Thursday, January 16, 2025

-->

कवितामा पोखिएका प्यालेस्टिनीका वेदना, अब कसले लेखिदेला?

अहिले जो जीवित छन्, उनीहरू पनि कवितामार्फत आवाज बुलन्द गर्न छाडेका छैनन्। प्यालेस्टिनीका पीडा बाँकी दुनियाँसम्म पुर्‍याउन, के चाहन्छन् प्यालेस्टिनी भनेर देखाउन कविहरू कलम चलाइरहेका छन्।

कवितामा पोखिएका प्यालेस्टिनीका वेदना अब कसले लेखिदेला
जोर्डनको शहर अम्मानको भित्तामा कोरिएको प्यालेस्टिनी कवि महमुद दर्विशको आँखाको चित्र/ तस्वीर: जुमा प्रेस

काठमाडौँ– “यदि मैले मर्नु नै छ भने, मेरो कथा सुनाउन तिमी बाँच्नुपर्छ,” प्यालेस्टिनी कवि डा.रेफत अलारिरले आफ्नो कविता ‘इफ आई मस्ट डाई’मा युद्धकै कारण आफ्नो मृत्युको कल्पना गरेको देखिन्छ।

बिडम्बना, गाजा युद्धमै उनको ज्यान गयो। अघिल्लो वर्ष डिसेम्बर ६ मा इजरायली बम आक्रमणमा परिवारका अन्य सदस्यसँगै ४४ वर्षीय अलारिरको पनि हत्या भयो।

सानैदेखि प्यालेस्टिनीको आवाज बनेर अधिकारको लागि लड्ने अठोट गरेका उनले आफ्ना बुवाको इच्छाविपरीत क्याम्पसमा अंग्रेजी भाषा पढे। त्यही भाषाको माध्यमबाट प्यालेस्टिनीका पुकारलाई लेखरचना र कवितामार्फत विश्वमा छरे।

“साहित्यले प्रश्न गर्न सिकाउँछ,” अंग्रेजी साहित्यका प्राध्यापकसमते रहेका उनी आफ्ना विद्यार्थीसँग भन्ने गर्थे, “मैले उत्तर दिने होइन, तिमीहरूमा प्रश्न गर्ने क्षमताको विकास गराउने हो।” 

आफ्ना विद्यार्थीलाई उनी देशप्रेम सिकाइरहन्थे। आफू पनि त्यही पथमा भएको बताउँथे। उनी भन्थे, “म गाजा छाड्दिनँ। मलाई इजरायली सिपाहीहरू पक्रिन आए भने तिनलाई कलमले हिर्काउनेछु।”

उनलाई लाग्थ्यो वर्षौंदेखि युद्धको भयमा बाँचिरहेका प्यालेस्टिनी एक दिन यी सबै संघर्ष र भयबाट मुक्त हुनेछन्, स्वतन्त्र हुनेछन्। तर त्यो अवस्था देख्नै नपाई अलारिर बम आक्रमणमा परे र ढले। एक पटक फेरि उनका कविता प्यालेस्टिनी अधिकारसम्बन्धी ब्यानरमा नारा बनेर लेखिए– ‘इफ आइ मस्ट डाई, यु मस्ट लिभ टु टेल माई स्टोरी।’

अमेरिकाको बोस्टनमा प्यालेस्टिनीको अधिकारका लागि आयोजित र्‍यालीमा प्रदर्शनकारी चंगामा कवि रेफात अलारेरको कविता लेख्दै। तस्वीर: रोयटर्स

गाजा युद्धमा हत्या गरिएका अलारिर एक्ला साहित्यकार होइनन्। युद्धको पहिलो दिनमै कवि–उपन्यासकार तथा सामाजिक अभियन्ता ओमर फारिस अबु शाविस गाजाको नुसेरात शरणार्थी शिविरमा गोलाबारीमा मारिए। धेरै युवा संघहरूको सहस्थापना गरेका ओमरले विभिन्न स्थानीय र अन्तर्राष्ट्रिय पुरस्कारहरू जितेका थिए। उनले जोर्डनमा राष्ट्रिय गीत र सम्पदाको अन्तर्राष्ट्रिय महोत्सवमा ‘उत्कृष्ट राष्ट्रिय गीत २००७’ पुरस्कार जितेका थिए।

