Friday, April 26, 2024

-->

चितवन–१ : ठूला दलमा आन्तरिक किचलो, असन्तुष्टलाई तान्दै स्वतन्त्र पार्टी

आन्तरिक किचलोका कारण चितवन–१ मा एमाले उम्मेदवार सुरेन्द्र पाण्डे र कांग्रेस उम्मेदवार विश्व पौडेलले कार्यकर्ता परिचालन गर्न नसक्दा स्वतन्त्र पार्टीले भने आक्रामक चुनावी प्रचार गरिरहेको छ।

चितवन–१  ठूला दलमा आन्तरिक किचलो असन्तुष्टलाई तान्दै स्वतन्त्र पार्टी

चितवन– गएको १९ कात्तिकमा चितवन क्षेत्र नं. १ अन्तर्गत खैरहनी नगरपालिकाको वडा नं. ८, ७ र २ मा एमालेको वडास्तरीय घरदैलो कार्यक्रम थियो। एमालेको प्रभाव रहेको ती वडामा औँलामा गन्न सकिने कार्यकर्ता मात्र उपस्थित थिए। जबकि, विगतका निर्वाचनमा जुलुसजस्तै हुन्थ्यो। 

यस्तो अवस्था खैरहनीमा मात्र होइन, रत्नगर नगरपालिका–८ मा पनि देखियो। खैरहनीको कार्यक्रममा सहभागी एक एमाले कार्यकर्ताका अनुसार घरदैलोमा पार्टी कमिटीका सबै सदस्य सक्रिय भएका छैनन्। “सयौँको जुलुस हुनुपर्ने हो, तर दुई चार जना मात्र निस्कन्छन्। घर दैलोमा पनि लाज भयो”, आफ्नो नाम उल्लेख नगर्ने ती एमाले कार्यकर्ता भन्छन्, “वार्ड कमिटीका सदस्यसमेत घरदैलोमा हिँड्दैनन्।”

यस्तो अवस्था नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनमा पनि छ। घरदैलोमा कांग्रेस कार्यकर्ताको उत्साहजनक उपस्थिति छैन। खैरहनी र रत्ननगरमा कात्तिक १९ र २० गते भएको कांग्रेसको घरदैलो कार्यक्रममा कार्यकर्ताको उपस्थिति न्यून थियो। कांग्रेस चितवन सभापति राजेश्वर खनाल धेरैजसो कार्यकर्ता कृषिमा व्यस्त भएका कारण सहभागी हुन नपाएको बताउँछन्। 

“मानिसहरु काममा व्यस्त भएका कारण चुनावी अभियानमा नदेखिएका हुन्”, उनी भन्छन्, “एक दुई कार्यक्रममा मानिसहरू नदेखिँदैमा दलको कार्यक्रममा उपस्थिति छैन भन्ने होइन।”

एमालेमा स्थानीय निर्वाचनदेखि नै किचलो
एमाले रत्नगर कमिटी अध्यक्ष इश्वरी अर्याल आफ्नो कुनै जिम्मेवारी नभएको कार्यकर्तालाई बताउने गरेका छन्। जबकि, चुनावी योजना निर्माण, कार्वान्यन र पार्टी पंक्ति परिचालन गर्ने जिम्मेवारी नगर कमिटी अध्यक्षको हैसियतमा अर्यालको नै हो। उनी भने निस्क्रिय बसेका छन्। 

उनीजस्तै अन्य कतिपय कार्यकर्ता पनि निस्क्रिय बसेको पार्टी सदस्यहरू नै बताउँछन्। सुरेन्द्र पाण्डेको प्रचार अभियानमा सम्पूर्ण पार्टीपंक्ति नदेखिनुमा मुख्य तीन कारण भएको एक नेताले बताए। पहिलो, केपी ओलीले गरेको संसद विघठनविरुद्ध पाण्डेले सर्वोच्च अदालतमा गएर गरेको हस्ताक्षर। जसलाई ओली निकट मानिने कार्यकर्ताले अहिलेसम्म पनि सहज रूपमा लिन सकिरहेका छैनन्। 

