काठमाडौँ– ०६३ सालको इन्द्रजात्रा। इन्द्रचोकबाट मखनतर्फ तानिँदै गरेको भैरवको रथ। जात्राको रौनकबीच रथ ह्वात्त तान्दा एक व्यक्ति रथबाट खसेर घाइते भए।
“मानिसहरूले घाइतेलाई सुरक्षित स्थानमा छिटो–छिटो लैजाने बाटो खोज्दै थिए,” त्यो घटना सम्झँदै सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठ भन्छन्, “म सानैदेखि सिटी बोकेर हिँड्थेँ। त्यो बेला रिक्सामा राखेर सिटी फुक्दै घाइतेलाई वीर अस्पतालसम्म पुर्याइयो।”
अस्पताल पुर्याएको तीन दिनपछि उनको मृत्यु भयो। जात्राकै कारण मानिस मर्नु उनको लागि निकै पीडादायी विषय थियो।
“त्यो घटना मेरो दिमागमा गडेर बस्यो। जात्रा हेर्न आएका मानिसलाई कसरी व्यवस्थापन गर्न सकिएला भन्नेमा त्यतिबेलैदेखि मेरो ध्यान तानियो,” सानैदेखि रेडक्रस र स्काउटको तालिमप्राप्त स्वयंसेवकसमेत रहेका श्रेष्ठले भने।
अर्को साल (०६४) बाट गणबहालको रेडक्रस उपशाखा अन्तर्गत स्वयंसेवकको रूपमा उनी जात्रामा खटिन थाले। त्यो पहिलो खटाइमा उनले आफ्नो टोलका डाक्टर र नर्सहरूलाई सेवा र सहयोगको लागि आव्हान गरे। त्यसबमोजिम करिब ६० जनाको टोली रेडक्रसको झण्डा लिएर प्राथमिक उपचार सामग्रीसहित जात्रामा खटियो।
वसन्तपुरस्थित झोँछेका वासिन्दा हुन् उनी। इन्द्रजात्रा हुनुअघिको एक महिनादेखि नै जात्राको तयारीका लागि उनलाई भ्याइनभ्याई हुन्छ। सुरक्षा तथा ट्राफिक व्यवस्थापनको जिम्मेवारीमा उनी मग्न हुन्छन्। यसैमा अभ्यस्त पनि।
“म झोँछेको बासिन्दा, वसन्तपुरको नवआर्दश स्कुलमा पढेँ,” उनी भन्छन्, “मूल राजदरबार यहीँ भएकाले विश्व सम्पदा सूचीमा सूचीकृत हुनुपूर्व पनि यो ठाउँको चहलपहल निकै थियो। बाल्यकालमा हामी यहीँ बसेर जात्रा हेर्ने, रमाउने गर्थ्यौं।”
श्रेष्ठका अनुसार, हुलमुल नभई जात्रा हुँदैन। जात्रामा आउने सहभागीले नै जात्रालाई जात्रामय बनाउने हो। धक्काधक्की नपरेसम्म जात्रा जात्राजस्तो पनि मान्दैनन्। यद्यपि जात्रामा हुने अनावश्यक झैझगडाबारे भने चनाखो हुनुपर्ने उनी बताउँछन्। किनभने पछिल्लो दशक जात्रा हेर्नेको भीड बढेसँगै चुनौती पनि थपिएको छ।
जात्रा हेर्दा जति रमाइलो हुन्छ, त्यसको व्यवस्थापन उत्तिकै जटिल हुने श्रेष्ठको बुझाइ छ। जात्राको अन्तर्य बुझ्ने उमेरसँगै जात्रामा रमाउनेभन्दा पनि जात्रामा रमाउन आउने मानिसको सुरक्षार्थ खट्न थालेका हुन् उनी। कोभिड महामारीको एक वर्ष छाडेर गन्दा जात्रामा स्वयंसेवा गरेको १५ वर्ष बितेको श्रेष्ठ बताउँछन्।
जात्रामा जारी आरोह अवरोह
