काठमाडौँ– जयबागेश्वरी मन्दिरबाट कैलाशकुट क्याम्पसतर्फ लाग्दा पश्चिमपट्टि सानो गल्ली छ। गल्ली दाहिनेतर्फ भाग्यलक्ष्मी आयुर्वेद फार्मेसी र डेरी पसललाई जस्ताले छाएको सानो गेटले छुट्याएको छ। यो साँघुरो भाग छिचोलेर भित्र पस्दा दाहिनेतर्फ चतुर्भुज आकारमा सानो मन्दिर देखिन्छ। मन्दिरभित्र मध्यभागमा गरुडमा सवार विष्णु र देब्रेतर्फ उमामहेश्वरको मूर्ति छ।
यी दुवै मुर्ति स्थानीय बासिन्दा नन्दराज वैद्य परिवारको मातहतमा छ। उक्त मूर्ति आफ्नो पुर्खादेखि पूज्दै आएको वैद्यले उकालोसँग बताए। मूर्तिबारे विस्तृत जानकारी आफूसँग नरहेको उनको भनाइ छ।
साहित्यकार तथा अन्वेषक लैनसिंह वाङ्देलले आफ्नो पुस्तक ‘स्टोलन इमेजेज अफ नेपाल’ (१९८९) मा यो मूर्ति चोरी भएको सूचीमा राखेका छन्। वाङ्देलले पुस्तकमा भनेका छन्, “एउटा एकदमै चाखलाग्दो उमामहेश्वर प्रतिमूर्ति जुन देवपाटनको प्रसिद्ध ब्रह्मा आकृति छेउमै अवस्थित छ। यो मूर्ति भग्नावशेष अवस्थामा रहेको आराम गृह (रेस्ट–हाउस)मा पुरिएको अवस्थामा भेटिएको थियो जसको छेवैमा अर्को गरुड आशनमा बसेको विष्णु मूर्ति पनि थियो। यो मूर्तिमा शिव भगवान ललितआसनमा देखिन्छन्।” (पृष्ठ १२५)
वाङ्देलले १४औँ शताब्दीको यो सम्पदा सन् १९७० को दशकको पूर्वार्द्धमा हराएको उल्लेख गरेका छन्। संयोगबस, यही मूर्तिको विवरण र पहिचानबारे स्वीस अध्येता उल्रिच भोन स्क्रोडरले पनि आफ्नो कृति ‘स्टोन स्कल्प्चर अफ नेपाल’ (भाग १, पृष्ठ २२८)मा उल्लेख गरेका छन्। स्क्रोडरले वाङ्देलको कृतिको भर पर्दै ‘चोरी भएको’ उल्लेख गरेका छन्। तर स्क्रोडरले भने यो सम्पदाको निर्माण १२औँ शताब्दीमा भएको विवरण राखेका छन्।

तर यो सम्पदा पुरानै स्थानको घर परिसरमा फेला परेको छ। सम्पदाविद् डा. गोविन्द टण्डनले उमामहेश्वरको यही प्राचीन सम्पदाबारे केही वर्षयता पहिचान खुलेको जानकारी दिँदै आएका थिए। पशुपतिनाथ क्षेत्रको ऐतिहासिकतामा विद्यावारिधि गरेका डा. टण्डनले आफ्नो अध्ययनको क्रममा पशुपति क्षेत्रका मठमन्दिर तथा मूर्त–अमूर्त सम्पदाबारे सूची उतारेका थिए। त्यही क्रममा उमामहेश्वर मूर्तिको पनि पहिचान भएको खुलाएका हुन्।
“नवाली टोलबाट पश्चिमतर्फ रावल पाटीसँगै गणेशपासर वैधको घरको परिसरमा पहिलो पटक उक्त मूर्ति देखेको थिएँ,” टण्डन भन्छन्, “मसमेत स्थानीय भएका कारण मलाई अध्ययन क्रममा कसैको निजी घर वा अधिकारक्षेत्रमा प्रवेश गरेर सोधपुछ गर्ने रहर जागेन। लैनसिंहको कृतिमा यो उमामहेश्वर मूर्तिलाई चोरिएको/हराएको भने पनि वैद्य परिवारको घर परिसरमा मूर्ति छँदैछ भन्ने मैले थाहा पाएको थिएँ।”
यसरी यथास्थानमै ‘यताउति परेको’ मूर्तिलाई हराएको/चोरिएको भन्नुको पछाडि अन्वेषक वाङ्देलले प्रमाण संकलनका क्रममा सामान्य त्रुटि गरेको हुनसक्ने टण्डन बताउँछन्। शहर वा बस्तीमा विकास–विस्तारको लहर चलेपछि यस्ता सम्पदा पुरिने वा कतै अन्यत्र सारिने हुँदा यताउति पर्न सक्ने उनको भनाइ छ। यो मूर्ति स्थानीय वैद्य परिवारअन्तर्गत कसरी र कहिले पुग्यो भन्ने खोजी भएको छैन।