दोस्रो, गत स्थानीय निर्वाचनमा पाण्डे निकटका कार्यकर्ताले पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको ओली निकट कार्यकर्ताको आरोप छ। जस्तो, राप्ती नगरपालिका जिल्लामै एमालेको पकड भएको पालिका मानिन्थ्यो। त्यहाँ पूर्वउपप्रमुख इमानसिंह लामा प्रमुखका दाबेदार थिए, कार्यकर्ताको चाहना पनि त्यही थियो। तर, एमालेले केन्द्रबाटै हस्तक्षेप गरेर गोविन्द कँडेललाई टिकट दियो। उनी पराजित भए। लामाको असहयोगका कारण पराजित भएको कँडेल पक्षको बुझाइ छ। लामा सुरेन्द्र पाण्डे निकट मानिन्छन्।

तर, प्रमुखमा पराजित कँडेल विगतमा पार्टीभित्र केही असमझदारी र अन्तरविरोध रहे पनि त्यसको समाधान भएको र आफूहरू पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन एकजुट भएर लागेको बताउँछन्। “हामी पार्टीका आधिकारिक उम्मेदवार सुरेन्द्र पाण्डेसहितको टीमलाई जिताउन गुटुङटुङ हिँडेका छौँ, हामीले चुनाव जित्छौँ”, कँडेलले भने।

गएको स्थानीय तह निर्वाचनमा एमालेभित्रको विवाद चितवनको रत्ननगरमा पनि थियो। रत्ननगरको प्रमुखमा गोपाल कर्माचार्य र नारायण वन आकांक्षी थिए। तर, ओली निकट विमला दवाडीलाई प्रमुख र यादव पाठकलाई उपप्रमुखमा अघि सार्दा एमालेले प्रमुख गुमायो। उपप्रमुख जितेर प्रमुखमा पराजित हुनुको कारण पार्टीभित्रकै असहयोग भएको भन्दै एक पक्ष असन्तुष्ट भएको थियो। 

त्यसैगरी रत्ननगर–९ को वडाध्यक्षको टिकट पाउने आश्वासन पाएपछि विरंङ्गना सापकोटाले तयारी पनि गरिन्। तर, अन्तिम समयमा उनलाई टिकट दिइएन। पार्टीले टिकट नदिएपछि उनले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिइन्। २३ सयभन्दा बढी मत पाइन्। स्वतन्त्र उम्मेदवारी दिएपछि कारबाहीमा परेकी उनको अहिलेसम्म कारबाही फुकुवा भएको छैन। तर, आफूले एमाले उम्मेदवार सुरेन्द्र पाण्डेलाई समर्थन गर्ने उनले घोषणा गरेकी छन्। 

तेस्रो, पाण्डे निकटका कार्यकर्ता नेकपा एकिकृत समाजवादीमा प्रवेश गर्नु। यो क्षेत्रमा विगतमा पाण्डे निकट रहेका कृष्ण खनालसहितका ठूलो कार्यकर्ताको पंक्ति अहिले एकीकृत समाजवादीमा छ। उनीहरूले कांग्रेस उम्मेदवार विश्व पौडेललाई सहयोग गरिरहेका छन्।

पौडलमाथि ‘टुरिष्ट’ भएको आरोप
कांग्रेसबाट उम्मेदवार भएका विश्व पौडेललाई कांग्रेसकै कार्यकर्ताले स्वीकार गर्न सकेका छैनन्। उनीमाथि ‘टुरिष्ट उम्मेदवार’ को आरोप लागिरहेको छ। 

पौडेललाई टिकट दिएपछि असन्तुष्टि जनाउँदै कांग्रेस नेता राजेन्द्र बुर्लाकोटीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए। तर, पार्टी केन्द्रको दबाबपछि उनले उम्मेदवारी फिर्ता लिएका थिए। तर, विगतमा बुर्लाकोटीको पक्षमा लागेका कांग्रेस कार्यकर्ता पौडेलको चुनावी अभियानमा देखिएका छैनन्। बुर्लाकोटी २०७४ सालको निर्वाचनमा एमालेका सुरेन्द्र पाण्डेसँग पराजित भएका थिए।

स्थानीय तह निर्वाचनमा भएको टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै खैरहनी नगर समितिका पूर्वसचिव टिकादत्त इटनीसहित २३० जना अगुवा कार्यकर्ताले पार्टी परित्याग गरेका छन्। महाधिवेशन प्रतिनिधि तथा वडा समितिका पदाधिकारी तहका कार्यकर्ताको विद्रोहले कांग्रेसको चुनाव चिह्न रुखमा जाने मतको ठूलो संख्या आफूहरूले समर्थन गरेको उम्मेदवारलाई जाने इटनीको दाबी छ।

