केरवा के पात पर उगेलन सुरुज मल झांके ऊंके
हो करेलु छठ बरतिया से झांके ऊंके
हम तोसे पूछी बरतिया ऐ बरितया से केकरा लागी
हे करेलू छठ बरतिया से केकरा लागी
भारतीय प्रान्त बिहारको अधिकांश हिस्सा, उत्तर प्रदेशको पूर्वी क्षेत्र र नेपालको तराई मधेशका जिल्लामा शारदा सिन्हाको यही गीतबाट छठको उल्लास शुरू हुन्छ। यसको अर्थ हुन्छ– केराको पातमाथि उदाउँछन् सूर्यमल, अनि नियालिन्छ उनलाई। छठको व्रत गर्नेले नियाल्छिन् उनलाई। तिमी कसका लागि छठको व्रत गर्न लागेकी हौ?
गीतसंगीत सुन्ने माध्यम रेडियो, टेपरेकर्डर, एफएम रेडियो, टेलिभिजन, सीडी प्लेयर, डिजिटल म्युजिक प्लेयर हुँदै हातहातमा मोबाइल सेट आइपुग्दा यो गीत उस्तै लोकप्रिय छ। यो वर्षको छठ शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिएर समापन भएको छ र यो वर्ष पनि शारदा सिन्हा उस्तैगरी गुञ्जिएकी छन्।
तर पछिल्लो साढे चार दशकभन्दा लामो समयदेखि घन्किरहेको यो गीत गाउने शारदाको भौतिक शरीर अब हामीमाझ छैन। भोजपुरी, मैथिली र मगहीकी लोकगायिका शारदाको मृत्यु छठ पर्व शुरू भएकै दिन कात्तिक २० गते भयो। अस्पतालको सघन उपचार कक्षमा उनले जीवनको अन्तिम क्षण बाँचिरहँदा छठको चहलपहल शुरू भइसकेको थियो।
त्यो दिन छठ मान्ने समुदाय घरआँगन चोखो पार्ने काम सकेर छठघाट सिँगार्न र पूजा सामग्री किनमेलमा व्यस्त थिए। चार दिवसीय पर्व छठको पहिलो दिन गत मंगलबार शारदाले दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) अस्पतालमा अन्तिम श्वास लिइन्। अस्वस्थ्य अवस्थामा पनि उनले यो वर्ष छठको गीत रेकर्ड गराएकी थिइन्।
दुखवा मिटाई छठी मइया
रउवे आसरा हमार
सब के पुरावेली मनसा
हमरो सुनलीँ पुकार।
अर्थात्, दुःख मेटाइदिनु छठी माई, यहाँकै मात्र आश छ मेरो, सबैको मनोकामना पूरा गर्नुहुन्छ, मेरो पनि पुकार सुनिहाल्नु।
“शारदा सिन्हालाई हटाएर भोजपुरी गीतमा आधुनिककालको कल्पना सम्भव छैन,” भारतका चर्चित पत्रकार रविश कुमारले आफ्नो युट्युब च्यानलमा भनेका छन्, “तपाईं वर्षका अरू दिनहरूमा शारदा सिन्हालाई सुन्नुस् वा नसुन्नुस्, तर छठको दौरान कतै न कतैबाट तपार्इंको कानसम्म उनको आवाज पुगेकै हुन्छ।”
एचएमभी म्युजिक कम्पनीबाट सन् १९७८ मा शारदाको पहिलो छठगीत रेकर्ड भएको थियो। त्यसयता उनी छठ गीतको पर्याय नै बनेकी छन्। भोजपुरी कि सुप्रसिद्ध यी लोकगायिकाले मैथली र हिन्दीका गीतहरू पनि प्रशस्तै गाएकी छन्। तर उनले भोजपुरीमा पछिल्लो समय सुनिएजस्ता द्विअर्थी गीत कहिल्यै गाइनन्।
व्यावसायिक रूपमा छठको गीत गाउनेको संख्या अहिले धेरै छ। तर शारदाका गीत जनजिब्रोमा बसिहाल्ने किसिमका छन्। डिजिटल माध्यममा आउने छठका गीतहरूमा पनि उनको लोकप्रियता उस्तै छ। उनले आठ वर्षअघि विदेश बस्ने भोजपुरीभाषी युवा दम्पतीले छठ मनाएको छोटो कथासहितको गीत र भिडियो युट्युबमा राखेकी थिइन्। उक्त भिडियो झण्डै ६ करोड पटक हेरिएको छ। त्यसमा भनिएको छ–
पहिले पहिल हम कइनी,
छठी मइया व्रत तोहार
करिहा क्षमा छठी मइया,
भूल–चूक गलती हमार।
अर्थात्, पहिलो पटक मैले गरेकी हुँ छठी मैयाँ यहाँको व्रत। मेरो भुलचुकलाई क्षमा गरिदिनु होला।
यस गीतमा प्रतिक्रिया मात्र २७ हजारभन्दा बढी छन्। एउटै प्रतिक्रियामाथि १९ हजारसम्म लाइक गरिएको छ। एक हजार ६०० जनाभन्दा बढीले रुचाएको मिन्टु कुमारको प्रतिक्रियामा लेखिएको छ, “रौँहरू ठडिन्छन् यस गीतलाई सुनेर, जय छठी मैया। हामी जति आधुनिक होऔैँ तर परम सुखको सन्तुष्टि हाम्रो लोकपरम्पराबाट मात्र प्राप्त हुन्छ।”
यी लोकप्रिय गायिकाको स्वास्थ्य बिग्रिएपछि गत कात्तिक १० गतेदेखि अस्पताल भर्ना गरिएको थियो। पछिल्लो समय भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उनको जन्म १९५२ अक्टोबर १ मा भारतको बिहार प्रान्तको सुपौल जिल्लामा पर्ने हुलास गाउँमा भएको थियो। उनका बुवा सुखदेव ठाकुर बिहार सरकारको शिक्षा विभागमा काम गर्थे।
शारदाले संगीतको अभ्यास बाल्यकालमै शुरू गरेकी थिइन्। संगीतप्रति छोरीको झुकावलाई चिनेर उनका बुवाले घरमा नै गुरु राखेर गायन र नृत्यको अभ्यास गराएका थिए।
शारदाले पटना विश्वविद्यालयबाट कला संकायमा स्नातकसम्मको अध्ययन पूरा गरेकी थिइन्। त्यस्तै प्रयाग संगीत समिति, प्रयागराजबाट संगीतमा स्नातकोत्तर गरेकी थिइन्। त्यसपछि ललितनारायण मिथिला विश्वविद्यालय, दरभंगाबाट संगीतमा विद्यावारिधी गरिन्।
उनको स्वरको मिठासबारे एउटा प्रसंग भोजपुरी क्षेत्रमा चर्चित छ। स्कूलमा एक दिन जब शारदा आफ्ना साथीसँग गीत गाइरहेकी थिइन्, उनका शिक्षक हरि उप्पल शान्त भएर सुनिरेहका थिए। उनले छात्राहरूलाई सोधेछन्, “स्कुल में रेडियो कौन बजा रहा है” (विद्यालयमा रेडियो कसले बजायो?)
