Monday, April 29, 2024

-->

बाबुराम रणनीति : छोरी जिताउन कार्यकर्ताको बेवास्ता, हारे नेसपा जिते माओवादी

आफूलाई साथ दिँदा राजनीतिक ‘करिअर’ नै सिध्याएका नेता कार्यकर्ता पन्छाएर छोरी जिताउने बाबुरामको चाहनाले भर्खर बन्दै गरेको पार्टी नै विघटनको संघारमा पुगेको छ।

बाबुराम रणनीति  छोरी जिताउन कार्यकर्ताको बेवास्ता हारे नेसपा जिते माओवादी
कांग्रेस नेता प्रकाशमान सिंहका लागि मत मागिदिँदै बाबुराम भट्टराई।

काठमाडौँ- नवगठित नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले गएको असोज १७ गते गोर्खाका जनतालाई सामाजिक सञ्जालमार्फत आगामी निर्वाचनमा आफू उम्मेदवार नहुने सन्देश दिए। राजनीतिमा त्याग गरेर नयाँलाई अवसर प्रदान गर्नुपर्ने पक्षमा वकालत गर्दै आएका भट्टराईको यो घोषणालाई धेरैले सकारात्मक रूपमा लिए। 

भट्टराईले सो क्षेत्रबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गर्ने घोषणा गरेका थिए। उनले उम्मेदवार नबन्ने घोषणा गरेको पाँच दिनपछि माओवादी केन्द्रको चुनाव चिह्न लिएर छोरी मानुषि यमि भट्टराई काठमाडौँ–७ बाट उम्मेदवार बन्ने निश्चित भयो। नेसपाले छुट्टै नभइ माओवादी केन्द्रको चिह्नमा केही क्षेत्रमा उम्मेदवार बनाउने भयो।

काठमाडौं–७ मा छोरी मानुषिको टिकट सत्ता गठबन्धनमा निश्चित गराएपछि उनी असोज २३ गते प्रचण्डको मनोनयन दर्ता गराउन गोरखा पुगे। त्यहाँ पुगेर उनले आजीवन कुर्सीमा बस्नुपर्ने नेतहरूको परम्परा तोड्न आफूले यसपटक उम्मेदवारी नदिएको बताए।

तर, बाबुरामको भनाइ र क्रियाकलापले उनकै कार्यकर्ता रुष्ट छन्। छोरी मानुषिको सट्टा माओवादी युद्धदेखि नै उनलाई सहयोग गर्दै आएका अन्य कोही नेतालाई उम्मेदवार बनाएको भए उनी सही ठहरिने अध्येता यादव देवकोटा बताउँछन्। माओवादीमै रहेर लामो समय काम गरेका देवकोटा भन्छन्, “जानाजान बाबुरामले जनताको आँखामा छारो हालिरहेका छन्। उनलाई साथ दिएवापत राजनीति सिध्याउन तयार भएका नेता–कार्यकर्ता कति जना थिए? यी सबैलाई छाडेर छोरीलाई सांसद बनाउन आफूले गोरखामा प्रचण्डलाई छाडिदिएका हुन्। उनको प्राथमिकतामा अन्य नेता परेको भए त्याग भन्न सकिन्थ्यो।” 

युद्धकालीन समयदेखि नै तत्कालीन नेकपा माओवादीभित्र बाबुरामलाई आदर्श मान्ने कार्यकर्ताको ठूलो पंक्ति थियो। पार्टीभित्रको अन्तरसंघर्षमा बाबुरामलाई साथ दिए वापत तत्कालीन माओवादीमा यातनासमेत पाए। त्यसमध्येका दुई जना हुन् देवेन्द्र पराजुली र उनकी श्रीमती कल्पना धमला। 

२०७२ सालमा बाबुराम माओवादीबाट अलग हुँदा उनीहरूले पनि साथ दिएका थिए। तर, करिब तीन वर्षअघि उनीहरू तत्कालीन नेकपामा फर्किए। योगदानका हिसाबले पराजुलीभन्दा कनिष्ट नेताहरूले पटकपटक अवसर पाउँदा पराजुली अवसरबाट बञ्चित छन्। यसको एउटै कारण हो, बाबुरामलाई साथ दिएको इतिहास। 

तत्कालीन माओवादीदेखि नै बाबुरामलाई साथ दिँदै आएका गोर्खाका भक्ति लामिछाने, महेन्द्र श्रेष्ठ, यानप्रसाद भट्ट, पोखराका किरण थापालगायत छन्। यीमध्ये थापा नेपाल समाजवादी पार्टी गण्डकी प्रदेश अध्यक्ष छन्। तर, पाँचदलीय गठबन्धनमा समावेश भएर माओवादी केन्द्रको चिह्नबाट उम्मेदवार बन्ने पार्टी निर्णयको उनले विरोध गरिरहेका छन्।

