प्रहरीले परिवारैको हत्या नगरेको भए रोल्पा जेलबाङका बलिदान रोकामगर माओवादी युद्धमा जाने थिएनन्। कम्युनिष्ट विचार राखेकै कारण प्रहरीले घरमा आगो लगाएर बाआमा र बहिनीको हत्या गरेपछि उनी युद्धमा हिँडे।
बलिदानका बा भारतको एक छाला कारखानामा मजदुरी गर्थे। त्यही क्रममा अखिल भारत नेपाली एकता समाजमा जोडिए। उक्त संस्थासँग जोडिएपछि उनी कम्युनिस्ट विचारधारामा यति प्रतिवद्ध भए कि, छोराको नाम बलिदान र छोरीको क्रान्ति राखिदिए।
केही समयपछि उनी भारत छाडेर रोल्पा फर्किए। बलिदानको घरमा माओवादी नेता–कार्यकर्ता भरिभराउ हुन्थ्यो। माओवादी नेताहरूको वैचारिक थलोजस्तै थियो। पछि नेताहरूबीच विद्रोह कसरी गर्ने भन्ने विषयमा वैचारिक मतभेद शुरू भयो। कोही हतियार उठाएर विद्रोह गर्न चाहन्थे भने कोही शान्तिपूर्ण। बलिदानका बा शान्तिपूर्ण विद्रोहको पक्षमा थिए। उनी भन्थे, “हतियारले कसैको भलो गर्दैन।”
२०५५ साउनको एक दिन। बलिदान बजार पुगेका थिए। घर फर्किने बेला कानमा एउटा खबर पुग्यो, “गाउँमा प्रहरीको जत्था पसेको छ र घरघरमा आगो लगाउँदै, मान्छे मार्दै हिँडेका छन्। कम्युनिस्टलाई खोजीखोजी मारेका छन्, तुरुन्तै गाउँ नफर्किनू।”
बलिदान त्यहीँ रोकिए। अर्को दिन फर्किंदा घर घरानी भइसकेको थियो। परिवारका सदस्यको शव लडिरहेका थिए। प्रहरीले बलिदानको परिवारसहित माओवादी समर्थक धेरैको हत्या गरेको थियो।
एक्लो ज्यान, जेलबाङमा बस्ने स्थिति भएन। उनी भारत हानिए। भारतमा बाले काम गरेको कारखाना पुगे। बाका साथीभाइ भेटे। माओवादीको सम्पर्कमा पुगे। ६ महिनापछि फेरि देश फर्किए।
देशमा माओवादी युद्ध उत्कर्षमा पुग्दै थियो। ‘हतियारबिना परिवर्तन सम्भव छ’ भन्ने बाको ‘स्कुलिङ’मा हुर्किएका बलिदानले विचार बदले। ‘प्रहरीसँग बदला लिन’ ‘जनमुक्ति सेना’मा सामेल भए। पार्टीमा नाम रह्यो कमरेड अलपत्र।
केही समयपछि माओवादीले जेलबाङ प्रहरी चौकीमा आक्रमणको योजना बनायो। मर्नुपरे पनि क.अलपत्र तयार थिए। उनको प्रण थियो, “दुईचार जना दुश्मन ढालेर मात्र मर्छु।”
जेलबाङमा आक्रमण शुरू भयो। २० जनाभन्दा धेरै प्रहरी मारिए। प्रहरी चौकीमा आयो लगाइयो। क.अलपत्रले बदलाको महसुस गरे। उनी व्यवस्था बदल्ने सपनामा अगाडि बढिरहे।
युद्धमा योग्य, युद्धपछि अयोग्य!