गाजाबासीले भोगिरहेको दुर्दान्त पीडालाई ओमर भन्थे, “भत्किएको पर्खालमुनि होस् वा तिम्रो मासु च्यात्ने मिसाइलमुनि, तिमी केही क्षण वा घण्टापछि मर्नका लागि मात्र बाच्छौ।”

प्यालेस्टिनी साहित्य क्षेत्रकी चर्चित उपन्यासकार तथा कवि हिबा कमल अबु नादा दक्षिणी गाजामा भएको इजरायली हवाई आक्रमणमा परी अक्टोबर २० मा छोरासँगै मारिइन्। त्यसको केही दिनअघि एक्समा उनले आफ्नो अन्तिम कविता पोस्ट गरेकी थिइन्–
गाजाको रात
रकेटको चमकबाहेक अन्धकार छ
बमको आवाजबाहेक शान्त छ
प्रार्थनाको आरामबाहेक डरलाग्दो छ
शहीदहरूको उज्यालोबाट अलग कालो छ
शुभरात्रि गाजा।

अबु नादाको चर्चित उपन्यास हो ‘अक्सिजन इज नट फर द डेड’, जसले उनलाई अरब क्रिएटिभिटीको लागि शारजाह अवार्डमा दोस्रो स्थान दिलाएको थियो। प्यालेस्टिनी अधिकारका लागि लेखिरहने, बोलिरहने ३२ वर्षीया अबु नादा विद्रोही स्वभावकी थिइन्।

हिबा अबु नादा

यस युद्धको शुरूआतदेखि नै उनले सामाजिक सञ्जालमार्फत युद्धले निम्त्याएको त्रासदीको चित्रण गर्ने गरेकी थिइन्। गाजामा इजरायलको युद्धको तेस्रो दिन अक्टोबर ९ मा उनले लेखेकी थिइन्, “अघिल्ला सबै युद्धहरू यस युद्धमा फिक्का परेका छन्, उत्तरदेखि दक्षिणसम्म अनियमित र दुःखद् ढंगले गाजा आगोमा छ, सामूहिक नरसंहारको अवस्था र सबै चीजको मूर्खतापूर्ण हत्या भएको छ।”

प्यालेस्टिनीहरूको आवाज भनेर चिनिने कवि हुन् महमुद दर्विस। सन् २००८ मा उनको निधन भयो। प्यालेस्टिनी मानवशास्त्री र जेरुसेलमको अल कुड्स विश्वविद्यालयका सांस्कृतिक अध्ययनका व्याख्याता अली क्लेबो भन्छन्, “दर्विसले सुन्दर कवितामा प्यालेस्टिनीहरूको नाडी महसुस गरे। उनी प्यालेस्टिनी समाजको दर्पण थिए।”

दर्विस प्यालेस्टाइनमा मात्र नभएर इजरायलमा पनि त्यतिकै चर्चित र मान्य थिए। सन् २००० मा इजरायलका शिक्षामन्त्री योसी सारिदले इजरायली विद्यालय पाठ्यक्रममा दर्विसका केही कविताहरू समावेश गर्न सुझाव दिएका थिए। तर तत्कालीन प्रधानमन्त्रीले त्यो कुरा मानेनन्। 

दर्विसलाई प्यालेस्टाइनका राष्ट्रिय कवि पनि भनिन्छ। जब प्यालेस्टाइनभित्रै हमास–फताहको पनि युद्ध भइरहन्थ्यो, त्यही बेला उनले लेखका थिए–
युद्ध अन्त्य हुनेछ
नेताहरूले हात मिलाउनेछन्
बुढी नारी आफ्नो शहीद छोराको पर्खाइमा बस्नेछिन्
त्यो केटी आफ्नो प्यारो श्रीमानलाई पर्खने छ
र ती बच्चाहरूले आफ्नो वीर बुबालाई पर्खने छन्
मलाई थाहा छैन हाम्रो मातृभूमि कसले बेचे
तर यसको मूल्य कसले चुकाइरहेको छ, मैले देखेको छु।