बाबुरामलाई साथ दिनेहरू छोरीलाई उम्मेदवार बनाएको विषयलाई खुलेर आलोचना गर्दैनन्, माओवादी केन्द्रको चिह्नबाट पार्टी उम्मेदवार बन्ने कदमको भने विरोध गर्छन्। २०५३ सालदेखि माओवादीमा लागेर तत्कालीन ‘जनसेना’ बटालियन कमान्डर पनि भएका थापा पार्टी निर्णयबारे आफ्नो असहमति बाबुरामलाई सुनाइसकेको बताउँछन्। “चुनावपछाडिको बैठकमा सबै विषयमा गम्भीर ढंगले छलफल हुनेछ”, थापा भन्छन्, “बाबुरामले पछिल्लो समयमा जुन राजनीति स्प्रिट लिनुभएको छ, यो गलत छ।” 

तर, चुनावअघि नै नेसपाभित्र बिग्रह शुरू भइसकेको छ। गण्डकी प्रदेशमा नेसपाका हरिशरण आचार्य उर्जामन्त्री थिए। तर, गोरखा–२ प्रचण्डलाई छाडेको र प्रदेशसभा (क) मा आफूलाई उम्मेदवारी नदिएको विषयमा उनी बाबुरामसँग रुष्ट भए। उनले प्रदेशसभामा बागी उम्मेदवारी दिएर पछि बाबुरामकै दबाबमा फिर्ता लिए। उनी प्रचण्डविरुद्ध लागेको आरोप लागेपछि माओवादी केन्द्र र नेसपाको दबाबमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मन्त्रीबाट बर्खास्त नै गरे। अब आफूले बाबुरामलाई साथ दिन नसक्ने आचार्यले सार्वजनिक रूपमै बताइसकेका छन्।

बाबुरामलाई निरन्तर रुपमा साथ दिने अर्का नेता हुन्, सिन्धुलीका गंगा श्रेष्ठ। माओवादीमा श्रेष्ठसँगै काम गरेका उनका समकालीनहरूले पटकपटक अवसर प्राप्त गर्दा अहिले उनी राजनीतिक दृश्यमा कतै पनि देखिन सकेका छैनन्।

बाबुरामलाई साथ दिएका नेता कार्यकर्तामा चरम निरासा रहेको अध्येता देवकोटा बताउँछन्। त्यसको उदाहरण हुन् गोर्खाका भक्ति लामिछाने। २०३५ सालमा नेकपा चौथो महाधिवेशनबाट राजनीतिमा लागेका उनले २०७० सालसम्म बाबुरामलाई साथ दिएका थिए। पार्टीमा ‘बाबुरामको मानिस’ भन्दै २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक सूचीमा नाम नराखेपछि पार्टी छोडेको लामिछाने बताउँछन्। “योगदानको मूल्यांकनको विषयमा तराजु कोल्टे प¥यो। विगतमा उठाइएका मुद्दाहरूलाई सम्बोधन गर्नेभन्दा पनि सत्ता स्वार्थ प्रधान बनेर गयो”, उनी भन्छन्, “पार्टी मूल नेतृत्वको निजी कम्पनीजस्तो बन्दै गयो। 

स्वार्थको गठजोड 
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड यो निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने बताइरहेका छन्। चितवनमा जिल्लाका कतिपय नेता–कार्यकर्ताको एमाले प्रवेश, आन्तरिक किचलो र कांग्रेसको साथ नपाउने बुझेपछि उनी गोरखा गएको चितवनको एक नेता बताउँछन्। 

अध्येता देवकोटाका अनुसार गोरखा–२ मा बाबुराम पक्ष र माओवादी मतकै आधारमा पनि प्रचण्डको जित सुनिश्चितजस्तै थियो। त्यसमा कांग्रेस पनि थपिएपछि प्रचण्ड ढुक्क छन्। 

बाबुराम भने राजनीतिमा छोरी मानुषिलाई स्थापित गराउने योजनामा थिए। त्यसैले फरक स्वार्थ भए पनि मिलेर पूरा गर्न सकिने भएपछि बाबुराम र प्रचण्डको फेरि गठजोड भएको देवकोटा बताउँछन्। “गोर्खामा बाबुराम आफूले जित्न मुस्किल थियो। तर, हराउने र जिताउने ल्याकत राख्न सक्छन्”, देवकोटा भन्छन्, “उनको आफ्नो राजनीति त अब सकियो। कसैगरी छोरीलाई स्थापित गराउन सकिन्छ कि भनेर प्रयास गरेका हुन्।” 

बाबुरामले २०७४ सालको निर्वाचनमा आफू विजयी हुन गोरखामा मात्र कांग्रेससँग तालमेल गरेका थिए। यस पटकको निर्वाचनमा माओवादी चिह्नमा आफ्नो दललाई चुनाव लडाउनु र गोरखामा जित्ने सुनिश्चित नभएपछि आफू उम्मेदवार नै नबन्नु बाबुरामको राजनीति सकिनु भएको देवकोटाको विश्लेषण छ। 