बलिदान विभिन्न आक्रमणमा सामेत भए। कतै गोली खाए त कतै जासुसको भूमिका खेले। अर्घाखाँची सदरमुकाम सन्धिखर्क आक्रमणको बेला उनी मजदुर भएर पुगेका थिए। सैनिकको घरमै आश्रय लिएर बसेका थिए। उनले तत्कालीन शाही नेपाली सेना, नेपाल प्रहरीलगायत राज्य संयन्त्रबारे गोप्य सूचना पार्टीमा बुझाए।
१० वर्षसम्म चलेको माओवादी युद्ध २०६२/६३ पछि शान्ति प्रक्रियामा पुग्यो। जनमुक्ति सेनाले क्यान्टोनमेन्टमा हतियार बिसाए। क.अलपत्र पनि शक्तिखोर शिविर पुगे। तीन महिनासम्म उनका दिन रमाइलोसँग बिते।
बिस्तारै क्यान्टोनमेन्टमा गैरजनमुक्ति सेनाहरूको बाहुल्यता बढ्न थाल्यो। माओवादीलाई गाली गर्नेहरू जनमुक्ति सेना भएर आउन थाले। वास्तविक लडाकुहरू गैरलडाकुहरूको हुलमा मिसिएर हराउने अवस्था आयो। एक दिन त सुप्रिमो प्रचण्ड शक्तिखोर पुगेर माओवादी लडाकु सात हजार मात्र भएको तर आफूहरूले ३५ हजार बनाएको बताइदिए।
यस्तो दिन पनि आइलाग्यो जसले बलिदानलाई नै विस्थापित गरायो। संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन)ले क.अलपत्र अर्थात् बलिदान अयोग्य घोषित भए। अब बलिदानसँग विक्षिप्त हुनुको विकल्प थिएन।
अयोग्य बनाइएपछि गाउँ फर्किने सोच बनाए। खेतबारी बाँझो थियो। तर सुखदुःख बुझ्ने आफन्त थिएनन्। बलिदानका शुभचिन्तकहरूले भने ‘युद्ध लड्न योग्य ,अहिले अयोग्य? यही हो नयाँ नेपाल?’ भन्दै प्रश्न गरिरहेका थिए।
गैरलडाकु बनेर क्यान्टोन्टमेन्ट पसेका कसैले स्वेच्छिक अवकाश लिएका थिए त कोही नेपाली सेनामा समाहित भएका थिए। युद्ध नलडेका तर शिविरबाट जनमुक्ति सेना बनेकाहरूको फुर्ती गाउँमा सानो थिएन।
गाउँमा वास्तविक युद्ध लडेका लडाकुहरूले जीवन धान्ने व्यवसाय गर्न खोजिरहेका थिए। बलिदानसँगै युद्ध लडेर अयोग्य बनाइएका क.ताराले बाख्रा पालन शुरू गरेकी थिइन्। क.वर्षात् खाडीतिर लागिसकेका थिए। पार्टीसँग सम्बन्धित आलोचना, खिसीटयुरी र व्यंग्य सुन्ने काम बलिदानको थियो। यो देखेर बलिदानमो मनमा पश्चाताप शुरू भइसकेको थियो।
‘बाख्रा पाल्नैका लागि यतिका मान्छे मार्नुपरेको हो?’
‘यति धेरै रक्तपात गरेर जनताले आखिरमा के पाए?’
‘हजारौँ निर्दोष मानिसको बलि चढाएर देशर्लाइ के फाइदा भयो?’
‘आममान्छेको जीवनमा के परिर्वतन आयो?’
बलिदानसँग गाउँका मान्छेहरू यस्तै प्रश्न गर्थे। उनी यस्ता प्रश्नलाई जायज ठान्थे तर जवाफ सर्वोच्च कमाण्डरसँग नभएका बेला नाथे अलपत्रसित कहाँ हुनु!
घाइते र अयोग्य बनाइका लडाकुहरूको व्यवस्थापन तथा रक्षाका लागि कुनै काम भएका थिएनन्। सरकारले केही दिन सकिरहेको थिएन। दैनिकी धान्न मुस्किल परिरहेको थियो। अन्ततः बलिदान साउदी अरबतिर लागे।
परिवार, सम्पत्ति र समय गुमाएर अरब पुगेका बलिदानले आफूलाई एउटा लोककथासँग दाँजेका छन्।
उहिले मारीखोला र लुङरीखोलाबीच भयंकर लडाइँ भयो। लुङरीले जित्यो, मारीले हार्यो। ‘मा’ भनेको हार्नु, ‘री’ भनेको पानी। अर्थात् हारेको पानी।
बलिदानले आफूलाई मारीखोलासँग तुलाना गर्दै भनेका छन्, “म त्यही मारीखोलाको ढुंगो थिएँ। अवश्य थिएँ किनारमा। जरुर थिएँ बगरमा। तर थिएँ निर्दोष। कताबाट आयो धमिलो बाढी। जबर्जस्ती हेलिनुपर्यो त्यसैमा। मैले कहाँ रोजेको थिएँ र त्यस बाढीलाई? त्यसले पो मलाई सामेल गरायो आफूमा। लछार्दै पछार्दै बगाउँदै ल्यायो। उपायहीन म, विकल्पहीन म बग्दै आएँ, बग्दै गएँ। दुई खोलाको लडाइँको चेपुवामा परेँ म। र एक दिन बाढी शान्तजस्तै भयो। त्यति धेरै उथलपुथलपछि पनि म उसैगरी बगरमा थिएँ। उसैगरी किनारमा छुट्टै, झन् पाखातिर पारिएँ। थप ज्यादा उपेक्षित। अझै परित्यक्त । कहिले उर्लने र कहिले सुक्ने मारीखोलालाई हेरिरहन अभिशप्त।”