गणपतिसहित ८०० स्थानीय हरेक वर्ष इन्द्रजात्रा व्यवस्थापनको लागि खटिन्छन्। यी सबै भावनात्मक रूपमा जोडिएका हुन् जो खाजासमेत आफ्नै पकेटको पैसाबाट खान्छन्। कतिपय स्थानीय यही जात्राको लागि विदेशबाट बिदामा घर फर्कन्छन्।
गणपति यसका नेतृत्वकर्ता हुन्। जात्रा व्यवस्थापनसम्बन्धी विभिन्न आठ किसिमका जिम्मेवारी लिने समूहको अगुवाइ उनले गर्दै आएका छन्। शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा रवि तण्डुकार, क्लब तथा संघ संस्था समन्वयमा दीपक मर्हजन, स्काउट परिचालनमा रञ्जनलाल श्रेष्ठ, रेडक्रस टोली परिचालनमा अञ्जना मास्के, विपद् व्यवस्थापनमा केशव मिश्रलगायतको संयोजकत्वमा छुट्टाछुट्टै आठ वटा समूह क्रियाशील छ।
“उहाँहरू आफ्नो तनमन दिएर काम गरिरहनु भएको छ, त्यो हुँदा मलाई सिर्जनात्मक पक्षतिर सोच्न पनि सजिलो भएको छ,” उनले थपे, “महिलातर्फ इन्द्रजात्राको अन्तिम दिन ‘नानीचाःया’ मा महिला टोलीको नेतृत्व नानीहिरा महर्जनले गर्ने गर्छिन्। “महिला गणले मूल क्षेत्रमा पहरा दिँदा हामी भने बाहिरी सर्कलको सुरक्षा हेर्छौं,” उनले भने।
यो समितिले रथको सबैभन्दा नजिक रहेर सुरक्षा दिने गर्छ। कुमारी, भैरव र गणेश गरी तीन वटा रथको लागि चार समूह बनाएर उनीहरू रथको घेरा वरपर बस्छन्।
०६५ सालमा बाबुराम भट्टराई अर्थमन्त्री भए। उनले बलीप्रथा रोक्न भन्दै बजेट कटौती गरेपछि आन्दोलन भएको थियो। ‘आर्थिक मितव्ययिता’ को नाममा उनले इन्द्रजात्रा सञ्चालन गर्ने लाखे आजु, पुलुकिसी, र सवः भक्कु गरी तीन वटा गुठीको खर्च कटौती गर्ने निर्णय गरेका थिए। यसले जात्राका गुठियार मात्र नभई सम्पूर्ण वसन्तपुरबासीलाई आक्रोशित तुल्यायो। पुस्तौँदेखि मान्दै आएको परम्परामाथि राज्य संयन्त्रबाट भएको प्रहार उनीहरूलाई सह्य भएन। जात्रा व्यवस्थापन समिति र गुठी खल मिलेर त्यसको विरोध गरे।
त्यसबेला ठूलो झडप भयो। “विरोध चलिरहँदा उच्चस्तरीय समिति गठन भयो जसले जात्राको लागि के–के सुविधा दिन सकिन्छ भन्ने विषयमा खोजबिन गर्यो। त्यसै बेलादेखि सरकारले बजेट पनि सोही समितिमार्फत दिन थाल्यो।” त्यसपछि जात्रा मनाउन मूल समारोह समिति गठन हुन थाल्यो। समितिले रेडक्रस, स्काउट लगायतका स्वयंसेवी संस्थालाई बोलाएर जात्रा व्यवस्थापनको काम गर्न थाल्यो।
शुरूमा दुई संस्थाको संयोजन गरिरहेका उनलाई केही वर्षपछि ट्राफिक र सुरक्षा व्यवस्थापनको जिम्मेवारी पनि लिन आग्रह भयो। जात्रामा पहिले ट्राफिक व्यवस्थापनको समस्या खासै थिएन। अहिले भने जटिल समस्या नै यही भएको श्रेष्ठ बताउँछन्।
