Monday, June 17, 2024

-->

प्रदर्शनीमा पाटनक्षेत्रका उमामहेश्वर मूर्ति : कतै बेवारिसे, कतै राख्ने ठाउँ अतिक्रमित

पाटन क्षेत्रका उमामहेश्वरका मूर्ति र तिनको तस्वीर प्रदर्शनीमा राख्ने अध्येतामध्येकी एक रिझा कतै बेवास्थाले तथा कतै पूजा गर्दा अबिर दल्ने र सफा नगर्ने चलनले ती मूर्तिको अवस्था बिग्रिँदै गएको बताउँछिन्।

प्रदर्शनीमा पाटनक्षेत्रका उमामहेश्वर मूर्ति  कतै बेवारिसे कतै राख्ने ठाउँ अतिक्रमित

काठमाडौँ– “सानोमा युट्युबमा इजिप्ट सिभिलाइजेसनबारे हेर्थें, एलियनहरू जस्तो लाग्थ्यो। आफ्नै घर वरपर, सडक, मन्दिरमा पाइने मूर्ति, कलावस्तु देख्दा यिनीहरू पनि त्यस्तै कोही एलियनले यहाँ ल्याएको हो कि जस्तो लाग्थ्यो,” पाटन संग्रहालयको प्रांगणमा बिहीबार कुराकानी शुरू गर्दा रिझाश्री महर्जन (१९)ले आफ्नो बाल्यकालको कौतूहल सम्झिइन्।

काठमाडौँ नरदेवीकी स्थानीय रिझाश्री मौलिक कला र सम्पदा भएको क्षेत्रमा हुर्किइन्। उनले आफ्नो माहोललाई बुझ्ने प्रयास गर्थिन्। घरबस्ती वरपर रहेका मूर्ति, कलावस्तु देख्दा यी सबै कहाँबाट आए होलान् र कसले ल्याएर राख्यो होला भन्ने लाग्थ्यो।

एक दिन वसन्तपुरस्थित तलेजु भवानी मन्दिरका केही मूर्तिमा रंगरोगन भएको देखिन्। साबिकभन्दा भिन्न देखिँदा ती मूर्तिबाट सौन्दर्य हराएजस्तो लाग्यो। त्यसपछि उनलाई यस्ता कलावस्तु जोगाउने विषय पढ्ने रहर जाग्यो। उनी काठमाडौँ विश्वविद्यालयमा ‘साउथ एसिया आटर््स’ पढिरहेकी छन्।

रिझा महर्जन।

रिझाको भेट तीन महिनाअघि मात्र आभा पौडेलसँग भयो। कक्षा ४ मा हुँदै परिवारसहित अमेरिका पुगेकी आभा तीन महिनाअघि संग्रहालय गाइडको इन्टर्नसीपका लागि नेपाल आएकी थिइन्। उनी अर्थशास्त्र र इतिहास विषय अध्ययनरत् छिन्। 

संग्रहालयको गाइडको रूपमा इन्टर्नसिप गर्दा पाटन संग्रहालयका अधिकृत सुरेश लाखेले त्यस क्षेत्रका उमामहेश्वरको मूर्तिबारे अध्ययन गर्न सुझाव दिए। यसका लागि उनलाई कसैको सहयोग आवश्यक थियो। यसै क्रममा संग्रहालय प्रमुख लाखेले नै रिझाश्रीका बुवा मचारत्न महर्जनमार्फत उनीसँग भेट गराइदिए। 

आभा र रिझाले पहिला लैनसिंह वाङ्देल र उल्रिक भोन स्क्रोडरका पुस्तक मिहिन ढंगबाट अध्ययन गरे। ती पुस्तकबाट उमामहेश्वरका मूर्तिहरूको सूची तयार पारे। त्यसपछि मूर्तिहरू खोज्दै दुई महिना लगनखेल, च्यासल, टुसाहिटी, शंखमूल र पाटनक्षेत्र धाए।

यो अवधिमा उनीहरूले तीन वटा मूर्ति तथा २७ वटा उमामहेश्वरका मूर्तिको तस्वीरहरू संकलन गरे। थप एक महिना प्रदर्शनीको लागि तयारी गरेको रिझाश्री बताउँछिन्। पाटन दरबार संग्रहालय क्षेत्रमा गरिएको प्रदर्शनी सकेर आभा अमेरिका फर्किइसकेकी छन्। जेठ १ देखि असार १ गतेसम्म प्रदर्शनी चल्नेछ।