दर्विसले त्यति बेला आफ्नो कवितामा भनेझैँ युद्ध अन्त्य भएको छैन। झन् भयानक स्वरूपमा नयाँ–नयाँ युद्ध भइरहेका छन्। जस्तो, इजरायल–हमास, इजरायल–हिजबुल्ला युद्ध। लेबनानको इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहसँग केही दिनअघि युद्धविराम भए पनि गाजामा इजरायलले निरन्तर आक्रमण गरिरहेको छ।

प्यालेस्टिनी सशस्त्र समूह हमाससँग इजरायलको युद्ध अहिले पनि जारी नै छ। प्यालेस्टिनी भूभाग गाजामा शासन गर्दै आएको हमासद्वारा २०२३ अक्टोबर ७ मा भएको आक्रमणपछि युद्धले एक वर्षमा भयानक रूप लियो। निर्दोश प्यालेस्टिनी नागरिकको जीवन दाउमा लागेको छ। 

इजरायली आक्रमणबाट लाखाैँ प्यालेस्टिनी विस्थापित भएका छन्। तस्वीर: रोयटर्स

विगत एक वर्षदेखि निरन्तर इजरायली आक्रमणमा झन्डै ४५ हजारभन्दा धेरै प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन्। लाखौँ घरबारविहीन र विस्थापित भएका छन्। गाजामा अनिकाल र भोकमरी छ। स्वास्थ्य सेवा, बिजुलीबत्ती छैन। पिउने  पानीका पाइप काटिएका छन्। घरहरूका भग्नावशेषमाथि कौवा उडिरहन्छन्, जबसम्म बम पड्केको आवाज सुनिँदैन।

युद्ध शुरू भएको तीन महिनाको अवधिमै इजरायली आक्रमणमा परेर गाजामा १४ जना प्यालेस्टिनी कवि तथा लेखकले ज्यान गुमाएका थिए। अहिलेसम्म त्यो संख्या २० जनाभन्दा धेरै पुगिसकेको छ। अहिले जो जीवित छन्, उनीहरूले पनि कवितामार्फत प्यालेस्टिनीका आवाज बुलन्द गर्न छाडेका छैनन्। प्यालेस्टिनीका पीडा बाँकी दुनियाँसम्म पुर्‍याउन, के चाहन्छन् प्यालेस्टिनी भनेर देखाउन कविहरूले कलम चलाइरहेका छन्।

यदि मेरा बुवाले मलाई
मेरो नाम रोज्ने जिम्मा दिएमा
आफ्नो नाम ‘एक हजार’ राख्ने थिएँ
ताकि, मेरा बुवा घरबाट टाढा हुँदा
एक्ली मेरी आमा चिन्तित हुन नपरोस्
चोर र गोलीभित्र छिर्न थर्रर काँपुन्
घरमा ‘एक हजार’ छन् भनेर।

प्यालेस्टिनी कवि तथा अनुवादक हुन् मोहम्मद आबु लेब्दा। २७ वर्षीय लेब्दाले आफ्नो कविता ‘थाउजेन्ड फोल्ड लिगेसी’मार्फत एक मिसाइलले हजारौँको ज्यान लिने र युद्धमा तर्क सकिने विचार व्यक्त गरेका छन्। इजरायली मिसाइल आक्रमणबाट ज्यान गुमाउने हजारौँ प्यालेस्टिनीमध्ये एक हुन् लेब्दाका काका पनि। गत अक्टोबरमा बाटोमा हिँडिरेहका बेला इजरायली मिसाइलको शिकार बने। इजरायल–हमास युद्धमा आफ्नो घर–सम्पत्ति सबै गुमाएपछि उनी अहिले परिवारसहित रफाहको एक शिविरमा आश्रय लिइरहेका छन्।