हुन पनि आइतबार ‘उपाकु’ यात्राको क्रममा ‘कोर सिटी’ तर्फका भित्री बाटोलाई ‘सवारी निषेधित क्षेत्र’ बनाउँदा टुँडिखेल क्षेत्रमा घण्टौँ सवारी जाम भएको थियो। त्यतिबेला श्रेष्ठ ट्राफिक समस्याको विषयमा सामाजिक सञ्जालमार्फत जानकारी गराइरहेका थिए। त्यसबाहेक, न्युरोडका व्यापारिक कम्प्लेक्स क्षेत्रमा जात्रा अवधिर पर्न सक्ने ट्राफिकका समस्या, प्रभावित हुने रूट तथा वैकल्पिक मार्गबारे जानकारी गराउन बाजासहितको टोलीसमेत खटाएको उनले बताए।
कुनै पनि जात्राको केन्द्रबिन्दुमा रहने गर्छ रथ अथवा खट तान्ने चलन। रथ तान्ने, घमा (रथ अगाडिको काठको भाग) तान्नका लागि युवा जमात बढी अग्रसर हुने गर्छ। वृद्धवृद्धा समेत डोरी छुन मात्र भए पनि नजिक पुग्छन्। रथको घमामा ब्रेक नहुँदा त्यसलाई अड्याउने बल पूर्णरूपमा रथ तान्ने व्यक्तिहरूको तालमेलमा भर पर्छ। रथ तान्ने घम्साघम्सीमा धेरैजसो झैझगडा हुने र रथको पांग्रामा परेर चोटपटक लाग्ने पनि गर्छ।
भूकम्प र कोभिडकालको सम्झना
०७२ सालमा गएको भूकम्पले सम्पदा क्षेत्रमा पनि ठूलो क्षति परेको थियो। मानिस बस्ने घर मात्र नभई पर्यटकीय स्थलका मठमन्दिरमा समेत टेको लगाइएको थियो। त्यो साल जात्राको समय आएपछि भने जात्रा कसरी सञ्चालन गर्ने, रथ कसरी तान्ने भन्ने प्रश्नले सबै चिन्तित थिए। कतिपयले खटमा राखेर जात्रा गर्ने पनि सल्लाह दिए। तर,त्योसँगै एउटा डर स्थानीयमा थियो।
“रथबाट खटमा जात्रा गर्ने नजिर बस्यो भने राज्यको जहिल्यै त्यसरी चलाउन सक्छ। फेरि प्रायः प्रहार पनि संस्कृतिमा हुन्छ,” गणपतिलाल सम्झन्छन्, “त्यही सोचेर जात्रा रथमै गर्ने निधो गरियो। बरु हामी आफ्नो ज्यानको बाजी राख्छौँ, तर जात्राको मौलिकतालाई मर्न दिँदैनौँ भन्नेमा म र विश्व शाक्यले अडान लिएका थियौँ।”
श्रेष्ठका अनुसार कति स्थानीयलाई आफ्नो घर भत्केला भन्ने डर पनि थियो। सबैलाई सम्झाइबुझाइ गरी जात्राको समयमा घरबाहिर बस्न आग्रह गरेको उनी बताउँछन्। ०७२ सालबाटै जात्रामा विपत् व्यवस्थापन समूह बनाउन थालियो। रथ गुडाउनुअघि टेका लागेका घर र मठमन्दिर अगाडि स्वयंसेवक उभिए। सबैको साथमा सिटी थियो। रथ गुडाउँदा त्यस्ता क्षेत्रमा कम्पन महसुस हुने जस्ता खतराको संकेत देखिएमा सिटी फुकेर जानकारी दिने व्यवस्था गरियो। स्वास्थ्यकर्मी पनि जात्रास्थलमै खटाइएको उनी बताउँछन्।
श्रेष्ठ भन्छन्, “त्यो बेला पहिलो पटक रथ दिउँसै तानिएको थियो। अहिलेसम्मको जात्रामा त्यो जतिको व्यवस्थित वर्ष कुनै भएन।” जात्रा, पर्वप्रतिको लगावको उच्च नमूना त्यही वर्ष देखिएको उनी बताउँछन्।