यो समूहले प्रदेश (ख) तर्फ राममणि न्यौपानेलाई स्वतन्त्र उम्मेदवार बनाएको छ भने प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाललाई सहयोग गर्ने घोषणा गरेको छ। “हाम्रो सम्पर्कमा आएका र अहिलेसम्मको अभियानमा सहभागीको संख्या हेर्दा चार हजार कांग्रेसको मत हाम्रो अभियानले पाउँदैछ,” इटनी भन्छन्।

आफूहरूले देशमा बढेको महँगी र भ्रष्टाचारविरुद्ध विद्रोह गरेका कारण रवि लामिछानेको दललाई सहयोग गरेको उनले बताए। “रपि लामिछाने राम्रो भएर र उनले राम्रो काम गरेरसमर्थन गर्न लागेका होइनौं, महँगी, भ्रष्टचार र कुशासनविरुद्ध हामीले शान्तिपूर्ण विद्रोह गरेका हौँ”, इटनी भन्छन्, “विश्वलाई हाम्रो प्रश्न छ, तपाईं प्रधानमन्त्रीमा गगनलाई सहयोग गर्ने कि, शेरबहादुर देउवालाई?उहाँले त्यसको जवाफ दिन सकिरहनुभएको छैन।” 

स्वतन्त्र पार्टी कति बलियो?
चितवनमा स्वतन्त्र पार्टीप्रति देखिएको आकर्षण एमाले र कांग्रेससँग त्रिपक्षीय प्रतिस्पर्धा हुने धेरैको आकलन छ। तर, कांग्रेसका एक नेता भने दुवै दलमा देखिएको अन्तरकलहले स्वतन्त्र पार्टीलाई फाइदा पुगे पनि प्रतिस्पर्धामा भने आउन नसक्ने दाबी गर्छन्। 

यद्यपि, जितबारे तिन वटै पार्टी ढुक्क छैनन्। अनौपचारिक कुराकानीका क्रममा एमाले र कांग्रेसका जिल्ला तहका नेता यसपटक चुनाव जित्न गाह्रो रहेको बताउन थालेका छन्। स्वतन्त्र पार्टीका कार्यकर्ता भने अहिले नै माहोल नबनिसकेको, तर चुनाव नजिकिँदै जाँदा ठूला दलहरूप्रतिको वितृष्णाले जित हासिल हुनसक्ने बताउँछन्।

कांग्रेस चितवनका एक पदाधिकारी विश्व पौडेलको उम्मेदवारीका कारण कांग्रेसमा अन्तरविरोध हुँदा एमाले र स्वतन्त्र पार्टीलाई फाइदा पुग्ने बताउँछन्। “स्वर्णिम वाग्लेलाई टिकट दिएको भए उहाँको जित कन्फर्म नै थियो। तर, विश्वको उम्मेदवारीलाई सबै कार्यकर्ताले सहज मान्न सकेका छैनन्”, ती पदाधिकारी भन्छन् “एमालेको संगठन पनि बलियो छ। पाण्डे पूर्व अर्थमन्त्री र पार्टीको माथिल्लो निकायमा भएका कारण विश्वजीलाई भन्दा उहाँलाई सहज छ।”

यस्तै अवस्था एमालेभित्र पनि छ। एमाले चितवन जिल्ला कमिटिका एक सदस्यले अनौपचारिक कुराकानीमा पार्टीभित्रको अन्तरविरोध र सत्ता गठबन्धनका कारण एमालेका लागि चुनौती भएको बताए। “हामीले प्रयास त गरेका छौँ। तर, हामीभित्रको समस्याले पनि नतिजा कांग्रेसको पक्षमा जाने सम्भावना छ।” स्वतन्त्र पार्टीले केही मत पाए पनि जित्न भने नसक्ने कांग्रेस र एमालेका जिल्ला नेताहरूको विश्लेषण छ।

कांग्रेस र एमालेले स्वतन्त्र पार्टीलाई प्रतिस्पर्धी नठाने पनि यो क्षेत्रमा उक्त पार्टीबाट उम्मेदवार बनेका ढकालको चर्चा भने छ। एमाले र कांग्रेसका असन्तुष्ट कार्यकर्ता नै यसपटक फरक पार्टीलाई भोट दिनुपर्ने बताउने गरेका छन्। त्यसैले स्वतन्त्र पार्टीको पक्षमा माहोल बन्दै गएको केही मतदाताले बताए।


सम्बन्धित सामग्री