मोहम्मद आबु लेब्दा

आफ्नो एक्स ह्यान्डलमा लेब्दा लेख्छन्, “बाँकी दुनियाँजस्तो छैन गाजावासीको अवस्था, बिजुलीलाई विलासिता र सफा पानीलाई जीवनको अमृत मान्ने व्यक्तिलाई तपाईं अरू कसैसँग तुलना गर्न सक्नुहुन्न।”

यस्तै, गाजापट्टीका कवि र लेखक मोसाब अबू तोहा पनि प्यालेस्टिनीमाझ निकै रुचाइएका युवा कविमा पर्छन्। शरणार्थी शीवीरमा जन्मिएका थिए उनी। गत नोभेम्बरमा आफ्नी श्रीमती र छोराछोरीसहित गाजाबाट भाग्ने प्रयास गर्दा अबु तोहालाई इजरायली सैनिकहरूले अपहरण गरेका थिए। अपहरणमा परेर ५० घण्टापछि छुटे। त्यतिबेला सेनाले उलाई निकै शारीरिक यातना दिएको कुरा उनले 'अन योर नीज' नामक कवितामा गरेका छन्, जुन ‘फरेस्ट अफ न्वाइज’ हल्लाको जंगल कविता संग्रहमा समावेश छ।प्यालेस्टिनीले सम्मानजनक मृत्यु पनि नपाएको कुरालाई उनले आफ्नो कवितामार्फत यसरी पोखेका छन्:
हामी पनि असल मृत्युको हकदार हौँ
हाम्रा शरीर विकृत र बटारिएका छन्
गोली र छर्राले शरीरमा फुलबुट्टा भरेको छ।
हाम्रो नाम गलत उच्चारण गरिएको छ रेडियो र टिभीमा
घरका भित्तामा भुन्ड्याइएका तस्वीर खुइलिएका छन्
हाम्रा चिहानका शिलालेख हराएका छन्,
चर्को घामले छोपेको छ हाम्रो सडिरहेको शरीर।

यो कविता इजरायली हिंसाको सामना गरिरहेका गाजावासीको अवस्थाको प्रतिबिम्ब हो। “मानिसको हैसियतमा मैले जे देखेको छु र बाँचिरहेको छु, त्यो मैले मानिसहरूलाई बुझाउन सक्दिन, मेरो भाषाले व्यक्त गर्न सक्नेभन्दा बढी हो। त्यसैले म आफूलाई अभिव्यक्त गर्न कोशिश गर्न कविता लेख्छु,” उनले एक अन्तर्वार्तामा भनेका छन्। आफ्नो घर खाली गरेर अहिले उनी श्रीमती र बच्चाहरूसँग जबलिया शरणार्थी शिविरमा बसिरहेका छन्। उनी भन्छन्, “गाजामा मृत्यु जीवनभन्दा सुरक्षित छ।”

मोसाब अबू तोहा। तस्वीर: अलजजिरा

उनी शिविरमा बसेर इजरायली हवाई आक्रमणलाई नियालिरहन्छन्। आक्रमणमा हत्या भएका बच्चालाई के भयो भनेर राम्रोसँग बुझ्ने कोशिश गर्छन् कवितामार्फत्। उनी भन्छन्, “किनकि त्यो बच्चा गोली र छर्राको कारणले मात्रै नभई बम विष्फोटपछि निसास्सिएर मरेको हुनसक्छ। त्यो बच्चा मेरो पनि हुनसक्छ, त्यो बुवा म पनि हुन सक्छु र त्यो आमा मेरी आमा वा मेरी श्रीमती पनि हुन सक्छिन्।”