भूकम्प गएको वर्ष नरोकिएको जात्रा ०७७ सालमा फैलिएको कोभिड महामारीमा भने रोकियो। त्यस वर्ष पूजाको विधिविधान मात्र भयो, रथ तानिएन। यद्यपि कोभिडको दोस्रो लहरमा पनि सरकारले लकडाउन गरी त्यसरी नै जात्राको रीति मत्थर पार्न खोजेको भान उनलाई भयो। उनले भने, “पुनः एक पटक समुदाय एकजुट भयो। बरु जात्रामा सुरक्षाको सामग्री प्रयोग गर्ने, तर रथ परिक्रमा गराउनैपर्ने अडान स्थानीयले राखे। सरकार त्यसलाई मान्न तयार थिएन।”
त्यसैबेला भक्तपुरमा चल्ने बिस्केट जात्रा सञ्चालनमा रोक नलगाउन माग गर्दै त्यहाँका केही अधिवक्ताहरूले जिल्ला अदालतमा मुद्दा दायर गरे। त्यसै सन्दर्भमा वसन्तपुरबासीका तर्फबाट अधिवक्ता संजय अधिकारीले इन्द्रजात्रा लगायतका अन्य जात्रा संस्कृतिमा पनि रोक लगाउन नहुने भन्दै स्थानीयको हस्ताक्षर संकलन गरेर विज्ञप्ति सार्वजनिक गरे।
भक्तपुरमा परेको मुद्दामा अदालतले स्वास्थ्य मापदण्ड पूरा गरेर जात्रा सञ्चालन गर्न अन्तरिम आदेश दियो। त्यही उपाय पछ्याउँदै त्यस वर्षको इन्द्रजात्रामा स्वास्थ्य मापदण्ड पालना भयो। तर रथमा डोरी तान्ने मानिसको संख्यामा कानूनी रोकतोक थिएन। समितिले रथ तान्न इच्छुकलाई जात्रा शुरू हुनुअघि नै नाम दर्ता गराउने प्रबन्ध मिलायो।
“नाम दर्ता भएका इच्छुकहरूलाई डे«स कोड तथा स्वास्थ्यका मापदण्डसहित जात्रामा सहभागी गरायौँ। यसमा नेपाली सेनाको ठूलो सहयोग रह्यो,” श्रेष्ठले भने, “भूकम्प र कोभिडजस्तो संवेदनशील समयमा जात्रा साबिकको भन्दा बढी सुव्यवस्थित भयो।”
मन चस्काउने पछिल्ला घटना
गणपतिलाल श्रेष्ठ र उनको समूह सकेसम्म कुनै रोकतोकबिना जात्रा सम्पन्न गराउन प्रयासरत हुन्छन्। सोही कारण जात्रा अवधिभर उनी खुशीभन्दा बढी चिन्तित देखिन्छन्। तथापि पछिल्ला दुई वर्षका केही अनपेक्षित घटनाले उनी र उनको समूहलाई हरदम चनाखो हुनुपर्ने पाठ सिकाएको छ।
दुई वर्षअघि (०७९ साल) जात्राको अन्तिम दिन ‘नानीचाःया’ को दिन राष्ट्रप्रमुख कुमारी घरमा टीका लगाउन आउने दिन थियो। महिला नेतृत्वको सहभागिता र अन्य साथीभाइले पनि पहरा दिइरहेको हुँदा पानीमा निथ्रुक्क भिजेका लुगा फेर्न घर गएका थिए।
घर पुग्नासाथ उनलाई फोनमा खबर आयो– वसन्तपुर गल्लीमा एक व्यक्तिले तरबारजस्तो हतियार लिएर मानिसहरूलाई हान्दै हिडेका छन्, ११ जना घाइते भए। जात्राको उत्तराद्र्धमा भएको उक्त घटनाले सबैमा दिक्दारी र निराशा छायो। सीसीटीभी क्यामरामा ती मानिसको आकृति देखिए पनि पहिचान भएन। छानबिन शुरू भयो।