बलिदान पाखा मात्र परेका छैनन। जीवन तहसनहस भएको छ। अरब जाँदा कम्पनीले ठग्यो, काम र दाम दुवैको ठेगान नभएपछि उनले कम्पनी छाडे। साथमा पासपोर्टलगायत आवश्यक कागजात थिएन। अवैध रूपमा ‘सेक्युरिटी गार्ड’को काम गरिरहेका थिए। केही भइहाले पनि अस्पताल जान सक्दैन थिए। देश फर्कनु त झन् टाढा थियो।
एक दिन बलिदान ड्युटीपोस्टमै ढले, कहिल्यै नउठ्ने गरेर। चिनाउनलाई कागजात नभएपछि बलिदानको शव नेपाल ल्याउन कुनै उपाय भएन। नौ महिनादेखि साउदी अरबको दमामस्थित सरकारी अस्पतालमा शव अलपत्र छ।
यो कथा २०८० चैततिर बजारमा आएको जेबी दर्लामीद्धारा लिखित उपन्यास ‘मारीखोलाको ढुङ्गो’को हो। पुस्तकमा बलिदान मात्र नभइ माओवादी युद्धमा गाँसिएका अनेक परिवेश र पात्र छन्।
लेखक दर्लामीलाई माओवादीविरुद्ध उपन्यास लेखिएको आरोप पनि छ। तर लेखक आफैँले माओवादी युद्ध देखेका छन्, भोगेका छन्। उनी भन्छन्, “कसैको विरोध, समर्थनमा लेखिएको होइन। समाजका यथार्थ घटना र नियतिलाई प्रस्तुत गरिएको हो।”
जसले युद्ध बुझेर पुस्तक लेखे
पूर्वपश्चिम राजमार्गबाट करिब पाँच किलोमिटर दूरीमा छ, सिलिङखोला गाउँ। उनका बाबु लक्ष्मण प्रायः भारतमा हुन्थे। आमा सावित्राले घरव्यवहार चलाउँथिन्।
लुम्बिनी प्रदेशको मुकामभित्र परेर पनि लेखक जेबीको गाउँमा अहिले पनि विद्युत् छैन। उनी भन्छन्, “गाउँ हिजो झन् कति अँध्यारो थियो होला। हिजोको कथा मैले भन्नुपर्छ भन्ने ठानेर उपन्यास लेख्ने विचार त्योबेला नै गरेको थिएँ।”
जेबीको गाउँमा अहिले पनि मोटरबाटो छैन। खानेपानीको भरपर्दो प्रबन्ध छैन। फोन गर्न अग्लो ठाउँ खोज्दै हिँड्नुपर्छ। उनको गाउँ अझै टुकी र दियालोको भरमा उज्यालो खोजिरहेको छ।
त्यही ठाउँबाट माओवादीले देखाएको सपना पछ्याउने मध्येका उनी पनि थिए। उनको घरको अवस्थाले पनि सपना पछ्याउन बाध्य बनायो। २०५५/५६ सालदेखि माओवादी विचार बोक्न थालेका थिए। गाउँ कमिटी सचिव हुँदै माओवादी युद्धमा सामेल भए। २०६० सालसम्म तत्कालीन माओवादीको एरिया कमिटीमा रहेर काम गरे। “एरिया कमिटिमा बसेर काम गरे। तालिम लिएँ तर सैन्य फाँटमा गइनँ,” उनी भन्छन्।
उनले २०६० सालपछि माओवादीमा सक्रिय हुन छाडे। तर २०६२/६३ को जनआन्दोलनमा सहभागी भए। त्योबेला अर्घाखाँचीको सन्धीखर्कमा प्रहरीको लाठीबाट घाइते पनि भए।
उनले कक्षा ५ सम्मको मात्र अध्ययन गरेका थिए। उनले रोजगारीका लागि विदेश जाने सोच बनाए। २०६४ पुसतिर मलेसिया पुगे। “त्योबेला पार्टीमा अलि हुनेखानेहरूको दबदबा बढिसकेको थियो। आफूसँग त केही पनि थिएन। पार्टी पनि छाडिसकेको थिएँ। अनि विदेश जान्छु भन्ने सोच पलाएको हो।”
मलेसियामा हुँदै यता नेपालमा २०७३ मंसिर १७ गते उनकी श्रीमती सरिताको मृत्यु भयो। रोग पत्ता लाग्न सकेको थिएन। भैरहवा अस्पलतालमा भर्ना गरेको तीन दिनमै उनको मृत्यु भएको थियो। श्रीमतीको देहान्तपछि दुई छोरालाई हुर्काउने जिम्मा उनकै काँधमा आयो। दुई वर्ष बसेर उनी नेपाल फर्किए।
यो सबै पृष्ठभूमिले देखाउँछ कि आफ्नै पात्र क.अलपत्रको जिन्दगी धेरै हदमा उनले पनि भोगेका छन्।