उनको नयाँ प्रकाशित कवितासंग्रह ‘फरेस्ट अफ न्वाइज’ अर्थात् हल्लाको जंगलमा उनी लेख्छन्ः
गाजाका सबै बालबालिका म हो
सबै बुवाआमा म हो
सबै घर मेरा मुटु हुन्
यहाँका सबै रुख मेरा खुट्टा हुन्
प्रत्येक बिरुवा मेरा पाखुरा हुन्।
प्रत्येक फूल मेरा आँखा हुन्
र यो पृथ्वीमा परेका सबै प्वाल
मेरा घाउ हुन्।

प्यालेस्टाइनमा मात्रै नभई देशबाहिर बसेर पनि प्यालेस्टिनीको आवाज बोल्ने धेरै कवि छन्। रफिफ जियादा हुन् या फराह चम्मा, आफ्नो स्वाधिनातामा धावा बोल्ने शक्तिमाथि शरहद बाहिरबाटै शब्दको वाण प्रहार गरिरहन्छन्। 

जियादा अहिले युरोपमा बस्छिन्। त्यहाँका स्टेजहरूमा दह्रो उभिएर उनी आफ्नो कविता वाचन गर्छिन्।

लन्डनमा आयोजित एक कार्यक्रममा आफ्नो कविता 'वि टिच लाइफ सर' वाचन गर्दै रफिफ जिदाह। तस्वीर स्क्रिनसट: वार अन वान्ट

एकजना साथी पत्रकारले जियादालाई ‘तपाईं आफ्नो बच्चाहरूलाई घृणा सिकाउन किन बन्द गर्नुहुन्न?’ भनेर सोधेका थिए। त्यसैको जवाफमा उनले लेखेको कविता हो– ‘वी टिच लाइफ सर।’ कविताको अन्तिम हरफ यस्तो छ-
हामी प्यालेस्टिनीहरू हरेक बिहान उठेर 
बाँकी संसारलाई जीवन सिकाउँछौँ सर।

प्यालेस्टिनी साहित्यिक संस्कृतिविरुद्ध इजरायल
लन्डनको वेस्टमिन्स्टर विश्वविद्यालयका अरबी भाषा र संस्कृतिका वरिष्ठ लेक्चरर एतेफ अल्शेरका अनुसार सन् १९३० को दशकदेखि प्यालेस्टिनी कविताले औपनिवेशिक शक्तिहरूबाट भोगेको पीडाको सामना गरेका छन्। “प्यालेस्टिनीहरूका लागि, कविता उनीहरूको शारीरिक शक्तिको कमीको क्षतिपूर्ति हो,” अलशेर भन्छन्, “विस्थापित प्यालेस्टिनीहरूका लागि, कविता भनेको शब्दहरूमार्फत आफ्नो मातृभूमिको पुनर्निर्माण गर्ने ठाउँ हो,  त्यसैले उनीहरूले आफ्नो आवाजमा सकेसम्म हृदयको प्रयोग गरेका छन्।”

पुराना कविता, त्यति बेला कुनै सन्दर्भमा लेखिएका थिए, अहिले युद्ध भड्काउने गरी फेरि प्रयोग हुन थालेका छन्। अरबी भाषामा आठ कविता पुस्तकहरू प्रकाशित भएका जेरुसेलमका प्यालेस्टिनी कवि नजवान दर्विसले टाइमसँग विश्वभरका पाठकहरू आजका घटनाको अर्थ बुझ्न प्यालेस्टिनी कविताका पुराना कृतिहरूमा फर्किँदा झन् पीडादायी हुने बताएका छन्। 

“युद्धमा, यो नरसंहारमा मेरो कविता प्रयोग भएको देख्दा मलाई खुशी लाग्दैन, त्यसैले म यो कविता अमान्य होस् भन्ने कामना गर्छु,” उनी भन्छन्।

इजरायली आक्रमणबाट भत्किएको गाजस्थित अल-अजहर विश्वविद्यालय।

दर्विसका अनुसार गाजामा हालको विनाशले लेखकहरूको लागि अतुलनीय अभिलेखीय क्षति पुर्‍याएको छ। “कुनै पनि औपनिवेशिक परियोजनाको लागि मुख्य लक्ष्य भूमि हो, तर गाजामा संस्कृति पनि लक्षित छ,” उनी भन्छन्।