प्रहरीले गरेको खोजीबाट ती व्यक्ति बारामा रहेको पत्ता लाग्यो। यद्यपि उनलाई पक्राउ गर्न सादा पोशाकमा हरियारसहित गएका प्रहरीलाई पूरै गाउँले मिलेर नियन्त्रणमा पो राखेछन्। काठमाडौँबाट थप सुरक्षाकर्मीको टोली गएपछि मात्र ती व्यक्तिलाई नियन्त्रणमा लिन सकेको श्रेष्ठले बताए।
गत वर्ष पनि जात्राको अन्तिम दिन कुमारीको रथ वसन्तपुरमा पुग्दै थियो। मखनमा झगडा भयो जसमा एक जनाले जात्राका सहभागीलाई छुरा हाने। “केटा र केटीको झगडामा साथी बोलाएर भिडन्त रहेछ,” श्रेष्ठले भने, “भोलिपल्ट तीनै जनालाई पाटनबाट झिकाएर मुद्दा चलाइयो।”
उनका अनुसार जात्रामा प्रायः झैझगडा पनि २० वर्षभन्दा कम उमेरका युवाबीच हुने गरेको छ। हातहतियार लिनेलाई प्रहरीले नियन्त्रणमा लिने गर्छन् भने सामान्य धक्कामुक्की तथा भनाभनका झगडा समुदायका स्वयंसेवकले मिलाउँछन्।
विगतमा टोल–टोलबीच हुने झगडा अहिले जात्रा हेर्न आउनेहरूका बीच देखिन थालेको उनको भनाइ छ। “एक समय टोलवासीका आमाबुवा जात्रामा नआइदिए हुन्थ्यो भन्ने लाग्थ्यो। किनभने छिमेकी टोलका युवासँगको रिसइबीमा अप्रिय घटना हुँदा तिनका छोराछोरीको ज्यान तलमाथि हुनेसम्मको डर हुन्थ्यो। अहिले एक टोलले अर्को टोललाई स्वागत गर्ने, भोजमा बोलाउने परिपाटी बसेको छ।
तर समुदायलाई जिम्मेवार बनाउने क्रममा सामाजिक सञ्जालमा फैलिएको घृणाको अभिव्यक्ति चुनौतीपूर्ण बन्दै गएको उनले बताए। यही वर्ष जनबहाः द्य (सेतो मत्स्येन्द्रनाथ) को जात्रामा रथमा चढेर झगडा गर्ने युवालाई रथका पानेजु (पुरोहित) ले लात हानेर झारेको भिडियो भाइरल भयो। विश्वभर फैलिएको उक्त भिडियोले नकारात्मक सन्देश दिएको तर्क श्रेष्ठ गर्छन्। अहिले झैझगडा अथवा कुनै अप्रिय घटना हुँदा कोही सम्झाउने, मिलाउने भन्दा पनि मोबाइल खिच्ने जमात बढेकोमा उनी चिन्तित छन्।
इन्द्रजात्रा हेर्न देशका उच्चपदस्थ, कुटनीतिक नियोगका प्रतिनिधि, विभिन्न विदेशी पाहुनाजस्ता सम्मानित अतिथि पनि आउँछन्। यस्तो अवसरमा भीडबाट कसैको विरोध वा समर्थन गर्ने समूहप्रति सचेत हुन आयोजकहरूले स्थानीय समुदायलाई अपिल गरेका छन्।
प्रशासनसँगको समन्वय र गुनासो
“पहिले–पहिले राष्ट्रप्रमुखको आगमन हुने समयमा आयोजक र सुरक्षा निकायबीच तालमेल हुँदैनथ्यो। केही समययता कसलाई कति बजे बोलाउने, गुठीले कस्तो तयारी गर्ने भनेर पहिले नै छलफल हुन्छ,” उनले भने, “राष्ट्रपति कार्यालय, गृह मन्त्रालय र रक्षा मन्त्रालयबाट छुट्टाछुट्टै सुरक्षा प्रबन्ध हुँदा हामीलाई पहिला निकै गाह्रो हुन्थ्यो। अहिले भने समन्वय गर्न सजिलो भएको छ।”
कुनै समय सुरक्षामा खटिएका प्रहरीले देवीदेवताको नाचमा पनि नियन्त्रण गरेको पनि श्रेष्ठ सम्झन्छन्। अहिले त्यसमा प्रहरी लचिलो भएको छ।