यथार्थतः यस्ता सम्पदा र संस्कृतिको अध्ययन वा अनुसन्धान कहिल्यै पूर्ण नहुने संस्कृतिविद् प्रा. वीणा पौड्याल बताउँछिन्। ‘काठमाडौँ उपत्यकाका प्रमुख उमामहेश्वर र भैरव मूर्तिहरू’ पुस्तककी लेखक डा. पौड्यालले अध्ययनका क्रममा उमामहेश्वरको जयबागेश्वरीस्थित प्राचीन मूर्तिबारे आफूले पनि जानकारी पाएको बताइन्। “अहिले बरु मिडिया सशक्त छ, खोजीनीति हुन्छ र सूचना बाहिर आउँछ,” पौड्याल भन्छिन्, “तर कुनै सोधपरक विषयमा सहजै जानकारी पाउन अझै मुस्किल छ। अनुसन्धानकर्मीदेखि मिडिया जगत सबैका लागि यो चुनौतीपूर्ण हो।”
वाङ्देलको ‘स्टोलन इमजेज अफ नेपाल’मा रहेको यो त्रुटिबारे अनुसन्धानदाताले बेग्लै पहिचानबाट सम्बोधन गर्नुपर्ने डा.पौड्यालको सुझाव छ।
झन्डै आधा शताब्दीदेखि हराएको मानिएको उमामहेश्वरको मूर्ति कुनै व्यक्तिको निजी परिसरमा भेटिनुलाई ‘अन्यथा’ लिन नहुने पुरातत्व विभागका अधिकारी बताउँछन्। पुरातत्व अधिकृत सरिता सुवेदीले ‘व्यक्तिको निजी सम्पतिका हकमा विभागले केही पनि गर्न नमिल्ने’ बताइन्।
“कुनै सम्पदामा उहाँहरूले पुर्खाबाट पूजा गर्दै आउनु भएको छ भने त्यो उहाँहरूकै निजी सम्पति भयो, त्यसको सुरक्षा र सम्बद्र्धन पनि उहाँहरूले नै गर्नुहुन्छ,” अधिकृत सुवेदीले भनिन्। बाहिरी मुलुक वा देशभित्रैबाट यस्ता सम्पदा फिर्ता भएपछि यथास्थानमा राख्न पहल भैरहेको भन्दै कसैले पुस्तैनी रूपमा आफ्नो सम्पत्तिका रूपमा उपभोग गर्दै आएको सम्पदाबारे विभागले बोल्न नमिल्ने उनी बताउँछिन्।
संस्कृतिविद् प्रा. पौड्याल भने फरक मत राख्छिन्। सय वर्षभन्दा पुराना मूर्ति प्राचीन सम्पदामा पर्छन्। यस्ता सम्पदा समुदाय, गुठी अथवा मन्दिरको भए मात्र यथास्थानमा राख्न मिल्ने उनको तर्क छ। “जुनै पनि सय वर्ष पुराना सम्पदालाई प्राचीन मानिन्छ, त्यसपछि त्यो सम्पदा व्यक्तिगत नभई सरकारी हुन जान्छ”, उनी भन्छिन्, “समुदाय, जात्रा, गुठी सबैको साझा भएको हकमा मात्र त्यो सम्पदालाई समुदायमै राख्न सकिन्छ। तर यस्तो सम्पदा एकल जिम्मेवारीको घेरामा रहँदा हराउने/चोरिने सम्भावना पनि उत्तिकै हुन्छ।”
अभिवक्ता सञ्जय अधिकारीका अनुसार सय वर्ष नाघेका पुरातात्विक वस्तु प्राचीन स्मारक संरक्षण ऐन, २०१३ ले निजी प्राचीन स्मारक र सार्वजनिक प्राचीन स्मारक गरी दुई किसिममा वर्गीकरण गरेको बताउँछन्। “प्राचीन स्मारक संरक्षण ऐनको दफा ३(ज)को उपदफा (२)(१) मा व्यवस्था भएअनुसार निजी स्वामित्वमा रहेको त्यस्ता स्मारक नेपाल सरकारबाहेक अन्य कतै र कसैलाई हस्तान्तरण गर्न, भत्काउन, स्वरूप परिवर्तन तथा नजिकै अन्य कुनै स्मारक खडा गर्न बन्जेद गरिएको छ,” अभिवक्ता अधिकारी भन्छन्।