दल चाहार्दै फेरि माओवादीमा!
२०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि बाबुरामले असोज ९ गते बाबुरामले माओवादी त्यागेका थिए। त्यतिबेला बानेश्वरको एक ‘ब्याङ्क्वेट’मा पत्रकार सम्मेलन गर्दै उनले भनेका थिए, “देशलाई नयाँ विचार, सोँच र उद्देश्यका साथ तीव्र आर्थिक विकासको दिशामा अघि बढाउन पुरानो पार्टीबाट सम्भव नभएर म नयाँ सोँच र विचारका साथ अघि बढ्ने योजनाका साथ माओवादीबाट अलग भएँ।”

त्यतिबेला उनको योजना पत्याउने र उनलाई साथ दिने ठूलो बौद्धिक जमात थियो। उनले तामझामका साथ २०७३ सालमा नयाँ शक्ति पार्टीको घोषणा गरे। यहाँसम्म पनि उनीप्रति आकर्षण थियो। तर, नयाँ सोँच र विचारले देश हाँक्ने प्रण गरेर माओवादीबाट अलग भएका उनले पार्टीसमेत चलाउन नसकेको देवकोटा बताउँछन्।

२०७२ सालमा माओवादीबाट अलग भएर नयाँ शक्ति पार्टी गठन गरेका उनले पाँच वर्षको अवधिमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र राजपासहितका मधेशवादी दलसँग एकता गरेर जनता समाजवादी पार्टी बनाए। त्यहाँ पनि उनी टिक्न सकेनन्। केही महिनाअघि मात्र जसपाबाट छुट्टिएर नेसपा बनाए। नेसपालाई पनि माओवादीमा मिलाउने तयारी गरिरहेको उनी निकट नेता बताउँछन्।

गोर्खाका भक्ति लामिछाने बाबुरामसँग कार्यकर्ताको व्यवस्थापन र जनसंगठन परिचालनको ज्ञान नभएको बताउँछन्। “बाबुराम दाइ वरिष्ठ इन्जिनियर हो। प्राविधिक विषयमा उहाँलाई धेरै ज्ञान छ। राष्ट्रिय खालका योजना बनाउन उहाँ जान्नुहुन्छ,” उनी भन्छन् “तर, पार्टीभित्र कार्यकर्ताको व्यवस्थापन, जनसंगठन कसरी परिचालन गर्ने जस्ता विषयमा उहाँको सीप थोरै छ।”

बाबुरामको पार्टी : जिते पनि संसद्‍‍मा हुँदैन
उपेन्द्र यादवसँग विवाद भएपछि जसपा छाडेका बाबुराम भट्टराईले गएको साउनमा नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेका थिए। यसको तयारी भने २०७८ फागुनदेखि नै भएको थियो। निर्वाचन आयोगले उक्त दललाई चुनाव चिह्न आँखा दिएको थियो। यो चिह्न बाबुराम नेतृत्वको तत्कालीन नयाँ शक्तिको थियो।

जसपासँग विवाद उत्कर्षतिर पुग्दा गएको फागुन ५ गते भट्टराई निकटका दीपक लामिछानेले आफ्नै अध्यक्षतामा समावेशी लोकतान्त्रिक पार्टी गठन गरेका थिए। गएको असार अन्तिम साता भट्टराईले आफू निकट केन्द्रीय समितिको विस्तारित बैठक बोलाएर पार्टी पुनर्गठन गर्ने निर्णय गरेका थिए। त्यसको भोलिपल्ट वीरगन्जमा बसेको जसपाको केन्द्रीय कार्यसमिति बैठकले भट्टराईसहितका नेतालाई निष्कासन गरेको थियो।

त्यसको केही समयपछि समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेसपा राख्न निर्वाचन आयोगमा निवेदन दिएको थियो। नेसपाको अध्यक्षमा बाबुराम र महेन्द्र राय यादव तथा सह–अध्यक्ष गंगानारायण श्रेष्ठ छन्। मानुषि यमि केन्द्रीय सदस्य छिन्।

नयाँ पार्टी गठन गरेका बाबुरामले निर्वाचनमा भने एक्लै जाने हिम्मत गरेनन्। सत्ता गठबन्धनमा पनि उनी माओवादी केन्द्रमार्फत प्रवेश गरेका छन्। नेसपालाई प्रतिनिधिसभाका लागि माओवादी केन्द्रले दुई सिट दिएको छ। यी दुई सिट गठबन्धनले दिएको नभइ माओवादी केन्द्रले आफ्नो भागबाट दिएको हो। तीमध्ये काठमाडौँ–७ मा मानुषि र सर्लाही–२ बाट अर्का अध्यक्ष यादव उम्मेदवार भएका छन्। समानुपातिकमा माओवादी केन्द्रले नेसपाका पाँच जनालाई सूचीमा राखिदिएको छ।

निर्वाचनमा नेसपाका उम्मेदवार विजयी भए पनि उनीहरू माओवादी केन्द्रका सांसद् हुनेछन्। त्यसकारण चुनाव जित्दा पनि संसद्मा नेसपाले प्रवेश पाउने छैन। चुनाव हारे नेसपाकै नेता रहिरहनेछन् भने जिते भने औपचारिक रूपमै माओवादी केन्द्रका सांसद् हुनेछन्।


सम्बन्धित सामग्री