गद्दी बैठकमा आसनको बन्दोबस्त कहाँ–कहाँ कसरी मिलाउने भन्ने विषयमा आजकल सुरक्षाकर्मीले समन्वय गर्छन्। प्रायः सेनानी परिवर्तन भइरहँदा गद्दी बैठकमा दिनुपर्ने सलामीको समय, आसन लगायतको व्यवस्थापनमा अनुभवले खारिएका श्रेष्ठसँग नेपाली सेनाले पनि तालमेल गर्छ।
यद्यपि प्रशासनिक तथा सुरक्षा क्षेत्रको भूमिका समस्यारहित भइनहालेको उनी बताउँछन्। हरेक पटक जात्राकै क्रममा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी वृत्त जनसेवाका प्रमुख परिवर्तन हुने गरेको उनको गुनासो छ।
“यसपालि पनि दुई दिनअघि मात्र सीडीओ चेन्ज हुँदा सबै कुरा पुनः ब्रिफिङ गर्नुपर्ने भयो। धन्न विगतमा उहाँ ललितपुरमा पनि सीडीओ हुनुभएको रहेछ। त्यसले गर्दा जात्राको विषयमा समन्वय गर्न सहज भयो,” उनी भन्छन्, “प्रहरी कार्यालयमा पनि जात्राको मुखमा नयाँ प्रमुख आउँछन्। उहाँहरूको सफल कार्यकालको मानकमा इन्द्रजात्रा कति सुरक्षित भयो भन्ने पक्षको पनि मूल्यांकन हुने रहेछ।”
काठमाडौँ महानगरपालिकासँग पनि उनको गुनासो छ। असार मसान्तको कारण देखाउँदै हरेक वर्ष जनबहाः द्य र इन्द्रजात्रामा बाटो मर्मत हुने गरेको उल्लेख गर्दै उनले भने, “बाटो निर्माण दिगो भए बर्सेनि यस्ता समस्या भोग्नुपर्दैनथ्यो। जात्राको मुखमा स्थानीय तह सहयोगी हुनुपर्नेमा झन् बाधक देखिन्छ।”
गत वर्ष कोर सिटीमा ‘सवारी निषेधित क्षेत्र’ घोषणा गर्दा भएको अस्पष्ट नीतिलाई पनि उनी त्यस्तै अर्को उदाहरण मान्छन्। “भिमसेनस्थानमा एक व्यक्ति घाइते हुँदा एम्बुलेन्सलाई समेत प्रवेश गर्न दिइएन। हामीले स्टे«चरमा पालैपालो बोकेर काष्ठमण्डपमसम्म ल्याइपुर्याउँदा पनि एम्बुलेन्स आइपुग्न सकेन,” श्रेष्ठले भने। यसपटक आकस्मिक उद्धारको सवारी प्रवेशका लागि महानगरपालिकामा जानकारी गराएको उनले बताए।
डेढ दशक जात्राको समन्वयमा खटिँदा के पाए, के गुमाए त्यसको लेखाजोखा आफूले नगरेको श्रेष्ठ बताउँछन्।
इन्द्रजात्रा संस्कृतिको महत्वबारे सम्पदाविद् पद्मसुन्दर जोशी भन्छन्, “जो इन्द्रजात्रामा रमेको छैन, ऊ काठमाडौँमा जमेको छैन।”
उनले भनेझैँ जात्रामा रम्ने र काठमाडौँमा जम्नेका लागि ११ सय चानुचुन प्रहरी, ८०० स्थानीय स्वयंसेवक र सोही संख्यामा खटिने नेपाली सेनाको जनशक्तिले जात्रालाई सुरक्षित र रौनकमय बनाइराख्न जात्रा अवधिभर दिनरात पहरा दिन्छन्।
जात्रा सफल बनाउन दिलोज्यान दिएर खटिने गरेका गणपतिलाल भन्छन्, “जात्रामा आउने सबै रमाएर मात्र पुग्दैन। जात्रा शुरू भएदेखि अन्तिमसम्मको व्यवस्थापनको समीक्षा हाम्रो खुशीको निर्णायक हुन्छ।”