षमा ल्याएको आरोपसमेत लागेको थियो।

गएको वैशाखमा भएको स्थानीय निर्वाचनमा नेपालमा पनि प्रचारप्रसारका लागि सामाजिक सञ्जालको प्रयोग धेरै भयो। त्यसमा सबैभन्दा अगाडि बालेन शाह नै भएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरू बताउँछन्।

निर्वाचनताका काठमाडौँ महानगर प्रमुखको उम्मेदवार भएका बालेन शाहको एउटा भनाइ चर्चामा थियो, “म ९० हजार ८३५ मत ल्याएर जित्छु।” उनले हिमालयन, प्राइमलगायत टीभीमा त्यति मत ल्याएर जित्ने दाबी गरेको भिडियो सामाजिक सञ्जालमा 'भाइरल' भएको थियो। उनको यो दाबी खासगरी टिकटकमा भाइरल भयो।

काठमाडौँ महानगर प्रमुखमा उम्मेदवार बन्ने घोषणा गरेपछि नै शाहले सामाजिक सञ्जालबाट प्रचार थालेका थिए। र्‍यापरसमेत रहेका उनी पेशाले इन्जिनियर हुन्। युवापुस्तामा चिनिएका उनलाई प्रौढ पुस्तका धेरैले सुनेका थिएनन्। तर, सामाजिक सञ्जालको प्रयोगबाट उनी चिनिने मात्र होइन जित्नेसम्मको माहोल बनाए।

सामाजिक सञ्जालमा शाहलाई पछ्याइरहनेमध्येका एक जना ईरज पौडेल शाहले प्रविधिमार्फत मतदातासम्म पुगेर प्रभावित गरेको बताउँछन्। “बालेन अरू उम्मेदवारभन्दा यङ थिए। उनलाई सामाजिक सञ्जालको प्रभावबारे राम्रै ज्ञान भएको हुनुपर्छ र उनको समूहले पनि उनलाई राम्रै सहयोग गरेको थियो”, उनी भन्छन्। 

बालेनका लागि फेसबुकलगायत सामाजिक सञ्जालमा 'कन्टेन्ट क्रिएटर' गणेश कार्की थिए। "कार्कीले बालेनका लागि बनाएको कन्टेन्टले सामाजिक सञ्जालमा धेरैलाई प्रभावित गर्यो। अन्तत: त्यो मतपत्रमा देखियो”, पौडेल भन्छन्।

बालेनले सामाजिक सञ्जालमा पाएको वाहवाहीलाई शुरूमा त धेरैले गिज्जयाएका थिए। कतिले चाहिँ 'सामाजिक सञ्जाल र निर्वाचन जित्नुमा आकाश जमिनको फरक छ' भन्दै व्यंग्य गरेका थिए। तर, उनीहरूको अनुमानविपरीत शाह काठमाडौँको मेयरमा निर्वाचित भए।

सामाजिक सञ्जालमा देखिने समर्थन मतपत्रमा देखिन सजिलो नहुने राजनीतिक विश्लेषक तथा लेखक केशव दाहाल बताउँछन। “सामाजिक सञ्जालको समर्थनले एक किसिमको माहोल त बनाउँछ, मतदाता प्रभावित नगर्लान् पनि भन्न सकिन्न। तर सबै समर्थन मतपत्रमै देखापर्दैन”, उनी भन्छन्, “सामाजिक सञ्जालकै समर्थनको आधारमा हारजितको निर्क्योल गर्न सकिँदैन।”

त्यतिबेला चर्चित फेसबुक पेज ‘रूटिन अफ नेपाल बन्द’ ले पनि बालेनको चुनावी अभियानलाई सहयोग गरेको थियो। उक्त पेजले बालेनको पक्षमा हरेक दिन २-३ वटासम्म पोष्ट गर्दै आएको थियो। 

पछि पोखराको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले बालेन शाहले रूटिन अफ नेपाल बन्दलाई पैसा तिरेर चुनावी प्रचार गरेको दाबी गरेकी थिइन्। उनले भनेकी थिइन्, "म ओपन्ली त भन्न चाहन्नँ, तर रूटिन अफ नेपाल बन्द बालेनले कतिमा हायर गर्नुभयो?"