मूर्ति र तस्वीर संकलनका लागि खट्दाको दुःखभन्दा पनि मूर्तिहरूको दयनीय अवस्थाले बढी चिन्तित बनाएको रिझाबताउँछिन्। “पाटनस्थित कुम्भेश्वर मन्दिरमा निकै पुरानो मानिएकोे उमामहेश्वरको मूर्तिबारे हामीले पुस्तकमार्फत जानकारी पाएका थियौँ। वरपरको मानिससँग बुझ्दा पनि मूर्ति भेट्टाउन निकै समय लाग्यो,” उनी भन्छिन्।

मूर्तिलाई बेवास्ता गरेर मन्दिरको एक छेउमा फालिएको कारण भेट्न समय लागेको थियो। “त्यति पुरानो मूर्ति खुला स्थानमा र पूर्णरूपमा बेवास्ता गरिएको अवस्थामा थियो,” उनले भनिन्, “हामीलाई लाग्यो मानिसहरूको मूर्तिप्रतिको मोह घटेछ।”

गाः बहालमा भने फेला परेको मूर्ति राख्ने ठाउँ नै थिएन। त्यहाँबाट चोरी भएको मूर्ति फिर्ता आए पनि सडक चौडा गर्ने क्रममा मूर्ति राख्ने स्थान नै हराएको थियो। “स्थानीयलाई मूर्ति फिर्ता आए पूजाआजा गर्न मन रहेछ तर स्थान अभावको कारण कहाँ राखिएको थियो भन्ने सम्झना हुन नसकेको हाम्रो अध्ययनले देखाउँछ। स्थानीय तथा सरोकारवाला निकायबाट उचित पहल नभएको भान भयो,” रिझाश्री भन्छिन्।

पूजाआजामा अधिक अबिर दल्ने र सफा नगर्ने चलनले पनि मूर्तिहरूको अवस्था बिग्रदै गएका छन्। भावी पुस्ताका लागि पनि यस्ता कलावस्तु संरक्षण गर्नुपर्ने आभा बताउँछिन्। “मूर्तिहरूको अवस्थाले समाजको अवस्था र चेतनाको चित्रण गर्छ,” उनले भनिन्, “मूर्तिहरूले नै विभिन्न कालखण्डका सभ्यताको झल्को दिन्छ। कला र सभ्यताको हाम्रो ऐतिहासिक कालखण्डको समाजप्रति गर्व गर्न व्यक्तिगत रूपमा प्रदर्शनीले मलाई आत्मबोध गराएको छ। हामीले हाम्रो सभ्यता बिर्सन हुन्न।”

उनीहरूले प्रदर्शनीमा मूर्ति र तस्वीरहरू मूर्ति बनेको कालखण्ड अनुसार क्रमशः राखेका छन्। सबैभन्दा पहिलोमा राखिएको चौँथो शताब्दीमा बनेको मूर्तिमा उमा र महेश्वर मात्र छन्। उमामहेश्वरका अधिकांश मूर्तिमा कैलाश पर्वतसहितको सम्पूर्ण परिवारको चित्रण हुन्छ। मूर्तिको उद्गमस्थलबारे प्रदर्शनीमा केही उल्लेख छैन। यद्यपि यो मूर्ति पाटन संग्रहालयको भण्डार कक्षमा लामो समयदेखि रहँदै आएको छ। 

प्रदर्शनीमा राखिएका मूर्ति लिच्छवि, मल्ल काल हुँदै आधुनिक कालसम्मका छन्। तिनलाई पाटनका हिटी र मन्दिर परिसरमा पाइएको प्रदर्शनीमा जनाइएको छ।

“विद्धानहरूले लामो समय अध्ययन गरी ठूला, गहकिला तथ्यसहित पुस्तक तयार परिसक्नुभयो,” रिझाश्री भन्छिन्, “वर्षौंअघि अध्ययन गरेर पुस्तकमा दाखिल भएका ती मूर्तिको अहिलेको अवस्थाबारे हामीले प्रत्यक्ष देख्यौँ र तिनैलाई प्रदर्शनीमा सचित्र वर्णन गरेका छौँ।”

यस्ता अध्ययन भइरहुन पर्ने र यसले हराएका मूर्ति फिर्ताका लागि नयाँ संस्करणसहितको पहिचानको पहल हुनसक्ने रिझा बताउँछिन्। “उमा र महेश्वरसहित गणेश, कुमार, देव तथा राक्षण गणको चित्रण हुने हुँदा यस्ता मूर्ति बढी आलंकारिक हुन्छन्,” उनी भन्छिन्, “ठूला फलाकमा बन्ने यस्ता मूर्ति हामीले हिटी तथा मन्दिर परिसरमा भेट्टाएका थियौँ। यसकारण पनि पनि यस्ता मूर्ति चोरीमा बढी परे।”


सम्बन्धित सामग्री