कम जनसंख्या भएका हिमाली जिल्लाका मतदान केन्द्रमा खटिने कर्मचारीको संख्या मतदाताभन्दा आधा मात्रै कम छ।
काठमाडौँ– मुस्ताङको साङताङ गाउँमा १३ घरका ३५ मतदाता छन्। यो गाउँ वारगुङ मुक्तिक्षेत्र गाउँपालिका–५ मा पर्छ। यहाँका स्थानीयले हिमाली आधारभूत मतदान केन्द्रमा मत खसाल्छन्।
३५ मतदातालाई मतदान गराउन सुरक्षाकर्मीसहित १५ कर्मचारी खटिएका छन्। मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीका अनुसार थप तीन जना स्वयमसेवक पनि खटाइनेछ। ती कर्मचारी शुक्रबार नै गाउँ पुगिसकेका छन्। तर, मतदाता भने जोमसोममा बसेका छन्।
उक्त गाउँमा करिब सात महिना मात्र स्थानीय बस्छन्। बाँकी समय जाडो छल्न जोमसोम, पोखरालगायत ठाउँतिर झर्छन्।
वडाध्यक्ष सुरेन्द्र गुरुङका अनुसार अहिले गाउँमा स्थानीय छैनन्। जोमसोममा रहेका मतदाताले मतदान गर्नका लागि गाउँ जाने जानकारी गराएपछि सुरक्षाकर्मीसहित कर्मचारीको टोली त्यसतर्फ पठाइएको हो।
गाउँबाहिरका मतदातालाई राजनीतिक दलहरूले नै मतदानका लागि गाउँसम्म पुर्याउन सहयोग गर्ने भएपछि उनीहरु गाउँ फर्कन लागेका हुन्।
साङ्ता गाउँ जाने बाटोमा अहिले बाक्लो हिउँ जमेको छ। त्यहाँ जान हिँडेको टोली अवरोध छिचोल्दै शुक्रबार मात्र हिमाली आधारभूत मतदान केन्द्र पुगेको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए। सडकमा थुप्रिएको हिउँका कारण सो टोली बिहीबार मतदान केन्द्र पुग्न नसकेको उनले बताए।

“सडकमा हिउँ थुप्रिएपछि टोली हिजो जान सकेन। आज प्रमुख जिल्ला अधिकारी र वडाध्यक्षसहित सुरक्षाकर्मी तथा कर्मचारीको टोली त्यसतर्फ गएको छ। हिउँ पन्छाएर टोली मतदान केन्द्रमा पुगेको जानकारी आएको छ”, ढकालले भने।
डोजरले हिउँ पन्छाएर सडक खुला गरिएको ढकालको भनाइ छ। हिमाली आधारभूत मतदान केन्द्र मुस्ताङ सदरमुकाम जोमसोमदेखि करिब ४५ किलोमिटर उत्तरपश्चिममा पर्छ।
मुस्ताङका मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीका अनुसार शुक्रबार बिहान ११ बजे सुरक्षाकर्मीसहित मतदान सामग्री लिएर गएको टोली मतदान केन्द्र पुगेको हो। जोमसोम–डोल्पा सडक खण्डमा पर्ने साङताङ गाउँ पुग्न चार हजार ५०० मीटरको उचाइ पार गर्नुपर्छ।
जोमसोमको सरदर तापक्रम दिउँसोको समयमा १३ देखि १६ डिग्रीसम्म छ। तर, रातिको तापक्रम माइनस ३ देखि ५ डिग्री सेन्टिग्रेड छ।
मुस्ताङको कुल मतदाता संख्या १० हजार ९५७ छ। मुस्ताङको सबैभन्दा कम मतदाता भने वारगुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को समर मतदान केन्द्रमा छन्। त्यहाँ ३४ जना मतदाता छन्।
अर्को हिमाली जिल्ला मनाङ सबैभन्दा कम मतदाता रहेको जिल्ला हो। मनाङमा ६ हजार ७७९ मतदाता छन्। मनाङको पनि नारभूमि गाउँपालिका कम मतदाता रहेको गाउँपालिका हो। त्यहाँ ४७१ मतदाता छन्। गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामाका अनुसार गाउँपालिकाको वडा नं. १, २ र ३ का लागि नारगाउँमा तथा वडा नं. ४ र ५ का लागि फू गाउँमा मतदान केन्द्र राखिएको छ।
त्यस्तै, गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकामा झण्डै एक साता हिँडेर मतदान अधिकृतसहितका कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्र पुगेका छन्। चुमनुब्री गाउँपालिका–१ को सामागाउँको साम्दो पुग्न सदरमुकामबाट झण्डै एक हप्ता लाग्ने गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए। विकट चुमनुब्री गाउँपालिकामा २२ वटा मतदान केन्द्र छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