रूटिन अफ नेपाल बन्द पेजको झण्डै साठे ३५ लाख फलोअर्स छ। यो पेजको सञ्चालक भिक्टर पौडेल हुन्। 

युवामाझ लोक्रप्रिय ग्रुप ‘मेन्स रूम रिलोडेड’ (एमआरआर)ले पनि बालेनलाई मत दिन खुलेरै प्रचार गरेको थियो। त्यस्तै, टिकटकमा धेरै फलोअर्स भएका व्यक्तिहरूले पनि बालेनको प्रचारप्रसारमा सहयोग गरेका थिए। 

आगामी आइतबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि उम्मेदवारहरुले फेसबुक र ट्विटरको प्रयोग व्यापक गरे। टिकटकको प्रयोग भने केही उम्मेदवारले मात्र गरे। यस अवधिमा टिकटकमा सबैभन्दा बढी एमाले अध्यक्ष केपी शर्मा ओली देखिए। त्यस्तै, गगन थापा, रवि लामिछाने, सागर ढकाललगायत उम्मेदवारहरूको पक्षमा बनाइएका टिकटक पनि व्यापक देखिए। 

उम्मेदवारले सामाजिक सञ्जालको व्यापक प्रयोग गर्दा लाखौँ रुपैयाँ बाहिरिएको समाचार पनि आए। निर्वाचन क्षेत्रमा भन्दा उम्मेदवारले सामाजिक सञ्जालमा प्रचारप्रसारका लागि बढी खर्च गरेको अनुसन्धानकर्ता किरण चापागाईं बताउँछन्। अहिलेसम्म उम्मेदवारहरूले सामाजिक सञ्जाललाई प्रयोग गरेर ६ हजार ८०७ वटा राजनीतिक विज्ञापन गरिएको छ। फेसबुकले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रचारप्रसारमा ८८ हजार ९९६ डलर खर्च भएको छ।

धेरै नेपालीले सामाजिक सञ्जालमध्ये फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युब र टिकटक प्रयोग गर्छन्। सबैभन्दा बढी प्रयोगकर्ता फेसबुकमा छन्। नेपालमा इन्टरनेटको ६० प्रतिशत ब्यान्डविथ फेसबुक र टिकटक चलाउनमा खपत हुने गरेको छ। 

भित्ते लेखन, माइकिङ, सार्वजनिक सभामा आयोगले बन्देज लगाएपछि सामाजिक सञ्जाल दलहरुको प्रचार गर्ने सजिलो माध्यम भएको छ। तर, पुराना नेताबाट समृद्धिको यात्रा पूरा नहुने भन्दै 'सचेत समूह'का नाममा दलका कतिपय शीर्ष नेताविरुद्ध पनि सामाजिक सञ्जालको प्रयोग भएको छ। 

सामाजिक सञ्जालको सहयोगले उम्मेदवारहरूलाई पनि मतदातासमक्ष आफ्नो कुरा राख्न सहज भएको राजनीतिक विश्लेषक दाहाल बताउँछन। आफ्ना कुरा बढिभन्दा बढि मान्छेसम्म पुर्‍याउन सामाजिक सञ्जाल प्रभावकारी भएको उनको भनाइ छ। “सामाजिक सञ्जाललाई चुनावी प्रचारप्रसार गर्न कम खर्चिलो माध्यमको रूपमा लिइएको छ। यसले उम्मेदवारको अजेन्डा र व्यक्तित्व प्रदशर्नमा पनि सहयोग गरेको छ, यो यसको सकारात्मक पक्ष हो”, उनी भन्छन, “नकारात्मक पक्ष भने सामाजिक सञ्जाल त्यति गम्भीर छैन, किनभने यहाँका सूचना विश्वसनीय नहुन सक्छन्। तुरुन्तै विश्वास गरिहाल्ने अवस्था छैन।”  

अनिर्णित मतदाताहरूलाई प्रभावित गर्न सामाजिक सञ्जालले कुनै भूमिका नखेल्ने लेखक केदार शर्माको दाबी छ। उनी भन्छन्, “हरेक समर्थक मतदाता होइनन्, समर्थन गर्नेबित्तिकै मत नै आउने अनुमान गर्नु गलत हुनसक्छ। सामाजिक सञ्जालमा देखिने समर्थनबाट आफैँ दंग पर्न सकिन्छ, तर निर्वाचनमा त्यसको खासै अर्थ हुँदैन।”

यी हुन् सामाजिक सञ्जालका मुख्य ‘इन्फ्ल्युएन्सर’
‘नो, नट अगेन’ पछिल्लो समय शीर्ष नेताहरूविरुद्ध प्रचार गर्यो। ‘नो, नट अगेन’ क्याम्पेनका सञ्चालकले फेसबुक र ट्विटरमा विशेषगरी पूर्वप्रधानमन्त्रीहरूविरुद्ध अभियान चलाएको थियो।

