काठमाडौँ– मच्छिन्द्रबहालस्थित बुंगमती मन्दिर परिसरमा मंसिर २६ गते बिहान मानिसहरूको चहलपहल बाक्लिएको थियो। चहलपहलको कारण थियो, रातो मत्स्येन्द्रनाथको शृंगार। उनलाई सिँगार्न पाटनदेखि गम्भिर नेकु आएका थिए। मत्स्येन्द्रनाथलाई सिँगार्ने नेकु परिवारको पुर्ख्यौली पेसा हो।
मत्स्येन्द्रनाथलाई मन्दिरको दक्षिणतर्फ फर्काएर पुनः रङरोगन गरिन्छ। सबैभन्दा पहिले म्हैपी मन्दिरको माटोले उनको अनुहार पोतिन्छ। त्यसमाथि रातो रङ लगाएर आँखा, नाक, टीका आदि बनाउन गम्भिर नेकु तल्लीन थिए। मत्स्येन्द्रनाथलाई एक स्थानबाट अर्को स्थानमा लैजानुअघि अनिवार्यरूपमा सिँगार्नु पर्छ।
गत साउन २० गते भोटो जात्रापछि मत्स्येन्द्रनाथलाई बुंगमती पुर्याइएको थियो। त्यसको ६ महिनापछि (यसपटक मंसिर २९ गते) पुनः पाटन तःबहास्थित मन्दिर लगिँदैछ। यो विधि हेर्न मन्दिर परिसरका स्थानीय मात्र नभई पाटनबासीसमेत आइपुग्छन्। देवतामाथि गरिने रङरोगन र गुल्जार माहोलको फोटो खिच्ने र अभिलेख राख्ने काम पाटनका सुप्रिन्स शाक्यले गर्छन्।
मच्छिन्द्रबहालका स्थानीय भीमरत्न शाक्य भने एकसाथ हर्ष र दुःखको अवस्थामा छन्। ६ महिना बुंगमती बसेका मत्स्येन्द्रनाथलाई पाटन लैजान थालिएको उत्सवले उनी खुशी छन्। अब जात्रा नसकिएसम्म ६ महिना मत्स्येन्द्रनाथको भौतिक उपस्थिति बुंगमतीमा नहुने विषयले उनलाई नरमाइलो पनि लागिरहेको छ।
“ल्याउँदा जति खुशी र हर्षका साथ ल्याइन्छ, फर्काउँदा नमज्जा लाग्छ,” उनी भन्छन्, “जस्तो कि, घरमा छोरीको बिहे हुँदा दिनभर व्यस्तता मोजमस्ती, भोज हुन्छ। बेलुका बिदा गर्ने बेला नमज्जा लाग्छ। घर रित्तो लाग्छ। हो, योबेला त्यस्तै महसुस हुन्छ हामीलाई।”
मत्स्येन्द्रनाथलाई पाटनबाट बुंगमती फर्काउँदा राति छ्वाली बालेर रमाइलो गरेको सम्झन्छन् उनी। तर पाटन फर्काउने क्रममा भने बत्ती बालेर, सामान्य बाजागाजासहित पानेजु (पुजारी)ले खटमा बोकेर लैजान्छन्। मत्स्येन्द्रनाथलाई फर्काउँदा कतिपयको आँसु खस्ने उनी बताउँछन्।
मत्स्येन्द्रनाथ बुंगमतीमा हुँदा दर्शनका लागि टाढाटाढाबाट आउने भक्तजनका कारण व्यापार पनि बढ्छ। मन्दिरमा बालिने बत्तीदेखि चिया र खाजाको व्यापार बढ्ने उनी बताउँछन्।
शाक्य मत्स्येन्द्रनाथको गुठीका ३२ पानेजुमध्येका एक हुन्। ३१ पानेजु बुंगमतीका शाक्य हुन्छन् भने मत्स्येन्द्रनाथ आफै थप एक पानेजु हुन्।
देवता फर्काउन चार दिन अघिबाटै उनी शुद्ध रहन्छन्। कपाल खैरिन्छन्। माछामासु खाँदैनन्। “हुन त बुगंमतिबासी देवता फर्काउन जानु हुँदैन भन्छन्। तर हामी पूजारी पर्यौँ। उहाँलाई खटमा बोकेर लैजानु पर्छ। विधिअनुसार पूजारीबाहेक अन्य बुंगमतीबासी देवता फर्काउन जाँदैनन्,” उनी भन्छन्।