इजरायलले गाजाको साहित्य, कला र संस्कृतिमाथि पनि आक्रमण गर्ने गरेको आरोप लगाइन्छ। यस आरोपलाई प्यालेस्टिनी अधिकारवादी अमेरिकी नागरिक एलेन कोरीको हत्यासँग पनि जोडिइन्छ।

एक अमेरिकी अहिंसा कार्यकर्ता तथा प्यालेस्टिनी समर्थक अन्तर्राष्ट्रिय एकता आन्दोलन (आईएसएम)की सदस्य राहेल एलेन कोरीले २१ वर्षअघि लेखेकी थिइन्– ‘ओ रफाह। दुःखी रफाह। शरणार्थीहरूको पीडा, ट्यांकी टायरबाट काटिएका साइकल र गोलीले छोएको घरको पीडा...।’

उनी इजरायलले कब्जा गरेको प्यालेस्टाइन क्षेत्रहरूमा सक्रिय थिइन्। सन् २००३ मा इजरायली सेनाले रफाहमा प्यालेस्टिनीका घरहरू भत्काइरहेको थियो। त्यसको विरोधमा उत्रिएकी थिइन् कोरी। त्यहीबेला अमेरिकामा निर्मित इजरायली बुलडोजरले कुल्चेर उनको हत्या गरिएको थियो।

अहिले पनि इजरायलले गाजाको शिक्षा, कला र संस्कृतिलाई निशाना बनाइरहेको छ। संयुक्त राष्ट्रसंघका अनुसार गाजाका झन्डै ९० प्रतिशत विद्यालय भवनहरू क्षतिग्रस्त छन्। गाजाका लेखकहरूले पुस्तकालय, (सार्वजनिक र व्यक्तिगत दुवै) र पुस्तक संग्रहहरूको विनाशको सामना गरिरहेका छन्।

वेस्ट बैंकस्थित अलकालिमा विश्वविद्यालयका संस्थापक तथा प्यालेस्टिनी कला–संस्कृतिविद् मित्रि रोब द गार्डियनसँगको कुराकानीमा भन्छन्, “बाहिरका मानिसहरूलाई गाजाका मानिसहरू कत्तिको रचनात्मक छन् भन्ने कुरा थाहा छैन, तर यस युद्धले यी सबैलाई नष्ट गरिरहेको छ।”

प्यालेस्टिनी कविसँग नेपालको साइनो
साउदी अरबमा मृत्युदण्डको सजाय सुनाइएका प्यालेस्टिनी कवि असरफ फयादलाई मुक्त गर्न माग गर्दै नौ वर्षअघि काठमाडौँमा कविता वाचन भएको थियो। त्यति बेला दर्जनौँ कविले प्यालेस्टिनी कविको रिहाइको माग गर्दै कविता वाचन गरेका थिए।

अहिले समग्र प्यालेस्टिनीहरूको पीडामा नेपाली कवि कत्तिको सहानुभूतिका साथ उभिएका छन्? सरकारले उनीहरूको पक्षमा केही नबोलेको देख्दा किन कोही कविले विरोध गरेनन्? किन सडक कविता लेखेनन्?

यही सन्दर्भमा कवि विनोदविक्रम केसी प्यालेस्टिनी कवि महमुद दर्विसलाई सम्झिरहेका छन् कवितामार्फत्। र आफूले केही गर्न नसक्नुको गुनासो पोखेका छन् यसरी:
‍‍‍....
हाम्रो मौनमग्न कायरताको मूल्य
कायरतामग्न मौनको मूल्य
तिमीहरूका बच्चाहरूले 
यति चर्कोसँग चुकाइरहेका छन्   
हामीलाई तिमीहरूले 
कदापि.. कदापि.. कदापि... माफ नगर्नू!


सम्बन्धित सामग्री