निर्वाचन आयोगले आचारसंहिता विपरीतको कार्य भएकोले ‘नो, नट अगेन’ को प्रचार रोक्न र सो अभियानमा संलग्न व्यक्तिलाई साइबर कानून अन्तर्गत कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको थियो। तर सर्वोच्चमा रिट परेपछि ‘नो, नट अगेन’ अभियानलाई कारबाही नगर्न अन्तरिम आदेश दिएको थियो। ‘नो, नट अगेन’ को फेसबुक, ट्वीटर, इन्स्टाग्राम र टिकटक २५-३० वर्षका युवाहरूको समूहले चलाउँदै आएको एक सदस्य बताउँछन्। 

मतदाताको एउटा तप्कालाई ‘नो, नट अगेन’ अभियानले प्रभावित गर्न सक्ने विश्लेषक दाहाल बताउँछन्। दाहाल भन्छन्, “हरेक मतदाताको मनोविज्ञान एकैखालको हुँदैन। सबैलाई त प्रभावित नगर्ला, तर एउटा विद्रोही मानसिकता भएको मतदातालाई यसले प्रभाव पार्छ।” 

पूर्वसचिव भीम उपाध्यायको फेसबुक पेजमा झण्डै तीन लाख फलोअर्स छ। उनी दैनिक औसतमा १५ वटा पोष्ट गर्छन्। गत स्थानीय निर्वाचनमा उनले बालेनलगायत स्वतन्त्र उम्मेदवारहरुलाई खुलेरै समर्थन गरेका थिए। आसन्न निर्वाचनका लागि पनि उनले केही दलको विरोध र समर्थनमा प्रचार गरेका थिए। यद्यपि, उनी बारम्बार गलत सूचना सम्प्रेषण गरेर विवादमा आइरहन्छन्। 

अभिनेता तथा निर्देशक निश्चल बस्नेतको फेसबुक पेजमा पौने २ लाख फलोअर्स छ। उनले यसपटक केही स्वतन्त्र र केही दलका उम्मेदवारको पक्षमा मत मागे। 

संविधानविद् भीमार्जुन आचार्य, चिकित्सक रामेश कोइरालालगायत पनि यसपटकको आमनिर्वाचनमा इन्फ्ल्युएन्सरको भुमिकामा देखिए। आचार्यले ठूला दलका शीर्ष नेताविरुद्ध दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको थियो। आचार्य फेसबुक र ट्वीटर दुईटैमा सक्रिय छन् भने कोइराला ट्विटरमा सक्रिय छन्। 

फेसबुक पेजहरुमा एमआरआर पनि यो निर्वाचनमा सक्रिय भएर लागेको थियो। उक्त पेजले एक जना स्वतन्त्र उम्मेदवारको पक्षमा समर्थन गरेको थियो। पछिल्लो समय एमआरआरले ‘कम्युनिटी गाइडलाइन्स भोइलेन्स’ गरेको आरोपमा ग्रुप निस्क्रिय बनाइएको छ। एमआरआर गत वैशाखको स्थानीय चुनावमा काठमाडौंको मेयर पदका उम्मेदवार बालेनलाई जिताउन पनि सक्रिय भएको थियो। एमआरआरको एडमिन प्यानलमा सुजन श्रेष्ठल, ज्ञान मल्ल ठकुरीलगायत युवा छन्। एडमिन प्यानलका अधिकांश युवा विदेश बस्छन्।

मिम नेपाल, ट्रोल नेपाल, ट्रोल पोखरा र केम्यागजस्ता फेसबुक पेजले पनि कतिपय नेताको पक्ष र कतिपयको विपक्षमा प्रचार गरेका थिए। ती पेजहरूको समग्रमा झण्डै ३० लाख फलोअर्स छन्। युट्युबमा पनि सञ्जय सिलवाल, सिसन बानियाँ, सुशान्त प्रधानलगायतको पोडकाष्टले पनि राजनीतीक मुद्दामा भिडियो बनाएका थिए। उनीहरूले नयाँ र युवा उम्मेदवारहरूको अन्तर्वार्ता गरेका थिए। 

रिसर्च कम्पनी फ्याक्टस् नेपालको तथ्यांकअनुसार फेसबुकपछिको दोस्रो सबैभन्दा बढी चलाइने सामाजिक सञ्जाल टिकटक हो। स्थानीय तहको निर्वाचनमा पनि टिकटकले भूमिका खेलेको अनुसन्धानकर्ताहरू बताउँछन्।


सम्बन्धित सामग्री