बुंगमती र पाटनमा ६–६ महिना हुने बसाइका लागि पाटन दरबार क्षेत्रस्थित मणिमण्डप फल्चामा बसेर जोशीहरूले साइत हेर्छन्। बुंगमतीबाट रातो मत्स्येन्द्रनाथलाई पाटन ल्याउने र जावलाखेलमा भोटो देखाउने जात्राको साइत हेर्न जोशीहरू दुई पटक सोही फल्चामा बस्छन्।
तिथिमिति घटबढ हुँदा कहिले कता र कहिले कताको बसाइ लामो हुन्छ। अनुसन्धाकर्ता ऋषि अमात्यका अनुसार मत्स्येन्द्रनाथ एक मात्र यस्ता देवता हुन्, जसलाई दुई स्थानको मन्दिरमा राखिन्छ।
पाटनमा हुने प्रतीक्षा
पाटनको तबहाःकी मैयाँ शाक्य (४५) अहिले मस्त्येन्द्रनाथको प्रतीक्षामा छिन्। त्यहाँ पनि मत्स्येन्द्रनाथको मन्दिर छ। देवताको प्रवेशसँगै मन्दिर परिसरको माहोल बदलिने उनी बताउँछिन्।
“देवता आएपछि बिहान ३ बजेदेखि नामसंगिता पाठ हुन्छ। मानिसहरू पाठ गर्न आउँछन्। साढे ५ बजे ऐना देखाउने बेलासम्म ४–५ सय मानिस भइसक्छन्” उनी भन्छिन्।
देवता आएपछि पुसमाघको ठन्डी बिर्सिएर बिहानै भजनकीर्तन शुरू हुन्छ। अहिले भने मन्दिरको मुख्य ढोका नै बन्द छ।
६ महिनाअघिको मिति सजिलै सम्झन उनी मातातीर्थ औँसी याद गर्छिन्। मातातीर्थ औँसीको अर्को दिन मत्स्येन्द्रनाथलाई रथारोहण गराएसँगै जात्रा शुरू हुन्छ र तःबहाको मन्दिरमा ताल्चा लाग्छ।
बाल्यकालदेखि मत्स्येन्द्रनाथको कथा र किंवदन्ती सुन्दै आएकी उनी हरेक वर्ष जात्रा सकिएपछि बुंगमती पठाउँदा आँसु आउने बताउँछिन्। “अब उहाँ आउने बेला भयो। त्यो दिन हामी मन्दिरमा बत्ती बालेर स्वागत गर्छौं,” उनी भन्छिन्, “बुहारीलाई भित्र्याए जसरी नै मुख्य आसनमा डोर्याएर विराजमान गराइन्छ। यसलाई साँचा साँला क्याः भनिन्छ।”
देवता तबहाःमा आएसँगै पाटनमा आन्तरिक तथा विदेशी पर्यटकको उपस्थिति बाक्लिन्छ। व्यापार पनि बढ्छ।
मत्स्येन्द्रनाथको ‘घर’ र ‘माइत’
सुजालक्ष्मी शाक्य (५५) गत मंसिर २४ गते बिहानै बुंगमतीको मच्छिन्द्रबहालमा पूजाको थाली लिएर आएकी थिइन्। बुंगमती मत्स्येन्द्रनाथको माइतीसरह भएको उनी बताउँछिन्।
बुंगमती ल्याइएपछि बिहान ९ बजेको आरती उनको जिम्मामा हुन्छ। “हामीलाई त आफ्नै छोरी पठाएजस्तै हुन्छ। अब फेरि ६ महिनासम्म आरती गर्न पाइँदैन,” उनी भन्छिन्।
पाटनकी मैयाँ शाक्यलाई मत्यस्येन्द्रनाथ बुहारीजस्तो लाग्दा सुजालक्ष्मी बुंगमती माइतीजस्तो भएको बताउँछिन्। पाटन र बुंगमतीको सम्बन्धका विषयमा अनुसन्धानकर्ता ऋषि अमात्य लेखक जोन लकको पुस्तक ‘करुणामयः द कल्ट अफ अवलोकेश्वरा– मत्स्येन्द्रनाथ इन द भ्याली अफ नेपाल’ पुस्तकको वाक्यांश सम्झन्छन्।
जसमा लकले पाटनका स्थानीयलाई ‘बुंगद्य गन दुः’ अर्थात्, ‘रातो मत्स्येन्द्रनाथ कहाँ हुनुहुन्छ?’ भन्ने प्रश्नमा ‘थँछे’ भन्ने उत्तरको प्रसंग उल्लेख गर्छन्। नेपाल भाषामा ‘छेँ’ भनेको ‘बस्ने घर’ हो। ‘थँछे’ले ‘आफ्नो घर’ जनाउँछ।
यद्यपि, थँछे भनेर प्रायः विवाहित महिलाले आफू जन्मेको घरलाई जनाउने भाषाविद् कुमार कसजु श्रेष्ठ बताउँछन्। नेपाल भाषामा माइतीघरको ठेट शब्द नभए पनि महिलाको घरलाई मात्र थँछेको रूपमा प्रयोग हुन्छ। त्यसैले थँछेको अर्थ माइतीघरका रूपमा पनि बुझ्न सकिने उनको भनाइ छ।