कसैले जवाफ दियो, “शारदा गीत गाइरहेकी छन्।” अनि प्रधानाचार्यले कार्यालयमा बोलाएर उनको स्वर टेप रेकर्डरमा रेकर्ड गरेका थिए।
घरबाट संगीत अभ्यासमा प्रोत्साहन पाइरहेकी शारदाले शिक्षकबाट पनि हौसला पाइन्। तर रुढीवादी समाजमा छोरीले कला क्षेत्रमा लाग्न सहज थिएन। बिहेपछि उनको गायनलाई लिएर घरपरिवारमा विरोध शुरू भयो। उनका श्रीमान् ब्रजकिशोर सिन्हाले भने उनलाई साथ दिए। अब उनको यात्रामा कुनै बाधा भएन। उनको गीतसंगीतको यात्रा सन् १९७० को दशकबाट शुरू भएर उचाई लिँदै गएको थियो।
उनको जन्मस्थल र कर्मस्थल रहेको बिहारको प्रान्तीय सरकारले उनलाई ‘बिहार कोकिला’ उपाधिले विभूषित गरेको छ। आफ्नो गायन यात्रामा उनले अनेक सम्मानहरू प्राप्त गरेकी छिन्।
सन् १९९१ मा भारतको केन्द्र सरकारले उनलाई पद्मश्री पुरस्कारले सम्मान गरेको थियो। भारतीय राष्ट्रपतिबाट दिइने भारत सरकारको यो उच्च सम्मान हो। सन् २००१ मा उनी संगीत नाटक अकादमी पुरस्कारबाट सम्मानित भइन्। सन् २०१५ मा बिहार सरकारले सिनेयात्रा अवार्ड प्रदान गरेको थियो। सन् २०१८ मा भारत सरकारबाट पद्य विभूषण सम्मान प्राप्त गरेकी थिइन्। त्यस्तै मध्य प्रदेश सरकारले सन् २००६ मा देवी अहिल्या सम्मान प्रदान गरेको थियो।
बिहीवार पटनामा राजकीय सम्मानसाथ गंगा नदी तटमा उनको अन्तिम संस्कार गरिएको छ। बिहारका मुख्यमन्त्री नितिश कुमारले राजकीय सम्मानसाथ अन्तिम संस्कार गर्न पार्थिव शरीरलाई विमानबाट बिहार ल्याउन लगाएका थिए। भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रख्यात लोक गायिका शारदा सिन्हाको निधनप्रति दुःख व्यक्त गर्दै उनको सुमधुर गायन अमर रहने बताएकी छन्।
उनले हिन्दी सिनेमाका लागि पनि गाएका गीत पनि लोकप्रिय भएका छन्। विवाह र अरू सामाजिक रीतिरिवाजबारे पनि उनले गीत गाएकी छन्। तर उनी छठगीतकै लागि चिनिएकी छन्। “छठको धेरै ठूलो महत्त्व छ र मेरो लागि त यो विशेष छ, छठका गीतहरूको माध्यमले मलाई स्रोता, दर्शक र देशबासीको प्रेम प्राप्त भएको छ,” केही समयअघि भारतीय टेलिभिजन आजतकसँगको अन्तरवार्तामा उनले भनेकी थिइन्, “छठगीत भगवान सूर्य र छठी मैयाँका लागि गाइन्छ। यो यस्तो अवसर हो जसमा एक जना व्रतालु हुन्छन् तर समग्र परिवार र आफन्तहरू सरिक हुन्छन्।”
यो पर्वमा जाति, धर्मलगायत कुनै पनि प्रकारको विभेद नहुने बताएकी थिइन्। समाजमा कायम विभेदलाई छठपर्वले अस्वीकार गरेको उनको भनाइ थियो। यही विभेदलाई अस्वीकार गर्ने पर्वमा उनी अस्ताइन्। उनले यसपटक अस्ताउँदो सूर्यलाई अर्घ दिन पाइनन्।