मत्स्येन्द्रनाथ बुंगमतीमा कसरी रहन गए भन्ने प्रचलित किंवदन्ती छ। काठमाडौँ उपत्यकामा अनिकाल लाग्दा भक्तपुरका राजा नरेन्द्र देव, काठमाडौँका तान्त्रिक बन्धुदत्त र पाटनका किसान ललितरत्नले कामरुक्षबाट सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथलाई काठमाडौँ भित्र्याएका थिए। कामरुक्षबाट टीकाभैरवलगायत चार भैरवको सहारामा बोकेर ल्याइएको थियो।
अनसुन्धानकर्ता अमात्यका अनुसार, देवताको मूर्ति कुनै स्थानमा भूलबस खसे वा राखिए त्यहीँ मन्दिर बनाएर राख्नु पर्छ। चार भैरवले मत्स्येन्द्रनाथलाई ल्याउने क्रममा बुंगमतीमा बिसाएपछि त्यहाँ पनि मन्दिर बनाइएको किंवदन्ती छ।
रातो मत्स्येन्द्रनाथलाई बौद्ध धर्मालम्बीहरू ‘अवलोकेश्वर करुणामय’ पनि भन्छन्। ‘बुंगद्यः’ स्थानीयस्तरमा प्रचलित नाम हो। ‘बुंग’को अर्थ बुंगमती र ‘द्यः’ को अर्थ देवता हुनाले मत्स्येन्द्रनाथलाई ‘बुंगमतीको देवता’का रूपमा पनि मानिन्छ।
विभिन्न कृतिहरूमा मानिस देवताको घरआँगन नपुगिरहँदा जात्रापर्वको माध्यमबाट देवता नै मानिसकोे घरआँगन पुगेको व्याख्या छ। विभिन्न जात्रामा हुने नगर परिक्रमा यसको प्रतीक भएको अनुसन्धानकर्ता अमात्य बताउँछन्। “मत्स्येन्द्रनाथको बसाइसराइ नभई यात्रा हो। बसाइसराइ गर्दा स्थायी रूपमा नफर्कने गरी जाने बुझिन्छ,” उनी भन्छन्।
चाडपर्व र जीवनको सम्बन्ध
पाटन भित्रिएपछि मस्त्येन्द्रनाथको जात्रा शुरू हुनुअघि सांकेतिक रूपमा उनको जन्मदेखि मृत्युसम्मको कर्म गरिन्छ, जसलाई दशकर्म भनिन्छ। देवताले त जन्म र मृत्यु भोग्नु पर्छ भने मरणशील प्राणीले जन्म र मृत्यु जस्तो सत्यलाई स्वीकार गर्नु पर्ने सन्देश यसले दिने अमात्यको भनाइ छ।
मत्स्येन्द्रनाथको पाटनतर्फको यात्रालाई ‘उत्तरायन’ र बुंगमतीतर्फको यात्रालाई ‘दक्षिणायन’ भनिन्छ। संस्कृतिविद् ओम धौभडेलका अनुसार, सूर्यको ६–६ महिनामा हुने स्थान परिवर्तनलाई उत्तरायन र दक्षिणयन भनिन्छ। जेठबाट सूर्य दक्षिणायन र पुसमा उत्तरायण हुन्छ।
नेवारी संस्कृतिमा मानिने लुनार क्यालेन्डर (चन्द्रमाको गतिअनुसार)का आधारमा जेष्ठ शुल्क पूर्णिमाबाट रात लामो र दिन छोटो हुन्छ। त्यस्तै, योमरी पुन्हिबाट रात छोटो र दिन लामो हुन्छ। “यसलाई सूर्यको उत्तरायन र दक्षिणायन मान्ने गरिन्छ। पश्चिमी समाजमा यसलाई समर सेलेस्टिक र विन्टर सेलेस्टिकको रूपमा मान्ने गर्छन्,” उनी भन्छन्।
धौभडेल नेपाली चाडपर्वले सूर्य र चन्द्रमाको दिशा र गतिको सन्देश पनि दिने बताउँछन्। यस्ता चाडपर्व प्रकृतिमा हुने गरेका परिवर्तनका सूचक हुन्। ती सूचक नयाँ स्थानमा प्रवेश गर्दा पुर्खाले भोजभतेर, जात्रापर्व गरी मनाउने र स्वागत गर्ने गरेको हुनसक्ने उनी बताउँछन्।